भर्खरै :

सबैलाई मार्ने भए धनीमानीहरूले

सबैलाई मार्ने भए धनीमानीहरूले

विश्वका शीर्षस्थ १ प्रतिशत अति धनाढ्यहरूले यो वर्षको आफ्नो कार्बन उत्सर्जनको कोटा रित्याइसकेका छन्; जलाइसकेका छन् । धनकुवेरहरू गर्ने जलवायु विनाशबारे गरिएको पछिल्लो एक अध्ययनबाट यो खुलासा भएको हो ।
गैरनाफामुखी संस्था ‘अक्सफाम’ ले यो वर्षको ‘विश्व कार्बन बजेट’ को विश्लेषण सार्वजनिक गरेको छ । औद्योगिक युगअघिको तुलनामा विश्व तापमानलाई १.५ डिग्री सेन्टिग्रेडभन्दा बढ्न नदिन संसारले बनाएको कार्बन सीमाभित्र रहन वर्षको जति कार्बन उत्सर्जन गर्न सकिन्छ, त्यसैलाई ‘विश्व कार्बन बजेट’ भनिन्छ ।
‘अक्सफाम’ को अध्ययनबाट सन् २०२५ को पहिलो १० दिनमै विश्वका अति धनी पुँजीपतिहरूले आफ्नो भागको भन्दा बढी कार्बन उत्सर्जन गरिसकेका छन् । यति कार्बन फाल्न विश्वका विपन्न आधा जनतालाई झन्डै तीन वर्ष लाग्छ । (अर्थात्, विश्वका आधा जनताले फाल्ने कार्बन १ प्रतिशत धनाढ्यहरूले १० दिनमै फालिसकेका छन् ।)
हात बाँधी बस्नु अत्यन्त घातक हुनेछ – ‘अक्सफाम’ ले भन्यो । विश्वका निम्न र निम्न–मध्यम आय भएका देशहरूमा यो वर्ष मर्ने १० जनामध्ये ८ जना बढ्दो तापले मर्नेछन् ।
सन् २०५० सम्ममा १ प्रतिशत अति धनाढ्यहरूले फाल्ने कार्बनकै कारण कृषि बालीमा गिरावट आउन थाल्नेछ । पूर्वी र दक्षिण एसियालाई वर्षमा कम्तीमा १ करोड जनतालाई उपभोग गर्न पुग्ने अन्न उत्पादन शून्यमा झर्नेछ ।
अति धनाढ्यहरूले गर्ने कार्बन उत्सर्जनले अर्थतन्त्रमा खरबौँको गिरावट आउनेछ । निम्न र निम्न–मध्यम आय हुने देशहरूमाथि कार्बन उत्सर्जनले विगत ३० वर्षमा जति क्षति पुगेको छ त्यो धनाढ्य देशले जलवायुको क्षेत्रमा लगानी गरेको रकमभन्दा तीन गुणा बढी छ ।
डेढ प्रतिशतको लक्ष्य पूरा गर्ने नै हो भने विश्वका १ प्रतिशत अति धनाढ्यहरूले यो दशकको अन्त्यसम्म आफ्नो काबर्न उत्सर्जनमा ९७ प्रतिशत कमी ल्याउनुपर्नेछ – ‘अक्सफाम’ ले भन्यो ।
‘अक्सफाम’ को निष्कर्ष छ – यसको लागि उसले तिनको धनमा कर लगाएर मात्र पुग्दैन । सँगै तिनका निजी जेट विमान र तीव्र गतिका पानीजहाज (सुपरयाट) माथि प्रतिबन्ध र उच्चतम् कर लगाउनुपर्छ ।
सरकारहरूले आफ्ना धनाढ्य प्रदूषणकर्ताहरूलाई पैसा तिराउनुपर्ने ‘अक्सफाम’ ले आग्रह ग¥यो । साथमा दक्षिणी गोलाद्र्धका देशहरूले जलवायु परिवर्तनको उग्र राप झेलिरहेको हुनाले तिनलाई जलवायु खर्चले सघाउनुपर्छ – ‘अक्सफाम’ ले भन्यो ।
‘अक्सफाम इन्टरनेसनल’ को जलवायु परिवर्तन नीतिकी प्रमुख नाफकोते दाबीले भनिन् :
“केही गर्ने ठाउँ नै थोरै छ । तैपनि अति धनाढ्यहरूले आफ्नो अति विलाशी जीवनशैलीले मानव जातिका अवसरहरूको घाँटी कुल्चिँदै छन् । जीवित सम्पदालाई प्रदूषित गर्दै र राजनीतिमा घातक प्रभाव पार्दै तिनले मानव अस्तित्वलाई चुनौती दिँदै छन् ।
यो चोरी हो । स्पष्ट र सरल सत्य यही हो । केही मुठ्ठीभर व्यक्तिले आफ्नो कहिल्यै नभरिने लोभको भाँडो भर्न विश्वका अरबौँ जनताबाट तिनको भविष्य लुट्दै छन् ।”
‘एक्सटिङ्सन रिबेलियन’ संस्थाकी अभियन्ता माराइन भेन डे गिएरले भनिन् :
“सन् २०२४ को वर्षले १.५ डिग्रीको जलवायु सीमा नाघेको घोषणा गरिएकै दिन शीर्षस्थ १ प्रतिशत अति धनाढ्यहरूले यो वर्षको आफ्नो विश्व कार्बन उत्सर्जनको भाग रित्याइसकेका थिए ।
तिनीहरूले आफ्ना निजी जेटमा हाम्रो अस्तित्वको फर्मान पनि उडाउँदै छन् । जेट विमानले यातायातबाट हुने उत्सर्जनको अत्यन्त ठूलो हिस्सा ओगट्छ । कुरा यही टुङ्गिन्न । तिनीहरूले हाम्रा राजनीतिक नेता, समाचार सम्पादक र न्यायाधीशहरूको पनि कान भर्दै छन् । तिनले जलवायु सङ्कट वास्तविक होइन र वैज्ञानिकहरूले भने जस्तो आत्तिहाल्नुपर्ने स्थिति भइसकेको छैन भन्ने भाष्यको लगाम समातेका छन् ।
एक प्रतिशत कुलीनहरूले नीति निर्माण गर्ने ल्याकत राखेसम्म जीवाश्म इन्धनबाट सजिलै बाहिर निस्किन सकिने छैन । तसर्थ, तिनले जे गर्दै छन्, त्यसलाई हामीले नङ्ग्याउनैपर्छ । यो वर्ष हामी यही काम गर्ने सोचमा छौँ ।”
‘जस्ट स्टप आयल’ संस्थाका प्रवक्ताले सङ्घर्षको उद्घोष गर्दै भने :
“हामी बहुसङ्ख्यकलाई पाखा लगाएर मुठ्ठीभर मानिसको सेवा गर्ने व्यवस्थामा बाँचिरहेका छौँ । तिनीहरूले सबैको जीवन धरापमा पार्दै छन् । यसरी नै निर्बाध चल्ने हो भने हामी सबै नामेट हुने छौँ । तसर्थ, हामी सङ्गठित हुनैपर्छ र प्रतिरोधमा उत्रिनैपर्छ ।
राजनीति र अर्थतन्त्रमा क्रान्ति चाहिएको छ । हामीले कर्पोरेट कम्पनी र खर्बपतिहरूको चङ्गुलबाट संसद्लाई पुनः बाहिर निकाल्नुपर्छ† सर्वसाधारण जनताको हितलाई सबैभन्दा अगाडि राख्नुपर्छ ।”

(एमआर अनलाइनबाट । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *