भर्खरै :

“भक्तपुर नगरपालिकाले नाचगानको राजधानीलाई जीवन्तता दिइरहेको छ”

“भक्तपुर नगरपालिकाले नाचगानको राजधानीलाई जीवन्तता दिइरहेको छ”

भक्तपुर, १४ पुस । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भक्तपुर महोत्सव सफल पार्न सहयोग गर्ने स्थानीय दाफा, भजन, विद्यालय, समूह, सहकारी तथा बाजागाजा समूहसमेतलाई धन्यवादज्ञापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयोे ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवमा नगरका दाफा, भजन, विद्यालय, सहकारी, बाजागाजा तथा नगरवासीहरूको उल्लेख्य सहयोग रहेको बताउनुभयो । “भक्तपुर महोत्सव २०८१ अवलोकन गर्न नपाएकोलाई पछुटो लागिरहेको चर्चा छ । पाँचदिने महोत्सव भक्तपुरको रहन सहन, जीवनशैली, कला संस्कृति, शिक्षा, स्वास्थ्य, सफाइ विषयमा खुला विश्वविद्यालय सरह घामजतिकै प्रस्टिएको छ,” उहाँले भन्नुभयो ।
भक्तपुर नगरलाई हालको अवस्थामा पु¥याउन अग्रजहरूको अहम् भूमिका रहेको चर्चा गर्दै उहाँले सङ्गठित शक्तिले मात्र सही दिशा निर्देश गर्ने क्षमता राख्दछ भन्नुभयो ।
उहाँले नगरवासीहरूकै सल्लाह, सुझाव मनन गरी गाईजात्रा पर्वमा नगरपालिकाले प्रोत्साहनसहित पुरस्कारको व्यवस्था गरेको स्पष्ट पार्दै नाचगानको सहरलाई जीवन्तता दिइरहेको बताउनुभयो । प्रमुख प्रजापतिले ‘सय वर्षपछिको भक्तपुरलाई’ साकार पार्न भक्तपुर नपाका जनप्रतिनिधि र नगरवासीहरूकै साथ र सहयोगमा विभिन्न बाधा अड्चनहरूसित सामना गर्दै अघि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले विभिन्न ७ वटा कलेजहरू सञ्चालन गरी देशका सर्वसाधारण जनताका छोराछोरीहरूलाई न्यून शुल्कमा शिक्षा दिइरहेको छ । भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय स्वीकृति दिन कम्युनिस्ट सरकारको मुटु कामिरहेको छ ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले नगरवासीहरूको एकता र सहयोगी भावनालाई निरन्तरता दिइराख्नुपर्ने विचार राख्दै भक्तपुर महोत्सवले सांस्कृतिक परिवर्तनमा सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रमका सभापति एवं भ.न.पा. ६ का वडा अध्यक्ष हरिराम सुवालले भक्तपुर महोत्सव सफल पार्न दिन रात नभनी सहयोग गर्ने स्थानीय दाफा, भजन, बाजागाजा, विद्यालय, समूहलगायत वडावासीहरूको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
स्थानीय गोपिकृष्ण चाँगुभारीले स्थानीय श्रम, सीप, घरेलु उत्पादन, कृषि उत्पादनलाई स्थानीय सरकारले प्रोत्साहित गर्न सकेमा थोरै भए पनि राहत मिल्ने उल्लेख गर्नुभयो ।
भक्तपुर महोत्सवको उपलक्ष्यमा आयोजित वडाव्यापी विद्यालयस्तरीय तथा खुला कसिमला पाँय् र बाघचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उदयमान खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण र भक्तपुर महोत्सव सफल पार्न योगदान गर्ने वडावासीहरूलाई प्रमुख सुनिल प्रजापतिले धन्यवाद पत्र वितरण गर्नुभयो ।
कार्यक्रममा शिक्षक गणेशराम थुसा, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, ६ वडा खेलकुद समितिका अध्यक्ष राजुसिं बजिकों, पूर्वेश्वर महादेव भजन मण्डलका मसिनु सुवाल, वामेश्वर भजन मण्डलका लक्ष्मीकेशरी सुवाल, भोलाछेँ युवा समूहका राजु लौवले आ– आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *