भर्खरै :

सुर्खेतमा ‘जनताको प्रजातन्त्र’ पुस्तकबारे अन्तरक्रिया

सुर्खेतमा ‘जनताको प्रजातन्त्र’ पुस्तकबारे अन्तरक्रिया

सुर्खेत, १२ माघ । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा ‘जनताको प्रजातन्त्र’ पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
आयोजक समितिका अध्यक्ष शेरबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टीले स्थापना कालदेखि आफ्नो नीति, सिद्धान्त र कार्यक्रमअनुसार निःस्वार्थ रूपले देश र जनताको पक्षमा निरन्तर रूपमा सङ्घर्ष गर्दै आएको बताउनुभयो । ‘जनताको प्रजातन्त्र’ विषयमा चर्चा गर्दै मजदुर र किसानहरूको नेतृत्वमा राष्ट्रिय पुँजीपतिवर्ग र देशभक्त प्रगतिशील बुद्धिजीवीहरूको सहयोगमा स्थापना हुने व्यवस्था नै जनताको प्रजातन्त्र हो भन्नुभयो ।
महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिँदै उहाँले पार्टी प्रकाशनहरूको अध्ययनमा अझ बढी जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले अहिलेको पुँजीवादी गणतन्त्रबाट समाजवाद स्थापना हुनु अगाडि जनताको प्रजातन्त्र स्थापना हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले जनताको प्रजातन्त्रमा उत्पादनका मुख्य मुख्य साधनहरू राज्यको मातहतमा हुने, शिक्षा, स्वास्थ्य निःशुल्क हुने, युवाहरूलाई रोजगारीको सुनिश्चितता देशी विदेशी प्रभावबाट मुक्त हुने बन्दोबस्त जनताको प्रजातन्त्रमा हुने बताउनुभयो ।
कार्यक्रममा अक्कलबहादुर राना, प्रेमकुमार थापा, चेतन पौडेल, तुल्सी खड्का, पर्व कार्की, अङ्गबहादुर शाही, ऐनबहादुर शाही, धनेन्द्र विक, निरकबहादुर शाही, गोविन्दनाथ योगी, कुस्माखर खनाल, इन्द्रप्रसाद न्यौपाने, मनबहादुर विक र अमर भण्डारीले पनि पुस्तकको अन्तरक्रियामा भाग लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *