भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
भक्तपुर, १५ पुस । भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा गत मङ्सिर २८ गतेदेखि पुस २ गते सम्पन्न भक्तपुर महोत्सव सफलरूपमा सम्पन्न गर्न वडाका संस्कृतिकर्मी, दाफा भजन, स्थानीय महिला समुदाय, टीम क्लव, स्वयम्सेवकलगायत सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन कार्यक्रम सोमबार वाँचुत्वमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक पार्दै विगत ४ दशकदेखि यहाँका मूर्त तथा अमूर्त सम्पदाहरू संरक्षण गर्दै यसमा आधारित पर्यटन उद्योगको विकास गरी नगरको आर्थिक विकास गर्न विभिन्न गतिविधि अगाडि बढाइरहेको बताउनुभयो ।
महोत्सव सफल पार्न प्रत्यक्ष र परोक्षरूपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उहाँले महोत्सवमा जनताको सक्रिय सहभागिता रहनु नै महोत्सवको सफलता हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले जनताको आर्थिक सहयोग, श्रमदान र जिन्सीसमेत सहयोग प्राप्त गरी भक्तपुरका सम्पदाहरूको पुनःनिर्माणको कामलाई निरन्तरता दिइरहेको बताउँदै उहाँले विदेशीको सहयोगबिना भक्तपुरका सम्पदाहरू पुनःनिर्माण र जिर्णोद्धार गर्न सम्भव हुनु नै भक्तपुरवासीको निम्ति गर्वको विषय हो भन्नुभयो ।
हातमा सीप भएका युवाहरू आत्मनिर्भर हुन्छन् र आत्मनिर्भर युवाहरू नै स्वाभिमानीपूर्वक बाँच्न सक्ने धारणा व्यक्त गर्दै उहाँले भक्तपुर नपाले यसै मान्यताअनुरूप युवालक्षित गतिविधिहरूमा जोड दिँदै आएको बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले महोत्सवको आयव्यय प्रस्तुत गर्दै भक्तपुर नपाले नाफा कमाउनको लागि नभई यहाँको मौलिक कला, संस्कृति विश्वसामु प्रदर्शन गर्ने अवसरको रूपमा महोत्सव आयोजना भएको बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका अध्यक्ष गौतमप्रसाद लासिवाले महोत्सवलाई जनताले अपनत्व ग्रहण गरी सफल हुनु खुसीको विषय भएको बताउँदै महोत्सवबाट धेरै कुराहरू सिक्ने अवसर पनि प्राप्त भएको बताउनुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ७ का वडा सदस्य एवम् कार्यपालिका सदस्य रन्जना त्वाती, वडा सदस्य हेरा ख्याजु, नेमकिपा भनपा ७ का इन्चार्ज कृष्णगोविन्द खाइजु, समाजसेवी बद्रीराम छुस्याबागलगायतले महोत्सव अवधिभर निःस्वार्थरूपमा खटिनुभएका सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभएको थियो ।
Leave a Reply