भर्खरै :

विदेशी शक्तिको पाउ मोल्नेहरू कम्युनिस्ट हुन नसक्ने

विदेशी शक्तिको पाउ मोल्नेहरू कम्युनिस्ट हुन नसक्ने

कैलाली, १० माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसर पारेर नेपाल क्रान्तिकारी युवा सङ्घ कैलालीको तेस्रो जिल्ला सम्मेलन बिहीबार लम्कीमा एक कार्यक्रमबिच सम्पन्न भयो । सम्मेलनले प्रेमबहादुर सिजापतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित ग¥यो ।
सम्मेलनको उद्घाटन गर्दै पार्टी केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्था कामदार जनताको व्यवस्था नभएकोले समाजवाद हुँदै साम्यवादसम्म पुग्ने पार्टीको लक्ष्य रहेको प्रस्ट पार्नुभयो । उहाँले सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा गएर समाजवाद स्थापना हुन्छ भन्नेमा विश्वास नगर्ने चर्चा गर्दै सत्तास्वार्थमा फस्ने र त्यसका लागि प्रतिक्रियावादी तथा विदेशी शक्तिको पाउ मोल्नेहरू कम्युनिस्ट हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कामदार वर्गसँग सङ्घर्षमार्फत पुँजीवादलाई फाल्नेबाहेक अर्को विकल्प छैन । वर्गसङ्घर्ष नै अन्तिम अस्त्र हो समाजवाद ल्याउने ।”
केन्द्रीय सदस्य शाहीले पार्टी कार्यकर्ताहरूलाई गाउँ गाउँमा गएर कामदार जनतालाई राजनैतिकरूपमा सचेत पार्ने अभियानमा लाग्न आह्वान गर्नुुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले मुठीभरका व्यक्तिहरू धनी हुँदैमा देश धनी भएको भन्न नमिल्ने उल्लेख गर्दै उत्पादनका स्रोत र साधनहरू राज्यको स्वामित्वमा रहेपछि पुँजीको व्यापक परिचालन हुने तथा देश र जनताको हितमा छिटो कार्य हुने प्रस्ट पार्नुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले पार्टी स्थापना दिवसको अवसरमा माघ महिनाभरि नै जिल्लाका विभिन्न स्थानहरूमा जनताबिच गएर पार्टी गतिविधि गर्ने योजना रहेको बताउनुभयो । उहाँले पार्टीको आठौँ महाधिवेशन सफल पार्न सबै कार्यकर्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका के.पी. कोजूले भक्तपुर नगरपालिकाले पार्टीको निर्देशनमा समाजवादी मोडेलको केही अंश प्रयोग गर्दा जनताको सेवा पुगिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका जिल्ला अध्यक्ष लक्ष्मी पुन, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका जिल्ला अध्यक्ष गुप्त शाही र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका देवान्स मानन्धरले युवाहरूलाई देश निर्माणमा लगाउनुको सट्टा वर्तमान सरकारले वैदेशिक रोजगारको नाउँमा वैधानिक रूपमा नै बिक्री गरिरहेको बताउनुभयो । सरकारको गलत नीतिको विरोधमा युवा शक्ति एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
अग्रज पार्टी कार्यकर्ता ज्योति बडुवालले कामदार जनतालाई राजनैतिक रूपमा सचेत पार्न सजिलो नभएको चर्चा गर्दै शोषणको विरोधमा सङ्गठित आवाज नउठाइकन अधिकार प्राप्त नहुने प्रस्ट पार्नुभयो ।
कार्यक्रममा आयोजक समितिका सचिव सीताराम पण्डित र सदस्य कुलबहादुर पुनले जिल्लामा युवा गतिविधिबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *