भर्खरै :

हाम्रा शत्रुहरू को हुन् र हाम्रा मित्रहरू को हुन् ?

हाम्रा शत्रुहरू को हुन् र हाम्रा मित्रहरू को हुन् ?

(नेमकिपाका अध्यक्ष रोहितद्वरा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइ पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)

क्रान्तिको निम्ति यो सबभन्दा पहिलो महत्वपूर्ण प्रश्न हो । विभिन्न देशहरूको पहिलेका क्रान्तिकारी सङ्घर्षहरूले सा¥है कम सफलता पाउनुको कारण नै आफ्ना वास्तविक शत्रुहरूलाई हान्न वास्तविक मित्रहरूलाई एकगठ गर्न नसक्नु हो । यो कुरो हाम्रो देशको क्रान्तिकारी सङ्घर्षमा पनि लागु हुनेछ । वास्तविक शत्रुहरूलाई हान्न वास्तविक मित्रहरूलाई चिन्नुपर्छ र तिनीहरूलाई एकगठ गर्नुपर्छ । यसो गर्न सके मात्रै क्रान्तिले सफलता पाउनेछ । यदि शत्रुलाई मित्र र मित्रलाई शत्रु ठानेको खण्डमा वा वास्तविक शत्रुहरूलाई हान्न वास्तविक मित्रलाई एकगठ गर्न नसकिएमा क्रान्तिले सफलता पाउने छैन ।
२०१७ सालपछि हाम्रो पार्टीमा हाम्रा शत्रुहरू को हुन् र हाम्रा मित्रहरू को हुन् भन्ने प्रश्न प्रमुख रूपमा देखाप¥यो । यही प्रश्नलाई फुकाउन नसक्दा हाम्रो क्रान्ति अगाडि बढ्नमात्र नसकेको होइन, क्रान्तिलाई बाटो देखाउनुपर्ने पार्टी आफै टुक्रा टुक्रा भएर धेरै दलहरूमा विभाजित भए । यसमा अनेक व्यावहारिक खोटहरू थिए । त्यसैले नेपाली जनताको क्रान्तिकारी आन्दोलनले कुनै उल्लेखनीय सफलता हासिल गर्न सकेन । देशको मुख्य समस्या र त्यसको समाधानलाई ठम्याउन नसक्नाले नै ‘प्रजातान्त्रिक’ र ‘क्रान्तिकारी’ भनिएको पार्टी र त्यसका नेताहरूले जनताको सङ्घर्षलाई ठीक बाटोमा लैजान सकेनन् ।
वास्तविक शत्रुहरू र मित्रहरू चिन्ने उपायहरू के के हुन् ? राजनैतिक सङ्घर्षको जरा नै आर्थिक सङ्घर्ष हो । किनभने, “प्रत्येक वर्गसङ्घर्ष राजनैतिक सङ्घर्ष हो ।” यसकारण, हाम्रा शत्रु र मित्रहरू छुट्याउने कसी पनि वर्गीय र आर्थिक समस्याहरू नै हुन् । तर, हाम्रा केही साथीहरूले हाम्रा शत्रुहरू र मित्रहरू छुट्याउने काममा अवास्तविक र खोटो विचारहरू लिएका छन् । शत्रु र मित्र छुट्याउने काममा हामीले भूल गर्नासाथै हाम्रा सबै गतिविधिले हाम्रा जनता र मित्रहरूलाई नोक्सान पुग्नेछ र अन्तमा फाइदा शत्रुलाई हुनेछ । यस विषयमा राम्रो र ठीक ठम्याइ नभएसम्म हामो देशको परिस्थितिमा खास कुनै परिवर्तन हुनेछैन, जो हाम्रो पक्षमा होस् ।
नेपाल एक सामन्ती र अर्थ–उपनिवेश देश हो । यसकारण, राजा, रजौटा, सामन्त र जमिनदारवर्ग अनि विदेशी एकाधिकार पुँजी र त्यस पुँजीसँग गाँसिएका तत्वहरू हाम्रा शत्रुहरू हुन् । सामन्त र जमिनदारवर्ग वर्गीयरूपले सदा क्रान्तिविरोधी हुन्छन् । उपनिवेशवादी तत्वहरू सदा क्रान्तिविरोधी हुन्छन् । उपनिवेशवादी र सामन्ती तत्वहरू आपसमा ‘असङ्ख्य सम्बन्धहरू’ बाट गाँसिएका हुन्छन् ।
साम्राज्यवाद र उपनिवेशवाद सदा सामन्तवादका समर्थक रही आएका छन् किनभने साम्राज्यवाद र उपनिवेशवादको जन्म नै सामन्तवादको चरम विकास सँगसँगै भएको थियो । यसकारण, साम्राज्यवादी र उपनिवेशवादी शक्तिलाई हराउन नसकुञ्जेल सामन्तवादलाई जरैदेखि उखेल्न सकिन्न । साम्राज्यवादी र उपनिवेशवादी शक्तिलाई निर्बलियो बनाउनु भन्नुको अर्थ सामन्तवादलाई निर्बलियो बनाउनु हो । सामन्ती शोषणविरोधी किसान आन्दोलनलाई अगाडि बढाउन नसकेसम्म सामन्तवाद निर्बलियो हुँदैन । यसकारण, सामन्ती, अर्ध–सामन्ती, उपनिवेश र अर्ध–उपनिवेशका देशहरूमा सामन्ती जमिनदारवर्ग नै उपनिवेशवादी र साम्राज्यवादी तत्वहरूको सामाजिक आधार हुन्छ । ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी’ भन्ने लेखमा माओ त्सेतुङ भन्नुहुन्छ, “यसकारण, राष्ट्रिय क्रान्ति र जनवादी क्रान्ति एक भिन्न र संयुक्त दुई मुख्य कामहरू हुन् । …. राष्ट्रिय क्रान्ति र जनवादी क्रान्तिलाई क्रान्तिको दुई फरक–फरक खुड्किलाको रूपमा सोच्नु भूल हो ।”
तर, हाम्रा केही साथीहरू सामन्ती तत्वहरू, उपनिवेशवादी र विदेशी पुँजीसँग सम्बन्धित (दलाल) पुँजीवादी तत्वलाई सम्बन्धै नभएको अलग अलग शक्तिको रूपमा हेर्छन् । सरल भाषामा विदेशी पुँजीसँग सम्बन्धित (दलाल) पुँजीवादी तत्वहरू उपनिवेशवादी र साम्राज्यवादी देशहरूका पुँजीपतिवर्गको स्वार्थको पक्ष लिन्छन् । छोटोमा विदेशी पुँजीका समर्थकहरू विदेशकै पुँजीको ‘च्यापु’ (जुठोचुलो) र जुठोमा पालिएका हुन्छन् । तिनीहरू “गाउँका सामन्ती शक्तिहरूसँग असङ्ख्य सम्बन्धहरूबाट घनिष्ठरूपले जोडिएका हुन्छन् ।”
त्यतिमात्र होइन, आज सामन्त र उपनिवेशवादी तत्वहरू मात्रै एक होइनन्, जनताको सङ्घर्ष बढ्नासाथै सामन्त र पुँजीवादी तत्वहरू पनि एक हुन्छन् र जनताको आन्दोलनलाई दबाउने कोसिस गर्छन् । किनभने, “ठुल–ठुला पुँजीपतिवर्गसँग हजारौँ सूत्रहरूबाट सम्बन्धित भइसकेका हुन्छन्, जो आफ्ना अधिकार, विशेष अधिकार र नाफालाई रक्षा गर्न हिंसाका हरेक उपायहरू गर्न तयार छ ।” सन् १९०५ मा रुसमा सामन्तवर्ग र पुँजीपतिवर्ग मिलेर हजाराँै मजदुरहरूलाई मारेका थिए । जसलाई हामी ‘आइतबारे हत्याकाण्ड’ को नामले बुझ्दछौँ ।
रुसको अक्टोबर क्रान्ति, चीनको राष्ट्रिय र जनवादी क्रान्ति र अरु विभिन्न देशहरूका क्रान्तिकारी अनुभवहरूले हामीलाई एउटा शिक्षा दिन्छ । त्यो हो, सामन्ती र जमिनदारवर्ग उपनिवेशवादी र साम्राज्यवादी तत्वहरूका वर्गीय आधार हुन् । दलाल पुँजीपतिवर्ग विदेशी पुँजीको पक्षमा जान्छ । ठुलठुला सामन्त र पुँजीपतिवर्गको माझ हजारौँ वर्गीय सम्बन्धहरू हुन्छन् र दुवै मिलेर मजदुर र किसान आन्दोलन दबाउँछन् । तर, हाम्रा केही साथीहरू ती क्रान्तिकारी आन्दोलनहरूबाट शिक्षा लिन मान्दैनन् र आफ्नै लिँडेढिपीमा छन् । तिनीहरूले नेपालको क्रान्तिको उद्देश्य र त्यसका शत्रुहरूबारे धेरै भ्रमहरू फैलाएका छन् । हाम्रा केही साथीहरू नेपाली काङ्ग्रेसलाई भारतीय उपनिवेशवाद र विस्तारवादको दलाल मानेर त्यसलाई नै ‘मुख्य दुश्मन’ मान्छन् । फेरि केही साथीहरू राजालाई मात्र ‘मुख्य दुश्मन’ मान्छन् । तर, ती दुवै ठम्याइने नेपाली समाजको मूल्याङ्कन गर्न सकेको छैन । ती दुवै ठम्याइ एकतर्फी र अधुरो छ ।
नेपाली काङ्ग्रेसलाई ‘मुख्य दुश्मन’ भन्ने साथीहरूले यो निष्कर्षमा पुग्दा एकातिर ८० प्रतिशत जनतालाई चुसिराख्ने सामन्ती र जमिनदारवर्गलाई हान्न छोड्छन् र अर्कोतिर बेलायती र संरा अमेरिकी उपनिवेशवादीहरूको राष्ट्रविरोधी गतिविधिलाई देख्न सक्दैनन् । साथसाथै नेपाली काङ्ग्रेसको तल्लोवर्गलाई छोड्छन् र मालिकलाई नहानी नोकर चाकरलाई हान्न पुगेका हुन्छन् । त्यस ठम्याइले न साम्राज्यवादी र उपनिवेशवादी अवशेषलाई देशबाट मेटाउन सकिने छ न त साम्राज्यवाद र उपनिवेशवादको सामाजिक र आर्थिक आधार सामन्तवादलाई नै पल्टाउन सक्नेछ । किनभने, सामन्तवादलाई पल्टाउने प्रेरक शक्ति जनतालाई त्यस ठम्याइले मद्दत गर्दैन ।
राजालाई ‘मुख्य दुश्मन’ सम्झने साथीहरूले पनि न देशको सामन्तवादसँग सम्बन्धित उपनिवेशवादी फन्दा र अवशेषहरूलाई देख्नसकेका छन् न त सामन्तवादलाई उल्टाउन चाहिने किसानवर्गको सामन्त र जमिनदारवर्गविरोधी सङ्घर्षलाई नै बुझेका छन् । यस ठम्याइले विदेशी पुँजीको खतरालाई बुझ्दैन र सामन्तवादको बाहिरी सहायक तत्वहरूलाई बुझ्दैन । न त त्यसले सामन्तवादलाई जरैदेखि उखेल्ने किसान क्रान्तिको जग र बीउलाई नै देख्नसकेको छ ।
यसकारण, यी दुवै ठम्याइ खोटपूर्ण छन् । तिनीहरूको एक्लाएक्लै ठम्याइले त के दुवै ठम्याइ संयुक्त गरे पनि तिनीहरूको ठम्याइ ठीक ठाउँमा पुग्दैन । दुवै पक्षले दुईवटा ठुलठुला भूलहरू गरेका छन् ।
पहिलो, दुवै पक्षले भित्री र बाहिरी शत्रुहरूलाई सँगै हेर्न सकेनन् । माथिल्लो चाहिँले बाहिरी शत्रुसम्म पुग्ने कोसिस गरेको देखिन्छ भने पछिल्लोले भित्री शत्रुको खोलसम्म पुग्न खोजेको देखिन्छ । एक पक्षले व्यवस्थालाई नहानी व्यक्तिको टोपीलाई मात्र हान्न खोज्छ । टोपी खस्दैमा मानिस मर्दैन, भादगाउँले टोपीको ठाउँमा गान्धीको टोपी वा रुसी टोप लगाउन सक्नेछन् ।
दोस्रो, दुवै पक्षले व्यवस्था र वर्गीय दृष्टिकोणले नहेरी पार्टीको ‘एक गुट’ र ‘व्यक्ति’ लाई मात्र हेर्न पुग्यो । एङ्गेल्सले भन्नुभए जस्तै यो त “रुखलाई देख्नु तर जङ्गललाई नदेख्नु” जत्तिकै हो । यी दुवैलाई मिलाएको खण्डमा पनि ‘नेपाली काङ्ग्रेस’ र ‘राजा’ मात्रै नेपाली जनताका ‘दुश्मन’ हुने भए । ती दुवै पक्षका ठम्याइबाट साम्राज्यवाद, उपनिवेशवाद, विदेशी एकाधिकार पुँजी र सामन्तवाद चोखो बच्ने भए, किनभने ‘नेपाली काङ्ग्रेस’ आफै साम्राज्यवाद र उपनिवेशवाद होइन, न त मात्र ‘राजा’ नै सामन्तवाद हो । ‘नेपाली काङ्ग्रेस’ पूर्णरूपले ध्वस्त भए पनि संसारमा साम्राज्यवाद र उपनिवेशवाद बाँचिरहन सक्छ । त्यसको ठीक उल्टो साम्राज्यवाद र उपनिवेशवादका अखडाहरू संसारमा मेटिएको खण्डमा ‘नेपाली काङ्ग्रेस’ आजको रूपमा रहने छैन ।
हुन त ‘राजा’ र ‘महेन्द्र’ ‘मुख्य दुश्मन’ भन्ने साथीहरूले पनि केही सिकेकै हुनुपर्छ । राजा महेन्द्र त मरिसकेका छन्, त के त्यसले नेपाली जनताको सङ्घर्ष वा समस्याहरूमा कुनै ठुलो परिवर्तन आएको छ ? ‘मुख्य दुश्मन’ ‘राजा महेन्द्र’ मरे, त्यसको ठाउँमा छोरा वीरेन्द्र गद्दीमा बसे । देशमा सामन्तवादी समाज कायम रहेसम्म यी क्रम एक वा अर्को ढङ्गले चली नै रहन्छ । ‘राजा महेन्द्र मुख्य दुश्मन’ भन्ने ठम्याइ राजनैतिकरूपले सही भएको भए ‘राजा महेन्द्र’ मरेपछि सामन्तवाद खतम भइसक्नुपर्ने थियो । तर, व्यवहारले साबित ग¥यो कि ‘राजा महेन्द्र मुख्य दुश्मन’ हो भन्ने ठम्याइ एक भावुक र असैद्धान्तिक वाक्यांशमात्र साबित भयो । अर्को शब्दमा यो ठम्याइले ‘रुख देख्यो’, तर ‘जङ्गल देख्न’ सकेन ।
एक दुई जना राजा मर्दैमा वा एकचोटि वा दुईचोटि राजालाई गद्दीबाट हटाउँदैमा सामन्तवाद र राजतन्त्र जरैदेखि उखेलिन्छ भन्ने कुरो होइन । इतिहासले हामीलाई यही देखाउँछ । सन् १६४९ जनवरीमा विदेशसँग मिलेर देश र जनताको द्रोह गर्ने बेलायती राजा चाल्र्स प्रथमलाई जनताले ज्यान सजाय दिए । राजतन्त्रलाई समाप्त गरेर गणतान्त्रिक व्यवस्था स्थापना ग¥यो । राजा चाल्र्स त मरे, तर सामन्तवाद मरेको थिएन । यसकारण, १६५८ मा राज्यको राष्ट्रपति (संरक्षक) क्रामवेल मर्नासाथ सामन्त र जमिनदारवर्गले फेरि टाउको उठाउन थाल्यो र पुँजीपतिवर्गसँग मिलेर तिनीहरूले फेरि स्टुआर्ट वंशलाई गद्दीमा ल्याए र राजतन्त्र कायम गरे । जनताले ज्यान सजाय दिएको राजा चाल्र्स प्रथमको छोरो चाल्र्स दोस्रोलाई गद्दीमा राखे । चाल्र्स दोस्रो सा¥है बदनाम हुनथाल्यो । सामन्त र पुँजीपतिवर्ग जनअसन्तोषको आँधी–बेहरीमा परिने कुरोले डराउन थाले । तिनीहरूले शोषणको व्यवस्था कायमै राख्न र जनताको असन्तोषलाई मोड्ने र चिस्याउने नयाँ अक्कल निकाले । सन् १८६७ मा संसद्ले एक ‘विद्रोह’ ग¥यो र हल्यान्डमा बसिरहेको स्टुआर्ट वंशकै विलियम अफ अरेञ्जलाई गद्दीमा राख्यो । तर, बेलायतको ऐतिहासिक धारा अगाडि बढ्दै थियो । त्यसले आर्थिक व्यवस्थामा परिवर्तन ल्याइरहेको थियो । राजा गद्दीमा रह्यो, सामन्तवर्गको अस्तित्व कायमै थियो, तर शासन भने पुँजीपतिवर्गको पक्षमा जाँदै थियो । संसारको पहिलो पुँजीवादी देश बेलायतको इतिहास यही हो । बेलायतमा ‘राजा’ या ‘रानी’ बाँचेकै छन्, राजतन्त्र कायमै छ । तर, त्यस ‘राजा’ र ‘राजतन्त्र’ लाई ‘मुख्य दुश्मन’ मानेमा त्यसलाई एक साहित्यिक अर्थमा मात्र लिइने छ ।
त्यस्तै, सन् १७९२–१७९४ मा फ्रान्समा राज्यक्रान्ति भयो । त्यस क्रान्तिमा फ्रान्सेली राजा लुई सो¥हौँले विदेशसँग मिलेर देश र जनताको विरोध गरे । जनताले राजालाई गिरफ्तार गरे । देशद्रोहको मुद्दा चलाइयो र राजा अपराधी साबित भए । यसकारण, राजा लुई सो¥हौँलाई जनताले ज्यान सजाय दिए । राजतन्त्रको ठाउँमा गणतन्त्रको स्थापना भयो । नेपोलियन गणतन्त्रको मुख्य रक्षक वा राष्ट्रपति बने । सन् १८०४ मा नेपोलियनले आफूलाई ‘सम्राट’ घोषणा गरे । नेपोलियन राजा भए, उनी सामन्त थिएनन् । राजतन्त्र फेरि स्थापना भयो तर त्यो सामन्तवाद नभई पुँजीवाद अर्थात् पुँजीवादी सामन्तवाद थियो । त्यो पुँजीवादी राजतन्त्र पुँजीपतिवर्गको एक ज्याबलमात्रै रहन गयो । विदेशसँगको लडाइँमा नेपोलियन पक्रियो र सन् १८१३ मा एल्वा टापुमा निर्वासित गरियो । मित्र शक्तिहरूले क्रान्तिको बेलामा गद्दीबाट फालिएको बुर्बो वंशकै लुई अठारौँलाई राजा बनाए । २० मार्च १८१५ मा सम्राट नेपोलियन बाटरलू भन्ने ठाउँमा घेरिए र हारे । अनि उनी एटलान्टिक महासागरको सेन्टहेलेना मन्ते टापुमा निर्वासित गरिए । बुर्बो वंश फेरि गद्दीमा फर्के । सन् १८२४ मा लुई अठारौँ मरे र चाल्र्स दसौँ गद्दीमा बसे । २७ जुलाई १८३२ मा फेरि क्रान्ति भयो । चाल्र्स दसौँ भागे । राजा लुई फिलिप गद्दीमा बसे । सन् १८४८ मा फेब्रुअरी क्रान्ति भयो । लुई फिलिप भाग्यो । सन् १८५२ मा नेपोलियनको भतिजा लुइस नेपोलियनलाई फ्रान्सको सम्राट घोषणा गरियो ।
यसप्रकार हामी देख्छौँ, इतिहासमा कति राजा भए, कति राजा आए, एकपछि अर्को क्रान्ति हुँदै गयो । तर, सामन्ती उत्पादन व्यवस्था नफेरिएसम्म राजा र राजतन्त्रको रूपहरू मात्रै बदलियो – सामन्ती शोषण भने कायमै रह्यो । पुँजीवादी उत्पादन सम्बन्ध सुरु हुनासाथै मजदुर आन्दोलन पनि बढ्दै गएको देखेर सामन्त र पुँजीपतिवर्गको आपसी राजनैतिक लुछाचुँडीमा एक जटिलता देखापर्यो । सामन्त र पुँजीपतिवर्गको हरेक भिडन्तपछि तिनीहरूले मजदुर किसानहरूको एक विद्रोहको सामना गर्नुपर्दथ्यो । त्यो विद्रोह दुवै वर्गको निम्ति झन् भयङ्कर हुन्थ्यो । यसकारण, पुँजीपतिवर्गको सामन्तवादविरोधी निर्णायक सङ्घर्षबाट हुने सम्भावित मजदुर–किसान विद्रोहलाई छल्न सामन्त र पुँजीपतिवर्ग आपसमा एक सम्झौतामा पुग्छन् । तिनीहरू लट्ठी पनि नभाँचून् सर्प पनि मरून् भन्ने नीति लिन्छन् । यसबाट सामन्तवर्गले आफ्नो शोषण र सहुलियतलाई केही हद र अनेक रूपबाट कायम राख्न पाउँछन् भने पुँजीपतिवर्गले सत्तामा आफ्नो प्रभुत्व स्थापना गरेर पुँजीवादी शोषणलाई अगाडि बढाउन पाउँछन् । पुरानो सामन्त र जमिनदारवर्ग पुँजीवादीकरण हुँदै जान्छ भने नौलो पुँजीपतिवर्ग विस्तारै नयाँ खान्दानीरूपमा विकास हुन थाल्छ । सामन्ती अनुभव र नयाँ र चौतर्फी शोषणको तरीकाले शोषण व्यवस्थालाई अझ दिगो गर्न खोज्छ । बेलायत र जापानको पुँजीवादी राजतन्त्र वा राजतन्त्रात्मक पुँजीवादको सार नै यही हो ।
पहिलो र दोस्रो विश्वयुद्धपछि संसारका विभिन्न देशका सामन्ती र पुँजीवादी शक्तिहरू अन्तर्राष्ट्रिय प्रतिक्रियावादसँग विभिन्न किसिमका सम्बन्धहरूमा जेलिए । (संरा अमेरिकी साम्राज्यवादको नेतृत्वमा सङ्गठित साम्राज्यवादी र उपनिवेशवादी शक्तिहरू नै अन्तर्राष्ट्रिय प्रतिक्रियावादको देखिने रूप हो ।) ती प्रतिक्रियावादी शक्तिहरूले विभिन्न देशको श्रमिक आन्दोलन र प्रजातान्त्रिक आन्दोलन दबाउन कहिले राजतन्त्र र कहिले गणतन्त्र, कहिले ‘प्रजातन्त्र’ भनिने नागरिक सरकार र कहिले सैनिकतन्त्र वा सैनिक ‘प्रजातन्त्र’ को मकुन्डो लगाउन दिइरहन्छन् । तिनीहरू विभिन्न लुगा फेर्न लगाएर शोषकवर्गको तानाशाही कायमै राख्ने कोसिस गर्दै छन् । यो कुरा अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा झन् प्रस्ट छ । यसकारण, राजतन्त्र र गणतन्त्र, ‘प्रजातन्त्र’ र ‘सैनिकतन्त्र’ श्रमिक जनताको निम्ति लुगाको रङ्ग र मात्राबाहेक त्यति ठुलो फरक देखिन्न । मात्राको फरक विभिन्न देशहरूको उत्पादनको सम्बन्ध र रूपहरू, देश र अन्तर्राष्ट्रिय परिस्थितिसँगको सम्बन्धको फरक हो । आज ठुलो र महान् ‘प्रजातन्त्रवादी देशहरू’ समेत ‘फासिस्ट’, ‘अर्ध फासिस्ट’ र वैधानिक सैनिकतन्त्रमा फेरिसकेका छन् र आक्रमणकारीहरूको रूपमा नाङ्गिसकेका छन् । यसको एउटा राम्रो उदाहरण इन्डोनेसियाको टिमोरमाथिको आक्रमण हो । आज सोभियत सामाजिक–साम्राज्यवादको नेतृत्वमा अर्को अन्तर्राष्ट्रिय प्रतिक्रियावादले पनि आफ्नो धाक देखाउन र थिचोमिचो गर्न थालेको छ । मध्ययुगीन सामन्ती शोषण, दमन, अत्याचार र असभ्यताले आज झन् ‘अत्यन्त जटिल, रहस्यपूर्ण, शङ्कास्पद र छलपूर्ण रूप लिइसकेको छ ।’ बेलायत, फ्रान्स, अमेरिका आदि पश्चिमी पुँजीवादी देशहरू आफू ‘महान् प्रजातन्त्रवादी’ छँदाछँदै अरु देशहरूमाथि आक्रमण, थिचोमिचो र तानाशाही चलाउँथे । आज पनि हामी पुँजीवादी र उत्पादनको द्रुततर विकास गर्दै गएका ‘प्रजातन्त्रवादी’ देशमा पनि यही चरित्र देख्दै छौँ । यसकारण, हाम्रो मुख्य ठम्याइ हो– शत्रु र मित्र छुट्याउने हाम्रो दृष्टिकोण ‘व्यक्ति’ या ‘गुट’ होइन बरु वर्गीय र उत्पादन सम्बन्ध हुनुपर्छ, राजनैतिक व्यवस्थाको बाहिरी रूप र नामबाट होइन त्यसको सारसँग गर्नुपर्छ ।
हाम्रा केही साथीहरू ‘सामन्तवाद’ र ‘प्रजातन्त्र’ को भेद नै राजा रहनु र नरहनुको रूपमा व्याख्या गर्छन् । ‘राजा’ रहनु नै ‘सामन्तवाद’ र ‘प्रजातन्त्र’ नहुनु हो भने बेलायतको ‘प्रजातन्त्र’ प्रजातन्त्र रहने छैन । सामन्तवादी र पुँजीवादी व्यवस्थाको कसी नै ‘राजा’ भए संसारको सबभन्दा पहिलो पुँजीवादी देश बेलायत एक सामन्तवादी देश मान्नुपर्ने छ । जापान यसको अर्को उदाहरण हो । फेरि ‘प्रजातन्त्र’ र ‘गणतन्त्र’ को शाब्दिक झिलिमिलीबाटै हाम्रो शत्रु र मित्र छुट्टिने भए संरा अमेरिकी साम्राज्यवाद समर्थक दक्षिण कोरियाको पाक चुङ्ग–ही कठपुतली सरकार र ‘प्रजातन्त्र’ हाम्रो मित्र शक्ति हुने थियो । त्यस्तै, कम्बोडियाको लोननोली ‘गणतन्त्र’ र सैगोनको थ्यू–की ‘गणतन्त्र’ र ‘प्रजातन्त्र’ हाम्रो मित्र शक्ति हुने थियो । यसकारण, हाम्रो मित्र र शत्रु छुट्याउने कसी ‘प्रजातन्त्र’ र ‘गणतन्त्र’, राजा र ‘राष्ट्रपति’ हो वा होइन भन्ने कुरामा अलमलिने होइन । बरु, त्यस देश र व्यवस्थाले जनतालाई भलाइ गरेको छ वा छैन, साम्राज्यवाद र उपनिवेशवादको विरोध गर्छ वा गर्दैन, शोषणको व्यवस्थालाई जरैदेखि उखेल्न खोज्छ वा खोज्दैन भन्ने हुनुपर्छ । के इन्डोनेसियाको सुहार्तो–नासुसुन ‘गणतन्त्र’ र दक्षिण अफ्रिकाको जातिवादी अत्याचारी ‘प्रजातन्त्र’ र ‘संसदीय’ सत्ताधारीहरू हाम्रा मित्र शक्ति हुन सक्छन् ? प्रस्ट छ– तिनीहरू हाम्रा मित्र हुन सक्दैनन् ।
त्यस्तै, नेपाली जनताको भित्री शत्रु र मित्र छुट्याउँदा ‘राजा’ र ‘काङ्ग्रेस’, ‘राजतन्त्र’ र ‘प्रजातन्त्र’ व्यक्ति वा गुट र शब्दसँग भन्दा तिनीहरूको नीति र व्याख्यासँग बढी सरोकार राखेर हेर्ने गर्नुपर्छ । एकजना व्यक्तिमाथि ‘मुख्य दुश्मन’ भनेर हान्नुको अर्थ दुश्मनहरूको दलाली गर्नु हुनेछ । त्यस्तै, एक गुटलाई ‘मुख्य दुश्मन’ मानेर हान्दा अरु वर्गीय दुश्मनहरूले फाइदा उठाउन पाउने छन् । यस कुरालाई ध्यान नदिनु इतिहास र राजनीतिको अज्ञानताबाहेक अरु केही पनि हुनेछैन । किनभने, व्यक्ति मरेर व्यवस्था मर्दैन, बरु व्यवस्था मर्दा व्यक्ति र गुट दुवै मर्ने छन्, यो वा ऊ नै हाम्रा शत्रुहरू होइनन् बरु हाम्रा थुप्रै शत्रुहरू छन् । देशको ९० प्रतिशत किसान र कामदार जनतालाई शोषण गर्ने सामन्त र जमिनदारवर्ग वर्गीयरूपले हाम्रा शत्रुहरू हुन् । हाम्रो देशका सबै जनतालाई शोषण र थिचोमिचो गर्ने साम्राज्यवादी र उपनिवेशवादी शक्तिहरू र त्यसलाई कायम राख्न खोज्ने देशद्रोही तत्वहरू सबै हाम्रा शत्रु हुन् । सामन्त र जमिनदारवर्गसँगै ती साम्राज्यवादी र उपनिवेशवादी तत्वहरूको ‘अनेकौँ सम्बन्धहरू’ रहने गर्छन् । एक प्रकारको शत्रुलाई हान्दा अर्को प्रकारको शत्रुलाई नहानेमा हाम्रो हनाइ अघातक सिद्ध हुनेछ । शत्रु घाइते नहुने हाम्रो हनाइले क्रान्ति अधुरी रहने छ । यसकारण, हाम्रो सङ्घर्ष देशी र विदेशी शत्रुहरूको विरोधमा विभिन्न अवस्थामा विभिन्न ढङ्गले अगाडि बढाउँदै जानुपर्छ ।
तर, सङ्घर्षको एक खास अवस्था र ठाउँहरूमा हाम्रो हनाइको तारोमा हेरफेर पनि आउन सक्छ । आज हामी सङ्घर्षको सुरु र साधारण अवस्थामा छौँ । हाम्रो सङ्घर्ष विभिन्न शत्रुहरूको विरोधमा हुनेछ । यो सङ्घर्ष २–३ वटा टाउको भएको सर्पसँगको भिडन्तजस्तै हो । टाउको फरक फरक भए पनि विष लागिहाल्छ, तीनवटै टाउकोको मृत्यु नै त्यस सर्पको पूर्ण मृत्यु हुनेछ । एउटा टाउको खतम हुनु त्यस सर्पकै नोक्सान भए पनि सर्पको बाँकी दुइटा टाउकोले टोक्ने क्षमता राख्छ । एउटा टाउको खतम हुनु तीन टाउके सर्पको अन्तिम मृत्यु होइन । भारतमा बेलायती राज्य छँदा र चीनमा विभिन्न उपनिवेशवादीहरूको कब्जा छँदा ती देशका सामन्त र जमिनदारवर्ग ती उपनिवेशवादी र साम्राज्यवादीहरूका सहायक तत्व थिए । त्यस्तै, कोरियामा जापानी उपनिवेशवादीहरूको आक्रमणको बेला र भियतनाममा फ्रान्सेली उपनिवेशवादीहरूको कब्जा छँदा ती देशका सामन्त र जमिनदारवर्ग साम्राज्यवादी र उपनिवेशवादीहरूका सामाजिक आधार थिए । त्यस्तै, नेपालमा राणाहरूको सैनिक शासनमा राणा र मुख्य–मुख्य जमिनदारवर्ग बेलायती साम्राज्यवादका पिछलग्गू थिए । २००७ सालको राणाविरोधी सङ्घर्षमा भारतीय एकाधिकार पुँजीको पूर्ण समर्थन र सहयोग थियो । त्यो सङ्घर्षपछि बेलायती साम्राज्यवादी तत्वहरू र भारतीय एकाधिकार पुँजीवादी तत्वहरूको बिचको भिडन्तमा फेरियो । नेपाली जनताको त्यो सङ्घर्षपछि जनविरोधी सङ्घर्षमा फेरियो । त्यसले गर्दा सामन्तवर्ग फेरि सत्तामा आयो । अब सामन्तवादको विरोधमा तलैदेखि सङ्घर्षहरू हुनेछन् । असल कुरा खराब कुरामा फेरिनु र खराब कुराबाट असल परिणाम निस्कन्छ भनेको यही हो । सर्पको एक टाउको खतम नगर्दै नेपाली जनतामाथि अर्को टाउकोले टोक्न पुग्यो । यसप्रकार, नेपाली जनताले कुनै पनि टाउकोसँग निर्णायक भिडन्त गर्न सकेनन् वा भिडन्त गर्न चुके । अब हामीले त्यस धेरै टाउको भएको सर्पसँग भिडन्त गर्नु छ । हरेक टाउकोसँग हामीले निर्णायक सङ्घर्ष गर्नुपर्छ अथवा त्यस सर्पको टाउको र साझा घाँटीमाथि प्रहार गर्नुपर्छ । त्यो साझा घाँटी हो – असमान सन्धिहरू, साम्राज्यवादी र उपनिवेशवादीहरूको थिचोमिचो गर्ने नीति । यसबारे चिनियाँ क्रान्तिको शिक्षा महत्वपूर्ण छ । सन् १९११ को क्रान्तिले मञ्चु राजतन्त्र उखेलियो । यसो हेर्दा त्यो क्रान्ति राजा र चिङ वंशको विरोधमा गरिएको जस्तो थियो । तर, त्यो क्रान्ति साम्राज्यवादविरोधी सङ्घर्षसँगै जोडिएको थियो । त्यसबेला चीनलाई १०–१२ वटा विभिन्न साम्राज्यवादी देशहरूले थिचोमिचो गरिरहेका थिए । तर, चिङ वंशले साम्राज्यवादी आक्रमणको विरोधमा देश र जनतालाई बचाउन मात्रै नसकेको होइन, साम्राज्यवादीहरूको अगाडि घुँडा पनि टेक्यो । चिङ वश साम्राज्यवादको पिछलग्गू साबित भयो । यसकारण, “चिनियाँहरूले चिङ शासनको विरुद्ध क्रान्ति लक्षित ग¥यो किनभने यो साम्राज्यवादको पिट्ठू थियो ।” त्यसबारे माओ त्सेतुङ अगाडि भन्नुहुन्छ, त्यो क्रान्ति “मञ्चु शासनको पतन भएको हुनाले र हमला गरिएको कमजोर बिन्दु यही भएको हुनाले क्रान्ति चिङ वंशको विरुद्ध गरिएको जस्तो देखिएला । तर, ….. सन् १९११ को क्रान्ति साम्राज्यवादको विरुद्ध लक्षित थियो ।
देशको सामन्त र जमिनदार वर्ग, उपनिवेशवादी तत्वहरू र विदेशी पुँजीका भक्तहरू हाम्रा भित्री शत्रु हुन्, बेलायती र अमेरिकी साम्राज्यवाद र विदेशी एकाधिकार पुँजी हाम्रा बाहिरी शत्रु हुन् । अब यहाँ ‘मुख्य दुश्मन’ भनेर एउटा सर्पलाई मात्रै देखाउने होइन, देशी र विदेशी सबै शत्रुहरूलाई जनताको अगाडि नङ्ग्याउनु र तिनीहरूको विरोधमा सङ्घर्षलाई अगाडि बढाउनुपर्छ ।
सङ्घर्षको हाम्रो पहिलो चरणमा ती शत्रुहरूलाई सिध्याउन सबै देशभक्त तत्वहरूलाई एक गर्नुपर्छ । मजदुर, किसान, स–साना पुँजीपतिवर्ग, क्रान्तिकारी युवक, विद्यार्थी र राष्ट्रिय पुँजीपतिवर्ग देशभक्त तत्व हुन् । समाजवादी देशहरू, भर्खर स्वतन्त्रता र मुक्ति प्राप्त गरेका र साम्राज्यवाद र उपनिवेशवादको विरोधमा सङ्घर्ष गरिरहेका देश र जनता हामा मित्रहरू हुन् । यसरी हामीले आफ्नो मित्रहरूलाई चिन्नुपर्छ र हाम्रा शत्रुहरूलाई राम्रो ठम्याउन र छुट्याउनुपर्छ । अनिमात्रै हामीले हाम्रा शत्रुका टाउकोमा हान्न सक्नेछौँ र हाम्रो क्रान्तिले सफलताको बाटोमा पाइला टेक्नेछ ।

साभार : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *