भर्खरै :

तराईका जनताको समस्या समाधानमा मधेसकेन्द्रित दलहरू मौन

हरेक राजनीतिक दलको उद्देश्य समग्रमा देश र जनताको भेला गर्नु नै हुन्छ । सुशासनसहितको शोषणरहित समाज स्थापना गर्ने उद्देश्यले दलले राजनीति गर्नुपर्छ । यस अर्थमा कुनै पनि राजनीतिक दल क्षेत्रीयवादी, सङ्कीर्णवादी र अवसरवादी हुनु हँुदैन । हिमाल, पहाड र तराईका शोषित पीडित जनताको पक्षमा राजनीति गर्ने दलले बहुमत जनताको प्रतिनिधित्व गरेको हुन्छ । तर, देशमा स्थापना भएका कति राजनीतिक दलहरू सङ्कीर्णवादी छन् । सुरू सुरूमा तराईमा स्थापना भएको कति राजनीतिक दलहरू तराईकेन्द्रित या मधेसकेन्द्रित छन् । तराईका जनताका निम्ति खोलिएका भनिएका दलहरू तराईकै जनताविरोधी छन् । मधेसकेन्द्रित दलका नेताहरूमा सामन्त, जमिनदार, पुँजीपतिहरू परेका छन् । कति नेताहरू जालीफटाहाहरू छन् । त्यस्ता नेताहरू नेकाका पनि छन् । मधेसवादी दलका नेताहरू मधेसकेन्द्रित मात्र भयो भन्ने जनगुनासो आएपछि ती दलका नेताहरूले दलको नामै फेरे । दलको नाम समाजवादी, जनमन, जनता प्रगतिशील र लोकतान्त्रिक समाजवादी भए पनि उनीहरू मधेस राजनीतिबाट उम्कन सकेका छैनन् ।
मधेसी जनताको हकहितको निम्ति खोलिएका भनिएका दलका नेताहरूले श्रमजीवी मधेसी जनताको पक्षमा कहिले पनि राजनीति गरेनन् । शोषित पीडित जनताको मर्काबारे ती दलका नेताहरूले कहिले पनि आवाज उठाएनन्; सङ्घर्ष गरेनन् । उखु कृषकहरूको आन्दोलन भयो† मिटरब्याज पीडितहरूको आन्दोलन भयो, जालीफटाहाविरूद्धको आन्दोलन भयो । पीडित जनताको त्यो आन्दोलनमा मधेसवादी दलहरू मौन रहे । सरकारले कमैया मुक्तिको नाममा कमैयाहरूलाई बिचलित बनाएपछि कमैया मुक्ति आन्दोलन भयो । त्यस आन्दोलनमा मधेसवादी दलका नेताहरूले साथ दिएनन् । बरू भारतले गरेको आर्थिक नाकाबन्दीमा ती दलका नेताहरूले साथ दिए; नेपाल र नेपालीलाई समस्यामा पारे । नेपाल र नेपाली जनताको निम्ति जुट्नुपर्ने दलका नेताहरू भारतीय सरकारको पक्षमा लागे । जेनतेन जीवन बिताउने लाखौँ लाख तराईका जनताको समस्याबारे मधेसवादी दलका नेताहरूले आवाज उठाएनन्; सङ्घर्षमा साथ दिएनन् । उठिबास गरे पनि, डुबानमा पारे पनि नेपाल भारत सीमामा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भारतीय पक्ष बाँध तथा तटबन्ध बनाए पनि मधेसवादी दलका नेताहरू कहिले पनि सङ्घर्षमा उत्रेनन् । बरू उनीहरूले राजधानीमा नाकाबन्दी गर्ने, तराईका जिल्लाहरू टुक्रा गर्ने र देशै नरहने चेतावनी दिए । देशै नरहने र तराईका जिल्ला टुक्रा गर्ने विचार देशविरोधी हो । देशै नरहने चेतावनी दिने दलका नेताहरू देशद्रोही हुन् । अशोक राई नेतृत्वर्काे ‘जनता समाजवादी पार्टी’ उपेन्द्रयादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले तराईका शोषित पीडित जनताको निम्ति के गरे; उनीहरूको पक्षमा के आवाज उठाए ?
उनीहरूले तराई क्षेत्रमा जहिल्यै सरकारमा रहिरहन एक मधेस एक प्रदेशको नारा दिए; तराईका शोषित पीडित जनतामाथि सधैँ रजाइँ गरिरहन सरकारको नेतृत्व गरिरहने बाटो खोल्ने प्रयास गरे । एक मधेस एक प्रदेश हुँदैमा तराईका जनताको समस्या समाधान हुने होइन । तराईका जनताको समस्या समाधानको निम्ति गठन भएका ती दलका नेताहरू विभिन्न दलमा विभाजित भए । धेरै दल विभाजित हुने दलहरू मधेसकेन्द्रित दलहरू नै हुन् । समग्रमा मधेसवादीकेन्द्रित दलहरू नेताहरू सत्तास्वार्थमै लागे । जनतामाथि भइरहेको शोषणको विरोधमा उनीहरूले कहिल्यै बोलेनन् । मधेसवादी दलहरू एक हुनुपर्छ भनेर पार्टी एकीकृत पनि भयो । तर, वर्ष दिन नपुग्दै फेरि टुक्रिए । अहिले संविधान संशोधनको प्रसङ्ग उठाएर विभिन्न दलको एउटै धारणा बनाउनुपर्ने कुरा आएको छ । भारतीय पक्षले अतिक्रमण गरे पनि, दबाब दिए पनि, नेपालीलाई उठिबास गरे पनि चुइँक्क नबोल्ने ती दलका नेताहरूले के देश विकासमा चासो राख्लान् ? देशलाई समृद्व र नेपालीलाई सुखी बनाउने काममा राजनीति गर्लान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *