भर्खरै :

प्रदेश २,५ ६ र ७ का ऐतिहासिक प्रथम प्रदेशसभा आज

प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै

पत्रकारिता पेशा गर्दै प्रदेश सभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतीक्षा छ ।
यादवले भन्नुभयो, “संघीयता कार्यान्वयनको औपचारिक शुरुआत पनि पहिलो बैठकबाटै हुन्छ । संघर्षले प्राप्त प्रदेश भएकाले शहीदको योगदान र उनीहरूले कल्पना गरेको विकासको चाहनामा संसद् बैठक केन्द्रित हुने अपेक्षा गरेको छु ।”
प्रदेश सभा सदस्य यादवलाई मात्रै होइन् सम्पूर्ण जनकपुरधामवासी अझ भनौँ भने समस्त २ नं प्रदेशवासीले यो बैठकका लागि व्यग्र प्रतीक्षा गरिरहेका छन् । प्रदेश नं २ को पहिलो प्रदेश सभा बैठक आज जनकपुरको कुवारामपुरस्थित शिक्षा कार्यालय तथा शिक्षक तालीम केन्द्रलाई बनाइएको प्रदेश सभा भवनमा बिहान ११ बजेदेखि शुरु हुँदैछ ।
प्रदेश सभा बैठकलाई मध्यनजर गर्दै सभाहल तयारीको काम शनिबार रातभरि गरेर आइतबार बैठक सञ्चालन गर्नेगरी भएको छ ।
बैठकका लागि सभाहल सिंगारिएको छ । सभाहलमा कुर्सी र डेस्क लगाउने, साउण्ड सिस्टमको व्यवस्था, लाइट राख्ने कामसमेत सम्पन्न भएको छ । सभाहलको मूल गेटमै मिथिला आर्ट राखिएको छ । प्रदेश सभाकै पहिलो बैठक भएकाले रोष्टममा फूलमालाले सजाइएको छ ।
प्रदेश सभाको बैठकको तयारीमा जुटेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जनकपुरका इन्जिनियर महेश साहले सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको बताउनुभयो ।
सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणका लागि भने प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको इन्जिनियर साहले जानकारी दिनुभयो ।
बैठक सञ्चालनमा सहयोग गर्ने राष्ट्रसेवक तथा मर्यादापालकहरूलाई संसद् सचिवालयबाट खटिआएका सहसचिव वंशीराज पौडेल नेतृत्वको चार सदस्यीय टोलीले तालीम दिएको छ । संसद् सचिवालयका सहसचिव पौडेलका अनुसार प्रदेशसभाका लागि ५० जनपथ प्रहरीको दरबन्दी छुट्याइएको छ । तीमध्ये २१ जना मर्यादापालकको भूमिकामा तथा बाँकीका २९ जना प्रदेश सभा बाहिरको सुरक्षामा तैनाथ गरिनेछ ।
मर्यादापालकहरूलाई संसद् सचिवालयका कर्मचारीले खटनपटन गर्नेछन् भने सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालयले काममा लगाउने छन् । बाहिरको सुरक्षा भने सशस्त्र प्रहरीको जिम्मा दिइएको छ ।
गत बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभा सदस्यहरूका लागि कफी रङको कोट र लोगो निर्धारण गरेको थियो । भित्री पोशाक भने आफूखुशी लगाउन पाउने निर्णय गरिएको छ । मर्यादापालकले सफारी सुट लगाउने र भाषामा राष्ट्रिय भाषाबाहेक आफ्नो मातृभाषाको प्रयोग गर्न पाउने निर्णय गरिएको छ ।
के के हुन्छ पहिलो बैठकमा
पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्दै हुनुहुन्छ । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् । बैठकको शुरुमा सभामुखको आसनबाट चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनु हुनेछ ।
प्रदेश नं २ मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका नेताको शनिबार साँझ बसेको कार्यव्यवस्था तथा सर्वदलीय परामर्श समितिको बैठकले उक्त कार्यसूची तय गरेको हो । सर्वदलीय बैठकले फागुन २ गते बस्ने प्रदेश सभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।
सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि प्रदेश सभाका केही सदस्य मनोनयन पनि पहिलो बैठकबाटै गरिनेछ ।
प्रदेश सभाको पहिलो बैठक भएकाले सभामा उपस्थित दलका एक–एक जनालाई सम्बोधन गर्न समय दिइनेछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यस्तै प्रदेश सभाको प्रथम बैठकमा दलका तर्फबाट बोल्न पाउने समयसीमा पनि निर्धारण गरिएको छ । प्रदेश सभामा प्राप्त सिट संख्याका आधारमा संघीय समाजवादी फोरमलाई सबैभन्दा बढी १४ मिनेट, राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, काँग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्न पाउनेगरी समय उपलब्ध गराउने निर्णय सर्वदलीय बैठकबाट गरिएको सचिवालय सचिव पौडेलले बताउनुभयो ।

प्रदेश नं ५ को पहिलो बैठक आजदेखि

राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हँुदैछ । प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गर्नुभएको छ । बैठकका लागि प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल चिटिक्क सजाइएको छ ।
अधिवेशनका लागि भौतिक संरचना र मानवीय व्यवस्थापनका काम सकिएको संघीय संसद्का सहजीकरण टोली प्रमुख सुरेन्द्रप्रसाद अर्यालले बताउनुभयो । सभा सञ्चालनका लागि संघीय संसद्को सहजीकरण टोलीले कर्मचारी, मर्यादापालक, सभामुख लगायतलाई सहजीकरण गरिसकेको छ ।
प्रदेशको पहिलो बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको प्रदेशका ज्येष्ठ सदस्य तथा बैठकको सभामुखको जिम्मेवारीमा रहनुभएका बलदेब शर्मा पोखरेलले जानकारी दिनुभयो । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका अधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने कार्यसूची रहेको छ ।
प्रदेश सभामा सहभागी हुन आउने सांसदहरुको चहलपहल बढेपछि बुटवल र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सभा सचिवालय र आसपासमा जनपथ र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । प्रदेश ५ का १२ जिल्लाबाट एमाले, काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाका गरी ८७ सांसद छन् । उनीहरुले औपचारिक तर स्वेच्छाले पोशाक लगाउन पाउने दलीय सहमति भएको सर्वदलीय बैठकमा भाग लिनुभएका एमाले प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले बताउनुभयो ।
प्रदेश सभाको पहिलो बैठकलाई लक्षित गरी बुटवलमा होटल व्यवसायीले २० प्रतिशत छुटमा खाना तथा बसोबासको व्यवस्था गरेका छन् । संघीयताको पहिलो अभ्यास प्रदेश सभा र त्यसको पहिलो सभालाई स्थानीयवासीले समेत निकै चासोका साथ प्रतीक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *