भर्खरै :

गाजामा इजरायली आक्रमणमा १९ जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा १९ जनाको मृत्यु

गाजा, २० पुस (एएफपी) । गाजाका उद्धारकर्ताहरूले शनिबार प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा आठ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन् ।
नागरिक सुरक्षा निकायका अनुसार गाजा सहरमा अल–घोल परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको थियो ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले भन्नुभयो, “विस्थापित बस्दै आएको घरमा भएको आक्रमणबाट घर पूर्णरूपमा ध्वस्त भएको छ भने ११ जनाको मृत्यु भएको छ ।”
“आक्रमणमा दुईतले भवनमा क्षति पुगेको र अझै पनि धेरै मानिस भग्नावशेषमुनि रहेका छन्,” उहाँले भन्नुभयो ।
इजरायली ड्रोनले एम्बुलेन्सका कर्मचारीमाथि पनि गोली चलाएको प्यालेस्टिनी प्रशासनले जनाएको छ ।
इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।
गाजा सहरको पूर्वमा रहेको शुजैयाको आसपासबाट एएफपीले खिचेको तस्बिरमा त्यहाँका बासिन्दाहरू आक्रमणपछि आगलागी भएको घरको भग्नावशेषबाट बाहिर निस्किरहेको र भुइँमा सेतो पाताले ढाकिएका मृत शरीरहरू देखिएका छन् ।
“ठुलो विस्फोटले हामीलाई ब्युँझायो । सबै कुरा हल्लिएको थियो,” घटनाका प्रत्यक्षदर्शी अहमद मुसाले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी सबैले उठेर हे¥यौँ, आक्रमण मेरै छिमेकी अल–घोलस्थित एक घरमा भएको थियो । त्यहाँ केही विस्थापित केटाकेटी र महिलाहरूलाई राखिएको थियो ।”
नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी सहर खान युनिसमा इजरायली आक्रमणमा परी पाँच जना सुरक्षा अधिकारीको मृत्यु भएको छ ।
बासलले इजरायलले मानवीय आपूर्ति शृङ्खलालाई प्रभावित गर्न र मानिसहरूलाई आतङ्कित पार्न ‘जानाजानी’ उनीहरूलाई लक्षित गरेको आरोप लगाउनुभयो । सेनाले अहिलेसम्म उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
स्थानीय उद्धारकर्ताका अनुसार खान युनिसमा एक घरमा बम विस्फोट हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो ।
इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४५ हजार ७१७ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *