भर्खरै :

गैरसरकारी संस्था जनताप्रति जवाफदेही नहुने

विकास गर्ने र आर्थिक सहयोगको नाउँमा विभिन्न देशमा छिर्ने संस्थाहरूमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पनि हुन् । कहिले भौतिक सुधार त कहिले जनचेतना जगाउने, सांस्कृतिक स्तर उठाउने, अन्धविश्वास, कुरीति तथा विद्यमान समस्या हटाउने नाममा गैरसरकारी संस्थाहरू देश–विदेशमा छिरेका हुन्छन् । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सुधार र सहयोगको नाममा आन्तरिक विवाद चर्काउने, देशका विभिन्न सुराकहरू थाहा पाउने, समाजमा मानिसलाई भड्काउने, लोभलालच देखाएर, पैसा बाँडेर मन बिगार्ने काममा पनि सक्रिय रहेका हुन्छन् । गैरसरकारी संस्था सञ्चालन गर्ने मुख्य मानिसहरू पैसामा बिकेका हुन्छन् या पैसाकै लोभमा उनीहरू सक्रिय हुन्छन् । यसरी गैरसरकारी सङ्घ संस्थामा आबद्ध हुने व्यक्तिहरू अधिकांश एमालेका नेता तथा कार्यकर्ताहरू परेका छन् ।
गैरसरकारी संस्थाले साँच्चिकै देश विकास, समाज उत्थान र जनताको सांस्कृतिक स्तर उठाउने काममा इमानदारीपूर्वक काम गर्दैन । प्राप्त त्यो पैसा सबै उपयोग पनि हुँदैन । ती संस्थाका मुख्य व्यक्तिहरू जनताप्रति उत्तरदायी हुँदैनन् । यहाँ काम गरेको प्रगति देखाएर उनीहरू विदेशी दाताहरूको स्वार्थ पूरा गर्छन् र विदेशीलाई खुसी पार्छन् । खर्चको हिसाबले धेरै प्रगति गरेको देखाइन्छ तर व्यवहारमा त्यति काम भएको देखिँदैन । गैरसरकारी संस्थाले गर्ने सबै काम गलत नभए पनि अधिकांश संस्थाले पैसा फालेर मन भाँड्ने, सेवा गर्ने भावनालाई छिन्नभिन्न पार्ने, सरकारको सार्वजनिक दायित्वमा असर पु¥याउने काम गरिरहेको हुन्छ । यस अर्थमा गैरसरकारी संस्थाहरूले जनतालाई राजनीतिबाट टाढा राख्ने मात्र होइन अप्रत्यक्ष प्रत्यक्षरूपमा भइरहेको राजनीति भाँड्ने काममा सघाइरहेका हुन्छन् । यसैले कोही भन्छन्, गैरसरकारी संस्था साँच्चै गैरसरकारी संस्था भएर जिम्मेवारी बहन गर्दैन । गैरसरकारी संस्थाको काम स्थानीय जनताप्रति उत्तरदायी हुँदैनन् । कति त्यो योजनाको काम समाजलाई थाहै हुँदैन । कुन संस्थाबाट कुन योजनाको लागि कति रकम आएको थाहै दिँदैन । कति काम भित्रभित्र भइरहेको हुन्छ । गैरसरकारी संस्थाले राष्ट्रिय बजेटबाट जनताको ध्यान अन्त मोड्ने प्रयास गरेको हुन्छ । गैरसरकारी संस्थाको सिद्धान्तले सार्वजनिक भावना र दायित्वलाई छिन्नभिन्न मात्र होइन सरकारले आफ्ना नागरिकहरूलाई हेरचाह गर्ने, तिनीहरूको जीवन स्वतन्त्रता तथा सुख प्राप्ति गर्ने राज्यको दायित्वलाई पनि छिन्नभिन्न पार्ने गरेको हुन्छ ।
एकातिर गैरसरकारी संस्थाहरू देशभित्र कचिङ्गल मच्चाउने काममा भित्रभित्र सक्रिय भइरहेका हुन्छन् भने अर्काेतिर त्यस संस्थामा पसेर अकुत सम्पत्ति कुम्ल्याउन पाउने हुँदा दलका नेता, मन्त्री, सांसद र कार्यकर्ता नै फसिरहेका हुन्छन्; पैसामा भुलाएर नेता, मन्त्री, सांसद हातमा लिएका हुन्छन् । पहिलेको सोभियत सङ्घ १५ देशमा टुक्राउन अमेरिकाका गैरसरकारी संस्थाहरूको ठुलो हात थियो । अन्तर्राष्ट्रिय सहयोग लिएर बोलिभियामा गैरसरकारीको सङ्ख्या धेरै बढेको थियो । सबैजसो गैरसरकारी संस्थाहरू विश्व बैङ्कबाट निर्देशित हुन्थ्यो । प्राप्त रकम गरिबकहाँ पुग्दैनथ्यो । यस्ता गैरसरकारी संस्थाले जनताका सामाजिक आन्दोलनलाई पछाडि धकेल्थ्यो; जनताको आन्दोलनलाई भित्रभित्रै बिगाथ्र्यो । ठुलठुला गैरसरकारी संस्थाको उद्देश्य नै आन्तरिक द्वन्द्व चर्काउने, परिवर्तनको चाहनालाई रोक्ने, छल्ने र षड्यन्त्र बुनेर जनताको कर्तव्य भुलाउने हो । त्यस्ता संस्थाले आफ्नै देशमा गरेर खाने प्रवृत्तिभन्दा विदेशीको मुख ताक्ने प्रवृत्तिको विकासमा टेवामा पु¥याउँछ । संस्थाका मुख्य मान्छेहरू स–साना व्यवसायहरू स्थापना गरेर ठुलठुला उत्पादनलाई ठेक्का पु¥याउँछन् ।
गैरसरकारी संस्थाहरूको नयाँ राजनीति विदेशी दलालहरूको राजनीति हो । तिनीहरूले कुनै राष्ट्रिय उत्पादन गर्दैनन् । ती संस्थाको नाउँमा तालिम र सहयोगको नाउँमा आउने रकम बिचैमा चुहिन्छ । प्रलोभनमा फस्ने, पदको दायित्व निर्वाह नगर्ने व्यक्तिहरू त यस्तै गैरसरकारी संस्थाको प्रलोभनमा फस्छन्, बिग्रिन्छन्; पहिलेको आफ्नो आस्था भुल्छन् र राजनीतिक बाटो नै छोड्छन् । गैरसरकारी संस्थाको प्रलोभनमा सबैलाई फसाउन नसक्नु या नफस्नु त्यो अर्काे पाटो हो; त्यो सकारात्मक पक्ष पनि हो । कति गैरसरकारी संस्थाको उद्देश्य राम्रो भए पनि स्वाभिमान र सार्वभौमिकतामा असर पु¥याउने खालको सर्त हुन्छ । त्यस्तो सर्त इमानदारीपूर्वक र निःस्वार्थपूर्वक राजनीति गर्ने दल र दलका नेता तथा कार्यकर्ताहरूको निम्ति मान्य हुँदैन । त्यही भएर कति विकासको योजना फर्काउनुपर्ने हुन्छ । यस्तै यस्तै गैरसरकारी संस्थाको प्रवेशले पहिले पहिले कति नेता तथा कार्यकर्ताहरूमा नराम्रो असर परेको थियो; पुँजीवादको विकासमा सहयोग पुगेको थियो; समाजवादीहरूको अस्थायी हार भएको थियो । यसले अन्ततः समाजवादी धारलाई बङ्ग्याउँछ, परिवर्तनमा बाधा पु¥याउँछ । यसले घुमाइफिराइ साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी व्यवस्थालाई नै सहयोग पु¥याउँछ । यसकारण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूदेखि सावधान हुनुपर्छ; जहिल्यै सतर्क भएर बस्नुपर्छ; प्रलोभनबाट बच्नुपर्छ । प्रलोभनमा फसेर हाम्रो आस्था, विश्वास र इज्जतमा बाधा पु¥याउँछ । यसतर्फ सङ्घ, प्रदेश र स्थानीय तहको सरकार गम्भीर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *