बुटवल । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा आयोजित रूपन्देही जिल्लाव्यापी शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व विषयक निबन्ध प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ रूपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले प्राकृतिक स्रोत साधन प्रचुर भएर पनि देशले सही नेतृत्व नपाउॅदा देश दरिद्र र जनताले दुख पाएको बताउनु भयो । विद्यालय जीवनबाटै नेक्राविसंघले तोडफोड होइन देश र जनताको सेवा गर्न राजनीतिमा लाग्न सिकाउने बताउॅदै केन्द्रीय सदस्य ज्याख्वले विद्यार्थीहरूले जुनसुकै क्षेत्रबाट भए पनि योग्य भएर देश र जनताको सेवा गर्न लाग्नुपर्ने जोड दिनुभयो ।
नेमकिपाले जितेका स्थानीय तहमा सस्तोमा शिक्षा दिन कलेजहरू सञ्चालन गरिरहेको चर्चा गर्दै केन्द्रीय सदस्य ज्याख्वले उत्पादन श्रमसॅग जोडेर स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिरहेको बताउनु भयो ।
नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले भारतीय एकाधिकार पुॅजीले नेपाल र नेपाली जनतालाई उठ्न नदिएको बताउनु भयो । विद्यार्थीहरूमा आलोचनात्मक चिन्तन विकास गर्न सके हल्लाको पछि नलाग्ने अध्यक्ष वासीले बताउनु भयो ।
कार्यक्रममा नेमकिपाका हरिप्रसाद बासुकला, नेक्राविसंघका सुरेस परियार, नेक्राकिसंघका जगिलाल थापालेनेमकिपाबारे चर्चा गर्नुभयो । आयोजक समितिका अध्यक्ष तुल्सा विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विमला आचार्यले गर्नुभयो ।
निबन्ध प्रतियोगितामा उमावितर्फ एभरेष्ट बोर्डिङ स्कुलका रचना भुसाल प्रथम, होराइजन गौतम बुद्ध स्कुलका प्रतिज्ञा गौतम द्वितीय र कालिका उमाविका विष्णुप्रसाद पौडेल तृतीय तथा मावितर्फ न्यु होराइजन इ. बो. स्कुलका जस्मिन न्यौपाने प्रथम, कालिका उमाविका आकाश कँडेल द्वितीय, आवर पिसल्याण्ड एकेडेमीका अनिता न्यौपाने तृतीय र ज्ञानपुञ्ज बोर्डिङ स्कुलका आदर्श चौधरीले सान्त्वना हुनु भएको थियो ।
Leave a Reply