“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
–लु यान
‘भरे वेस्ट छाङकान बजारको बेइजिङ किताब पसलमा भेटौं न ।’
२७ वर्षकी छेन सितोङ बेइजिङमा सेल्स गर्लको काम गर्छिन् । उनलाई कोही साथीसँग भेट्न परे बेइजिङ पुस्तक पसलको ठेगाना दिन सजिलो लाग्छ ।
‘म काम गर्ने ठाउँ पुस्तक पसल नजिकै छ । फुर्सद हुनासाथ हामी पुस्तक पसलका ¥याकहरु चहार्ने गर्छौं । किताबको सागरमा डुब्न मलाई मज्जा लाग्छ । मेरा अधिकांश साथीहरु पनि त्यस्तै महसुस गर्छन् ।’
बेइजिङ शहरको सबभन्दा ठूलो बेइजिङ पुस्तक पसलको भवन पाँचतल्ले छ । धेरै मानिसको निम्ति यो ठाउँ आराम गर्ने र आफ्नो दिमाग ‘रिचार्ज’ गर्ने ठाउँ समेत बनेको छ । यसरी पुस्तक पसलमा आइरहने मानिस विभिन्न उमेर समूह र पेशा–व्यवसायका छन् । पुस्तकका अग्ला–अग्ला ¥याकहरुबीच किताबका पानामा डुब्दै गरेका मानिस भेटिनु यो पसलमा सामान्य हो । कोही–कोही अंगालोभरि पुस्तकका चाङ बोकेर हिंडिरहेका हुन्छन् । उनीहरुको अनुहारमा सन्तोषको चहकिलो हाँसो खुलेको हुन्छ ।
‘पुस्तक सधैं मेरो जीवनको हिस्सा बनेको छ । म सानी केटी हुँदैबाट मेरा आमाबुवाले मलाई पुस्तक पढ्न प्रोत्साहित गर्नुभयो ।’, १६ वर्षकी वाङ फेङले भनिन् । उनले हातभरि विज्ञान साहित्यका पुस्तक बोकेकी छिन् ।
नयाँ प्रारुपतिर
पछिल्ला वर्षहरुमा प्रविधिको विकास बेलगाम छ । बजारमा ई–पुस्तकहरुको हाईहाई छ । कागजका पानामा गाता हालेर बनेका पुस्तकका पसलहरुलाई वास्तवमै ठूलो दबाब छ । अझ कति पसलहरु त जीवनमरणको सङ्घर्षमा छन् ।
‘उपभोक्ताका माग र मानिसको उँभोलाग्दो उपभोग जीवनपद्धति पुस्तक पसलहरुका लागि अवसर र चुनौती दुवै बनेका छन् ।’,चीनका प्रकाशन उद्योग र पुस्तकपसल विकासबारे गएको जनवरी ११ मा भएको सम्मेलनमा बोल्दै बुकताओ नयाँ प्रकाशन प्रतिष्ठानका प्रमुख छेङ साङ्कोले भनेका थिए ।
यस्ता चुनौतीहरुबीच केही पुस्तक पसलहरुले आफूलाई परिवर्तन गर्न प्रारम्भिक कदम भने चालिसकेका छन् । यसमा पनि अग्रपङ्क्तिमा छ–सिन्ह्वा पुस्तक भण्डार । यो नाम अधिकांश चिनियाँहरुका लागि नौलो होइन ।
सिन्ह्वा पुस्तक भण्डारको स्थापना सन् १९३७ मा भएको थियो । सरकारको स्वामित्वमा उत्तिबेला शान्सी प्रान्तको येनानमा एकल पुस्तक प्रकाशक र वितरकको रुपमा स्थापना भएको यो भण्डारका हाल चीनभरि १२ हजार शाखाहरु छन् । जुन पनि शहरमा त्यसको शाखा छ, त्यो त्यहाँको मुख्य पुस्तक भण्डार नै बनेको छ ।
‘यो उद्योग हिजोको भन्दा नितान्त भिन्न भइसकेको छ । एक प्रकारले यसले ‘पुनर्जन्म’ पाइरहेको छ ।’
जनवरी महिनाको शुरुमा सिन्ह्वाको बेइजिङ, हातियन जिल्लामा अवस्थित एउटा शाखा पूर्ण रुपमा नयाँ प्रारुपका साथ पुनःसञ्चालनमा आयो । फ्रान्सेली शैलीका ठूल्ठूला झ्यालहरु, पहेंलो रङ्गको प्रकाश र आरामदायी टेबुल–कुर्सी मिलाएर राखिएका क्याफे । अनि त्यो क्याफेमा ताफा कफी, केक र अन्य पेयपदार्थको बन्दोबस्त । पाठकले आफ्नो अनुकूलता र रोजाईमा पुस्तक पसलभित्रैको क्याफेमा कफीको मज्जा लिन पाउने बन्दोबस्त गरिएको छ ।
‘यस्ता आरामदायी पुस्तक पसलका क्याफेहरुमा किताबभित्र डुब्नुको मज्जा नै बेग्लै । हिजोको शैलीका पुस्तक पसलभन्दा यस्ता पुस्तक पसलहरुमा म बढी पुस्तक किन्न मन गर्छु ।’, छेनले भनिन् ।
विगतमा एकै विषयका पुस्तकहरुको मात्र अधिक्य हुने यो पसलमा आजभोलि धेरै विषयमा धेरै पुस्तक पनि राख्न थालिएको छ । वास्तुकला र भवन निर्माणका पुस्तकहरुसँगै सामाजिक विज्ञान, जीवनपद्धति र बालपुस्तकहरु समेत पसलमा राख्न थालिएको छ । अझ स्टेशनरी सामग्री समेत पसलमा सजिलै उपलब्ध हुने बन्दोबस्त मिलाइएको छ ।
सन् २०१७ को सेप्टेम्बरयता बेइजिङमा रहेका सिन्ह्वाका सात वटा शाखालाई नयाँ प्रारुपमा चलाउन थालिएको हो । ‘हामी पुस्तक पसलहरुको जीवनमा नयाँ आयाम आएको देखिरहेका छौं । सिन्ह्वामात्र यसबाट कसरी अछुटो बस्न सक्छ र ? हाम्रा ग्राहकहरुलाई नयाँ तरिकाको स्टाइल र सेवा दिन हामी कटिबद्ध भएर लागिपरेका छन् ।’, बेइजिङ सिन्ह्वा पुस्तक भण्डार सञ्जाल कं.लिको मातृकम्पनी बेइजिङ प्रकाशन तथा वितरण समूहका अध्यक्ष ली झाङ्चुनले भने ।
यसरी सिन्ह्वाका शाखाहरुलाई नयाँ रुप दिने शिलशिला देशैभरि शुरु गरिएको छ । पुस्तक पसललाई नयाँ रुपरङ्गमा सजाउने र पसललाई पुस्तकमा मात्र सीमित नराखी क्याफे र अध्ययन कक्षको समिश्रणसमेत बनाउने काम बाहेक पुस्तक पसलका मालिकहरु आफ्नो पसलको स्थान समेत परिवर्तन गर्नेबारे ध्यान दिइरहेका छन् । उनीहरु सकभर विशाल बजार, सिनेमा गृह र कार्यालय भवनहरु नजिक रहेका स्थानलाई आफ्नो निम्ति अनुकूल स्थान बनाइरहेका छन् ।
हिजोका पुराना शैलीका पुस्तक भण्डारले नदिने धेरै सेवाहरु आजका नयाँ शैलीका पुस्तक पसलहरुले सजिलै दिने गरेका छन् । यो वर्षको शुरुवातदेखि दक्षिणपश्चिम चीनको चुनकिङ नगरपालिकाको सिन्ह्वा पुस्तक भण्डारले पुस्तक सापटीमा पढ्न पाउने सुविधा समेत दिन शुरु गरेको छ । रुस र चीनको सिमानामा पर्ने उत्तरपूर्वी चिनियाँ प्रान्त हेइलोङच्याङको मुतानच्याङ शहरलाई चीन–रुस संवाद डबलीका रुपमा पुनःनिर्माण गरिएको छ । त्यो पसलमा धेरै सङ्ख्यामा रुसी भाषाका पुस्तकहरु राखिएका छन् । साथै चीन र रुस दुवै देशका पाठकहरुलाई सहभागी बनाएर साँस्कृतिक जमघट समेतको आयोजना हुने गरेका छन्–यो पुस्तक पसलमा ।
‘यो उद्योग हिजोको भन्दा नितान्त भिन्न भइसकेको छ । एक प्रकारले यसले ‘पुनर्जन्म’ पाइरहेको छ ।’, पुस्तक पसल शहरी बासिन्दालाई नयाँ सम्भावनाका बाटा देखाउने र राम्रो जीवन पद्धति दिने ठाउँ बनिरहेको चर्चा गर्दै छेङले भनिन् ।
तोङ्ची विश्वविद्यालयमा मानविकी संकायका प्राध्यापक वाङ कोवेईले चीनका पुस्तक पसलहरुको पुनर्जागरण वा ‘पुनर्जन्म’ प्राविधिक स्तरोन्नति मात्र नभई पुरानो एकमुखी पुस्तकभण्डारहरुको अवसान र नयाँ उदयीमान भण्डारहरु ‘बद्लिंदो उपभोग पद्धतिको सन्दर्भमा नयाँ संस्कृतिको विकास’ पनि भएको बताए ।
डिजिटल जमानातिर
पठन उद्योगबारे जानकारी राख्ने र अनुसन्धान गर्ने चिनियाँ कम्पनी ओपनबुकले गएको जनवरीमा सार्वजनिक गरेको चीनको पुस्तक व्यापारसम्बन्धि प्रतिवेदनअनुसार चीनमा सन् २०१७ मा पुस्तकको व्यापार ८० अर्ब ३२ करोड युआन अर्थात् १२ अर्ब ४९ करोड अमेरिकी डलर बराबर भयो । अघिल्लो वर्षको तुलनामा यो व्यापार १४.५५ प्रतिशतले बढी हो । प्रतिवेदनअनुसार सन् २०१७ मा अनलाईनमार्फत् पुस्तक बिक्री बढेको छ ।
पुस्तक पसलहरुले आफ्नो भौतिक रुप–रङ्गको परिवर्तनसँगै आफ्नो व्यापारलाई अनलाईनमा लाने पनि भरपुर प्रयास गरिरहेका छन् । छाङ्चाओको सिन्ह्वा पुस्तक पसल यस्तो डिजिटल क्रान्तिको शुरुवातकर्तामध्ये पर्दछ ।
छाङ्चाओको सिन्ह्वा पुस्तक पसलले सन् २०१३ मा टीमेल डट कम नामको एउटा बिक्री साइटको शुरुवात ग¥यो । शुरु–शुरुमा यसले खासै गति लिन सकेको थिएन । दुई–चार पुस्तकको अर्डरमै चित्त बुझाउने पर्ने अवस्था थियो ।
जीवन–मरणको प्रश्न भएपश्चात पुस्तक पसलहरुले नयाँ–नयाँ तरिकाको खोजी गर्न थाले । पुस्तक पसलहरुले सामाजिक सञ्जालहरुमा धेरै ‘फलोअर’ भएका केही निश्चित प्रकाशक र लेखकहरुसँग सहकार्य गर्ने जुक्ति निकाले । ती लेखक र प्रकाशकले आफ्ना पुस्तकबारे टीमेलमा चर्चा गरिदिन थालेपश्चात यो तरिकाले व्यापकता पायो ।
यस्तो एकै प्रयासले तीन दिनभित्रमा मात्र एक हजारभन्दा बढी पुस्तकका अर्डर आए । पुस्तक पसलले अङ्गालेको नयाँ तरिका सफल भयो । ‘हाम्रो लागि त यो कति हो कति ठूलो सङ्ख्या थियो । हामी यति खुशी भयौं, यति । बिहान ३ बजेसम्म लगातार ओभरटाइम गरेर हामीले पुस्तक पठाउने बन्दोबस्त ग¥यौं ।’, पुस्तक पसलको ई–कमर्श शाखाका प्रमुख लुओ काईले भने ।
पुस्तक पसलले विच्याट र क्युक्यु जस्ता सामाजिक सञ्जालहरुलाई समेत आफ्नो व्यापार प्रबद्र्धनका माध्यम बनाएका छन् । उपभोक्ताको बढ्दो चासो हुने समयबारे खोजी अध्ययन गरी पसलले रातिको समय र विशेषतः गर्मी र जाडो विदाको समयमा पनि थप कर्मचारी राखी पुस्तक ढुवानीको बन्दोबस्त मिलाएको छ । विशेषतः विद्यार्थीहरुको चासोलाई ख्यालमा राखी पसलले किताब किन्न थप छनौटहरु उपलब्ध गराइरहेको छ ।
यो फरक तरिकाले हिजोको भन्दा धेरै सफलता पनि दिलायो । सन् २०१३ मा २८ लाख युआन अर्थात् ४ लाख ३५ हजार अमेरिकी डलरमा सीमित रहेको पुस्तक व्यापार सन् २०१७ मा ५ करोड १० लाख युआन अर्थात् ७९ लाख ३० हजार अमेरिकी डलरमा उक्लेको छ ।
‘हामी थप प्रगतिको आशा गरिरहेका छौं र यसको लागि इन्टरनेटको प्रयोगलाई थप ध्यान दिइरहेका छौं ।’, सिन्ह्वाको ई–कर्मश विभागका प्रमुख ली वेईले भनिन् । आजभोलि पुस्तक पसलहरुले पनि पुस्तकको उपलब्धिता जथाभावी गर्ने भन्दा अनलाईनमा बिक्रीको भएको तथ्याङ्कलाई ध्यानमा राखेर मात्र पुस्तकको जोहो गर्ने नयाँ तरिका पनि स्थापित भएको छ । यसले निकट भविष्यमा थप सहज सेवा र उत्पादन वितरण गर्न सकिनेछ ।
सन् २०१७ को अन्त्यतिर सिन्ह्वा पुस्तक भण्डारले अलिबाबा ग्रुपअन्तर्गत क्लाउड कम्प्युटिङ एण्ड डाटा म्यानेजमेन्टका प्रबद्र्धक अलिबाबा क्लाउड कम्प्युटिङसँग सहकार्य गर्ने घोषणा गरेको थियो । यो कार्यक्रमअन्तर्गत सिन्ह्वाका सबै १२ हजार शाखाहरु, ५८४ प्रकाशन एजेन्सी र ३ हजार पुस्तकालय समावेश गरिएको छ । यसले पुस्तकप्रेमी पाठकहरुलाई थप सहज र फरक पठनअनुभव दिने पक्का छ ।
सिन्ह्वा र अलिबाबाबीचको यो सहकार्यले निकट भविष्यमा ‘स्मार्ट’ बुकस्टोर शुरु गर्ने योजना समेत बनाइरहेको छ । बेइजिङबाट यसको शुरुवात गर्ने योजना बनाइएको छ । यो नयाँ पुस्तक पसलमा क्युआर कोडबाट खुल्ने ढोका, मुखाकृति पहिचान गर्ने प्रविधि, स्वभुक्तानी र अरु धेरै उच्च प्राविधिक सुविधाहरु पाठकलाई उपलब्ध गराइने बताइएको छ ।
मुल स्रोतः बेइजिङ रिभ्यु, जनवरी २५, २०१८
भाषानुवादः नीरज
Leave a Reply