जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
भक्तपुर, २० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक विद्यार्थीहरूलाई सक्षम बनाउन र कम्तीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने गरी अध्यापन गराउनुपर्नेमा जोड दिनुभएको छ ।
बाल विकास सेकेन्डरी स्कूलको ३७ औँ वार्षिकोत्सवमा उहाँले देशको शैक्षिक स्थिति जनअपेक्षाअनुसार प्रगति हुन नसक्नु र देश परनिर्भर हुनुमा आजसम्मका सरकारहरू दोषी रहेको बताउनुभयो ।
नेपालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बनेकाहरूसित एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूको स्वतन्त्रता सङ्ग्रामको नेतृत्व गरेका र देश र जनताको उन्नतिको निम्ति सङ्घर्ष गरेका राष्ट्रपति र प्रधानमन्त्रीहरूबारे अध्ययन भएको नपाएको बताउँदै उहाँले देशलाई आत्मनिर्भर बनाउने र देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति लड्ने भावना नदेखिएको हो भन्नुभयो ।
नक्कल गरेर परीक्षा उत्तीर्ण गर्ने गराउने प्रवृत्तिलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले कुनै समय ‘न्याय नपाए गोर्खा जानु र एसएलसी पास गर्न भक्तपुर जानु’ भन्ने उखानै चलेको स्मरण गर्नुभयो ।
परीक्षामा चोरी र नक्कल गरेर लेख्ने प्रवृत्तिले एक–दुई पुस्ताको जीवन नै बर्बाद भएको र देशभरिकै शिक्षाको गुणस्तर खस्केको उहाँले बताउनुभयो ।
छोरी बुहारीहरूलाई उच्च शिक्षा अध्यापन गराउने क्रम बढ्दा जताततै शिक्षित र सक्षम महिलाहरू देखिएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले सक्षम र योग्य नयाँ पुस्ताले देशलाई अगाडि बढाउने छन् भन्नुभयो ।
अभिभावकहरूले आफ्ना केटाकेटीहरूलाई धनी र धेरै पैसा कमाउनेहरूलाई उदाहरणको रूपमा देखाउने नभई देश र समाजको निम्ति राम्रो काम गरेका र विश्वकै हितका निम्ति काम गरेका व्यक्तित्वहरूलाई देखाउनुपर्ने उहाँले औँल्याउनुभयो ।
वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रजातन्त्रको नाउँमा नेपालका सरकारहरूले उदारीकरणको नीति लागु गरी शिक्षा, स्वास्थ्य, उद्योगधन्दालगायत क्षेत्रको निजीकरण गर्दा शिक्षा व्यापारको वस्तु बन्न पुगेको तर बाल विकास स्कूलजस्ता गैरनाफामुखी विद्यालयहरूले शिक्षालाई व्यापारिक वस्तु नबनाएको स्पष्ट पार्नुभयो ।
उहाँले शिक्षालाई व्यापारीकरण गरेका विद्यालयहरूको शिक्षाकै कारण आज स्वदेशमा केही छैन र हुँदैन भन्ने भाष्य प्रचारलाई पत्याउँदै ठुलो सङ्ख्यामा युवा–विद्यार्थीहरू विदेसिरहेका छन् भन्नुभयो ।
अर्का वाग्मती प्रदेश सांसद सृजना सैँजूले बालबालिकाको हुर्काइ र शिक्षा बेवास्ता गर्न नमिल्ने महत्वपूर्ण विषय भएको औँल्याउँदै बालबालिकालाई प्राथमिकतामा राख्ने समाजको भविष्य उज्यालो हुने र महिलाहरूको शिक्षा र स्वास्थ्यलाई ध्यान दिने समाजको वर्तमान उज्यालो हुने बताउनुभयो ।
उहाँले चीनमा आजको नयाँ पुस्ताको बेजोड प्रतिभा र आविष्कारहरू विगतदेखि बालबालिकाको शिक्षा, स्वास्थ्य, हुर्काइ जस्ता क्षेत्रमा गरिएको लगानीको प्रतिफल भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सम्पदाको राजधानी रहेको भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन किन्डरगार्टेनदेखि कलेजसम्ममा लगानी गर्दै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले शैक्षिक ऋण प्रदान गर्नुका साथै विभिन्न कलेजमा अध्ययनरत जेहेनदार विद्यार्थीहरूलाई हरेक वर्ष करोडौँ रुपैयाँको छात्रवृत्ति प्रदान गरिरहेको बताउनुभयो ।
त्यस्तै ईसीईसीका प्रबन्ध निर्देशक पिताम्बर शर्माले बालबालिकालाई डर त्रास देखाउँदा उनीहरूको दिमागी र बौद्धिक विकासमा नकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
अभिभावक प्रतिनिधि इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमर प्रजापतिले बाल्यावस्थामा निमोनिया र दम रोग लागे १५–२० प्रतिशतमा दीर्घकालीन दम रोग देखिने भएकोले बालबालिकालाई चिसोबाट बचाउनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिभावक प्रतिनिधि मुना लवजू, शैक्षिक क्रियाकलाप प्रशिक्षक देवना जोशी, शिक्षिकाहरू सीता प्रजापति, सुलोचना छ्वाजूलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा ३० वर्ष सेवा गर्नुभएका आया दिदी सन्तमाया कुटुवाजू र सहयोगी सुकुराम फेलुलाई दोसल्ला, कदर पत्र र नगद सहयोगसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विभिन्न सेक्सनका विद्यार्थीहरूले सुमधुर गीत सङ्गीत प्रस्तुत गर्नुका साथै मनमोहक नृत्यहरू प्रदर्शन गरेका थिए ।
Leave a Reply