‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
म मानसिक रोगको विशेषज्ञ हुँ । मानसिक रोग र मानसिक समस्याहरूको विषयमा धेरै कुराहरू छन् । आज म सङ्क्षिप्त रूपमा मात्र त्यस विषयमा प्रवेश गर्छु । म निकै लामो समयदेखि भक्तपुरको राजनीतिक, सामाजिक जीवनसँग परिचित छु । तपाईंहरूले गरेका सबै काम कुरा मलाई नमुना लाग्छ ।
भक्तपुरमा भएका कामहरू राम्रा छन् । उदाहरणको लागि भक्तपुर नगरपालिका पनि एक नमुना हो । मैले नेपालमा सबैभन्दा धेरै सम्मान गर्ने नेता नारायणमान बिजुक्छेँजी हुनुहुन्छ । हुन त म राजनीतिसँग सम्बन्धित छैन । तपाईंहरूले पार्टीको कार्यक्रम आयोजना गर्नुहुन्छ । म भित्री आत्माबाटै यी कुराहरूलाई सम्मान गर्छु ।
मानसिक रोग विशेषज्ञ भएको नाताले अलिकति त्यो रोगको विषयमा प्रवेश गर्छु । आजकल हामी स्वास्थ्यप्रति अलि सचेत भएका छौँ । स्वास्थ्यप्रति आम मानिसको केही पहुँच पनि बढेको छ । तर, मानसिक स्वास्थ्यको विषयमा जति ज्ञान अथवा जानकारी हुनुपर्ने हो, त्यो हामीमा अलि कम छ । म एउटा सानो आँकडा प्रस्तुत गर्न चाहन्छु । हामी मानसिक रोग विरलै लाग्ने रोग हो भन्ने सम्झन्छौँ। गम्भीर किसिमको रोग मात्र मानसिक रोग हुन्छ, जसलाई हामी पागलपन, मगज बिग्रेको भन्छौँ भन्ने भ्रम आम मानिसहरूमा छ । शिक्षित मानिसहरूसँग समेत त्यस्तो धारणा भएको पाइन्छ । तर, मानसिक रोगको विवरण हेर्दा समाजको झन्डै २५ प्रतिशत मानिसमा मानसिक समस्या भएको पाइन्छ । ४ जनामा १ जना व्यक्तिलाई कुनै न कुनै बेला कुनै न कुनै किसिमको मानसिक समस्या परेको हुन्छ । बिरामी भएर अस्पताल र अन्य स्वास्थ्य निकायमा जाने मानिसहरूको झन्डैझन्डै ३० प्रतिशत मानिसहरूमा आधारभूत रूपमा मानसिक समस्याको कारणले नै अरू शारीरिक समस्या पैदा भएर उपस्थित भएका हुन्छन् । यो कुरा स्वास्थ्य व्यवसायमा संलग्न मानिसहरूलाई पनि त्यति राम्रोसँग थाहा हुँदैन । त्यस हिसाबले यो एकदमै बहुप्रचलित रोग मानिन्छ ।
अर्को एउटा तथ्याङ्क दिन चाहन्छु । आजकल ‘नसर्ने रोग’ भन्ने शब्द प्रचलित छ । नसर्ने रोग भन्नाले मुटुको रोग, मधुमेह, क्यान्सरजस्ता रोगहरू हुन् । मुटु रोग र क्यान्सर समुदायमा लगभग १५–१६ प्रतिशत जति मानिसमा छ । त्यस्तै १५–१६ प्रतिशत क्यान्सरको बाहुल्यता छ । तर २५ प्रतिशत त मानसिक रोगीहरूको बाहुल्यता छ । त्यस हिसाबले रोगको व्यापकताको हिसाबले क्यान्सर र मुटु रोगभन्दा पनि यो बढी व्यापक छ । तर, यसले जुन महत्व, प्राथमिकता पाउनुपर्ने हो, हाम्रो समाजमा त्यो पाइरहेको छैन ।
हामी कुनै पनि रोगको कुरा गर्दा त्यसको उपचार, रोकथाम अथवा कारणहरूको बारेमा चर्चा गर्छौँ । तर, मानसिक रोग एउटा मात्र कारणले नलाग्ने हुनाले हामीले यसको रोकथामतिर भन्दा यसको निक्र्योल गर्ने, चिन्ने र छिटो उपचार गर्नेतर्फ लाग्नुपर्छ । मानसिक रोग जति छिटो उपचार गर्यो, त्यति छिटो निको हुने भएकोले हामीले बढी जोड रोकथामतिर भन्दा पनि छिटो पहिचान गर्न जरुरी छ । केही मानसिक रोगहरू रोकथाम गर्न सकिन्छ । तर, त्यो हाम्रो प्राथमिकतामा रहेका मुख्य मुख्य रोगहरूको सम्भावना आकलन गरेर हामी रोकथाम गर्न सक्दैनौँ। त्यसैले रोगलाई सुरुका अवस्थामा पहिचान गर्नु नै सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
अभिभावक र विद्यालयका छात्र–छात्राहरूमाझ मानसिक रोगको पहिचान कसरी गर्ने, परिवारका सदस्य, आफ्ना छरछिमेकलाई मानसिक रोग लाग्यो भने कसरी चिन्ने भन्ने विषयमा बताउन जरूरी छ । विद्यालयमा स्वास्थ्य शिक्षासम्बन्धी पाठ्यक्रम छ । त्यहाँविभिन्न रोगहरूको बारेमा बालबालिकाहरूलाई जानकारी गराउने प्रावधान छ । तर, मेरो जानकारीमा भएअनुसार ती पाठ्यक्रमहरूमा कहीँ पनि मानसिक रोगको चर्चा छैन । अरू धेरै रोगको विषयमा, रोकथामको विषयमा कुराहरू छन् तर मानसिक रोगको विषयमा भने दिइएको छैन । तर, हाम्रो पाठ्यक्रममा छैन भने पनि शिक्षक, प्राध्यापकहरू अथवा विद्यालय व्यवस्थापनले पनि मानसिक स्वास्थ्यको विषयमा विद्यार्थीहरूलाई जानकारी गराउने साना कार्यक्रमहरू समावेश गर्न सकिन्छ ।
भक्तपुरमा भएका अस्पतालमा पनि मानसिक रोगको चिकित्सकको दरबन्दी छ । प्रायः जसो त्यहाँएकजना मानसिक रोग विशेषज्ञ सधैँजसो कार्यरत हुनुहुन्छ । उहाँलाई बोलाएर छोटो परिचयात्मक कार्यक्रम पनि गर्न सकिन्छ । अथवा स्वास्थ्य शिक्षा पढाउने शिक्षक–शिक्षिकाहरूलाई छोटो तालिमको व्यवस्था पनि गर्न सकिन्छ । विद्यालयका अलि माथिल्लो कक्षाका विद्यार्थीहरूमा यससम्बन्धी चेतना जगाउने हिसाबले कसैलाई आमन्त्रित गरेर कक्षा लिन पनि सकिन्छ । विद्यालयबाट उत्तीर्ण भएर जानुभएका विद्यार्थी भाइबहिनीहरूको उमेर संवेदनशील उमेर हो । कतिपय मानसिक रोगहरूको पूर्वसङ्केत यही उमेरमा देखिन्छ । विस्तृत रूपमा कस्ता कस्ता लक्षणहरू हुन्छन् भन्ने कुरा बुझाउन त भ्याउँदिनँ तर विद्यालयलाई, गुरूहरूलाई, व्यवस्थापन समितिलाई मानसिक रोगलाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु । स्वास्थ्यसम्बन्धी शिक्षा दिँदा कहीँ न कहीँ अनौपचारिक रूपमा भए पनि यो सन्दर्भलाई अलिकति छोइदियो भने त्यो विद्यार्थीलाई चेतना हुन्छ ।
साभार : The Dawn, २०८१ पुस
Leave a Reply