भर्खरै :

सामन्तवादलाई कमजोर पार्न किसान आन्दोलन जरुरी

सामन्तवादलाई कमजोर पार्न किसान आन्दोलन जरुरी

जुम्ला, १० माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा जुम्लाले पार्टी अध्यक्ष रोहितले लेख्नुभएको नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन पुस्तकको अध्ययन तथा अन्तरक्रियाको आयोजना गरेको छ ।
बिहीबार सदरमुकाम खलङ्गामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले पुस्तकमा उल्लिखित सामन्तवादलाई कमजोर बनाउन किसान आन्दोलन गर्नुपर्छ भन्ने विचार आज पनि सान्दर्भिक भएको धारणा राख्नुभयो ।
उहाँले आमूल परिवर्तनको निम्ति एक युग लाग्ने भन्दै नेमकिपाका संस्थापकहरूले तत्कालीन कम्युनिस्ट पार्टीभित्रको सामन्ती प्रवृत्तिको विरोधमा सङ्घर्ष गरेको विचार राख्नुभयो । साम्राज्यवादी आक्रमण, उपनिवेशवादी थिचोमिचोको विरुद्ध साहित्य गोष्ठी, सभा, समारोह तथा जुलुसको आयोजना गर्नु आवश्यक भन्ने पुस्तकको विचार अद्यापि सान्दर्भिक भएको भन्दै केन्द्रीय सदस्य गोसाईले पार्टीभित्रका तथाकथित बुद्धिजीवीहरूले पार्टीलाई धेरै गुण लगाएको, धेरै त्याग गरेको, आफू ठुलो भन्नेहरू नै पद पाएपछि भागेको इतिहास रहेको बताउनुभयो । क्रान्तिको कामलाई फुर्सदको समय ठान्नु निम्न पुँजीवादी सोच भएको उल्लेख गर्दै यसबाट पार्टी पुँजीवादी पार्टीमा रूपान्तरित हुने खतरा हुन्छ भन्नुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजंग शाहीले कार्यकर्ताले इमानदारीपूर्वक काम गर्नुपर्ने भन्दै पार्टी सङ्गठनलाई घर ठानेर काम गर्न अनुरोध गर्नुभयो ।
जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समिति सदस्य मानबहादुर बोहरा, जंगबहादुर शाही र मनप्रसाद उपाध्यायले पुस्तकबारे आ–आफ्नो विचार राख्नुभयो ।
यसैबिच नेमकिपाको स्थापना दिवसकै अवसरमा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले रेडियो खुला आकाशका लोकेन्द्र गिरीसँगको प्रत्यक्ष प्रसारित रेडियो कार्यक्रममा नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद तथा अवसरवादको विरोध गरेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *