नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)
१०७. सोभियत समाज, सोभियत सरकार र बोल्शेभिक पार्टीमा ठुलो क्षति पुगिसकेको थियो । निश्चय नै यो कुरा थाहा पाएको धेरै भइसक्यो । तर, अहिलेसम्म नबुझिएको के थियो भने ‘त्रोइका’ को गठन गर्ने तथा मृत्युदण्ड र निष्कासनको लागि ठुला कोटा दिने काम स्तालिनको नभई पार्टी अध्यक्षहरूको जोडबलबाट थालिएको थियो । झुकोभको विचारमा यो थालनी एवम् गोप्य, प्रतिस्पर्धात्मक निर्वाचनको खतरा तथा केन्द्रीय समितिले स्तालिनको अगुवा टोलीलाई प्रतिस्पर्धात्मक निर्वाचन रद्द गराउन सफल भएको तथ्यबिच गहिरो सम्बन्ध छ । यसबाट के बुझिन्छ भने ‘यजेभचिना’ को व्यापक धरपकड तथा दण्ड–सजायको धामापछाडि सम्भवतः प्रतिस्पर्धात्मक निर्वाचनको ‘खतरा’ बाट पारा पाउनु नै प्रमुख कारण थियो । (झुकोभ, केपी)
(टिपोट २३ : ख्रुश्चेभले ‘२० हजार मानिसलाई मृत्युदण्ड दिन’ आग्रह गरेका थिए । (झुकोभ, केपी ३ डिसेम्बर २००२) ख्रुश्चेभको ठुलो सङ्ख्यामा कार्यकर्तालाई निष्कासन गरेकोमा याकोभ्लेभको आलोचनाबारे माथि नै उद्धृत गरिएको छ । सन् १९३८ अक्टोबरमा आइखलाई पक्राउ गरियो । उनीमाथि मुद्दा चलाइयो, उनले अभियोग स्वीकार गरे र सन् १९४० फेब्रुअरीमा उनलाई मृत्युदण्ड दिइयो । आइखले कुटपिट गरिएको (यातना दिइएको) हुनाले अभियोग स्वीकारेको भनी पछि बयानबाट पछि हटेको ख्रुश्चेभले बताएका छन् । झुकोभको विश्लेषण अनुसार आइखले सजाय पाउनुको वास्तविक कारण सन् १९३७–३८ मा भएका व्यापक मृत्युदण्डमा उनले खेलेको नेतृत्वदायी भूमिका थियो । (हेरौँ जेन्सन र पेत्रोभ, पेज ९१–२ ।) सन् १९३८ जनवरीको केन्द्रीय समितिको बैठक र पोलिटब्युरोले साधारण कार्यकर्ता तप्कालाई सताएकोमा पार्टी अध्यक्षहरूको निन्दा गर्न थाले । (गेट्टी, ‘ओरिजिन्स’ पेज १८७–८) आइखसम्बन्धी छानबिन तथा मुद्दाको पूर्ण विवरण अझै पनि गोप्य राखिएको छ । आफू र आफ्ना समकक्षी पार्टी अध्यक्षहरूबाट दोष र ध्यान अन्तै मोड्ने आकाङ्क्षा नै (सन् १९५६ को कुख्यात) ‘गुप्त भाषण’ मा ख्रुश्चेभले झूट बोल्नुको एउटा बलियो कारण थियो ।
१०८. ठुलो सङ्ख्यामा दिइएको दण्ड–सजायको जिम्मेवारीबाट स्तालिन र उनका सहयोगीहरूलाई कसैले दोषमुक्त गर्न सक्दैन । केही लाखको हाराहारीमा मान्छेहरूलाई मुद्दा चलाएर मृत्युदण्ड दिइएको थियो । तिनीहरूलाई जेल चलान गरिएको भए पछि सबैजसो मानिस बाँच्ने थिए । धेरैले आफ्नो मुद्दाको पुनः छानबिन गराउने थिए र रिहा हुने थिए । तर, हाम्रो आलेखको उद्देश्य यहाँ अर्कै हो । स्तालिन कसैको जीवन–मरणको फैसला गर्ने अधिकारसहितको ‘त्रोइका’ बनाउन पार्टी अध्यक्षहरूले राखेको माग किन मान्नुभयो ? यसको कुनै बहानाबाजी हुन सक्दैन । केही कारण अवश्यक हुनुपर्छ ।
(टिपोट २४ : गेट्टी (‘एक्सेसेस’ पेज १३२) ले एउटा प्रमाण पेस गर्छन् । २ लाख ३६ हजार मृत्युदण्डको अनुमति ‘मस्को’ ले दिएको थियो । यसको अर्थ स्तालिनको अगुवा टोलीले दिएको थियो । तर, त्यसको १६० प्रतिशत अर्थात् ३ लाख ८७ हजार मानिसलाई स्थानीय अधिकारीहरूले मृत्युदण्ड दिएका थिए ।)
१०९. कुनै पनि सरकार उच्चपदस्थ सैन्य कमान्डर, राष्ट्रिय एवम् महत्वपूर्ण क्षेत्रीय सरकारमा रहेका उच्च पदस्थ व्यक्तित्वका साथै गुप्त तथा सीमा प्रहरीका प्रमुखहरूले एकैबाजि गर्ने विश्वासघातको सामना तयार रहन सक्दैन ।
११०. त्यति ठुलो देशभरि व्यक्तिगत सम्बन्ध भएका तत्कालीन र पूर्व उच्चपदस्थ पार्टी नेता समेत संलग्न भएका गम्भीर प्रकृतिका षड्यन्त्रहरूबाट पर्दा उठेको थियो । गोप्य सैन्य योजना पूरा गर्न फासिवादी शत्रुहरूसँग देशका सर्वोच्च तहका सैन्य व्यक्तित्वहरूले नै मिलिभगत गर्नु सबैभन्दा अनिष्टकारी थियो । सैन्य षड्यन्त्रकारीहरूको सम्पर्क सोभियत सङ्घभरि थियो । षड्यन्त्रमा गेनरिख यगोडालगायत ‘एनकेभिडी’ का उच्च तहका अधिकारी पनि संलग्न थिए । उनी सन् १९३४ देखि १९३६ सम्म ‘एनकेभिडी’ प्रमुख थिए र सन् १९३४ अघि पनि वर्षौँवर्ष दोस्रो वरियताका कमान्डर थिए । षड्यन्त्र कति फैलिएको थियो र कति मान्छे संलग्न थिए भनी थाहा पाउन सकिन्थेन । सबैभन्दा खराब परिणामको आकलन गर्नु नै बुद्धिमान हुन्थ्यो ।
(टिपोट २५ : सन् १९३८ को मस्को इजलासमा यगोडाले सोभियत सरकारविरुद्ध सत्ताविद्रोहको षड्यन्त्र तथा साहित्यकार म्याक्सिम गोर्की र उनका छोराको हत्याका साथै अन्य जघन्य अपराधमा संलग्न भएको स्वीकार गरे । तर, उनले सुराकी गरेको आरोपको जोडदार खण्डन गरे । यगोडा पक्राउ परेको धेरै पछिसम्म पनि सुराकीको विषय उठाइरहनुले उनले विदेशी शत्रुहरू (जर्मनी, जापान र पोल्यान्ड) लाई गोप्य सूचना दिएको हुन सक्ने आकलन कम्तीमा सोभियत सरकारले गरेको पुष्टि हुन्छ । गृहमन्त्री, गुप्त तथा सीमा प्रहरीको प्रमुखको रूपमा यगोडाले विदेशी सरकारहरूलाई गोप्य सूचना दिएर सोभियत सुरक्षा व्यवस्थामा अकल्पनीय हानि पु¥याउन सक्थे ।)
१११. पोलिटब्युरो र स्तालिन स्वयम् बोल्शेभिक पार्टी र सोभियत सरकारको सर्वोच्च आसनमा थिए । देशको राजकाजका विषयमा तलका नेता–कार्यकर्ताले पठाउने जानकारी नै उनीहरूले थाहा पाउँथे । अर्को बा¥ह महिनामा उनीहरूले धेरै पार्टी अध्यक्षहरूलाई दपेटे । पार्टी अध्यक्षहरूमध्ये आधालाई पक्राउ गरियो । यी व्यक्तिमध्ये धेरैमाथि लगाइएका अभियोग, तिनीहरूसँग गरिएका सोधपुछ तथा चलाइएका मुद्दाका मिसिल सोभियत सङ्घ ढले पनि र रूस कम्युनिस्ट नरहे पनि अझै बाहिर आएको छैन । तर, के–कति कारणले स्तालिन र पोलिब्युरोले आफूहरू भयानक घडीबाट गुज्रिरहेको छनक पाए भनी बताउने पर्याप्त अनुसन्धनात्मक प्रमाण अहिले हामीसँग छन् । (लुबिएन्का बी)
११२. बोल्शेभिक पार्टी प्रजातान्त्रिक केन्द्रीयताको ढाँचामा गठन गरिएको थियो । स्तालिन देशकै सर्वोच्च ओहोदामा हुनुका साथै लोकप्रिय नेतासमेत हुनुहुन्थ्यो । तथापि (अन्य पार्टी नेतालाई जस्तै) स्तालिनलाई पनि केन्द्रीय समितिको बहुमतले पदबाट हटाउन सक्थ्यो । उहाँ बहुमत केन्द्रीय सदस्यको आग्रहपूर्ण मागलाई बेवास्ता गर्ने स्थानमा हुनुहुन्नथ्यो ।
११३. प्रजातान्त्रिक निर्वाचनका सिद्धान्तलाई पार्टी अध्यक्षहरूले अवहेलना गरे । यसमा स्तालिन उनीहरूलाई रोक्न असमर्थ हुनुहुन्थ्यो । यो कुरा पुष्टि गर्न झुकोभले सन् १९३७ अक्टोबरमा बसेको केन्द्रीय समितिको बैठकको अप्रकाशित दस्तावेजबाट एउटा घटना उद्धृत गरेका छन् ।
आईए क्राभ्तसोभ क्रास्नोदर क्षेत्रीय समितिका पार्टी अध्यक्ष थिए । उनका सहकर्मीहरूले केही हप्ता यता बठ्याइँपूर्वक जे गर्दै थिए, त्यसलाई मान्यता दिने उनी एकमात्र अधिकारी थिए । उनले सोभियत सङ्घको सर्वोच्च सोभियतमा प्रतिनिधिको रूपमा तिनै उम्मेदवारलाई मात्र छनोट गरे जसले ‘व्यापक नेतृत्व’ को हित आत्मसात गथ्र्यो ।
“हामी हाम्रा उम्मेदवारलाई सर्वोच्च सोभियतसामु पेस गर्छौँ”, क्राभ्तसोभले खुलेर भने ।
“को हुन् यी कामरेडहरू ? आठजना पार्टी सदस्य हुन्; दुई पार्टीइतरका हुन् वा कोम्सोमोल (कम्युनिस्ट युवा सङ्गठन) का सदस्य हुन् । यसरी हामीले केन्द्रीय समितिले गरेको निर्णयअनुसार पार्टी इतरका सदस्यको कोटा पूरा गरेका छौँ । पेसाका हिसाबले यी कामरेडहरू यसरी विभाजित छन् : चार पार्टी अधिकारी, दुई सोभियत अधिकारी, एक कोलखोजका अध्यक्ष, एक बाली काट्ने मेसिन चालक, एक ट्रयाक्टर चालक, एक तेल मजदुर… ।”
स्तालिन : बाली काट्ने मेसिन चलाउनेबाहेक के गर्नुहुन्छ ?
क्राभ्तसोभ : यी दसजनामा उहाँ याकोभ्लेभ हुनुहुन्छ । उहाँ क्षेत्रीय समितिका पार्टी अध्यक्ष र क्राइ कार्यसमिति अध्यक्ष हुनुहुन्छ ।
स्तालिन : तपाईँलाई यसरी छनोट गर्ने सुझाव कसले दियो ?
क्राभ्तसोभ : मैले भन्नैपर्छ कामरेड स्तालिन, यो सुझाव मलाई केन्द्रीय समितिले दिएको हो ।
स्तालिन : कसले ?
क्राभ्तसोभ : केन्द्रीय समितिमा रहेका हाम्रो क्राइ कार्यसमितिका अध्यक्ष कामरेड सिमोच्किनलाई यो जिम्मेवारी दिएका थियौँ । केन्द्रीय समितिले उहाँले पेस गरेको नामलाई नै स्वीका¥यो ।
स्तालिन : कसले ?
क्राभ्तसोभ : भन्न सक्दिन । मलाई थाहा छैन ।
स्तालिन : कति टिठलाग्दो कुरा । तपाईँले भन्न सक्नुभएन । तर, तपाईँ गलत हुनुहुन्छ ।” (झुकोभ, इनोय पेज ४८६–७)
११४. क्राभ्तसोभले खुलेर जे भने सबै पार्टी अध्यक्षहरूले त्यही काम गर्दै थिए । उनीहरूले सोभियतको गोप्य निर्वाचनको सिद्धान्तलाई बेवास्ता गर्दै थिए । जबकि त्यो नियमलाई उनीहरूले नै अघिल्लो केन्द्रीय समितिको बैठकमा पारित गरेका थिए । तर, उनीहरू कहिल्यै त्यसमा सहमत थिएनन् । यस मुद्दामा स्तालिनको अन्तिम पराजयको चिन्ह थियो यो । उहाँ र उहाँका केन्द्रीय सहयोगीहरूले दुई वर्षदेखि अघि बढाइरहेको संवैधानिक तथा चुनावी सुधारको सङ्घर्ष यहीनिर गएर परास्त भयो ।
११५. प्रजातान्त्रिक सुधारको प्रयास तुहियो । पुरानो राजनीतिक व्यवस्था नै कायम रह्यो । प्रतिस्पर्धात्मक निर्वाचन आयोजना गर्ने स्तालिनको योजना सेलायो । “यसरी सोभियत सङ्घको राजनीतिक व्यवस्था सुधार्ने स्तालिन र उहाँको समूहको प्रयास पूरै विफल भयो ।” (झुकोभ, इनोय पेज ४९१)
११६. झुकोभको विचारमा पार्टी अध्यक्षहरूले माग गरे अनुसार स्तालिनले असामान्य अधिकारसहितको ‘त्रोइका’ गठन गर्न अस्वीकार गरेको भए स्तालिनलाई सम्भवतः भारी मतले पार्टीबाट निष्कासन गरिने थियो र एक प्रतिक्रान्तिकारीको रूपमा पक्राउ गरी मुद्दा चलाइने थियो । “आज स्तालिनलाई पनि सन् १९३७ को दमनको पीडितको रूपमा गन्ने सम्भावना थियो । एएन याकोभ्लेभको ‘स्मृति’ र आयोगले उनलाई पुनःबहाल गर्न अर्जी दर्जा गरेको लामो समय पुग्ने थियो ।” (झुकोभ, केपी १६ नोभेम्बर २००२)
११७. सन् १९३८ नोभेम्बरमा ‘एनकेभिडी’ प्रमुख बनेर लाभरेन्ती बेरियाले यजोभलाई प्रभावकारीरूपमा विस्थापित गरे । ‘त्रोइकाहरू’ विघटन गरियो । कानुनी दायरा बाहिर गएर दण्ड–सजाय दिने परिपाटी बन्द भयो । भयानक अत्याचार गरेका धेरै जिम्मेवार व्यक्तिहरूमाथि मुद्दा दायर गरियो र कसुरवारलाई जेल चलान गरियो । तर, युद्ध नजिकिँदै गयो । फ्रान्स सरकारले पहिले नै सहमति भइसकेको फ्रान्स–सोभियत गठबन्धनलाई खुकुलो ढङ्गमै पनि अघि बढाउन अस्वीकार ग¥यो । (सोभियत सङ्घ फ्रान्ससँग बलियो गठबन्धन बनाउन चाहन्थ्यो ।) मित्र राष्ट्रहरूले कुनै सङ्घर्ष नगरी हिटलर र पोल्यान्डका फासिवादीहरूलाई चेकोस्लोभाकिया चारा चढाए । नाजी जर्मनीले फासिवादी पोल्यान्डसँग सैन्य गठबन्धन गरेको थियो । सोभियत सङ्घमाथि आक्रमणका लागि यो गठजोड गरिएको थियो । सोभियत सङ्घले धेरै सघाएको स्पेनी गृहयुद्ध हारमा टुङ्गियो । इटलीले इथियोपिया कब्जा ग¥यो र ‘लीग अफ नेसन्स’ ले केही गरेन । फ्रान्स र बेलायतले हिटलरलाई उकेरा लगाएको छर्लङ्गै देखियो । सोभियत सङ्घमाथि आक्रमण गर्न हिटलरको पछाडि पूर्वी युरोपका धेरै देश लाम लागेर उभिए । (लुबिएन्का बी, नं. ३६५; लेबोवित्ज)
(टिपोट २६ : बेरियाका क्रियाकलापबारे थर्सटनले आफ्नो पुस्तक ‘जीवन र सन्त्रास’ नामक पुस्तकको पेज १२८ मा यसबारे सटिक चर्चा गरेका छन् ।)
११८. जापान, इटली र जर्मनीले आपसमा रक्षा सन्धि तथा ‘कोमिन्टर्नविरोधी’ सन्धि गरे । दुवै सन्धि सोभियत सङ्घविरुद्ध लक्षित थिए । सोभियत सङ्घसँग सीमा जोडिएका सबै युरोपेली देशमा फासिवादी शैलीको सैन्य तानाशाही थियो । (पोल्यान्ड, रुमानिया, बुल्गेरिया, हङ्गेरी, फिनल्यान्ड, इस्टोनिया, लाट्भिया र लिथुआनिया ती देश थिए ।) सन् १९३८ मा जापानले रूसको खसान तालमाथि आक्रमण ग¥यो । आक्रमणमा परेर लालसेनाका १ हजार सैनिक मारिए । अर्को वर्ष जापानले खाल्किन गोलमा अझ सशक्त हमला ग¥यो । तर, त्यसलाई लालसेनाले असफल तुल्यायो । त्यसमा १७ हजार सोभियत सैनिकले ज्यान गुमाए । ५५ सय सैनिक मृततुल्य भए । सानो युद्ध थिएन त्यो । यो युद्ध निर्णायक साबित भयो । त्यसपछि जापानीहरूले कहिल्यै सोभियतहरूसँग जोरी खोजेनन् । तर, जापानले अब हमला गर्दैन भनी सोभियत सरकारले थाहा पाउने कुरै भएन । (रोसिया इ एसएसएसआर भी भोयनाख)
११९. सन् १९३८ पछि स्तालिन सरकारले फेरि (सन् १९३६ को संविधान अनुसार) प्रजातान्त्रिक निर्वाचन प्रणाली लागु गर्न खोजेन । के यस असफलताले स्तालिनको अगुवा टोली र केन्द्रीय समितिमा रहेका पार्टी अध्यक्षहरूबिच लगातार टक्करको अवस्था रहेको जनाउँछ ? अर्को अनुमान पनि छ । युद्ध बेगिँदै आँगनमा आइरहेको परिप्रेक्ष्यमा शान्तिपूर्ण समय नआउँदासम्मलाई प्रजातन्त्रको प्रयासलाई थाती राख्ने सोचियो कि ? हालसम्म उपलब्ध प्रमाणबाट ठ्याक्कै यही हो भनी किटान गर्न सकिने स्थिति छैन ।
१२०. ‘एनकेभिडी’ प्रमुखको रूपमा यजोभलाई बेरियाले विस्थापित गरेपछि लगालग पुनःबहालीको क्रम सुरु भयो । (बेरिया औपचारिकरूपमा सन् १९३८ डिसेम्बरमा ‘एनकेभिडी’ प्रमुख बनेका थिए । व्यवहारमा भने केही हप्ता अघिदेखि नै उनले सो जिम्मेवारी सम्हालेका थिए । बेरियाले १ लाख कैदीलाई शिविर र कारागारबाट रिहा गरे । कानुनको दायराबाहिर गएर दण्ड–सजाय र यातना दिएको आरोपमा ‘एनकेभिडी’ का अधिकारीहरूलाई धमाधम मुद्दा चलाइयो । (थर्सटन, पेज १२८–९)
Leave a Reply