सहकारीबारे छलफल र छानबिन आवश्यक
- चैत्र ४, २०८१
काठमाडौँ, १० माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस काठमाडौँ कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा बिहीबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ५१ वर्ष अगाडि देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नको लागि पार्टी स्थापना गर्नुभएको बताउनुभएको छ ।
उहाँले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरिए देश र जनताको निःस्वार्थ सेवा हुने उल्लेख गर्दै माक्र्स र एङ्गेल्सको शिक्षा पनि सामाजिकीकरण नै हो† विकासको काम जनताको सहभागितामा उपभोक्ता समितिमार्फत भए सामाजिकीकरणमा मद्दत पुग्नेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकार गएकाहरू पानीजहाज, रेल, भूउपग्रहलगायत ठुला कुरा गर्छन् । जिल्ला जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारीको बन्दोबस्त छैन, रौतहटको लालबकैया नदीको आडमा रहेको एउटा विद्यालयका विद्यार्थीहरू १७ वर्षदेखि बोरा ओछ्याएर पढ्दै छन् । नेपालका ६ लाख बालबालिका अझै विद्यालय बाहिर छन् । केही ठाउँमा सुत्केरी हुने केहीलाई हेलिकप्टरमा उद्धार गरिनु पर्याप्त होइन । प्रत्येक स्थानीय तहमा जनशक्ति र उपकरणसहितको बर्थिङ सेन्टर हुनु जरुरी छ । ठुला उपलब्धि स–साना कामबाट सम्भव हुने हो ।”
सरकारमा गएका पार्टीले स्थानीय तहमा जनताको सहभागितामा निःस्वार्थपूर्वक काम गरेको भए देशको मुहार परिवर्तन हुने थियो; ७५३ ओटै स्थानीय पालिकामा व्यवस्थित सहर विकास गरिएको भए देशको सन्तुलित विकास हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “टोल, वडा र जिल्लामा समेत व्यवस्थित गर्न नसक्नेहरू पैसाको भरमा चुनाव जितेर सरकारमा पुगेर देशको विकास हुनेछैन । सरकारमा पुगेकाहरू बाहिर हुँदा राम्रो तर मन्त्री भएपछि किन बिग्रिन्छन् ? सरकारले भारतसँग महँगोमा बिजुली किन्ने प्रधानमन्त्रीहरूबाट जनताले के आशा गर्ने ?”
“सरकारमा गएका पार्टीहरूले के के आश्वासन दिए, ती किन पूरा भएनन् ? समीक्षा गर्नु आवश्यक छ ।” उहाँले भन्नुभयो ।
अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक आएका ट्रम्पले अमेरिकालाई शक्तिशाली र महान् बनाउने दाबी दोहो¥याएको उल्लेख गर्दै उहाँले संसारका अन्य नेताले पृथ्वी सबैको साझा घर भएको हुँदा सबैलाई सम्पन्न बनाउनुपर्ने आवाज उठाउँदै छन्, बीआरआई मानव जातिको साझा हितसँग सम्बन्धित हो; ब्रिक्स कमजोर देशलाई पुँजी सहयोग दिने तर लगानी नगर्ने हो; यी दुवैमा कुनै सर्त छैन; तर एमसीसी सम्झौतामा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने सर्त छ भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेमकिपाको स्थापना दिवसको अवसरमा सबै कामदार जनता र पार्टीका कार्यकर्ताहरूमा नयाँ ऊर्जा र जनताबिच सक्रियपूर्वक लाग्ने प्रेरणा मिलोस् भन्नुभयो । उहाँले सरकारमा पुगेका दलहरूले जनताको जनजीविका उकास्नुभन्दा पनि बबरमहललाई प्रशासनिक क्षेत्र बनाउनु, लगानी बोर्डको निर्देशनमा भारतको हितमा काम गर्नु गलत रहेको बताउँदै देशमा भएका राजनीतिक विकृतिविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले ब्रिक्सबारे, जनप्रतिनिधि योगेन्द्रमान बिजुक्छेँले बीआरआईबारे, प्राध्यापक समाज नेपालका ई. सुजन माकले फासीवाद र नेपालको अवस्थाबारे, इन्जिनियर समाज नेपालका ई. सुनिल दुवालले नेपालको २०१७ सालदेखि ३१ सालसम्मको अवस्था, नेमकिपा स्थापनाको इतिहास र योगदानबारे पावर प्वाइन्टमार्फत विचार गोष्ठीमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण मर्हजनले नेमकिपा स्थापनाको इतिहासबारे प्रस्ट पार्दै नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन गर्दै दक्षिणपन्थी र वामपन्थी अवसरवादविरुद्धको सङ्घर्ष अहिले पनि चालु रहेको बताउनुभयो ।
उहाँले नेमकिपाले कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको प्रकाशस्तम्भको रुपमा काम गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका शैलेष डंगोलले पनि बोल्नुभएको थियो भने जनगायक विनोद विकले जनगीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply