भर्खरै :

सामाजिक सुरक्षा ध्वस्त पार्न ट्रम्प–मस्क साँठगाँठ

सामाजिक सुरक्षा ध्वस्त पार्न ट्रम्प–मस्क साँठगाँठ

टेस्ला कम्पनीका मालिक तथा विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति इलन मस्कले तथाकथित सरकारी दक्षता विभागमा रहेर आफूले गर्ने योजनाको खुलासा गरिसकेका छन् । हालै मात्र प्रस्तावित सरकारी दक्षता विभाग (डज) संरा अमेरिकी राष्ट्रपतिलाई सल्लाह दिने निकाय हुनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई यो विभाग सुम्पिँदै छन् ।
मस्कले उटाह राज्यका रिपब्लिकन सिनेटर माइक लीले पोस्ट गरेको शृङ्खलाबद्ध ट्वीटर पोस्टलाई पुनः ट्वीट गरे । माइक लीले सामाजिक सुरक्षालाई ‘छलकारी’ भने र त्यसलाई हटाउनुपर्ने बताए । माइकको भनाइपछाडि ‘रोचक विचार’ भनी मस्कले थपे ।
अमेरिकी संसद् भवन क्यापिटल भवनमा मस्क र ‘डज’ का उपसभापति विवेक रामस्वामीबिच आगामी योजनाबारे छलफल भयो । रिपब्लिकन प्रतिनिधिहरूले तत्काल घोषणा गरे, “सबथोकबारे पुनःविचार गर्नुपर्छ ।” ‘सबथोक’ भित्र सामाजिक सुरक्षा तथा स्वास्थ्यसेवाको खर्च कटौती गर्ने विषयमा पनि समावेश थियो ।
चुनावी प्रचारप्रसारका क्रममा मस्कले सरकारी बजेटबाट झन्डै ३० प्रतिशत (२० खर्ब डलर) खर्च कटौती गर्ने आफ्नो लक्ष्य स्पष्ट पारेका थिए । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा स्वास्थ्य सहायतामा जाने सरकारी खर्च कटौती नगरी ३० प्रतिशत खर्च कटौती गर्न सम्भव छैन । सामाजिक सुरक्षाले मात्रै सरकारी बजेटको एकचौथाई भाग ओगटेको छ ।
रामस्वामी आफ्नो योजनाबारे खुलेर बोल्ने गरेका छन् । ‘सिएनबिसी’ लाई दिएको अन्तर्वार्तामा उनले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा स्वास्थ्य सहायताबाट ‘खरबौँ डलर निकालेर जोगाउन सकिने’ बताए ।
ट्रम्पलाई निर्वाचित गराउन इलन मस्कले आफ्नो खल्तीबाट २७ करोड ७० लाख डलर खर्च गरे । सामाजिक सुरक्षाबाट अरूको पेट काट्न, आफूले सरकारलाई तिर्नुपर्ने करमा कटौती गर्न र सरकारबाट अरबौँ डलरका ठेक्कापट्टा हत्याउन उनले राजनीतिक शक्ति नै खरिद गरे ।
हामीले बुझ्नुपर्ने कुरा के भने मस्क र रामस्वामी दुवै जननिर्वाचित प्रतिनिधि होइनन् । यसको अर्थ उनीहरू जनताप्रति फिटिक्कै उत्तरदायी छैनन् । (ट्रम्प सरकारभित्र रहेर मस्क र रामस्वामीले मिलेर बजेटमा करौँती लगाउने काम गर्नेछन् । यसमा उनीहरूलाई अमेरिकी संसद्मा बन्दै गरेको उपसमिति ‘डज ककस’ ले सघाउनेछ ।)
मस्क र रामस्वामी दुवै अर्बपति हुन् । उनीहरूलाई सामाजिक सुरक्षामा कुनै चासो छैन । तर, अमेरिकी कामदार जनताले सामाजिक सुरक्षाको रकम पाउन जीवनभरि मरीमरी काम गरेर पैसा तिरिरहेका हुन्छन् ।
संरा अमेरिकामा सन् १९३५ देखि सामाजिक सुरक्षा कार्यक्रमको प्रचलन सुरु भएको हो । त्यसयता रिपब्लिकन पार्टीका सांसदहरूले लगातार त्यसको विरोध गर्दैै आएका छन् किनभने यो अमेरिकाले ल्याएको सबैभन्दा लोकप्रिय र सफल सरकारी कार्यक्रम हो । यसले अवकाशप्राप्त जनतालाई सघाउँछ । यस कार्यक्रमले अमेरिकाका २ करोड ६० लाख जनतालाई गरिबीमुक्त राख्छ । भविष्यमा सामाजिक सुरक्षा कार्यक्रमको खर्च धान्न नसकिने भन्दै रिपब्लिकन सांसदहरूले खर्च कटौतीको माग गर्दै आएका छन् ।
सामाजिक सुरक्षा कार्यक्रमका संरक्षकहरूले सन् २०३३ पछि मात्र यो कार्यक्रमले पूर्ण लाभ दिन सक्ने बताएका छन् । त्यसपछि यस कार्यक्रमअन्तर्गत ७७ प्रतिशत लाभ जनतालाई बाँड्न सकिनेछ । तर, त्यसपछि आगामी ७५ वर्षसम्म सामाजिक सुरक्षा कार्यक्रमले सजिलै सबैलाई पैसा दिन सक्नेछ । यसको लागि सरकारले त्यसमा तोकेको आयकरको सीमा हटाउनुपर्नेछ ।
यो वर्ष यो सीमा १६८,६०० डलर तोकिएको छ । (मुुद्रास्फितिका कारण यो बढ्दै जानेछ ।) यसको अर्थ यो वर्ष जोजसले यो सीमाभन्दा बढी कमाउँछ उसले आफ्नो अतिरिक्त कमाइबापत सामाजिक सुरक्षा कोषमा एकपैसा जम्मा गर्नुपर्दैन । (उनीहरूले कमाएको १६८,६०० डलरको ६.२ प्रतिशत कर तिरे पुग्छ । अनु.)
सन् २०२४ सालको सामाजिक सुरक्षा कर इलन मस्कले २०२४ जनवरी १ तारिखको मध्यरातमा तिरे । वर्षको २ करोड डलर कमाउने कार्यकारी प्रबन्धकजस्तो व्यक्तिले समेत सामाजिक सुरक्षा कार्यक्रममा आफ्नो आयको १ प्रतिशतको पनि कर तिर्दैन । जब कि एक औसत अमेरिकी कामदारले आफ्नो १०० प्रतिशत आयकै लागि सामाजिक सुरक्षा कोषमा कर दाखिला गर्छ । (यसको अर्थ जसले कम कमाउँछ उसको सबै आयमा सामाजिक सुरक्षा कर लाग्छ भने जसले अकूत कमाउँछ उसले आफ्नो आयको नगन्य हिस्साको मात्र सामाजिक सुरक्षा कर तिरे पुग्छ । अनु.)
सामाजिक सुरक्षा कार्यक्रमका संरक्षकहरूले बिचमै अवकाश लिनेहरूको सङ्ख्या ह्वात्तै बढ्ने स्थिति आउन सक्ने अनुमान गरेका थिए । त्यसैले सन् १९८३ मा यस कार्यक्रममा संशोधन गरिएको थियो । अवकाशप्राप्त व्यक्तिलाई ६५ देखि ६७ वर्ष पुगेपछि मात्र रकम बाँडिने तय गरिएको थियो । यसले गर्दा अवकाशप्राप्त व्यक्तिलाई रकम बाँड्न सजिलो भयो ।
तर, संरक्षकहरूले अधिकतर अमेरिकीहरूको ज्याला ज्यूँकात्यूँ रहने अवस्थाको पूर्वाअनुमान गर्न सकेनन् । साथै, उनीहरूले अमेरिकाको कूल आयको कति हिस्सा धनाढ्यहरूको ढुकुटीमा जम्मा होला भनी अनुमान गर्न सकेनन् ।
आज अधिकांश अमेरिकी कामदार जनताले जति कमाउँदै छन्, त्यो वर्षौअघि सामाजिक सुरक्षा कार्यक्रममा संरक्षकहरूले तय गरेको भन्दा कम छ । यसले गर्दा सो कार्यक्रममा दाखिला हुने रकम घटिरहेको छ । दशकौँअघिको जस्तो अमेरिकी कामदार जनताले पैसा तिर्न सकेको भए, उनीहरूको उत्पादकत्व बढेको भए आज सामाजिक सुरक्षा कोष भरिपूर्ण हुने थियो र कार्यक्रम पनि फलदायी हुने थियो ।
यति नै बेला राष्ट्रिय आयको ठूलो हिस्सा अमेरिकाका धनाढ्यहरूको हातमा गइरहेको छ । केही दशकमै स्थिति फेरिएको छ । धनीमानीहरूतिर पैसा सोहोरिएको छ । तर, सामाजिक सुरक्षा कार्यक्रममा पैसा जम्मा गर्नलाई आयमा सीमा राखिएको छ । यसकारण, धनीहरू झन्झन् धनी बन्दै गएका छन् । राष्ट्रिय आयको झन्भन्दा झन् ठूलो हिस्सा सामाजिक सुरक्षा कर तिर्नबाट फराक भएको छ ।
सामाजिक सुरक्षा कोषलाई तिर्नुपर्ने आयकरमा सीमा राख्दा सन् १९८३ यता यो कोषले १४ खर्ब डलर गुमाएको छ । समाधान स्पष्ट छ : सीमा हटाउनुपर्छ र धनीमानीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा पैसा तिराउनुपर्छ ।
अमेरिकी सांसद बर्नी स्यान्डर्सले २५०,००० डलरभन्दा बढी कमाउनेहरूलाई सामाजिक सुरक्षा कोषमा कर तिराउनुपर्ने योजना ल्याएका छन् । उनी आयमा मात्र होइन, लगानीमा पनि सामाजिक सुरक्षा कर लगाउनुपर्ने पक्षमा छन् । यति गरे ९३ प्रतिशत अमेरिकी घरपरिवारलाई करको बोझ नबोकाई आगामी ७५ वर्षसम्म प्रत्येक अमेरिकी नागरिकलाई सामाजिक सुरक्षा कोषको रकम उपलब्ध गराउन सकिन्छ ।
तर, जनवरी २० बाट सरकार चलाउन सुरु गर्ने डोनाल्ड ट्रम्प, इलन मस्क, विवेक रामस्वामी र अन्य खर्बपतिहरूले सामाजिक सुरक्षा कोषलाई चालु राख्न आफ्नो भागको कर तिर्नेछैनन् । बरु तिनीहरूले सामाजिक सुरक्षा कार्यक्रमलाई नै निमोठ्ने छन् ।
लड्ने तयारी गर्नुबाहेक अमेरिकी जनतासँग अर्को उपाय छैन । ट्रम्प सरकारको पहिलो वर्ष यो नै सबैभन्दा ठूलो लडाइँ हुने निश्चित छ । यहीनिर अमेरिकाका सर्वसाधारण जनता र ट्रम्पका धनाढ्य एवम् शक्तिशाली मतियारहरूबिचको भेद स्पष्ट हुन्छ । सामाजिक सुरक्षा कार्यक्रमको भविष्य र कामदार जनताको सगौरव अवकाश चाहने सबैले धनीमानीहरूलाई बढी कर तिराउनैपर्छ । संसारकै धनाढ्य इलन मस्कले पनि आफ्नो हिस्साको कर तिर्नुपर्छ ।

(स्रोत : एमआर अनलाइन । गणेश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *