भर्खरै :

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – ९

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – ९

(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)

थप टिपोट
युरी झुकोभको अनुसन्धानबारे केही टिपोट :
आजसम्म हेर्दा झुकोभको विचारलाई केवल प्रोफेसर इरिना भि पाभ्लोभाले मात्र प्राज्ञिक खण्डन गरेकी छिन् । शीर्षक थियो – ‘सन् १९३७ : भिबोरी काक मिस्तिफिकान्सिया, तेरोर काक रियलनोस्त’ । (भोप्रोसी इस्तोरी, अङ्क १०, सन् २००३, पेज १९–३६) पाभ्लोभा कट्टर कम्युनिस्टविरोधी विद्वान हुन् । खासगरी उनले अङ्गीकार गरेको ‘सर्वसत्तावादी’ धार वैचारिक हिसाबले कम्युनिस्टप्रति आक्रामक छ । यही आक्रामकताले उनको ऐतिहासिक अनुसन्धानलाई असर पारेको छ । उदाहरणको लागि उनले गेट्टीलाई गलत देखाउने प्रयासमा उनले गरेको अनुसन्धानबारे झूटो बोलेकी छिन् । पाभ्लोभाले इतिहास होइन, प्रचारबाजीका सामग्री लेख्दै छिन् ।
पाभ्लोभाले ‘केपी’ मा प्रकाशित झुकोभका लेखहरू मात्र उद्धृत गर्छिन् । उनको आलोचना ‘इनोय स्तालिन’ प्रकाशित हुनुभन्दा अघि प्रकाशित गरेकी हुन् । उनले आफ्नो आलोचनालाई ‘मस्को इजलास र तुखाचेभ्स्की काण्ड जालसाजी थिए’ तथा ‘संविधान र निर्वाचनको समग्र मुद्दा यही दमनलाई ‘ढाकछोप’ गर्ने नियोजित प्रयास थिए’ भन्ने दुई मान्यतामाथि टेकाएकी छिन् ।
सन् १९३६ मा सर्वोच्च सोभियतसँग वास्तविक राज्यशक्ति थिएन त्यसैले थप निर्वाचनले त्यसलाई कुनै शक्ति दिने थिएन भन्ने पाभ्लोभाको अर्को दाबी छ । पाभ्लोभाले सोभियत सङ्घबाट बोल्शेभिक पार्टीलाई सत्ताच्युत गर्ने र समाजवाद खारेज गर्ने क्षमतालाई नै ‘शक्ति’ भनेकी हुन् भने उनको दाबी सही छ । निश्चय नै स्तालिन संवैधानिक बाटो हुँदै प्रतिक्रान्तिको ढोका खोल्न दिने पक्षमा हुनुहुन्थेन । संसारका कुनै पनि पुँजीवादी प्रजातान्त्रिक देशमा यस्तो छुट दिइन्न । तर, उनले (पुँजीवादी प्रजातन्त्रमा निर्वाचनले तय गर्ने शक्ति जस्तो) राज्यका नीतिलाई प्रभावित गर्ने र एक सीमामा रहेर निश्चित सामाजिक नीति ल्याउन दबाब दिने अथवा बोल्शेभिक पार्टीलाई नै दबाब दिने ‘शक्ति’ को कुरा गरेकी हुन् भने उनी सही हुन सक्दिनन् ।

इउरी मुखिनको रचना ‘उबिसत्व स्तालिना इ बेरिया’ बारे टिपोट :
मुखिनको यस पुस्तकलाई प्रायः उनको निष्कर्षप्रति सहानुभूति नराख्नेहरूले खारेज गर्छन् । उनको निष्कर्षलाई ‘यहुदीविरोधी’ मान्न सकिने भन्दै उनको पुस्तकको खण्डन भएको छ । तर, मुखिनले सोही पुस्तकमा ‘यहुदीविरोधी’ विचारको खण्डन पनि गरेका छन् । हाम्रो अध्ययनमा उनका कुनै पनि तथाकथित यहुदीविरोधी अनुच्छेद लिइएको छैन ।
मुखिनले केही विषयमा अनौठा विचार राखेका छन् । तर, उनको पुस्तकमा तिनलाई ठाउँ दिइएको छैन । हाम्रो अध्ययनलाई समेत ती विचारबाट टाढै राखिएको छ ।
कम्युनिस्टविरोधी विद्वानहरूका रचनालाई उद्धृत गर्दा पनि यही आक्षेप आउन सक्छ । त्यसैले यहाँ पनि सोही शैली अपनाइएको छ । उनीहरूमा कम्युनिस्टविरोधी पूर्वाग्रह थियो भन्दैमा निश्चित घटनाबारे तिनले मूल्यवान अभिमत दिन सक्दैनन् भन्न मिल्दैन । निश्चय पनि कम्युनिस्टविरोधी विचार र यहुदीविरोधी विचार दुवै अन्योन्याश्रित छन् । साम्यवाद होस् वा यहुदीवाद, मुखिन दुवैप्रति आक्रामक छन् । तर, परम्परागत अर्थमा उनलाई कम्युनिस्टविरोधी वा यहुदीविरोधी भन्न मिल्दैन ।
प्राथमिक र द्वितीय सन्दर्भ स्रोतको विश्लेषणमा मुखिन अत्यन्त सावधान देखिन्छन् । त्यसैले हाम्रो अध्ययनमा उपयोगी हुने स्थानमा तिनको प्रयोग गरिएको छ । पक्कै पनि यहाँ उद्धृत गर्न उपयोगी मानिएका मुखिनका विश्लेषण पढेर उद्धृत नगरिएका उनका विश्लेषणमा हाम्रो सहमति छ भन्नु सही होइन । उनको अनुसन्धानबाट हामीले काम लिएकोमा उनलाई जिम्मेवार मान्न सकिन्न ।
यहाँ हामीले उद्धृत गरेका मुखिनसहित सबै विद्वानका रचनालाई मैले अन्य सामग्रीसँग भिडाएर जाँचेको छु । अभिलेखालयमा पहुँच हुने अध्येताले मात्र पाउने प्राथमिक स्रोतका हकमा मात्र त्यसो गरिएको छैन ।

भाग दुई
युद्धकालमा
१. दोस्रो विश्वयुद्धको अन्त्यतिर स्तालिन र पोलिटब्युरोका उहाँका सहयोगीहरूले सोभियत सरकारमाथि प्रत्यक्ष नियन्त्रण गर्ने भूमिकाबाट बोल्शेभिक पार्टीलाई बाहिर निकाल्ने प्रयास गरेका थिए । युरी झुकोभले यो घटनालाई यसरी वर्णन गरेका छन् :
सन् १९४४ मा पहिलोपल्ट एकैचोटि केन्द्रीय समिति र सोभियत सङ्घको सर्वोच्च सोभियतको संयुक्त बैठक बस्यो । मोलोतोभ र मालेन्कोभले केन्द्रीय समितिको आज्ञप्तिको खेस्रा तयार पार्नुभयो । त्यो आज्ञप्तिअनुसार पार्टीले वैधानिक रूपमै सत्ताबाट दूरी बनाउनुपर्ने थियो । पार्टीले केवल आन्दोलन तथा प्रचारको काम गर्ने थियो । यी सामान्य पार्टीगत कामबाट कसैले उसलाई वञ्चित गर्ने थिएन । त्यस्तै, कार्यकर्ताको छनोट गर्नु पनि पार्टीले गर्ने स्वाभाविक कार्य थियो । तर, आज्ञप्तिले पार्टीलाई अर्थतन्त्र तथा राज्यका विभिन्न निकायको कामकारबाहीमा हात हाल्नबाट रोक्ने थियो । स्तालिनले खेस्रा पढ्नुभयो, त्यसका ६ वटा शब्द फेर्नुभयो र किनारमा लेख्नुभयो, “सहमत ।” त्यसपछि के भयो त्यो रहस्यमै छ ।
पार्टीलाई थप स्थायित्व दिन यो नयाँ प्रयत्न थियो । युद्धको बेला जे–जस्ता कार्य गर्नुपर्ने हो, पार्टीको पोल्टामा ती जिम्मेवारी मात्र राखिएको थियो । खेस्रामा पाँच हस्ताक्षर थिए : मोलोतोभ, मालेन्कोभ, स्तालिन, ख्रुश्चेभ र आन्द्रीत् । त्यसको टाइप गरिएको प्रति थिएन । अरूले पनि सहमति जनाएको हामीले अनुमान मात्र लगाउन सक्छौँ । अपसोस, केन्द्रीय समितिका चारजना पोलिटब्युरो सदस्य भएको सर्वशक्तिशाली राजकीय रक्षा समितिले पनि पुरानो परिपाटी फेर्न सक्थेन । यसबाट फेरि एकचोटि स्तालिनसँग स्तालिनविरोधी र स्तालिनपन्थी दुवैले भन्ने गरे जस्तो अथाह शक्ति थिएन भन्ने प्रमाणित हुन्छ । (झुकोभ, कुलतोभाइया)
(टिपोट १ : प्रस्तावको पूर्ण पाठ झुकोभको रचना ‘स्तालिन’ मा पढ्न सकिन्छ । झुकोभको अघिको रचना ‘तायनी’ पेज २७०–२७६ मा पनि यो प्रस्तावको प्रतिलिपि छ ।)
२. पार्टीलाई कसरी अर्थतन्त्र र राज्यबाट ‘दूरी’ मा राख्ने सोचिएको थियो भन्ने स्पष्ट छैन । पक्कै पनि राज्यका निकायमा अर्कै विधिबाट कर्मचारी भर्ने योजना बनाइएको हुनुपर्छ । के यसको अर्थ सन् १९३६ को संविधानले तय गरेजस्तै निर्वाचनमा फर्किने सोचिएको थियो त ?
३. यी प्रश्नको जवाफ जे भए पनि केन्द्रीय समिति अधिकतर त भेगीय पार्टी अध्यक्षहरूबाटै बनेको हुनाले त्यसले फेरि एकचोटि सोभियत व्यवस्थालाई जगैबाट बदल्ने स्तालिनको अगुवा टोलीको योजनामाथि तुषारापात गरेको देखिन्छ । आफ्नो ‘गोप्य भाषण’ मा ख्रुश्चेभले कड्केर त्यस्तो बैठक नै नबसेको बताए ! दर्शकदीर्घामा यो कुरा झूटो हो भनी थाहा पाउने धेरै केन्द्रीय सदस्य थिए । त्यसैले यसरी झूट बोल्नुको उद्देश्य आफ्नो शक्तिविरुद्धको त्यो खतरनाक पाइलाको अब औपचारिक रूपमै ‘सदगति गरियो’ भनी इसारा गर्नु थियो ।

युद्धपछि
४. सोभियत सङ्घ र बोल्शेभिक पार्टी दुवै ‘दोहोरो सत्ता’ को समस्यामा फसेको स्तालिनको बुझाइ थियो । सरकारको भन्दा पनि समाजमा पार्टीको शासन थियो । पार्टी अधिकारीहरूले उत्पादनका व्यवस्थापकको रूपमा भन्दा पनि माथिबाट पर्यवेक्षक बनेर नियन्त्रण जमाइरहेका थिए । यो अभ्यास झन्भन्दा झन् झाङ्गिँदै गयो ।
५. पार्टीलाई राज्यमाथिको प्रत्यक्ष नियन्त्रणबाट बाहिर निकाल्नुका धेरै फाइदा थिए :
क. यसबाट सन् १९३६ को संविधान संस्थागत हुने थियो र सोभियत राज्यसँग सोभियत जनताको साइनो अझ बलियो हुने थियो ।
ख. यसबाट राज्यका निकायहरूको सञ्चालन वास्तवमै योग्य व्यक्तिहरूको हातमा आउने थियो ।
ग. यसले पार्टीलाई माथिल्लो तहमा रहेको परजीवी र भ्रष्ट करियरमुखी जत्थाबाट जोगाउने थियो ।
६. युद्धअघि पोलिटब्युरोको बैठक कम्तीमा साताको दुईचोटि बस्थ्यो । सन् १९४१ को मे महिनामा स्तालिन सोभियत राज्यको आधिकारिक प्रमुख बन्नुभयो । यसअघि जनकमिसार परिषद्का अध्यक्ष मोलोतोभ हुनुहुन्थ्यो भने सोभियत सरकारको आधिकारिक कार्यकारी निकायका अध्यक्ष सोभनार्कोम हुनुहुन्थ्यो । अब ती पदको अभिभारा स्तालिनकै काँधमा आयो ।
७. तर, युद्धको अवधिमा सोभियत सङ्घमाथि वास्तवमा सरकारी निकाय वा पार्टी दुवैको शासन थिएन । बरु, त्यसबिच स्तालिन र उहाँका निकटस्थ तीन सहयोगी सम्मिलित राजकीय रक्षा समितिले देश हाँकिरहेको थियो । युद्धताका खालि एकचोटि केन्द्रीय समितिको बैठक बसेको थियो । त्यो बैठक पनि युद्ध टुङ्गिएपछि बसेको थियो । पोलिटब्युरोको बैठक बिरलै हुन्थ्यो । पाइजिकोभको भनाइमा ‘व्यवहारमा पोलिटब्युरोले केही गरेन’ । सोभियत सङ्घ त्यागी विदेशिएका जोरेस मेदभेदेभको विचारमा सन् १९५० मा ६ पटक, सन् १९५१ मा ५ पटक र सन् १९५२ मा ४ पटक पोलिटब्युरो बैठक भएका थिए । यसको अर्थ स्तालिनले पोलिटब्युरोलाई राजकाजबाट बाहिर निकालिसक्नुभएको थियो । (पाइजिकोभ, पेज १००; मेदभेदेभ, सेक्रितनी)
(टिपोट २ : अभिलेखहरूको अध्ययनबाट पोलिटब्युरोको सङ्ख्या क्रमशः ६, ६ र ५ देखिन आउँछ । हेरौँ, खलेभन्युकको सम्पादनमा प्रकाशित ‘पोलितब्युरो टिएसके भिकेपी (बी) इ सोभियत मिनिस्त्रोभ एसएसएसआर १९४५–१९५३’ । मस्को : रोस्सपेन, सन् २००२, पेज ४२८–४३१)
८. स्तालिनले पार्टी प्रमुखको रूपमा आफ्नो भूमिकालाई बेवास्ता गरेको देखिन्छ । केन्द्रीय समितिका बैठकहरू बिरलै हुन थाले । सन् १९३९ देखि सन् १९५२ सम्मको १३ वर्षको अवधिमा पार्टी महाधिवेशन नै भएनन् । युद्धपछि स्तालिनले पार्टी तथा सरकारका संयुक्त निर्णयहरूमा मन्त्रिपरिषद्का अध्यक्षको हैसियतले हस्ताक्षर गर्नुभयो । (जनकमिसार परिषद्को नाम फेरेर मन्त्रिपरिषद् बनाइएको थियो ।) ती निर्णयमा पार्टीको तर्फबाट एउटा हस्ताक्षर पार्टी सचिवहरू जदानोभ अथवा मालेन्कोभले गर्नुहुन्थ्यो । (पाइजिकोभ, पेज १००)
९. पार्टीको हैसियत अझै पनि माथि थियो । त्यो किन पनि भएको होला भने स्तालिन अझै पनि पार्टीका महासचिव हुनुहुन्थ्यो । युद्धपछि शासन सत्तामा रहने मित्रराष्ट्रका उहाँ एकमात्र नेता हुनुहुन्थ्यो । (अमेरिकी राष्ट्रपति) रुजवेल्ट मरिसकेका थिए भने (बेलायती प्रधानमन्त्र) चर्चिललाई सन् १९४५ को निर्वाचनमा मतदाताले सत्ताबाहिर फालेका थिए । विश्वका कामदार जनताबिच स्तालिन अति प्रसिद्ध र अति सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो भन्दा बढाइचढाइ हुने छैन । उहाँको नेतृत्वमा रहेको कम्युनिस्ट आन्दोलन विश्वका करोडौँ जनताको आशाको केन्द्र थियो । फासिवादमाथि विजयी हुनाले कम्युनिस्ट आन्दोलन ह्वात्तै अघि बढेको थियो । राज्य प्रमुखको रूपमा स्तालिनको भव्य प्रतिष्ठाले गर्दा पार्टी संरचनामा उहाँको अधिकार बढ्यो । (मुखिन, उविसत्व, पेज ६२२, अध्याय १३)
१०. स्तालिनका क्रियाकलाप केलाउँदा उहाँ अझै पनि राज्यमाथिको पार्टीको प्रत्यक्ष शासन हटाउन प्रयत्नशील हुनुहुन्थ्यो भन्ने देखिन्छ । यो सही हो भने उहाँले निकै सतर्कता अपनाइरहनुभएको थियो । यस सतर्कताका केही कारण निम्न हुन सक्छन् :
क. पार्टीमाथि अकारण अविश्वास देखाउनु कम्युनिस्ट पार्टी सत्तामा नपुगिसकेका विश्वका अन्य मुलुकका लागि खराब उदाहरण बन्न सक्थ्यो ।
ख. युद्धअघि जस्तै केन्द्रीय समिति र पार्टी नेतृत्वले विरोध गर्ने निश्चित थियो ।
ग. तसर्थ, यो काम सकेसम्म कसैलाई चालै नदिई चुपचाप गर्नुपर्ने थियो । (मुखिन, उबिसत्व, पेज ६११)

सन् १९४७ को पार्टी कार्यक्रमको मस्यौदा
११. देशलाई प्रजातान्त्रीकरण गर्ने स्तालिनको अगुवा टोलीको योजना आज हामीले थाहा पाएभन्दा गहिरो हुन सक्छ । अलेक्सान्द्र पाइजिकोभ अत्यन्त कम्युनिस्टविरोधी र स्तालिनविरोधी इतिहासकार हुन् । सोभियत सङ्घमा थप प्रजातन्त्र र समानता प्रबद्र्धन गर्न सन् १९४७ को पार्टी कार्यक्रमको मस्यौदाबाट उनले केही रोचक अंश उद्धृत गरेका छन् । यो रोमाञ्चक र अज्ञात योजना यसअघि कहिल्यै प्रकाशित गरिएको थिएन । अझै पनि अन्य अध्येतालाई यो मस्यौदा अप्राप्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *