भर्खरै :

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – ६

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – ६

(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)

  • ७७. स्थिति सोभियत सरकारले यसअघि सामना गरेको भन्दा निकै गम्भीर थियो । सन् १९३६ र १९३७ का मस्को इजलासहरूको हकमा सरकारले समय लिएर मुद्दाको तयारी ग¥यो र धेरैभन्दा धेरै जनतालाई जानकारी होस् भनेर सार्वजनिक इजलासको तारतम्य मिलायो । तर, सैन्य षड्यन्त्रको मुद्दालाई फरक तरिकाले अघि बढाइयो । मे महिनाको अन्त्यतिर मार्सल मिखाइल तुखाचेभ्स्की पक्राउ परे । त्यसको तीन हप्तापछि मात्र जूनको ११–१२ मा उनी र अन्य सात उच्च सैन्य अधिकारीमाथि मुद्दा चलाएर सजाय दिइएको थियो । यी तीन हप्तामा सयौँ उच्च सैन्य अधिकारीहरूलाई मस्कोमा बोलाएर पटकपटक सोधपुछ गरिएको थियो । तिनीहरूलाई तिनकै सहकर्मीका बयानहरू पढ्न लगाइएको थियो । धेरै सैन्य कमान्डर त पक्राउ परेका अधिकारीभन्दा वरिष्ठ थिए । तिनीहरूलाई स्तालिन, मार्सल भोरोसिलोभका चेतावनीपूर्ण विश्लेषणहरू सुनाइएको थियो । भोरोसिलोभ रक्षामन्त्री मात्र नभई देशकै सर्वोच्च सैन्य अधिकारी हुनुहुन्थ्यो ।
  • ७८. फेब्रुअरी–मार्चको केन्द्रीय समिति बैठक हुँदा यगोडा र तुखाचेभ्स्कीमध्ये कोही पनि पक्राउ परेको थिएन । स्तालिनलगायत पोलिटब्युरोका सदस्यहरूले संविधान नै प्रमुख मुद्दा बन्ने सोच्नुभएको थियो । बहुमत केन्द्रीय सदस्यले ‘शत्रुहरू’ विरुद्धको लडाइँमा जोड दिँदै त्यस मुद्दालाई बेवास्ता गरेपछि पोलिटब्युरो रक्षात्मक बनेको थियो । सन् १९३७ को जूनमा बसेको पार्टीको अर्को केन्द्रीय बैठकमा पनि पोलिटब्युरोले संवैधानिक सुधारलाई केन्द्रीय मुद्दा बनाउने योजना बुन्यो । तर, जूनसम्ममा स्थिति एकदम फेरिएको थियो । ‘एनकेभिडी’ प्रमुख (गृहमन्त्री) र मुख्यमुख्य सैन्य नेताहरू नै सरकार ढलाएर त्यसका अगुवाहरूलाई मार्ने षड्यन्त्रमा संलग्न भएको पत्ता लागेपछि राजनीतिक माहोलमा उथलपुथल आयो ।
  • ७९. स्तालिन रक्षात्मक बन्नुभयो । जून १ देखि ४ सम्म बसेको सैन्य सोभियतको विस्तृत सत्रमा मन्तव्य राख्दै स्तालिनले जून २ मा पालैपालो खुलासा भएका षड्यन्त्रहरूलाई ‘सीमित’ भन्नुभयो र तिनको सफलतापूर्वक सामना गरिएको बताउनुभयो । फेब्रुअरी–मार्चमा बसेको केन्द्रीय समितिको बैठकमा समेत आन्तरिक शत्रुमाथि मातहतका पार्टी अध्यक्षहरूले दिएको अचाक्ली जोडलाई स्तालिन र उहाँका पोलिटब्युरो सहयोगीहरूले मत्थर पार्नुभयो । तर, झुकोभले उल्लेख गरेझैँ अवस्था ‘बिस्तारै र निर्णायक हिसाबले स्तालिनको नियन्त्रणबाहिर जाँदै थियो । (स्तालिन, ‘भिस्तुप्लेनी’, झुकोभ, इनोय, अध्याय १६, पासिम; पेज ४११)
    (टिपोट १६ : तिनताक ‘एनकेभिडी’ का अनुसन्धानकर्मी र आजका रुसी इतिहासकारहरू ती षड्यन्त्रलाई क्लुबोक वा ‘गडबडी’ भन्छन् ।)
  • ८०. सन् १९३७ को जूनमा केन्द्रीय समितिको बैठक बस्यो । बैठक बस्नुअघि नै केन्द्रीय समितिका सात स्थायी सदस्य तथा प्रत्यासीलाई ‘राजनीतिक विश्वसनीयता नभएको’ मा निकाला गर्नुपर्ने प्रस्ताव आयो । त्यसपछि त्यो सूचीमा ‘विश्वासघाती र प्रतिक्रान्तिकारी क्रियाकलापमा सक्रियता देखाएको’ मा थप १९ सदस्य तथा प्रत्यासी थपिए । यी १९ जनालाई ‘एनकेभिडी’ ले पक्राउ गर्नुपर्ने भयो । यिनै आरोपमा बैठक बस्नुअघि नै केन्द्रीय सदस्यहरूको अभिमत लिएर थप दस जनालाई निकाला गरियो । (यसमा पहिले नै मुद्दा चलाई दोषी साबित भएपछि सजाय दिइएका सैन्य कमान्डरहरू पनि थिए ।) यसको अर्थ १२० केन्द्रीय सदस्य तथा प्रत्यासीमध्ये मे १ सम्ममा ३६ जना पार्टीबाट निकालिए ।
    (टिपोट १७ : सन् १९३७ को जूनमा बसेको यस बैठकको लिखित उतार अहिलेसम्म प्रकाशित भएको छैन । केही लेखकले लिखित दस्ताबेज नै नराखिएको दाबी गरेका छन् । तर, झुकोभले अरूलाई उपलब्ध नगराइएको यस बैठकको अभिलेखबाट धेरै अंश उद्धृत गरेका छन् ।)
  • ८१. याकोभ्लेभ र मोलोतोभले पार्टी नेताहरू स्वतन्त्र सोभियत निर्वाचन आयोजना गर्न अक्षम भएकोमा आलोचना गर्नुभयो । दैलो अघि आइसकेको जिम्मेवारी पूरा गर्न असमर्थ भएकोमा मोलोतोभले प्रतिष्ठित क्रान्तिकारीहरूलाई नै पनि पन्छाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । उहाँले सशक्त आवाजमा सोभियत अधिकारीहरू ‘दोस्रो दर्जाका कारिन्दा’ होइनन् भन्नुभयो । निश्चय नै पार्टी नेताहरूले तिनलाई कारिन्दाकै रूपमा व्यवहार गर्दै थिए ।
  • ८२. याकोभ्लेभले पार्टीका विभिन्न पदका लागि गोप्य निर्वाचन गराउन विफल भएको, बरु तिनलाई नियुक्त गरेरै (तोक लगाएर) काम चलाएकोमा मातहतका पार्टी अध्यक्षहरूलाई उदङ्ग्याउनुभयो; तिनको आलोचना गर्नुभयो । सोभियतमा निर्वाचित भई आउने प्रतिनिधिहरूलाई सोभियतबाहिर सक्रिय पार्टी समितिहरूको अनुशासनमा राख्न नहुने र मतदानमा समितिले निर्देशन गर्न नमिल्ने याकोभ्लेभले जोड दिनुभयो । अध्यक्षलगायत पार्टी पदाधिकारीहरूले तिनलाई मत कसरी दिने भनी सिकाउन नहुने बरु उनीहरू ती पदाधिकारीभन्दा स्वतन्त्र बस्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । कडा शब्दमा याकोभ्लेभले ‘सडेगलेका अथवा कर्मचारी मनोवृत्तिले दूषित बनेका व्यक्तिहरूको ठाउँमा कार्यकर्ताहरूको सम्पन्न भण्डारबाट नयाँ भर्ती गर्नुपर्ने’ आवश्यकता औँल्याउनुभयो । यी सबै वक्तव्यमा पार्टी अध्यक्षहरूमाथि खुला हमला थियो । (झुकोभ, इनोय पेज ४२४–७; तायनी, पेज ३९–४०, अप्रकाशित अभिलेखका दस्ताबेजबाट)
  • ८३. अन्ततः संविधानको रूपरेखा तयार भयो र सन् १९३७ डिसेम्बर १२ मा नयाँ निर्वाचनको मिति तय भयो । स्तालिनको अगुवा टोलीले कर्मचारीतन्त्रविरुद्ध लड्नु र जनतासँग सम्बन्ध गाँस्नुका लाभहरूबारे पुनः अनुरोध ग¥यो । तर, यति नै बेला बराबर महत्वको अर्को काम अर्थात् पार्टी नेताहरूको निष्कासन चलिरहेको थियो । बैठकको बिचमै थप २६ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निकाला गरियो । तीमध्ये १९ जनामाथि सिधै विश्वासघाती र प्रतिक्रान्तिकारी कार्यमा भाग लिएको अभियोग थियो । (झुकोभ, इनोय, पेज ४३०)
  • ८४. सबैभन्दा सारगर्भित टिप्पणी स्तालिनले गर्नुभयो :
    बैठक टुङ्गिँदै गर्दा मतगणनाको सबैभन्दा निष्पक्ष विधिको खोजी छलफलको विषय बन्यो । यसमा टिप्पणी गर्दै स्तालिनले पश्चिमी देशहरूमा बहुदलीय व्यवस्था हुनाले यो समस्या नै नभएको बताउनुभयो । उहाँले बोल्नुभएको वाक्य यसखाले पार्टी बैठकमा एकदम अमिल्दो सुनियो । उहाँले भन्नुभयो, “हामीकहाँ फरक राजनीतिक दल छैनन् । सौभाग्य भनौँ वा दुर्भाग्य, हामीकहाँ एउटा मात्र दल छ ।” (झुकोभको जोड) त्यसपछि उहाँले एक अस्थायी उपायको रूपमा एउटा प्रस्ताव राख्नुभयो । निर्वाचनको निष्पक्ष सुपरिवेक्षणका लागि बोल्शेभिक पार्टीबाहेकका उपलब्ध सम्पूर्ण सामाजिक सङ्घ–सङ्गठनलाई पर्यवेक्षकको रूपमा राख्न सकिने उहाँको सुझाव थियो । यसबाट पार्टीको आडमा स्वेच्छाचारी बनेकाहरूलाई ठुलो चुनौती आइलाग्यो । (झुकोभ, इनोय, पेज ४३०–१; तायनी पेज ३८)
  • ८५. बोल्शेभिक पार्टी गम्भीर सङ्कटमा थियो । परिस्थिति लयमा फर्किने सम्भावना क्षीण थियो । (गोप्य, बालिग तथा प्रतिस्पर्धात्मक) प्रजातान्त्रिक निर्वाचनको तयारीका लागि यो सबैभन्दा प्रतिकूल माहोल थियो । सोभियत सरकारमा सुधार गर्ने र त्यसमा बोल्शेभिक पार्टीको भूमिका परिमार्जन गर्ने स्तालिनको योजना चकनाचुर भयो ।
  • ८६. बैठकको अन्त्यमा पश्चिम साइबेरियाको क्राइ क्षेत्रका पार्टी अध्यक्ष रोबर्ट आइखले स्तालिनलाई एक्लै भेटे । त्यसपछि पालैपालो अन्य धेरै पार्टी अध्यक्षहरूले उहाँलाई भेटे । तिनीहरूले सम्भवतः डरलाग्दो अधिकारको माग गरेको बैठकको केही समयपछि उनीहरूले त्यो अधिकार पाएबाट बुझ्न सकिन्छ । यसपछि सोभियत सरकारविरुद्ध आ–आफ्ना क्षेत्रमा ऐजेरुझैँ बढिरहेका षड्यन्त्रहरूसँग लड्न पार्टी अध्यक्षहरूले तीनजना अधिकारीको टोली ‘त्रोइका’ बनाउन पाउने भए । यी त्रोइकालाई कतै अपिल नगरी दण्ड दिने अधिकार दिइयो । यी त्रोइकाले निश्चित सङ्ख्यामा दोषीलाई गोली ठोक्न र जेल चलान गर्न पाउने अधिकार मागे । त्रोइकालाई त्यो अधिकार पनि दिइयो । त्यो सङ्ख्याले नपुगेपछि पार्टी अध्यक्षहरूले सङ्ख्या बढाउन माग गरे र त्यो माग पनि पूरा भयो । झुकोभको विचारमा आइख सबै पार्टी अध्यक्षहरूको अनौपचारिक समूहको प्रतिनिधिको रूपमा सक्रिय थिए । (गेट्टी, ‘एक्सेसेस’ पेज १२९; झुकोभ, इनोय, पेज ४३५)
    (टिपोट १८ : पश्चिम साइबेरिया क्षेत्रमा ‘त्रोइका’ गठन गर्ने आइखको आदेश आज पनि पढ्न पाइन्छ । तर, आइखले अनुमति माग्न लेखेको पत्र भेटिँदैन । उनले त्यस्तो आग्रह लिखित वा मौखिकरूपमा गरेकै हुनुपर्छ । झुकोभ, ‘रिप्रेस्सी’ पेज २३† गेट्टी, ‘एक्सेसेस’ पेज १२७)
  • ८७. त्रोइकाले चलाउने डरलाग्दा मुद्दाका सिकार को हुन्थे ? झुकोभलाई ती व्यक्ति पुराना शोषक थिए, जसको नागरिक अधिकार तथा मताधिकार हालै मात्र पुनः बहाल भएको थियो, जसको मतले पार्टी अध्यक्षहरूको शक्ति टिकाइराख्ने मामिलामा सबैभन्दा ठुलो खतरा ल्याउन सक्ने सम्भावना थियो भन्ने लाग्छ । झुकोभ वास्तविक षड्यन्त्रहरूलाई धेरै महत्व दिँदैनन् । तर, रुसमा हालसालै प्रकाशित भएका पुराना दस्ताबेज हेर्दा केन्द्रीय नेतृत्वले लगातार षड्यन्त्र भइरहेको विषयमा भरपर्दा प्रहरी विवरणहरू पाइरहेको स्पष्ट हुन्छ । प्रहरी विवरणमा पक्राउ परिसकेका षड्यन्त्रकारीहरूका बयान पनि हुन्थे । निश्चय नै स्तालिन तथा मस्कोमा उपलब्ध अन्य अगुवाले यी षड्यन्त्र भइरहेको विश्वास गर्नुभयो । यहाँनिर झुकोभको जस्तै मेरो अनुमान पनि के छ भने कम्तीमा केही षड्यन्त्रहरू अवश्य भएका थिए र पार्टी अध्यक्षहरूले त्यसमा विश्वास पनि गरेका थिए । (झुकोभ, केपी । २००२ नोभेम्बर १३; इनोय, अध्याय १८; ‘रिप्रेस्सी’ पेज २३; लुबिएन्का बी)
  • ८८. अर्को परिकल्पना के पनि छ भने त्यसबेला वा अघिअघि कुनै पनि विपक्षी आन्दोलनमा संलग्न भएको व्यक्तिलाई ‘शत्रु’ को रूपमा हेर्ने सम्भावना बढी हुन्थ्यो । तिनलाई ‘एनकेभिडी’ ले पक्राउ गरेर केरकार गथ्र्यो । त्रोइका बनाउँदा एक न एक ‘एनकेभिडी’ को अधिकारीलाई राखिन्थ्यो नै । त्रोइकाको तारो बन्ने अर्को समूह खुलेआम सोभियत व्यवस्थाप्रति अविश्वास वा घृणा प्रकट गर्नेहरूको हुन्थ्यो । यस्ता व्यक्तिलाई प्रायः तुरुन्तै पक्राउ गरिएका प्रमाणहरू थर्सटनले उद्धृत गरेका छन् । तर, आलोचना बैठकहरूमा उपस्थित भएर स्थानीय पार्टी नेताहरूको आलोचना गर्नेहरूलाई पक्राउ गरिन्थेन । तर, तिनले आलोचना गर्ने पार्टी नेतालगायत व्यक्तिहरूलाई कहिलेकाहीँ पक्राउ गरिन्थ्यो । (थर्सटन, पेज ९४–९५)
  • ८९. केही व्यक्तिहरू ती षड्यन्त्र स्तालिनको मतिभ्रमका छायाँ भएको तर्क गर्छन् । अझ कतिपयले त ती षड्यन्त्रलाई स्तालिनको सत्तालिप्साको भोक शान्त पार्न फैलाइएका झूटसमेत भन्छन् । यी सबै आरोपको उल्टो षड्यन्त्रहरू यथार्थमै भएका थिए भनी प्रशस्त प्रमाण पाइन्छन् । सोभियत सङ्घबाट पछि भाग्न सकेका षड्यन्त्रकारीहरूको विवरणले पनि यही भन्छ । यस्ता षड्यन्त्रहरूबारे प्रहरीले राखेका दस्ताबेजहरूको चाङ हेर्दा ती सबै बनावटी थिए भन्ने ठाउँ पाइन्न । हालसम्म यी दस्ताबेजमध्ये थोरै मात्र प्रकाशित भएका छन् । यी दस्ताबेजमा स्तालिनले लेख्नुभएका नोटहरू हेर्दा ती षड्यन्त्रको सटिकतामा उहाँले विश्वास गरेको स्पष्ट हुन्छ । (गेट्टी, ‘एक्सेसेस’ पेज १३१–४; लुबिएन्का बी)
  • ९०. अपार अन्तर्विरोधलाई गेट्टीले छोटकरीमा यसरी लेखेका छन् :
    अझै पनि स्तालिन प्रतिस्पर्धात्मक निर्वाचनको मुद्दाबाट पछि हट्न चाहँदैनथे । यत्तिकैमा सन् १९३७ जुलाई २ को ‘प्राभ्दा’ मा नयाँ निर्वाचनको निर्देशिकाको पहिलो खण्ड प्रकाशित भयो । त्यसले गर्दा क्षेत्रीय पार्टी अध्यक्षहरू निश्चय नै निराश भए । निर्देशिकामा प्रतिस्पर्धात्मक, बालिग तथा गोप्य मतदान गर्न र गराउन नियम बताइएको थियो । यत्तिकैमा स्तालिनले सम्झौताको बिन्दु प्रस्ताव गरे । निर्वाचनको निर्देशिका प्रकाशन भएकै दिन पोलिटब्युरोले स्थानीय पार्टी नेताहरूले गुनासो गरेका तत्वहरूविरुद्ध व्यापक कारबाही सुरु गर्ने निर्णय ग¥यो । यसको केही घण्टामै स्तालिनले प्रान्तीय पार्टी नेताहरूलाई (पुनः बहाल भएका पूर्वशोषकहरूविरुद्ध) कुलाक कारबाही सञ्चालन गर्ने आदेशसहितको टेलिग्राम पठाए । स्थानीय पार्टी नेताहरूलाई निर्वाचन गराउन दबाब दिएबापत स्तालिनले तिनलाई सयौँ वा हजारौँ ‘खतरनाक तत्वहरू’ लाई मार्न वा बर्खास्त गर्न लाइसेन्स दिएर तिनको जीतमा सहयोग गर्ने बाटो लिए । (‘एक्सेसेस’ पेज १२६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *