नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
‘जातिसंहारक जो’ नारा एकदम उपयुक्त रह्यो । संरा अमेरिका र विश्वमा उनले विनाशलीला मच्चाए । यसबाट आफ्नो निधारमा लागेको कलङ्कको टिका मेटाउन जो बाइडेनले कहिल्यै सक्ने छैनन् । ह्वाइट हाउसमा विराजमान आफ्ना सबै पूर्ववर्तीहरू जस्तै उनी पनि साम्राज्यवाद तथा नवउदारवादी स्वार्थका हँसिला नोकर साबित भए । जीवनमा आफूले सम्हालेका सबै पदमा रहेर उनले यही काम गरिरहे । यो नै उनको विरासत हो ।
२०२५ जनवरी २० को दिन जोसेफ आर बाइडेन संरा अमेरिकी राष्ट्रपति रहने छैनन् । एक कार्यकाल चलाउने अन्य अमेरिकी राष्ट्रपति जस्तो बाइडेन पुनः निर्वाचनको सिलसिलामा पराजित भएका होइनन् । सन् २०२० मा उनलाई डेमोक्रेटिक पार्टीको प्रत्यासी बनाउन धाँधली गरेकै धनाढ्य चन्दादाताले उनलाई यसपालि हराए । सन् २०२० मै पनि बाइडेन निर्वाचन लड्ने स्थितिमा थिएनन् । सन् २०२४ मा उनको स्वास्थ्य झन् बिग्रियो । भकभकाएको मात्र हो भनेर उनले अब कसैलाई छल्न सक्दैनन् । अचानक बम्किने, बोली लर्बरिने, अदृश्य व्यक्तिसँग हात मिलाउने र बामे सर्दै गरेको बच्चा जस्तो बरालिनेजस्ता धेरै घटना बाहिर आइसकेका छन् ।
सन् २०२४ को जुन महिनामा डोनाल्ड ट्रम्पसँग भएको बहसले नै उनको पुनः आगमनको बाटो थुनेको थियो । पहिले बादशाहले लुगा लगाएका छैनन् भन्न हिच्किचाएको शक्ति नै उनीविरुद्ध लाग्यो । उनलाई तलै बस्न बाध्य पारियो । अन्तिम समयमा कमला ह्यारिसलाई जबर्जस्ती थमौती दिन खोजियो तर डोनाल्ड ट्रम्प नै पुनः राष्ट्रपति बने ।
यो बेला जो बाइडेनबारे केही कुरा सम्झिन जरुरी छ । उनको जातिवादी सोच, नवउदारवाद र साम्राज्यवादप्रतिको उनको दासत्वपूर्ण समर्पण र इजरायलसँगको साझेदारीमा उनले जनाएको जातिसंहारप्रतिको लगावलाई बिर्सनुहुन्न । आफ्नो कार्यकालको अन्तिम क्षणसम्म पनि जातिसंहार जारी राख्ने उनले प्रतिबद्धता नै जाहेर गरे । युद्धविरामको पछिल्लो प्रयास ट्रम्पको आउँदो टोलीले गरेको हो । सदनको दुवै पक्षको समर्थनमा बाइडेनले इजरायलले गरेका प्रत्येक अत्याचार र युद्ध अपराधमा सघाए ।
सिनेटर, उपराष्ट्रपति र राष्ट्रपतिको आफ्नो लामो करियरभरि एकसुरे नभएको भए जो बाइडेन केही पनि थिएनन् । उनी अत्यन्त रुढीवादी डेमोक्रेटिक पार्टीका सिनेटर थिए । सरकारी नीतिबारे बहस हुँदा उनी अक्सर अपमानजनक र जातिवादी भाषा बोलिरहन्थे । सन् २०२० डिसेम्बरमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि एक काला व्यक्तिलाई भेट्नु उनको जीवनकै क्रोधपूर्ण क्षण थियो । लाखौँ अश्वेत मतदाताले राष्ट्रपति पदमा जिताएका बाइडेनले प्रहरी अत्याचारलाई लिएर केन्द्र सरकारले सम्बोधन गर्नुपर्ने र मताधिकारको रक्षा गर्नुपर्ने शिष्ट मागलाई अस्वीकार गरे । एक बिन्दुमा पुगेर बाइडेनको कुख्यात पारो चढ्यो र उनले आन्दोलनकारी समूहमाथि प्रहरीको लाठी बजारे । उनले भने, “तिमीहरूलाई यतिले पनि पुग्दैन भने तिमीहरू सबै नर्क जाओ ¤”
उनले जे भने त्यही गरे पनि । सन् २०२० को निर्वाचनका आफ्ना धनाढ्य चन्दादातालाई दिएको वचन उनले पूर्णतः परिपालन गरे । उनले तिनलाई आफ्नो शासनकालमा ‘कसैको जीवनस्तर नबदलिने र केही कुरामा पनि मौलिक परिवर्तन नआउने’ वाचा गरेका थिए । उनले वचन राखे । कुलिनहरूले देख्न नचाहेको कुनै पनि परिवर्तन गर्न उनले अस्वीकार गरे ।
विदेश नीतिमा बाइडेन सदा युद्धपिपासु र यहुदीवादी थिए । सन् २०२० मा उनलाई डेमोक्रेटिक पार्टीको प्रत्यासी बनाउने र राष्ट्रपति पदमा जिताउने समग्र शासनतन्त्रले लाखौँ जनतामाथि विपत्ति ल्याए । सन् २०२२ मा उनले युक्रेनलाई छद्म प्रतिनिधि बनाएर रुसविरुद्ध युद्धको आगो बाले । तीन वर्षपछि पनि युद्धको आगो बलेकै छ तर बाइडेन विफल भए । उनी आफैले भने पनि, “भग्नावशेषलाई अझ धुलोपिठो पार ।” रुसको ऊर्जा क्षेत्रमाथि आर्थिक प्रतिबन्ध लगाउने कच्चो प्रयासका कारण उल्टो संरा अमेरिकालगायत विश्वभरि नै बजार भाउ बढ्यो । त्यसपछि उनले ‘पुटिनले जन्माएको महँगी’ भनेर दुःखजिलो गरिरहेका जनताले आफूलाई लगाउन सक्ने दोष अन्तै सार्न खोजे । उनको मूर्खतापूर्ण नारा छिट्टै ओझेल प¥यो तर जनआक्रोश थामिएन । यही आक्रोशको रापमा कमला ह्यारिस पराजित भइन् ।
रुसलाई कमजोर पार्न युक्रेनलाई प्रयोग गर्ने आफ्नो प्रतिबद्धतामा बाइडेन पागलपनको हदसम्म पुगे । सन् २०२२ सेप्टेम्बर २६ को दिन रुस र जर्मनीलाई जोड्ने ‘नर्डस्ट्रीम पाइपलाइन’ नामक ग्यासको लाइन रहस्यमयी ढङ्गले विष्फोट भयो । सुरुदेखि नै त्यस विष्फोटपछाडि अमेरिकाको हात हुन सक्ने आशङ्का गरियो । सन् २०२३ फेब्रुअरीमा खोज पत्रकार सेमुर हर्शले बाइडेन र उनको विदेश नीति तय गर्ने टोली नै अमेरिकी साझेदार (जर्मनी) माथिको त्यो आतङ्कवादी हमलामा संलग्न रहेको ठोस प्रमाण दिए । सस्तो रुसी ग्यासको साटो जर्मनीलाई अमेरिकाको महँगो तरल ग्यास खरिद गर्न बाध्य पारियो । यसो गरेर जर्मनीले आफ्नै अर्थतन्त्र ध्वस्त पार्दै लग्यो । तर, एक आज्ञाकारी पराश्रित देशले जस्तै जर्मनीले सत्य बोल्ने साहस देखाउन सकेको छैन । सचेत पर्यवेक्षकबाट यसको कारण लुकेको पनि छैन ।
युक्रेन युद्धप्रति अमेरिकाका दुवै शासक दलको समर्थनका कारण अमेरिकी जनताको कोषबाट १ खर्ब ८३ अर्ब डलर खर्च भइसकेको छ भने हजारौँ युक्रेनीहरूको ज्यान गइसकेको छ । अमेरिकी सरकारले युक्रेनलाई सेनामा भर्ती हुन चाहिने न्यूनतम उमेर १८ वर्षमा झार्न र कलिला युवायुवतीलाई लडाइँमा पठाउन दबाब दिँदै छ । युक्रेनको दुर्भाग्य देखेर बाइडेन सरकारले चुहाउने आँसु गोहीका हुन् किनभने युद्धलगत्तै रुस र युक्रेनबिच सुरु भएको प्रारम्भिक शान्ति सम्झौताको प्रयासलाई बाइडेनले नै भाँडेका थिए । युक्रेनमा अझै पनि हत्याहिंसा र विध्वंस चलिरहनुको सम्पूर्ण दोष संरा अमेरिकालाई जान्छ । युक्रेनलाई लगालग पैसा पठाइँदै गर्दा अमेरिकी जनतालाई सधैँ सरकारले हल गरिदिनुपर्ने कुनै समस्या छैन भनियो । कोभिडको अवधिमा सरकारले नै छेलोखेलो खर्च गरी जनताको आर्थिक भार घटाएको थियो । अभावमा परेका परिवारलाई सरकारको ‘मेडिकएड’ तथा ‘स्न्याप’ कार्यक्रमले आवश्यक औषधिउपचार तथा उपभोग्य सामग्री दिलाएका थिए । पछि ती सबै कार्यक्रम बन्द गरिए । लाखौँ मानिसलाई दरिद्र बनाएपछि कमला ह्यारिसको लागि भोट मागियो । सन् २०२० मा बाइडेनलाई मत दिएका झन्डै ७० लाख मतदाताले सन् २०२४ मा उनलाई मत दिएनन् । ट्रम्पको शपथ ग्रहणमा ह्यारिस र बाइडेन दुवै सहभागी हुने छन् ।
सन् २०२४ मा अमेरिकामा ७,७१,४८० नागरिक बेघर भएको एक अध्ययनले बताएको छ । यसको अर्थ अघिल्लो वर्षको तुलनामा बेघर हुनेको सङ्ख्या १८ प्रतिशतले बढेको थियो । फेरि पनि कोरोनाको अवधिमा चलाइएका कार्यक्रम बन्द गरिएको देखियो । ती कार्यक्रम अन्तर्गत ऋणीलाई छुट दिइएको थियो, घर खरिदमा सहुलियत दिइएको थियो र कर मिनाहा गरिएको थियो । यसको दोष बाइडेन सरकारले विदेशबाट ओइरिएका आप्रवासी तथा प्राकृतिक विपत्तिलाई दियो । त्यसमा न्यून ज्याला तथा महँगीजस्ता आफैले बढावा दिएका सङ्कटको नामसम्म लिएन ।
एउटै मुद्दा बाइडेनलाई सदाका लागि कलङ्कित गर्न काफी छ । त्यो हो इजरायलप्रतिको उनको समर्थन । सन् २०२३ अक्टोबर ७ मा अल–अक्सा तुफान नामक कारबाही सुरु भएपछि जातिभेदी राज्य इजरायललाई सार्वजनिकरूपमै समर्थन गर्न बाइडेन हुत्तिँदै इजरायल पुगे । त्यसयता इजरायललाई अमेरिकाले १७ अर्ब ९० करोड डलर बराबरको सैन्य सहयोग दिइसकेको छ । पछिल्लोपल्ट अमेरिकाले थप ८ अर्ब डलरको सहयोगको घोषणा गरेको छ । खासमा अमेरिकाले दिने यो रकम इजरायलले हतियार किन्नमा खर्च गर्छ ।
सन् २०२४ जुलाईसम्म इजरायली सेनाले गाजामा १ लाख ८६ हजार मानिसलाई मारेको आँकडा आयो । अमेरिकी सहयोगबेगर यतिबिघ्न हत्या सम्भव थिएन । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले सन् २०२४ नोभेम्बरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री गालान्टको नाममा पक्राउ पूर्जी जारी गरेको छ । तर, अमेरिकी राष्ट्रपति जो बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई पनि पक्राउ गर्ने आह्वान आउनुपर्छ । निश्चय पनि अमेरिकाका सांसदहरूलाई पनि पक्राउ सूचीमा राख्नुपर्छ । किनभने, पत्रकार एवम् जनसेवी कर्मचारीलाई छानीछानी हत्या गर्ने तथा अस्पताल र आवासगृहलाई ध्वस्त पार्ने अनि लगत्तै शिविरमा पालमुनि बस्न बाध्य पारिएका जनतामाथि बमबारी गर्ने कार्यमा तिनको पनि भागिदारी छ ।
विश्वले मानिसहरूलाई जिउँदै जलाएको दृश्यको प्रत्यक्ष प्रसारण देख्यो । खानाको हाहाकार भएको ठाउँमा इजरायली सर्वसाधारण र सरकारी अधिकारीहरूले गाजामा खाना लिएर जाँदै गरेका गाडीलाई रोकेको देख्यो । इजरायली सैनिकहरूले विरोध जनाउने बन्दीहरूलाई बलात्कार गरे । कसुरवारलाई सजाय दिने सम्भावना छँदाछँदै पनि तिनले उपद्रव मच्चाए । यी सबै अपराधको दोष जो बाइडेनलाई पनि जान्छ । अब हमासले स्वीकार गरिसकेको युद्धविरामको जस डोनाल्ड ट्रम्पले लिन सक्छन् ।
निश्चय नै अश्वेत जनताले नै पहिलोपल्ट इजरायलसम्बन्धी बाइडेनको नीति पराजयमा टुङ्गिने चेतावनी दिएका थिए । सुरुमा एक काला पुजारी बोले । एटलान्टानिवासी पादरी टिमोथी म्याकडोनल्डले भने, “यस मुद्दामा बाइडेन सरकारको व्यवहार देखेर हाम्रा आस्थाको अगुवाइ गर्ने अश्वेत नेताहरू अत्यन्त क्षुब्ध छन् ।” उनले भने, “हामी त्रसित छौँ । हामीले यसबारे छलफल गरिसकेका पनि छौँ । हाम्रा मानिसहरूलाई मतदानस्थल गएर बाइडेनलाई मत दिनू भनी मनाउन असाध्यै गाह्रो भइसकेको छ ।” डेमोक्र्याटहरूप्रति सबैभन्दा बफादार जनताले नै निर्वाचनमा निर्णायक भूमिका खेले ।
संरा अमेरिकामा अश्वेत राजनीति कमजोर अवस्थामा छ । पछिल्लो निर्वाचनमा मुख्यमुख्य अ÷नेता र विभीषणहरूले डेमोक्र्याटहरूको निम्ति मत मागेका थिए । तर, सबै जनतालाई एकैबाजि उल्लू बनाउन सकिन्न । सन् २०२४ मा तीमध्ये थोरैलाई मात्र डेमोक्र्याट दलालहरूले नत्थी लगाएर कमला ह्यारिसको पक्षमा तान्न सके ।
जो बाइडेन साँच्चिकै ‘जातिसंहारक जो’ हुन् । यसबाहेक उनी ‘बजेटनाशक जो’ र ‘सैन्यवादी जो’ पनि हुन् । बाइडेनको यो एक कार्यकालको सरकारले दुई दलीय सत्ताले गर्न सक्ने निकृष्टतम् कार्यलाई कतिसम्म प्राथमिकता दियो भने निर्वाचनमा उसको विजय अवश्यम्भावी बन्यो ।
सन् २०२० मा ट्रम्पमाथि बाइडेन विजय हुँदा अमेरिकाभरि मुख्य सहरका गल्लीहरूमा हर्षोल्लास र भोजभतेरको माहोल थियो । तर, अब कसैसँग उनको मिठो सम्झना छैन । बाइडेनका क्रियाकलापबारे प्रश्न उठाउने जोकोहीको मुख थुन्न एउटा नारा दिइएको थियो – ‘तर ट्रम्प हुन् ¤’ यो नारा पनि खोक्रो साबित भयो । ट्रम्पबाट अपेक्षा गरिएका सबै नकाम हुन सम्भव छ । उनले वाचा गरे जस्तो ‘ठूलो सङ्ख्यामा आप्रवासीहरूलाई देशबाहिर खेद्ने’ पनि हुन सक्छ । तर, ट्रम्पले आफ्नो पहिलो कार्यकालमा लघारेभन्दा बढी मान्छे बाइडेनले एक कार्यकालमै लघारे ।
इतिहासकारहरूले सधैँझैँ आफ्ना राष्ट्रपतिहरूको छविमा चिल्लो पोत्ने नै छन् र कसैगरी तिनको स्तुतिगान गर्ने उपाय पनि निकाल्ने नै छन् । तर, त्यो गीतका शब्द खोक्रा हुनेछन् । अमेरिका र गाजाका बेघर जनताले नै अन्तिम निर्णय दिनेछन् । जो बाइडेनको विरासत गरिबीकरण, युद्धकारी र हत्याहिंसाको विरासत हुनेछ । पूर्वराष्ट्रपति जिम्मी कार्टरको अन्त्यष्टिमा बाइडेन झुपुक्कै निदाए । यसलाई एउटा रूपक मान्न सकिन्छ । कलङ्कित र बदनाम राष्ट्रपतिको अन्त्य यसरी नै हुन्छ ।
(मार्गरेट किम्बर्ली ‘फ्रिडम राइडर’ पत्रिकाकी साप्ताहिक स्तम्भकार हुन् ।)
स्रोत : एमआर अनलाइन । सम्यक
Leave a Reply