तःमुंज्याको सांस्कृतिक तथा साहित्यिक समिति गठन
- भाद्र ३, २०८३
भक्तपुर, ६ भदौ । सांस्कृतिक समूह भनपा वडा नं. ६ को आयोजनामा २०८२ सालको गाईजात्रामा सांस्कृतिक प्रस्तुति गर्ने कलाकार र सहयोगीहरूलाई प्रमाणपत्र वितरण र यस वर्षको गाईजात्रा २०८३ मा सांस्कृतिक प्रस्तुतिमा सहभागी कलाकारहरूलाई घङला वितरण भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी अमेरिकाले आफ्नो स्वार्थको लागि जापानको हिरोसीमा र नागासाकीमा अणु बम प्रहार गरेर धेरै मानिसहरूको ज्यान लिएको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको हुँदा जनताले त्यस्तो घटनाबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
अमेरिका, इजरायल र इरानबिच युद्ध भइरहेको चर्चा गर्दै सचिव सुवालले साम्राज्यवादी अमेरिकासँग इरान एक इन्च पनि नझुकेको चर्चा गर्नुभयो । उहाँले इरानसँग आणविक हतियार नभए तापनि आणविक शक्तिसम्पन्न राष्ट्र अमेरिकासँग नझुकेको र इरानले अमेरिकी आक्रमणको हरेक समयमा जवाफ फर्काउँदै आएको बताउनुभयो ।
समाजमा घटिरहेका विभिन्न विकृति र विसङ्गतिको व्यङ्ग्यात्मक प्रस्तुति गरेर सुधार गर्न र गराउनको लागि भक्तपुरमा गाईजात्रा पर्व प्रयोग हुँदै आएको राम्रो पक्ष भएको चर्चा गर्दै उहाँले लेखक तथा कलाकारहरूले लेखनमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाले भक्तपुरको कला, संस्कृति र परम्परा जोगाउन हरेक वर्ष गाईजात्रालाई विशेष पर्वको रूपमा मनाउँदै पुरस्कारको व्यवस्था गर्दै आएको चर्चा गर्नुभयो ।
गणेश माविका पूर्वप्रधानाध्यापक गणेशराम थुसाले कलाकार भाइबहिनीहरू अनुशासनमा बसेर आफ्नो कला प्रस्तुत गर्नुपर्ने चर्चा गर्नुभयो ।
भनपा ६ का जनप्रतिनिधि गोविन्द दुवालले भक्तपुरको किसान आन्दोलनको चर्चा गर्दै किसानहरूको आर्थिक स्थिति राम्रो हुनुमा किसान आन्दोलनको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।
सांस्कृतिक समितिका सल्लाहकार जगन्नाथ सुजखुले अध्ययनलाई पनि अगाडि लग्नुपर्ने चर्चा गर्दै कलाकार भाइबहिनीहरूले राम्रो प्रस्तुति देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि सिद्धिराम अवाल र गुरु नीय कयरीले पनि मन्तव्य राख्नुभएको थियो ।
समितिका अध्यक्ष गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको कार्यक्रममा अतिथि सुवालले प्रमाणपत्र र घङला वितरण गर्नुभएको थियो ।
Leave a Reply