नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
टेस्ला कम्पनीका मालिक तथा विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति इलन मस्कले तथाकथित सरकारी दक्षता विभागमा रहेर आफूले गर्ने योजनाको खुलासा गरिसकेका छन् । हालै मात्र प्रस्तावित सरकारी दक्षता विभाग (डज) संरा अमेरिकी राष्ट्रपतिलाई सल्लाह दिने निकाय हुनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई यो विभाग सुम्पिँदै छन् ।
मस्कले उटाह राज्यका रिपब्लिकन सिनेटर माइक लीले पोस्ट गरेको शृङ्खलाबद्ध ट्वीटर पोस्टलाई पुनः ट्वीट गरे । माइक लीले सामाजिक सुरक्षालाई ‘छलकारी’ भने र त्यसलाई हटाउनुपर्ने बताए । माइकको भनाइपछाडि ‘रोचक विचार’ भनी मस्कले थपे ।
अमेरिकी संसद् भवन क्यापिटल भवनमा मस्क र ‘डज’ का उपसभापति विवेक रामस्वामीबिच आगामी योजनाबारे छलफल भयो । रिपब्लिकन प्रतिनिधिहरूले तत्काल घोषणा गरे, “सबथोकबारे पुनःविचार गर्नुपर्छ ।” ‘सबथोक’ भित्र सामाजिक सुरक्षा तथा स्वास्थ्यसेवाको खर्च कटौती गर्ने विषयमा पनि समावेश थियो ।
चुनावी प्रचारप्रसारका क्रममा मस्कले सरकारी बजेटबाट झन्डै ३० प्रतिशत (२० खर्ब डलर) खर्च कटौती गर्ने आफ्नो लक्ष्य स्पष्ट पारेका थिए । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा स्वास्थ्य सहायतामा जाने सरकारी खर्च कटौती नगरी ३० प्रतिशत खर्च कटौती गर्न सम्भव छैन । सामाजिक सुरक्षाले मात्रै सरकारी बजेटको एकचौथाई भाग ओगटेको छ ।
रामस्वामी आफ्नो योजनाबारे खुलेर बोल्ने गरेका छन् । ‘सिएनबिसी’ लाई दिएको अन्तर्वार्तामा उनले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा स्वास्थ्य सहायताबाट ‘खरबौँ डलर निकालेर जोगाउन सकिने’ बताए ।
ट्रम्पलाई निर्वाचित गराउन इलन मस्कले आफ्नो खल्तीबाट २७ करोड ७० लाख डलर खर्च गरे । सामाजिक सुरक्षाबाट अरूको पेट काट्न, आफूले सरकारलाई तिर्नुपर्ने करमा कटौती गर्न र सरकारबाट अरबौँ डलरका ठेक्कापट्टा हत्याउन उनले राजनीतिक शक्ति नै खरिद गरे ।
हामीले बुझ्नुपर्ने कुरा के भने मस्क र रामस्वामी दुवै जननिर्वाचित प्रतिनिधि होइनन् । यसको अर्थ उनीहरू जनताप्रति फिटिक्कै उत्तरदायी छैनन् । (ट्रम्प सरकारभित्र रहेर मस्क र रामस्वामीले मिलेर बजेटमा करौँती लगाउने काम गर्नेछन् । यसमा उनीहरूलाई अमेरिकी संसद्मा बन्दै गरेको उपसमिति ‘डज ककस’ ले सघाउनेछ ।)
मस्क र रामस्वामी दुवै अर्बपति हुन् । उनीहरूलाई सामाजिक सुरक्षामा कुनै चासो छैन । तर, अमेरिकी कामदार जनताले सामाजिक सुरक्षाको रकम पाउन जीवनभरि मरीमरी काम गरेर पैसा तिरिरहेका हुन्छन् ।
संरा अमेरिकामा सन् १९३५ देखि सामाजिक सुरक्षा कार्यक्रमको प्रचलन सुरु भएको हो । त्यसयता रिपब्लिकन पार्टीका सांसदहरूले लगातार त्यसको विरोध गर्दैै आएका छन् किनभने यो अमेरिकाले ल्याएको सबैभन्दा लोकप्रिय र सफल सरकारी कार्यक्रम हो । यसले अवकाशप्राप्त जनतालाई सघाउँछ । यस कार्यक्रमले अमेरिकाका २ करोड ६० लाख जनतालाई गरिबीमुक्त राख्छ । भविष्यमा सामाजिक सुरक्षा कार्यक्रमको खर्च धान्न नसकिने भन्दै रिपब्लिकन सांसदहरूले खर्च कटौतीको माग गर्दै आएका छन् ।
सामाजिक सुरक्षा कार्यक्रमका संरक्षकहरूले सन् २०३३ पछि मात्र यो कार्यक्रमले पूर्ण लाभ दिन सक्ने बताएका छन् । त्यसपछि यस कार्यक्रमअन्तर्गत ७७ प्रतिशत लाभ जनतालाई बाँड्न सकिनेछ । तर, त्यसपछि आगामी ७५ वर्षसम्म सामाजिक सुरक्षा कार्यक्रमले सजिलै सबैलाई पैसा दिन सक्नेछ । यसको लागि सरकारले त्यसमा तोकेको आयकरको सीमा हटाउनुपर्नेछ ।
यो वर्ष यो सीमा १६८,६०० डलर तोकिएको छ । (मुुद्रास्फितिका कारण यो बढ्दै जानेछ ।) यसको अर्थ यो वर्ष जोजसले यो सीमाभन्दा बढी कमाउँछ उसले आफ्नो अतिरिक्त कमाइबापत सामाजिक सुरक्षा कोषमा एकपैसा जम्मा गर्नुपर्दैन । (उनीहरूले कमाएको १६८,६०० डलरको ६.२ प्रतिशत कर तिरे पुग्छ । अनु.)
सन् २०२४ सालको सामाजिक सुरक्षा कर इलन मस्कले २०२४ जनवरी १ तारिखको मध्यरातमा तिरे । वर्षको २ करोड डलर कमाउने कार्यकारी प्रबन्धकजस्तो व्यक्तिले समेत सामाजिक सुरक्षा कार्यक्रममा आफ्नो आयको १ प्रतिशतको पनि कर तिर्दैन । जब कि एक औसत अमेरिकी कामदारले आफ्नो १०० प्रतिशत आयकै लागि सामाजिक सुरक्षा कोषमा कर दाखिला गर्छ । (यसको अर्थ जसले कम कमाउँछ उसको सबै आयमा सामाजिक सुरक्षा कर लाग्छ भने जसले अकूत कमाउँछ उसले आफ्नो आयको नगन्य हिस्साको मात्र सामाजिक सुरक्षा कर तिरे पुग्छ । अनु.)
सामाजिक सुरक्षा कार्यक्रमका संरक्षकहरूले बिचमै अवकाश लिनेहरूको सङ्ख्या ह्वात्तै बढ्ने स्थिति आउन सक्ने अनुमान गरेका थिए । त्यसैले सन् १९८३ मा यस कार्यक्रममा संशोधन गरिएको थियो । अवकाशप्राप्त व्यक्तिलाई ६५ देखि ६७ वर्ष पुगेपछि मात्र रकम बाँडिने तय गरिएको थियो । यसले गर्दा अवकाशप्राप्त व्यक्तिलाई रकम बाँड्न सजिलो भयो ।
तर, संरक्षकहरूले अधिकतर अमेरिकीहरूको ज्याला ज्यूँकात्यूँ रहने अवस्थाको पूर्वाअनुमान गर्न सकेनन् । साथै, उनीहरूले अमेरिकाको कूल आयको कति हिस्सा धनाढ्यहरूको ढुकुटीमा जम्मा होला भनी अनुमान गर्न सकेनन् ।
आज अधिकांश अमेरिकी कामदार जनताले जति कमाउँदै छन्, त्यो वर्षौअघि सामाजिक सुरक्षा कार्यक्रममा संरक्षकहरूले तय गरेको भन्दा कम छ । यसले गर्दा सो कार्यक्रममा दाखिला हुने रकम घटिरहेको छ । दशकौँअघिको जस्तो अमेरिकी कामदार जनताले पैसा तिर्न सकेको भए, उनीहरूको उत्पादकत्व बढेको भए आज सामाजिक सुरक्षा कोष भरिपूर्ण हुने थियो र कार्यक्रम पनि फलदायी हुने थियो ।
यति नै बेला राष्ट्रिय आयको ठूलो हिस्सा अमेरिकाका धनाढ्यहरूको हातमा गइरहेको छ । केही दशकमै स्थिति फेरिएको छ । धनीमानीहरूतिर पैसा सोहोरिएको छ । तर, सामाजिक सुरक्षा कार्यक्रममा पैसा जम्मा गर्नलाई आयमा सीमा राखिएको छ । यसकारण, धनीहरू झन्झन् धनी बन्दै गएका छन् । राष्ट्रिय आयको झन्भन्दा झन् ठूलो हिस्सा सामाजिक सुरक्षा कर तिर्नबाट फराक भएको छ ।
सामाजिक सुरक्षा कोषलाई तिर्नुपर्ने आयकरमा सीमा राख्दा सन् १९८३ यता यो कोषले १४ खर्ब डलर गुमाएको छ । समाधान स्पष्ट छ : सीमा हटाउनुपर्छ र धनीमानीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा पैसा तिराउनुपर्छ ।
अमेरिकी सांसद बर्नी स्यान्डर्सले २५०,००० डलरभन्दा बढी कमाउनेहरूलाई सामाजिक सुरक्षा कोषमा कर तिराउनुपर्ने योजना ल्याएका छन् । उनी आयमा मात्र होइन, लगानीमा पनि सामाजिक सुरक्षा कर लगाउनुपर्ने पक्षमा छन् । यति गरे ९३ प्रतिशत अमेरिकी घरपरिवारलाई करको बोझ नबोकाई आगामी ७५ वर्षसम्म प्रत्येक अमेरिकी नागरिकलाई सामाजिक सुरक्षा कोषको रकम उपलब्ध गराउन सकिन्छ ।
तर, जनवरी २० बाट सरकार चलाउन सुरु गर्ने डोनाल्ड ट्रम्प, इलन मस्क, विवेक रामस्वामी र अन्य खर्बपतिहरूले सामाजिक सुरक्षा कोषलाई चालु राख्न आफ्नो भागको कर तिर्नेछैनन् । बरु तिनीहरूले सामाजिक सुरक्षा कार्यक्रमलाई नै निमोठ्ने छन् ।
लड्ने तयारी गर्नुबाहेक अमेरिकी जनतासँग अर्को उपाय छैन । ट्रम्प सरकारको पहिलो वर्ष यो नै सबैभन्दा ठूलो लडाइँ हुने निश्चित छ । यहीनिर अमेरिकाका सर्वसाधारण जनता र ट्रम्पका धनाढ्य एवम् शक्तिशाली मतियारहरूबिचको भेद स्पष्ट हुन्छ । सामाजिक सुरक्षा कार्यक्रमको भविष्य र कामदार जनताको सगौरव अवकाश चाहने सबैले धनीमानीहरूलाई बढी कर तिराउनैपर्छ । संसारकै धनाढ्य इलन मस्कले पनि आफ्नो हिस्साको कर तिर्नुपर्छ ।
(स्रोत : एमआर अनलाइन । गणेश)
Leave a Reply