(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)
- ३१. बोल्शेभिकहरूका लागि यो अर्थपूर्ण थियो । क्रान्ति र त्यसपछिको अवधिमा सोभियत सङ्घको विशिष्ट ऐतिहासिक परिप्रेक्ष्यमा सर्वहारा हुकुमको स्वरूप थियो यो । नयाँ अर्थनीति (नेप) बनेपछि पूर्व तथा वर्तमान शोसकहरूको श्रम र सीपको खाँचो आइलाग्यो । तर, तिनलाई श्रमजीवीवर्गको हुकुम अथवा समाजवादको सेवामा मात्र लगाउन सकिन्थ्यो । तिनीहरूलाई निश्चित सीमाभन्दा पर गएर पुनः पुँजीवादी सम्बन्धको निर्माण गर्ने अथवा पुनः राजनीतिक शक्ति हत्याउने छुट दिन सकिन्थेन ।
(टिपोट ९ : गृहयुद्धपछि भएको विध्वंस र त्यसपछि छाएको भोकमरीबाट अर्थतन्त्रलाई सकेसम्म बलियो बनाउन बोल्शेभिकहरूले सरकारी निरीक्षणमा पुँजीवादलाई मौलाउन तथा नाफामुखी व्यापारलाई बढावा दिएका थिए । यसैलाई नयाँ अर्थनीति भनिन्छ । (यसका प्रस्तावक स्वयम् लेनिन हुनुहुन्थ्यो । अनु.))
- ३२. सन् १९२० को दशकभरि र सन् १९३० को दशकको सुरुसुरुमा बोल्शेभिक पार्टीले तीव्ररूपमा मजदुरवर्गबिच सङ्गठन गरेको थियो । सन् १९२० को दशकको अन्त्यतिर पार्टी सदस्यहरू प्रायः मजदुर हुन्थे । देशका बहुमत मजदुर पार्टीमा आबद्ध थिए । प्रथम पञ्चवर्षीय योजना, सघन औद्योगीकरण र निजी खेतीलाई सामूहिक (कोलखोज) वा सोभियत खेती (सोभखोज) मा बलपूर्वक सामूहिकीकरण गर्ने अत्यन्त उथलपुथलकारी समय थियो । त्यही बेला व्यापक स्तरमा सङ्गठन विस्तार तथा राजनीतिक शिक्षादीक्षाको काम चलिरहेको थियो । बोल्शेभिक नेतृत्व पार्टीलाई ‘सर्वहाराकरण’ गर्ने प्रयासमा इमानदार थियो भने चाहेअनुसारको परिणाम ल्याउनमा सफल थियो । (रिग्बी, पेज १६७–८, १८४, १९९)
- ३३. पोलिटब्युरोमा स्तालिन र उहाँका समर्थकहरूले सोभियत सङ्घलाई प्रजातान्त्रिकीकरण गर्न चाहनुका अनेकौँ कारण खुलाउनुभयो । यी कारणहरू केलाउँदा देश समाजवादको नयाँ चरणमा पुगिसकेकोमा स्तालिनको अगुवा टोली विश्वस्त भएको बुझिन्छ ।
- ३४. अधिकतर किसान सामूहिक खेतीमा थिए । महिनैपिच्छे एकल किसानको सङ्ख्या घटिरहेको थियो । यो तथ्य देखेर स्तालिनको अगुवा टोलीले किसानहरू अब अलग्गै सामाजिक–आर्थिक वर्ग नरहेको ठान्यो । किसानहरू मजदुरभन्दा फरक होइन बरु मजदुरजस्तै बनेका थिए ।
- ३५. सोभियत उद्योगको तीव्र विकास भयो र बोल्शेभिक पार्टीमार्फत राजनीतिक सत्तामा मजदुरवर्गको पकड कसिलो भयो । यससँगै स्तालिनले ‘सर्वहारा’ शब्द अब सान्दर्भिक नरहेको बताउनुभयो । स्तालिनले दाबी गर्नुभयो – ‘सर्वहारा’ भनेको पुँजीवादी शोषणले पिसिएको मजदुरवर्ग थियो; ऊ पुँजीवादी उत्पादन सम्बन्धबिच काम गथ्र्यो; जस्तो दस–बा¥ह वर्षअघि (खासगरी नयाँ अर्थनीतिअन्तर्गत) सोभियत सङ्घमा थियो । तर, अहिले नाफाका लागि मजदुरलाई पुँजीपतिले प्रत्यक्ष शोषण गर्ने स्थितिको अन्त्य भइसकेको छ । त्यसकारण, मजदुरवर्गलाई अब ‘सर्वहारा’ भन्नुपर्दैन ।
- ३६. यस दृष्टिकोणअनुसार श्रमको शोसक बाँकी थिएन । बोल्शेभिक पार्टीमार्फत मजदुरहरूले आफ्नै हितमा मुलुक चलाइरहेका थिए । तिनीहरू अब पुरानो शैलीका ‘सर्वहारा’ थिएनन् । तसर्थ, ‘सर्वहाराको हुकुम’ अब सटिक अवधारणा रहेन । यो नयाँ अवस्थाले एउटा नौलो राज्यको माग ग¥यो । (झुकोभ, इनोय, पेज २३१, २९२ । स्तालिन, ‘मस्यौदा’ पेज ८००–१)
कर्मचारीतन्त्रविरुद्ध सङ्घर्ष
- ३७. स्तालिनको अगुवा टोली समाजवादको यो नयाँ चरणमा पार्टीको भूमिकाबारे पनि चिन्तनशील थियो । सन् १९३४ जनवरीमा १७ औँ पार्टी महाधिवेशनमा प्रतिवेदन पेस गर्दै स्तालिनले बडो उत्साहपूर्वक ‘कर्मचारीतन्त्र’ विरुद्ध सङ्घर्ष थाल्नुभयो । स्तालिन, मोलोतोभ र अन्य अगुवाले नयाँ निर्वाचन प्रणालीलाई ‘कर्मचारीतन्त्रीकरणविरुद्ध हतियार’ भने ।
(टिपोट १० : स्तालिन, ‘१७ औँ पार्टी महाधिवेशनमा पेस प्रतिवेदन’, पेज ७०४, ७०५, ७०६, ७१६, ७२८, ७३३, ७५२, ७५३, ७५४, ७५६, ७५८)
- ३८. सोभियतहरूमा प्रवेश गर्ने व्यक्ति तय गरेर र सरकारका मन्त्रीहरूले गर्ने कामको निरीक्षण र समीक्षा गर्ने विभिन्न पद्धतिमार्फत पार्टी नेताहरूले सरकारलाई नियन्त्रण गर्थे । सन् १९३५ फेब्रअरी ६ को दिन सोभियतहरूको सातौँ सम्मेलनमा बोल्दै मोलोतोभले भन्नुभयो – गोप्य निर्वाचनहरूले ‘कर्मचारी मानसिकता राख्नेमाथि ठुलो मार हान्नेछन् र तिनलाई एउटा उपयोगी झट्का दिनेछन् ।’ यनुकिद्जको प्रतिवेदनले गोप्य निर्वाचन र व्यापक जनतालाई मताधिकार दिने कुराको सिफारिस गर्ने त परै जाओस् निर्वाचनको उल्लेखसम्म गरेन । (स्तालिन, ७ औँ पार्टी सम्मेलनमा प्रस्तुत प्रतिवेदन, इनोय, पेज १२४)
- ३९. उत्पादनमा प्रभावकारी साबित हुन सरकारका मन्त्री तथा तिनका स्टाफलाई आफूले लिएको जिम्मेवारीको विषयवस्तुबारे केही न केही जानकारी हुनुपथ्र्यो । यसको अर्थ तिनले आफ्नो जिम्मेवारी क्षेत्रबारे शिक्षा (सामान्यतया प्राविधिक शिक्षा) लिएको हुनुपथ्र्यो । तर, पार्टी नेताहरूले प्रायः पार्टीमा आफ्नो ओहोदाको प्रयोग गर्दै र माथि उक्लिँदै आफ्नो करियर बनाए । यस्तो पदोन्नतिका लागि कुनै प्राविधिक विज्ञता चाहिन्थेन । राजनीतिक मापदण्ड पूरा भए पुग्थ्यो । यी पार्टी अधिकारीहरूले कामकारबाहीमा नियन्त्रण त गर्थे तर यिनीहरूसँग प्राविधिक ज्ञान हुँदैनथ्यो । ज्ञान हुन्थ्यो भने कामको सुपरीवेक्षण गर्न सैद्धान्तिक नै सही सिप त हुन्थ्यो । (स्तालिन–हावर्ड अन्तर्वार्ता† झुकोभ, इनोय, पेज ३०५; झुकोभ, ‘रिप्रेस्सी’, अङ्क ६)
- ४०. स्तालिनको अगुवा टोलीले ‘कर्मचारीतन्त्रीकरण’ भन्नुको तात्पर्य यही थियो । ती अगुवाले यसलाई खतराको रूपमा हेरे र सबै माक्र्सवादी विचारकले जस्तै तिनीहरूले यसलाई स्वाभाविकरूपमा आइलागेको अनिवार्य समस्या मानेनन् । बरु, समाजवादी समाजमा पार्टीको भूमिका बदलेर यसबाट पार पाउन सकिने सोचे ।
- ४१. स्तालिन र पार्टी नेतृत्व वृत्तमा रहेका उहाँका सहयोगीहरूले सोभियत सङ्घमा लागु गर्न चाहेको प्रजातन्त्रको अवधारणाभित्र बोल्शेभिक पार्टीको सामाजिक भूमिकामा गुणात्मक परिवर्तन ल्याउने सोच पनि गाँसिएको थियो ।
अध्येताहरूको पहुँचमा आइपुगेका दस्ताबेजहरूबाट हामी के बुझ्छौँ भने सन् १९३० को दशकको अन्त्यसम्ममा आइपुग्दा पार्टीलाई राज्यबाट अलग राख्ने तथा देशको दैनिक जीवनमा पार्टीको भूमिकालाई पछिसम्मै सीमित गर्ने प्रयासहरू सुरु भइसकेका थिए । (झुकोभ, तायनी, पेज ८)
स्तालिन र उहाँका सहयोगीहरूले बोल्शेभिक पार्टीमा रहेका अन्य तत्वहरूको विरोधविरुद्ध सङ्घर्ष जारी राख्नुभयो । सङ्घर्ष अटल थियो तर सफल हुने सम्भावना घट्दै गयो । सन् १९५३ को मार्च महिनामा स्तालिनको निधन भयो । साथमा सङ्घर्ष सफलता हुने सम्भावना हरायो । लेभरान्ती बेरिया यो सङ्घर्षलाई जारी राख्न प्रतिबद्ध थिए । ख्रुश्चेभलगायत उनका सहयोगीले बेरियाको हत्या गर्नु पछाडिको वास्तविक कारण उनको यही प्रतिबद्धता रहेको बुझिन्छ । उनीमाथि मुद्दा चलाइयो, फर्जी आरोपहरू लगाइयो र सन् १९५३ को जून अथवा डिसेम्बरमा उनको अक्षरशः हत्या गरियो । धेरै प्रमाणले यस्तै देखाएका छन् ।
- ४२. सन् १९३६ को संविधानको दफा ३ भन्छ, “सोभियत सङ्घमा सम्पूर्ण शक्ति गाउँ तथा सहरका श्रमजीवी जनताको हातमा रहनेछ र यसलाई कामदार जनप्रतिनिधिहरूका सोभियतले अभिव्यक्त गर्नेछन् ।” दफा १२६ मा कम्युनिस्ट पार्टीलाई यसरी परिभाषित गरिएको छ, “(कम्युनिस्ट पार्टी) समाजवादी व्यवस्थाको विकास तथा सुदृढीकरणको सङ्घर्षमा श्रमजीवी जनताको अग्रदस्ता तथा सार्वजनिक तथा राजकीय स्तरमा श्रमजीवी जनताका सम्पूर्ण सङ्घ–सङ्गठनको नेतृत्वदायी केन्द्र हो ।” यसको अर्थ पार्टीले सङ्गठनहरूको नेतृत्व गर्ने थियो† पार्टी आफैमा राज्यको विधानपालिका तथा कार्यपालिका थिएन । (सन् १९३६ को संविधान† झुकोभ, तायनी, पेज २९–३०)
- ४३. स्तालिनले समाजलाई प्रत्यक्ष नियन्त्रण गर्ने जिम्मेवारीबाट पार्टी एकचोटि अलग भयो भने उसको भूमिका खालि आन्दोलन र प्रचारप्रसार अनि कार्यकर्ता छनोटमा सीमित हुने विश्वास लिनुभएको देखिन्छ । यसको अर्थ के ? यसको अर्थ सम्भवतः यस्तो थियो :
पार्टी आफ्नो मूलभूत जिम्मेवारीमा फर्किने थियो । साम्यवादका आदर्शहरू बुझाएर जनतालाई आफ्नो लक्ष्यमा समाहित गर्नु नै पार्टीको अहम् जिम्मेवारी थियो ।
यसको अर्थ घुम्ने मेचमाथि बस्ने आरामदायी कार्यशैली त्याग्नु थियो । साथै पुनः जारशाही, क्रान्ति, गृहयुद्ध, नयाँ अर्थनीति, तीव्रतर औद्योगीकरण एवम् सामूहिकीकरणको अवधिमा बोल्शेभिकहरूको जस्तो पहिचान थियो त्यसै शैलीको कठोर काम र निःस्वार्थ समर्पणमा फर्किनु थियो । यी अवधिमा बोल्शेभिकहरूमाथि विषवमन गर्ने पार्टीइतरका मानिसहरूका लागि बोल्शेभिक हुनुको अर्थ सबैभन्दा गा¥होफारो काम गर्ने र बलिदानी दिने व्यक्ति बन्नु थियो । जनताबिच वास्तविक आधार तयार पार्नुपर्छ – यही थियो (नियन्त्रणको जिम्मेवारीबाट अलग्गिनुको) वास्तविक अर्थ । (झुकोभ, केपी । सन् २००२ नोभेम्बर १३; मुखिन, उबिसत्वो)
- ४४. स्तालिनले जोड दिनुभयो, कम्युनिस्ट भनेका कडा श्रम गर्ने, शिक्षित तथा उत्पादन एवम् कम्युनिस्ट समाजको रचनामा वास्तविक योगदान दिन सक्ने योग्य मानिस हुन्छन् । स्तालिन आफै पनि अथक विद्यार्थी हुनुहुन्थ्यो ।
(टिपोट ११ : यसबारे धेरैलाई जानकारी छैन । यसको महत्व धेरैले बुझेका पनि छैनन् । स्तालिनबारे हाम्रो धारणा उहाँलाई घृणा गर्नेहरूले नै बनाइदिएका हुन् । (म्याकनील, पेज ८७) जर्जियाको तिफ्लिस सहरमा आमाले पठाएको धार्मिक पाठशालामा स्तालिन सर्वोत्कृष्ट छात्र हुनुहुन्थ्यो । किशोर उमेरमै स्तालिनले आफूलाई मजदुरवर्गको क्रान्तिकारी आन्दोलनमा समर्पित गर्नुभएको थियो । उहाँले कहिल्यै उच्च शिक्षा लिने अवसर पाउनुभएन । तर, उहाँ अत्यन्त बुद्धिमान र पढाकु हुनुहुन्थ्यो । उहाँको पढाइको दायरा निकै फराकिलो थियो । उहाँ दर्शनदेखि लिएर धातु विज्ञानजस्ता प्राविधिक विषयका पुस्तकसम्म पढ्नुहुन्थ्यो । समकालीन सामग्रीहरू हेर्दा उहाँलाई विभिन्न प्राविधिक क्षेत्रको राम्रो ज्ञान भएको र प्रविधिका मसिना कुरामा पनि उहाँले ध्यान दिएको बुझिन्छ । स्तालिनको पुस्तकालयबारे दखल राख्ने एक रूसी विद्वान्ले गजबको वर्णन गरेका छन् । उनी लेख्छन् – युद्धपछिको अवधिमा स्तालिनको गाउँको घर (दाचा) मा २० हजार पुस्तक थिए । तीमध्ये ५५ सय पुस्तकलाई उहाँको देहान्तपछि माक्र्सवाद–लेनिनवाद संस्थानमा लगिएको थियो । तीमध्ये अधिकांश पुस्तकमा ठाउँ–ठाउँमा नोट लेखिएको र रेखाङ्कन गरिएको थियो । (इलिजारोभ) स्तालिनलाई घृणा गर्ने रोय मेदभेदेभ झिँजो मान्दै उहाँले यथेस्ट अध्ययन गरेको स्वीकार्छन् । (मेदभेदेभ, ‘लिचनाइया’))
स्तालिनले आफ्नो निकटवर्तीको रूपमा छनोट गर्नुभएका धेरै व्यक्तिमा पनि आफूलाई खार्दै लग्ने यस्तै समर्पण पाइन्छ । सेर्गेइ किरोभ लेनिनग्राद पार्टी समितिका नेता र स्तालिनका नजिकका मित्र थिए । सन् १९३४ मा उनको हत्या भयो । उनले साहित्यको विशद् अध्ययन गरेका थिए । (किरिलिना, पेज १७५) “किरोभ मारिँदा अनुसन्धाताहरूले छानबिनमा सघाउ पुग्ने सबथोकको फोटो खिचेका थिए । ती फोटोमा किरोभले काम गर्ने टेबलमाथिको भाग देख्न सकिन्छ । त्यसको दायाँपट्टि हित्तीको इन्जिनियरिङ निर्देशिका छ भने बायाँपट्टि वैज्ञानिक र प्राविधिक जर्नलहरूको चाङ छ । सबैभन्दा माथि ‘प्रज्वलनशील चट्टान’ नामक पुस्तक छ । यी पार्टी कार्यकर्ताको रुचिको दायरा निकै फराकिलो थियो, जस्तो स्तालिनको थियो ।” (मुखिन उबिसत्व, पेज ६२५)
सन् १९२४ मा लाभरेन्ती बेरियाले पार्टी जीवनबारे आत्मसंस्मरण लेखे । वर्षौँवर्षको निकै खतरनाक भूमिगत क्रान्तिकारी जिम्मेवारी पूरा गरेर उनी फूर्तिलो भएका थिए । तीमध्ये केही जिम्मेवारी पूरा गर्न उनी चरम कम्युनिस्टविरोधी ककेसियाली समूहभित्र बोल्शेभिक घुसपैठियासमेत बनेका थिए । २० वर्षको कलिलो उमेरमै उनी जनरल पदले विभूषित भएका थिए । आफूले गरेका कामको चाङ लगाएर उनले आरामदायी काम मागेनन्, बरु इन्जिनियरिङको अध्ययनमा फर्किपाऊँ भनी निवेदन गरे । केही अप्ठेरा काम गरेपछि अधिकांश ‘पुराना बोल्शेभिकहरू’ ले सजिला काम माग्थे र पाउँथे पनि । तर, बेरियाले कम्युनिस्ट समाजको निर्माणमा योगदान गर्न योग्य बन्ने सोचे । (बेरिया : कोनेत्स कारइरी, पेज ३२०–३२५)
- ४५. छोटकरीमा भन्नुपर्दा प्रमाणहरूले स्तालिन निम्न उद्देश्य पूर्तिका निम्ति नयाँ निर्वाचन प्रणाली लागू गर्न चाहनुहुन्थ्यो भन्ने बताउँछन् :
क. प्राविधिकरूपमा तालिमप्राप्त व्यक्तिले नै उत्पादन र सोभियत समाजको नेतृत्व गरेको सुनिश्चित गर्न ।
ख. बोल्शेभिक पार्टीको पतन रोक्न अनि पार्टीका नेता–कार्यकर्तालाई तिनको मूलभूत काममा फर्काउन । उनीहरूमार्फत उदाहरण कायम गर्दै र सम्झाइबुझाइ बाँकी समाजलाई राजनीतिक र नैतिक नेतृत्व दिलाउन ।
ग. जनसमूहबिच पार्टीको काम सबल पार्न ।
घ. सरकारलाई देशका सम्पूर्ण जनताको साथ–समर्थन दिलाउन ।
ङ. वर्गविहीन कम्युनिस्ट समाजको जग स्थापित गर्न ।
Leave a Reply