रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
‘सत्य तीतो होला नमिठो कहिले हुँदैन । ३० वर्ष अगाडि हाम्रो भक्तपुरमा कुकुरभन्दा बढी सुँुगुर देख्न पाइन्थ्यो । हरेक चोक र गल्लीमा सुँगुर देखिन्थे, फोहर थियो र अति नै फोहर । अहिले सफा नगरको उपमा पाउन सफल भएको छ । जनतालाई शिक्षित बनाउन डटेर लाग्नुभयो । प्लस टुदेखि स्नातकोत्तरसम्म पढाउने ठाउँ देशको सबैभन्दा सानो नगरपालिका भक्तपुरले बनाएको छ’ (२०८१ पुस २७ गते सिद्ध पाइला अनलाइनबाट) । यो भक्तपुरको वास्तविकता हो । नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताले गर्नुभएको समाज सेवाको कामको मूल्याङ्कन अहिले सबैतिरबाट हुन थालेको छ ।
ख्वप मा.वि. र ख्वप कलेजहरू स्थानीय तहबाट सञ्चालित नेपालकै पहिला मा.वि. र कलेजहरू हुन् । कुनै पनि नगरपालिकाले विद्यालय सञ्चालन गर्ने सोच नबनाएको बेला २०५६ सालमै ख्वप उच्च मा.वि. स्थापना भएको थियो । आज त्यही जगमा उच्च शिक्षा प्रदान गर्ने ७ ओटा शैक्षिक संस्थाहरू सञ्चालन भइरहेका छन् । जहाँ ७७ जिल्लाका ७ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । यो नेपाल मजदुर किसान पार्टीको नेतृत्वको दूरदर्शी सोचको परिणाम हो ।
भक्तपुरका जनप्रतिनिधिहरूसँग दुई दशकभन्दा बढी विश्वविद्यालय तहको शैक्षिक संस्था सञ्चालन गरेको अनुभव छ । त्यसलाई परिष्कृत गर्दै नयाँ नयाँ विषयहरू थप गर्दै कलेजलाई अझ व्यापक बनाउने कोशिश गर्दै छौँ । हामीले त्रिविमा नयाँकार्यक्रम सञ्चालन गर्न स्वीकृतिको लागि निवेदन दिएको वषौँ भयो तर विश्वविद्यालय हामीप्रति सकारात्मक भएन । पटक पटक उपकुलपतिहरू भेटेर ध्यानाकर्षण गरायौँ । उहाँहरूले क्युएए प्राप्त कलेज र आङ्गिक क्याम्पसबाहेक कसैलाई पनि नयाँ कार्यक्रम स्वीकृति दिन नसकिने बताउनुभयो । हामी क्युएएको प्रक्रियामा छौँ ।
हाम्रा कलेजहरूको परीक्षाफल पनि उत्तिकै राम्रा छन् । यस वर्षको उत्तीर्ण प्रतिशतलाई एक पटक हेरौँ ¤ ख्वप कलेज अफ लको हालै प्रकाशित परीक्षाफलमा ९७ प्रतिशत, ख्वप इन्जिनियरिङ कलेजको आर्किटक्टमा १०० प्रतिशत, सिभिलमा ८६.८१ प्रतिशत, कम्प्युटरमा ८०.६८ प्रतिशत र इलेक्ट्रिकलमा ६७.५७ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । यो देशभर उत्तिर्ण प्रतिशतको अनुपातमा धेरै माथि हो । मा.वि. तहको परीक्षाफल पनि सुधार हुँदै आएको छ । यस वर्षको एसईई परीक्षामा नगरभरिका ८२ प्रतिशतभन्दा बढी विद्यार्थीहरू उत्तीर्ण भए । पछि धेरै सङ्ख्यामा पुरक परीक्षा दिएर उत्तीर्ण भएका छन् । कम प्रतिशत उत्तीर्ण भएका विद्यालयका प्रिन्सिपलहरूलाई बोलाएर पढाइ सुधार गर्नका लागि हामीले घच्घच्याइरहेका छौँ ।
अहिले विद्यार्थीहरूले कक्षा १२ सम्म नेपालमा पढेर विदेशलाई आफ्नो गन्तव्य बनाउनुको एउटा कारण नेपालमा चाहनाअनुसारको विषय अध्ययन गर्न नपाउनु पनि हो । उच्च शिक्षा अध्ययन पूरा गरेर पनि रोजगारी नपाउने, विश्वविद्यालयमा सधँै बन्द हडताल हुने, परीक्षा समयमा नहुने, उत्तरपुस्तिका पटक पटक हराइदिनेजस्ता कारणहरू पनि विद्यार्थीहरू विदेशिनुका अर्का कारणहरू हुन् ।
सन् २०२३ मा मात्र १ लाख १० हजार विद्यार्थीहरू अध्ययनका लागि विदेश गएको तथ्याङ्क छ । २०८० सालको कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको २ लाख ३ हजार ८ सय ४७ रहेका छन् । नेपालमा अहिले सबै गरेर १४७० ओटा जति कलेजहरू छन् । १ लाखभन्दा बढी विद्यार्थीहरू विदेश गएपछि यो वर्ष ५०४ वटा कलेज बन्द हुने समाचार आएको छ । विविध कारणहरूले नेपालका कलेजहरूप्रति विद्यार्थीहरूको विश्वास घट्दो क्रममा छ । हामी पनि त्यसबाट केही न केही रुपैयाँ प्रभावित भएका छौँ । हाम्रा कलेजहरूलाई विश्वासिलो र भरपर्दोबनाइ राख्न शिक्षक प्राध्यापकहरूले थप मेहनत गर्नुपर्ने आवश्यकता छ ।
केही दिनअघि कामको सिलसिलामा नेपाल सरकारका १ जना सचिवसँग हाम्रो भेट भयो । उनले आफ्ना सन्तानहरू दुवै विदेशमा रहेको बताए । सचिवका सन्तानहरू पनि विदेशमा ¤ भन्ने हाम्रो जिज्ञासामा उनले भने, “छोरा विदेशमा थियो छोरीलाई नेपालमै कम्प्युटर इन्जिनियरिङ पढाउने तयारी गर्दै थियौँ । छोरी पनि पढ्न तयार थिइन् । दाजुले फोन गरेर नेपालमा १५÷१६ वर्ष पुरानो कोर्स पढाउँछ, त्यो कोर्स पढेर रोजगारी पाउन मुस्किल हुन्छ । यहाँ त १÷२ वर्षमा नयाँ नयाँ कोर्सहरू तयार गर्छन् । यतै आएर पढ्नु भने पछि छोरी पनि उतै गइन् ।”
अहिले प्रतिभाशाली विद्यार्थीहरू नेपाल बस्नै चाहँदैनन् । विदेश गएकाहरू नेपाल फर्कन मान्दैनन् । प्रतिभाशाली र उत्कृष्ट विद्यार्थीहरूबिना हाम्रो देशको भविष्य कसरी राम्रो बन्न सक्छ ? देश छोडेर जाने विद्यार्थीहरूको लागि एकजना युवाले लेखेको स्मरण योग्य छ, ‘आफ्नो घरको फोहर पन्छाउनुभन्दा अरुको सफा, सुकिला र चिटिक्क परेको घरमा बस्न तिमीहरूले उचित सम्झ्यौ । यसरी घर बिर्सेर जानेहरूका लागि मेरो एउटै मात्र आग्रह छ आफ्नो पढाई सकेर आफ्नै देश फर्क, आफ्नै घर आउ र आफ्नै माटोको सुगन्ध खोज । मान्छेकै कारणले जमेको फोहरलाई मान्छेले नै सफा गर्न सक्छौँ ।’ हाम्रा शिक्षक प्राध्यापकहरूले यस्ता देशको निम्ति काम गर्न चाहने विद्यार्थीहरू तयार गर्न आवश्यक छ । हामीले उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यार्थीहरूलाई पनि फर्केर आएर देशकै सेवा गर्न उत्साहित गरिरहनु पर्छ ।
देशको परिस्थिति सधैँ आजको जस्तो रहिरहँदैन । परिवर्तनको लागि हामी निरन्तर लागिरहनुपर्छ । लाखौँ विद्यार्थीहरू भएका विश्वविद्यालयले कुनै कोर्स परिवर्तन गर्न सहज छैन । त्रिवि, रजिष्टार र रेक्टर तथा प्राध्यापकहरूको राजनैतिक भागबण्डामा नियुक्ति हुने परम्परा रहेसम्म हाम्रा विश्वविद्यालयहरू राम्रो सञ्चालन हुन सक्दैनन् ।
अब देशको आवश्यकताअनुसारको पाठ्यक्रमहरू डिजाइन गर्न सक्ने स–साना विश्वविद्यालयहरूको स्थापना गर्नुपर्छ । विज्ञान, गणित, प्रविधि र इन्जिनियरिङजस्ता विषयहरूमा उत्पादन श्रमसँग जोडिएका शिक्षा प्रदान गर्न सकियो र खोज तथा अनुसन्धानमूलक क्षेत्रमा जोड दिन सकियो भने नेपालकै विश्वविद्यालयहरूमा विद्यार्थीहरूको आकर्षण बढ्नेछन् र देशको लागि चाहिने जनशक्ति पनि यही उत्पादन हुनेछन् ।
ख्वप विश्वविद्यालयको प्रस्ताव हामीले त्यस्तै खोज र अनुसन्धानमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले गरिरहेका छौँ । २०६४ सालदेखि हामीले निरन्तर प्रयास गरिरहेका छौँ । हामी भन्दापछि प्रस्ताव गर्ने थुप्रै विश्वविद्यालयले सम्बधन प्राप्त गरी सञ्चालनमा आइसकेका छन् । हाम्रो भने अझै विधेयक शिक्षा मन्त्रालय, अर्थ र कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी पाएका छौँ । संसद्सम्म पनि पुगेको छैन । त्यो कहिले पुग्ने हो अझै अनिश्चित छ ।
ख्वप विश्वविद्यालयबारे अध्ययन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसहितको टोली, शिक्षामन्त्री विद्या भट्टराई, भूमिसुधार मन्त्री बलराम अधिकारीसहितको टोलीले यसवर्ष हाम्रा कलेजहरू तथा अस्पतालको अवलोकन र अनुगमन गर्नुभयो । उहाँहरू सबै हामीले गरेका कामहरूप्रति सकारात्मक हुनुहुन्छ । अझ तपाईंहरूको विधेयक अन्तिम चरणमा छ पनि भन्नुहुन्छ । त्यो अन्तिम कहिले आउने हो थाहा छैन ।
अघिल्लो पटक अनुगमनमा आउनुभएका एकजना सदस्यले भन्नुभएको अहिले हाम्रो मानसपटलमा अझै ताजै छ – प्रमुखज्यू, अरू कारणले होइन तपाईंहरूलाई विश्वविद्यालय नदिनुका २ वटा कारण छन् । त्यो लेखेर राख्नुहोस । पहिलो, तपार्इंहरू सरकारमा जानुहुन्न र भागबन्डा गर्नुहुन्न । दोस्रो, तपाईंहरू आदिवासी जनजाति पर्नुभयो अनि माथि निर्णय गर्नेहरू अर्कै जातिका छन् ।’ अनुगमनकर्तामध्येका एक प्रभावशाली व्यक्तिको त्यो भनाइ हामीले अहिले पनि सम्झिरहेका छौँ ।
पुस २५ गते चितवनको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाजी आउनुभयो । त्यहाँ एउटा राम्रो कलेज छ, त्यो नगरपालिकाले सञ्चालन गर्ने कुरा भइरहेको छ । तर, कसरी चलाउने अन्योल भयो । अनि भक्तपुर नगरपालिकाले कसरी चलाइरहेको छ, त्यहीअनुसार गर्नुपर्ला भनी बुझ्नका अध्ययनको लागि आएको भन्नुभयो । हामीले कलेज सञ्चालनका कानुनी पक्षहरूबारे जानकारी दियौँ । उहाँहरूले सबै कलेजहरू अवलोकन गर्नुभयो ।
रसुवामा कामको सिलसिलामा पुग्दा उत्तरगया गाउँपालिकाका प्रमुख उपप्रमुखहरूसित हाम्रो भेट भयो । उहाँहरू पूरै टीम भक्तपुर भ्रमणमा आउने तयारी गरिरहेको जानकारी दिनुभयो । चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले शिक्षा, स्वास्थ्यबारे बुझ्ने हो भने भक्तपुर गएर सिक्नु भन्नुभएको पनि उहाँहरूले बताउनुभयो ।
भक्तपुरमा धेरै पालिकाका जनप्रतिनिधिहरूले अध्ययन गरिरहेको छन् । हामीले गरिएको प्रयास खेर गएको छैन । नेपाल मजदुर किसान पार्टीका नेता, कार्यकताहरू र स्थानीय जनताले गरेका निःस्वार्थी भावनाले गरेका कामहरू अहिले सबैको लागि उदाहरणीय बनिरहेका छन् । यो हामी सबैको लागि खुसीको कुरा हो ।
हामी राजनैतिक कार्यकर्ता हौँ । हामी कहिल्यै निरास हुने छैनौँ । एक दिन ख्वप विश्वविद्यालय विधेयक पारित हुने नै छ । त्यो देशकै स्थानीय तहले सञ्चालन गर्ने पहिलो विश्वविद्यालय बन्नेछ । जसरी अहिले ख्वप कलेजहरूले देशभरका विद्यार्थी र अभिभावकको ध्यान तानिरहेका छन्; त्यतिबेला विश्वकै ध्यान खिच्ने समय हुनेछ । केबल हाम्रो धैर्यको मात्रै खाँचो छ । हामी आशावादी भएर अविचलित भएर निरन्तर अगाडि बढिरहने छौँ ।
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल र शारदा क्याम्पस माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको २०८१ पुस २७ गते शनिबार भएको वार्षिक भेटघाट कार्यक्रममा नगर प्रमुख प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply