भर्खरै :

प्रदेशको निर्वाचन र प्रथम बैठक

एक पर्यवेक्षक
देशमा संघीय प्रणालीको अभ्यास सुरु हुनु र जनतामा नयाँ आशा र उन्सुकता बढ्नु एक अर्कासँग अन्योन्यास्रित छ । अब त देशको सन्तुलित र चौतर्फी विकास होला कि ? माटोले मागेको परिवर्तन र विकेन्द्रीकरण होला कि ? हिजो केन्द्रीकृत राजनीतिमा देखिएको विकृति, विसंगति हट्ला कि ? जनजीविकसँग सम्बन्धित विषयवस्तुको सम्बोधन शासक दलले अब त गर्लान् कि ? देशको अर्थतन्त्रलाई चकनाचुर पार्ने हिजोको भ्रष्टाचार, कालाबजारी, कालो धन कुम्ल्याउने प्रवृत्ति अब त रोकिएला कि ? शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता महत्वपूर्ण विषयमा जनताको पहुँच अब त प्रदेश सरकारहरूले पु¥याउलान् कि ? भन्ने यी र यस्तै थुप्रै थुप्रै अपेक्षा र विश्वासको डोबहरू उनेर जनता बसेका देखिन्छन् । यही समयचक्रलाई एक पर्यवेक्षकको आँखाबाट नियालौं ।
निर्वाचन आयोग अगाडि प्रमाणपत्र वितरणमा देशभरिका समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम माघ ०५ गते सम्पन्न भयो । कार्यक्रमको व्यवस्थापन भव्य र सभ्य हुनुपर्ने अथवा होला भन्ने अपेक्षा जो कोहीले गर्नु स्वाभाविक पनि थियो । प्रमाणपत्र ग्रहण पछि खाम लिने र हस्ताक्षर गर्ने टेबुलनजिक नवनिर्वाचित माननीयज्यूहरूको घचेटाघचेतले कर्मचारीहरूबीच एकछिन त हाँसो नै छायो । वृद्ध सांसदज्यूहरू उक्त ठेलमठेलको चेपुमा पर्नुभएको दृश्य अवलोकन गरिरहने केही पत्रकारहरुले मन थाम्न नसकेर भनिहाले – ‘कठै मेरा देशका नीति निर्माताहरू’ ।
प्रदेशसभा सदस्यहरूद्वारा सपथग्रहण
माघ ०७ मा मकवानपुरको हेटौडामा ३ नं. प्रदेशका सांसदहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो । सभाको लागि छनोट भएको भवनको स्वरुप, अस्तव्यस्तता, ढिलासुस्ती, अव्यवस्थापनले देशको राजनीति कहाँ र कुन अवस्थामा छ भन्ने दर्साइरहेको थियो । सभाकक्ष भित्रको जसोतसो मिलाइएको व्यवस्थापन र एउटा ब्यानर पनि नहुँदा पर्यवेक्षकहरूमा कानेखुसी हुनु स्वाभाविक थियो । प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका करिब सम्पूर्ण सांसदहरूले पद र गोपनीयताको शपथ ग्रहण गरिरहँदा नेपाल मजदुर किसान पार्टीका दुई सांसदहरूले देश र जनताको नाममा शपथ ग्रहण गरेको विषयवस्तुले चर्चा पाएको थियो ।
प्रदेश ३ मा सबैभन्दा पहिला प्रथम अधिवेशन माघ १८ गते दिउँसो ठीक १ बजे अधिवेशन सुरु भयो । राष्ट्रिय गानको धुन बजाइयो । प्रजातन्त्रको निम्ति प्राण आहुति गर्नेे ज्ञानअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलीसहित १ मिनेटको मौनधारण गरियो । कार्यतालिकाअनुसार र दलका शीर्ष माननीयज्यूहरूलाई आ–आफ्नो पार्टीको धारणा राख्ने समय छुट्याइयो । प्रस्ट बहुमत ल्याएका शासक दलहरूले अझै पनि समाजवादको अपव्याख्या र समृद्धिको चर्को फलाकोबाजी गर्न नछोडेको, भाषणमै पनि लोकतन्त्रको संरक्षक दाबी गर्ने दलले आफ्नो दादागिरी र मनगढन्ते अविव्यक्तिहरू दिएकोप्रति पर्यवेक्षकहरूले नाक खुम्च्याएको देखियो । विषयवस्तु र सान्दर्भिकता त्यस्तै देश र जनतालाई साँचै नै सम्बोधन गर्ने अभिव्यक्ति नेपाल मजदुर किसान पार्टीबाट भएको अनभुव धेरैले गरे ।
सभाको दुईतिहाइ बहुमतले निर्णय गर्ने प्रदेश राजधानीको विषयलाई लिएर एक माननीयले आफ्नै पोल्टामा पार्ने जिकिर र त्यसो नभएको खण्डमा जे पनि हुनसक्ने अस्वाभाविक चेतावनीले सभामा एक छिन त खैलाबैला नै मच्यो । अर्का माननीयले त बोलेको पहिला जनताका शत्रु राजा थिए र अब त साझा शत्रु कोही नरहेको निष्कर्ष समेत निकाल्न भ्याए । यसरी व्यक्तिगत प्रभावका निम्ति ठूल्ठूलो स्वरमा दिएको भाषणमा जनता र देश कहीं पनि नभएको पर्यवेक्षकहरूले महसुस गरे । सभामा प्रदेश नम्बर तीनको प्रदेश सभा कार्य सञ्चालन कार्यविधि २०७४ पारित भयो । माघ २७ गते सभामुख र २८ गते उपसभामुखको निर्वाचन मिति तय गर्दै सभा टुङ्गियो । यसरी पूर्वतयारी विनाको विदेशी दबाब र भावनाबाट प्राप्त संघीय व्यवस्थामा थुप्रै चुनौती र जटीलताहरू थपिंदै निश्चित छ । जनअपेक्षा पूरा भइहाल्ने छनक अहिलेसम्मको पर्यवेक्षणले देखाएको छैन ।
जनतालाई समृद्धिको सपना बाँधेर शासक दलका नेताहरू आज मुख्यमन्त्री बन्ने होडबाजीमा तँछाडमछाड गर्दैछन् । पार्टीभित्रै एक अर्का माथिको आरोप प्रत्यारोप, हिलो छ्यापाछ्याप र नेताहरूको पदलोलुपताले एउटा ठूलो प्रश्न चिन्ह खडा गरेको छ – संघीयता नयाँ बोटलभित्र पुरानो रक्सी त होइन ? जनताको समृद्धिको पर्खाइ ‘वेटिङ टु गोडोट’ त हुने होइन ? अथवा मृगतृष्णा त हुने होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *