जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
भक्तपुर, १६ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मङ्गलबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गर्नुभयो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरूको निरीक्षण गर्नुभएको हो ।
मन्त्री भट्टराईलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजमा स्वागत गर्नुभएको थियो ।
निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्वीकृति पाउनुपर्छ भन्ने विषयमा आफू सधँै सकारात्मक रहेको बताउनुभयो ।
ख्वप विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको र यसले पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताउनुभयो ।
विश्वविद्यालयमा बन्द हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताउँदै उहाँले विश्वविद्यालयमा हुने अराजनैतिक गतिविधि नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले रोम र एथेन्समा नगर राज्यहरूले विश्वविद्यालयहरू सुुरु गरेका हुन्; एक्काइसौँ शताब्दीमा नगरपालिकाहरूले सहरी विश्वविद्यालय सञ्चालन गर्नु जरुरी हुन्छ; भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय नेपालमा सहरी विश्वविद्यालय प्रयोगको रूपमा अगाडि बढाउनु उपयुक्त हुनेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “राणा शासनले नेपालाई १०४ वर्ष अन्धकार युगमा राख्यो । अहिले गणतन्त्रमा पनि नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न नदिनु उपयुक्त होइन । संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा शिक्षा रहेको छ । यसकारण नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न नपाउने तर्क गर्नु उपयुक्त होइन ।”
नेपाली विद्यार्थीलाई नेपालकै विश्वविद्यालय अनुसन्धान गराउने र उत्पादन श्रमसँग जोड्ने शिक्षा दिने विषयलाई अघि बढाउन भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने विश्वविद्यालय जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक संविधान जारी भइसकेपछि २०७३ सालमा शिक्षा मन्त्रालयबाट संसद्मा दर्ता गरी सांसदहरूलाई वितरण नै भइसकेको थियो । त्यसबेलाका सरकारमा इच्छा शक्ति नहुँदा ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित नभएको हो । अब यो विधेयक पारित गर्न विलम्ब गर्नुहुँदैन ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्तिको लागि नेपाल ट्रस्टसमक्ष पटक पटक पत्राचारसमेत गरिसकेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।
मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरूबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी सङ्ख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरू र नगर प्रमुख प्रजापतिले नपाका प्रकाशन तथा कलेजका प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभयो ।
Leave a Reply