त्रिविको जग्गा जथाभावी वितरण गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नु जरुरी
- आश्विन २७, २०८२
पञ्चायतकालमा कतिपय लेखनदासहरू जालीफटाहाहरूको चङ्गुलमा परेर सर्वसाधारण जनताको घरखेत झ्वाम पार्ने काम गर्थे । त्यतिबेला जाली काममा संलग्न कतिपय लेखनदास जनताको कारबाहीमा परेका थिए । बहुदल पुनःस्थापना भएको ३५ वर्ष भयो तर कतिपय लेखनदासहरू अहिले पनि मालपोत कार्यालयसँग मिलेर जालसाजी काममा संलग्न छन् ।
भक्तपुर नगरपालिका वडा नं ९ का दशरथ भन्ने लेखनदासको जालसाजी काम एकपछि अर्को सार्वजनिक भइरहेको छ । भनपा वडा नं ४ को ४ आना जग्गा बहालमा टहरा बनाई पसल बनाउन एकजना अशिक्षित महिलाले २० वर्षको लागि वार्षिक ३ लाख रुपैयाँ बहाल दिने र २० वर्षपछि टहरा पनि जग्गा धनीको हुने गरी सहमति गरिएको थियो । लेखनदास दशरथ र जग्गाधनीबिच मिलेमतो गरी सहमति कागज ५ वर्षको मात्र बनाइयो, २० वर्षको बनाइएन । ५ वर्ष अवधि सकिने बित्तिकै जग्गाधनीले सो जग्गामा टहरा बनाएकी महिलालाई उठाउन खोजे ।
महिलाले आफूले २० वर्ष पसल चलाउन पाउने गरी जग्गा बहालमा लिएको, सो जग्गामा ४ लाख रुपैयाँको माटो भरेर टहरा बनाएको र टहरा बनाउन ३० लाख रुपैयाँ खर्च भएको वेदना पोख्दै पाँच वर्षमा टहरा र जग्गा छाड्न नसक्ने अडान लिइन् । ती महिलाले ५ वर्षमा बहाल १५ लाख रुपैयाँ र टहरा खर्च ३० लाख रुपैयाँ आम्दानी कसरी हुन्छ भनी रूँदै छिन् । एकजना जालसाजी लेखनदास दशरथको कारण एक महिला ऋणमा डुबेर मर्ने अवस्था भएको यथार्थ बुझ्नेहरू बताउँदै छन् । उक्त लेखनदासले यसअघि पनि पटक–पटक जालसाजी काम गरी कैयौ रोपनी जग्गा कुम्ल्याएको जानकारहरू बताउँदै छन् ।
लेखनदास दशरथले आफ्नो सम्बन्ध प्रशासन र मालपोत कार्यालयका अधिकारीहरू र राजनीतिक पार्टीका मानिसहरूसँग भएको दाबी गरी सर्वसाधारण जनतालाई तर्साउने, धम्काउने काम गरिरहेको पनि सुनिन्छ । समयमै सम्बन्धित निकायको ध्यान जानुपर्ने र जनतालाई पीडा दिने त्यस्ता लेखनदासलाई हदैसम्मको कारबाही हुनुपर्ने पीडितहरूको गुनासो छ ।
Leave a Reply