भर्खरै :

‘मजदुर’ दैनिक २७ औँ वर्षमा प्रवेश

‘मजदुर’ दैनिक २७ औँ वर्षमा प्रवेश

देश र जनताप्रति समर्पित ‘मजदुर’ दैनिक सिद्धान्त र विचार बोकेको आस्थाको पत्रिका हो । श्रमजीवीवर्ग (बौद्धिक र शारीरिक श्रम गर्ने) को प्रतिनिधित्व गरिरहेको यो पत्रिका शोषणरहित समाज स्थापनामा टेवा पु¥याउन प्रकाशित भइरहेको हो । यो पत्रिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषित–पीडित, उत्पीडित, आदिवासी, जनजाति, प्रगतिशील तथा वामपन्थी आन्दोलनको समर्थन गर्ने र ऐक्यबद्धता जनाउने अन्तर्राष्ट्रवादी पत्रिका हो । जनताको नागरिक भावना जगाउन, सांस्कृतिक स्तर उठाउन, देशको स्वाधीनता र सार्वभौमसत्ताको सीमा रक्षाको निम्ति देशभक्त नागरिक तयार गर्न प्रकाशित यो पत्रिका प्रकाशनमा लेखक, बुद्धिजीवी, राजनीतिज्ञ, समालोचक, स्तम्भकार, पार्टी नेता तथा कार्यकर्ता, संवाददाता, पत्रिका वितरक, विज्ञापनदाता, पाठक, ग्राहक तथा शुभचिन्तकहरूको महत्वपूर्ण योगदान छ ।
कम्युनिस्ट सिद्धान्त र विचार कार्यकर्ता र जनताको घर आँगनमा पु¥याएर सुसूचित पार्ने, भ्रष्टाचारी, कालाबजारी, घुसखोरी, अनियमितताको विरोध गरी आदर्शोन्मुख समाज स्थापनामा टेवा पु¥याउन विगतमा झैँ आगामी दिनमा पनि पत्रिका प्रकाशनमा सहयोगी र शुभचिन्तकहरूको सहयोग र साथ रहिरहने छ । ‘मजदुर’ पत्रिकामा वर्गीय दृष्टिकोण हुनु स्वाभाविक हो । मजदुर र किसान (बहुमत जनता) को पक्षमा लेखिने यो पत्रिका हालसम्म निरन्तर प्रकाशन भइरहेको छ । यसले अन्धविश्वास, कुरीति र कुसंस्कारको विरोधमा निरन्तर आवाज उठाइरहेको छ । जातीय राजनीति, देश विखण्डन, विदेशी थिचोमिचोको विरोध गरी जनतालाई सचेत पार्ने काम ‘मजदुर’ दैनिकको आफ्नो जिम्मेवारी ठानेको छ ।
‘मजदुर’ दैनिक सङ्कीर्णवाद र अवसरवादको विरोधमा लेख्छ । देश र जनताको हित छोडेर भागबन्डाको राजनीतिमा लाग्ने दलका नेताहरूलाई यसले खबरदारी गरिरहेको छ । जनताको आवाजलाई चिठी र खुलापत्रमार्फत प्रस्तुत गरेर सचेत बनाउने काम भइरहेको छ । यो पत्रिका स्वस्थ आलोचनालाई नकारात्मक होइन बरू प्रजातन्त्रलाई सुदृढ पार्ने र सहयोग गरेको ठान्छ । यसले देश र जनताको हितमा कलम चलाइरहेको छ, जनताको अधिकारको रक्षाको निम्ति आवाज उठाइरहेको छ । यसले मजदुरवर्गको हक र हितको पक्षमा आवाज बुलन्द गर्छ र त्यसबारे सूचना प्रवाह गरेर जनतालाई सचेत पार्छ ।
पत्रपत्रिका ज्ञानको स्रोत हो, प्रचारको साधन हो । यो जनचेतना जगाउने माध्यम पनि हो । यसकारण, पत्रिका राजनीतिको सशक्त साधन हो । जस्टिन ब्राउली पत्रिका अनियन्त्रित र अत्याचारी सरकारबाट आफ्नो रक्षा गर्ने जनताका साधन ठान्छन् । यही उद्देश्यले ‘मजदुर’ दैनिक २०५५ माघ १० (२४ जनवरी १९९९) मा प्रकाशित भएको थियो । यो अहिले २७ औँ वर्षमा प्रवेश गरेको छ ।
‘मजदुर’ दैनिक देशका नियमित पत्रिकाहरूमध्ये एक हो । वर्षैभरि प्रकाशित हुने दैनिक र साप्ताहिक पत्रिका नगण्यमात्रै हुन्छन् । तर, ‘मजदुर’ दैनिक वर्षैभरि प्रकाशित भइरहेको छ । पत्रिका नियमित प्रकाशनमा लेखक, पाठक, संवाददाता, स्रोता, समालोचक, ग्राहक, हकर्स, विज्ञापनदाता तथा अन्य शुभेच्छुकहरूको योगदान बिर्सन सकिँदैन । ‘मजदुर’ दैनिक पाठकहरूको आलोचना, सुझाव र रचनाहरूको सहयोगको अपेक्षा राख्छ । ‘मजदुर’ दैनिकले हरेक सकारात्मक आलोचनालाई आत्मसात गर्छ । हो, पत्रपत्रिकामा देश र जनताप्रति घृणा जगाउने खालको समाचार र लेखलाई ठाउँ छैन । उत्तेजक विचार र समाचारको नाउँमा साम्प्रदायिकता, क्षेत्रीयता, झूटा, प्रतिक्रियावादी दृष्टिकोण र प्रवृत्तिलाई प्रोत्साहित गर्दैन । बरू मजदुरवर्गको हक र हितलाई प्राथमिकता दिन्छ र सोसम्बन्धी खबरलाई जनसमक्ष पु¥याउने काममा सहयोग गर्छ ।
एकातिर सरकारले सुखी नेपाली र समृद्ध नेपालको झ्याली पिट्दै छ भने अर्कोतिर बहुमत जनता कष्टकर जीवन बिताउन बाध्य छन् । देशको सम्पत्ति, सेवा र सहुलियतको ठुलो हिस्सा अल्पसङ्ख्यक शोषकवर्गको हातमा केन्द्रित हुँदै छ अर्थात् देशमा आर्थिक असमानताको दूरी बढ्दै छ । गरिब र बेरोजगारहरूको सङ्ख्या बढ्दै छ । पुँजीवादी व्यवस्थाको फल पुँजीपतिवर्गले उठाइरहेको छ । यो पुँजीपतिवर्गको चरित्र हो । यस्तो अवस्थामा किसान, मजदुर, उत्पीडित वर्गको स्वर उजागर गर्न र उनीहरूलाई राजनीतिक, सैद्धान्तिक र वैचारिक खुराक दिन ‘मजदुर’ दैनिक प्रकाशित भएको थियो । यही उद्देश्यले स्वदेश र प्रवासबाट विभिन्न पत्रपत्रिका प्रकाशन भए । ‘लालझन्डा’, ‘आह्वान’, ‘ध्रुवतारा’, ‘मजदुर–किसान’, ‘नेपाल तराई’, ‘समाचार संसद्’, ‘साकार’, ‘आधार’, ‘श्रमिक’, ‘प्रतिध्वनि’ आदि यसका दृष्टान्त हुन् । यसै सिलसिलामा ‘मजदुर’ दैनिक पनि प्रकाशित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *