चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
२२. स्तालिन केन्द्रीय समितिमा नबसी केवल राज्य प्रमुख मात्र रहेको खण्डमा सरकारी अधिकारीहरूलाई सजिलो हुने थियो । उनीहरूले पार्टीको सर्वोच्च निकाय अध्यक्ष मण्डललाई रिपोर्ट बुझाइरहनुपर्ने बाध्यता रहने थिएन । स्तालिनको पहलले पार्टी अधिकारीहरूको प्राधिकार हटाउने थियो । राज्यमाथिको (उत्पादनको अर्थमा) उनीहरूको ‘निरीक्षक’ को भूमिका अनावश्यक थियो । पार्टी नेतृत्वबाट पार्टी प्रमुखको रूपमा स्तालिन हटे नेतृत्वको प्रतिष्ठा घट्ने थियो । पार्टी कार्यकर्ताले पार्टी अध्यक्ष तथा केन्द्रीय समितिले सिफारिस गरेका उम्मेदवारहरूलाई ‘निर्वाचित’ गर्ने बाध्यता महसुस गर्ने थिएनन् किनभने त्यो ‘निर्वाचन’ केबल अनुमोदन हुन्थ्यो ।
२३. यसरी हेर्दा केन्द्रीय समितिबाट स्तालिनको राजीनामा पार्टी नेतृत्वको लागि प्रलयकारी हुन सक्थ्यो । सके भुइँ तहका कार्यकर्ताहरूको कटु आलोचनाबाट आफूलाई ‘स्तालिनको छायाँ’ नै जोगाइरहेको उनीहरूले महसुस गरेका थिए । स्तालिनको राजीनामाले भविष्यमा पार्टी नेतृत्व तथा राज्य संरचनामा केवल बुद्धिमान र योग्य व्यक्ति मात्र बच्ने देखियो । (मुखिन, उबिसत्व पेज ६१८–२३)
२४. बैठकको लिपि उतार प्रकाशित नहुनुले यस बैठकका कार्यवाही तथा मन्तव्यमा स्तालिनले बताएका कुरालाई पार्टी नेतृत्वले सार्वजनिक गर्न नचाहेको स्पष्ट हुन्छ । यसको अर्थ के पनि हो भने स्तालिन ‘सर्वशक्तिशाली’ हुनुहुन्थेन । यो कुरामा जोड दिनु अत्यन्त महत्वपूर्ण छ । स्तालिनको निधन भएको धेरै वर्षपछि पनि यस बैठकको कुरा बाहिर आएन ।
(टिपोट ८ : यस बैठकबारे पहिलोपल्ट हामीले सन् २००० जनवरी १३ मा वामपन्थी पत्रिका ‘सोभित्स्काइया रुसिया’ मा पढ्न पायौँ ।)
२५. प्रसिद्ध सोभियत लेखक कोन्स्तान्तिन सिमोनोभ केन्द्रीय सदस्यको रूपमा त्यस बैठकमा उपस्थित थिए । स्तालिनले आफूलाई केन्द्रीय समितिको महासचिव पदबाट मुक्त गर्न मतदानको प्रस्ताव राख्दा मालेन्कोभलाई लागेको धक्का र हडबडीबारे सिमोनोभले लेखेका छन् । (सिमोनोभ, पेज २४४–५) सहभागीहरूले होहल्ला गर्दै आपत्ति जनाएपछि स्तालिनले जोड गर्नुभएन ।
(टिपोट ९ : मुखिनलाई यो घातक गल्ती थियो भन्ने लाग्छ । केन्द्रीय समितिको महासचिव र राज्य प्रमुखको रूपमा स्तालिनको मृत्यु पार्टी नेतृत्वको हितमा थियो भन्ने उनको तर्क छ । अर्को शब्दमा स्तालिन एक व्यक्तिभित्र देशको प्रमुख र पार्टी प्रमुख दुवै पद समाहित थिए । पार्टी महासचिवको रूपमा उहाँका उत्तराधिकारी तथा राज्यका प्रमुख दुवैलाई देशले स्वीकार्ने सम्भावना थियो भन्छन् मुखिन । जे होस्, त्यस्तो स्थितिमा पार्टी नेतृत्वलाई देश सञ्चालनको जिम्मेवारीबाट निकाल्ने आन्दोलन टुङ्गिने थियो । (मुखिन, उबिसत्व पेज ६०४ र अध्याय १३))
२६. स्तालिनको अगुवा टोलीले केही गर्नुभन्दा अगाडि नै पार्टी नेतृत्व १९ औँ पार्टी महाधिवेशनका सारा निर्णय खारेज गर्न अघि स¥यो । मार्च २ को दिन स्तालिनको गाउँको घर (दाचा) मा अध्यक्ष मण्डलका स–सानो बैठक बस्यो । बैठकमा पुराना पोलिटब्युरो सदस्य थिए । त्यसबेला स्तालिन जीवित तर अचेत हुनुहुन्थ्यो । बैठकले अध्यक्ष मण्डललाई पुनः २५ को ठाउँमा १० सदस्यीय बनाउने निर्णय ग¥यो । मूलतः यो पुरानै पोलिटब्युरो थियो । पार्टी सचिवहरूको सङ्ख्यालाई पुनः पाँचमा झारियो । ख्रुश्चेभलाई सचिव मण्डलको ‘संयोजक’ बनाइयो । पाँच महिनापछि उनलाई ‘प्रथम सचिव’ बनाइयो । सन् १९६६ मा गएर बल्ल अध्यक्ष मण्डलको नाम फेरेर पुनः पोलिटब्युरो राखियो ।
२७. त्यसपछिको सोभियत इतिहासमा पार्टीले नै सोभियत समाजमा शासन गरिरह्यो । त्यसको माथिल्लो तप्का झन्झन् भ्रष्ट, स्वनिर्वाचित, आत्मवञ्चित सुविधाभोगी कुलीन बनिरह्यो । गोर्वाचोभको पालामा यो शासक समूहले सोभियत सङ्घ नै भङ्ग ग¥यो । नयाँ पुँजीवादी समाजको सारा आर्थिक सम्पदा र राजनीति नेतृत्वको कमान उनीहरूले आफूसँगै राखे । यसबिच उनीहरूले सोभियत सङ्घका तमाम मजदुर र किसानबाट तिनको सारा बचत नष्ट गरे र तिनको सामाजिक सहुलियत खोसे । जबकि सबथोक तिनै श्रमजीवीको खुनपसिनाले बनेको थियो । उनीहरूले सोभियत सङ्घका बहुमत जनताले पैदा गरेको सारा धन लुटे । आज पनि त्यही पुरानो नेतृत्व वर्गले पूर्व सोभियत गणराज्यहरूमा शासन गर्दै छ ।
लाभरेन्ती बेरिया
(टिपोट १० : मैले बेरियाका सुधारहरूबारे विस्तृत विश्लेषण गरेको छु । उनले व्यवहारमै ल्याएका र प्रस्ताव गरेका सबै सुधारकार्यको उल्लेख गरिएका कोकुरिन र पोजालोभ, स्तार्कोभ, नाइट र मुखिनका रचनाबारे चर्चा गरिसकेको छु । यहाँ सन्दर्भ सामग्री बनाइएका बेरियासम्बन्धी पछिल्ला सबै पुस्तकमा पनि तिनको चर्चा छ ।)
२८. बेरिया सोभियत इतिहासका सबैभन्दा कलङ्कित पात्र हुन् । त्यसकारण, सोभियत सङ्घको विघटनलगत्तै बेरियाको करियरको ऐतिहासिक मूल्याङ्कन एकाएक उल्टियो । यो उल्टाइ स्तालिनको भूमिकाबारे विद्वान्हरूले गर्ने पुनःमूल्याङ्कनभन्दा नाटकीय थियो ।
२९. सन् १९५३ मार्च ५ मा स्तालिनको निधन भयो । त्यसपछि बेरियाको बर्खास्ती भएको जुलाई २६ सम्मका ११२ दिनलाई बेरियाका ‘सय दिन’ भन्ने गरिएको छ । यी ‘सय दिन’ मा धेरै नाटकीय सुधारहरू सुरु भए । सोभियत नेतृत्वले यी सुधारलाई साकार हुन दिएको भए सोभियत सङ्घको इतिहासमात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, शीतयुद्ध अथवा सारमा २० औँ शताब्दीको उत्तरार्ध असाध्यै फरक हुने थियो ।
३०. सुधारका लागि बेरियाको कम्तीमा निम्न अगुवाइ लिएका थिए (यीमध्ये केही सुधारमा अध्येताहरूले विशेष ध्यान दिँदै छन् । रूस सरकार भने अझै पनि यी सुधारबारे अति महत्वपूर्ण प्राथमिक दस्तावेजलाई भरपर्दा अध्येताबाट समेत लुकाइरहेको छ ।) :
क. जर्मनीलाई एक गैरसमाजवादी र तटस्थ राज्यको रूपमा एकीकरण गर्ने । यो कदम जर्मनीका जनताबिच अत्यन्त लोकप्रिय हुने निश्चित थियो । त्यस्तै, संरा अमेरिकालगायत नेटो देशहरूले यसलाई स्वागत गर्ने थिएनन् ।
ख. युगोस्लाभियासँगको सम्बन्ध सामान्य बनाउने । उसले पश्चिमसँगको आफ्नो भित्री साँठगाँठ छोडी कोमिन्टर्नमा फर्किने वाचा गरेको थियो ।
ग. पश्चिम युक्रेन र बाल्टिक राज्यका हालसालै गाभिएका भूभागमा ‘रूसीकरण’ को विरोध गर्ने तथा विदेशिएका राष्ट्रवादी समूहसम्म पुग्ने राष्ट्रिय नीति । जर्जिया र बेलारूसलगायत अन्य गैररूसी क्षेत्रका लागि सुधारिएको राष्ट्रिय नीति ।
घ. विशेष न्यायिक निकाय (त्रोइका र एनकेभिडीको ‘विशेष आयोग’) ले सन् १९३० र १९४० को दशकमा अन्यायपूर्वक कसुरवार ठह¥याएका व्यक्तिलाई पुनः बहाल गर्ने र क्षतिपूर्ति दिने ।
३१. बेरियाका कतिपय सुधारलाई सर्वत्र लागु गरियो । जस्तो :
क. राज्यविरुद्ध कसुरमा जेलमा कैद १० लाख मानिसलाई आममाफी दिइयो ।
ख. ‘डाक्टरहरूको षड्यन्त्र’ को छानबिन टुङ्ग्याइयो । षड्यन्त्रमा संलग्न ‘एनकेभिडी’ का अधिकारीउपर लगाइएको अभियोग र दिइएको सजाय अन्यायपूर्ण थियो भन्ने स्वीकार गरियो । त्यस्तै, ‘एनकेभिडी’ प्रमुख क्रुगलोभलाई केन्द्रीय समितिबाट हटाउनु पनि सही थिएन भनी मानियो ।
(टिपोट ११ : आफ्नो ‘गोप्य भाषण’ मा ख्रुश्चेभले ‘डाक्टरहरूको षड्यन्त्र’ बनावटी र झूटो थियो भनी निन्दा गरे । यसको दोष उनले बेरियामाथि थोपर्ने धृष्टता पनि गरे । वास्तवमा बेरियाले त्यो छानबिन बन्द गराएका थिए । बेरियालाई गाली गरे पनि ख्रुश्चेभले षड्यन्त्रका नाइके ‘एनकेभिडी’ प्रमुख क्रुगलोभको प्रशंसा गरे । उनलाई ख्रुश्चेभले नै केन्द्रीय सदस्यमा पुनः बहाल गराए । ख्रुश्चेभले भाषण गर्दैगर्दा उनी दर्शकदीर्घामा बसिरहेका थिए ।)
ग. मान्छेलाई मृत्युदण्ड दिने वा लामो समय कैद गर्ने ‘एनकेभिडी’ को ‘विशेष आयोग’ को अधिकारलाई कटौती गरियो ।
घ. स्तालिनको ‘व्यक्तिपुजा’ विरुद्ध मात्र होइन आमरूपमा सबै नेताको ‘व्यक्तिपुजा’ विरुद्ध बिदा जुलुसहरूमा नेताहरूको व्यक्तिचित्र प्रदर्शन गर्ने चलनमाथि प्रतिबन्ध लगाइयो । बेरियालाई हटाएपछि पार्टी नेतृत्वले त्यो प्रतिबन्ध खारेज ग¥यो ।
प्रजातान्त्रिक सुधारतर्फ बेरियाका पाइला
३२. आधिकारिकरूपमा सन् १९५३ जून २६ गते बेरियालाई पोलिटब्युरोका उनकै सहकर्मी र केही जर्नेलहरूले पक्राउ गरे । तर, उनको पक्राउबारे धेरै कुरा प्रस्ट छैन र बाहिर आएको कुरा पनि विवादास्पद छ । सन् १९५३ को केन्द्रीय समितिको बैठकमा खासगरी बेरियामाथि अनेक आपराधिक कार्य गरेको आरोप लगाइयो । एक बसाइमा मिकोयानले भने,
लालचोकमा कामरेड स्तालिनको समाधिसामु बेरियाले आफ्नो मन्तव्य राखेपछि मैले उनलाई भनेँ, “तपाईँको मन्तव्यमा एक ठाउँमा तपाईँले संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्नुभयो । साधारण वक्ताले बोले पनि यो खोक्रा कुरा हुन सक्दैन । तर, गृहमन्त्रीजस्तो व्यक्तिले बोलेपछि यो कार्यक्रम बन्छ । तपाईँले यसलाई पूरा गर्नैपर्छ ।” जवाफमा उनले भने, “म पूरा गर्नेछु ।” (बेरिया पेज ३०८–९; मुखिन पेज १७८)
(टिपोट १२ : पक्राउ परेकै दिन बेरियाको हत्या गरिएको पुष्टि गर्ने धेरै प्रमाण छन् । उनका छोरा सेर्गो बेरियाले आफ्नो आत्मसंस्मरणमा ‘इजलास’ बस्दा उनका बुबा अनुपस्थित थिए भनी आफूलाई सरकारी अधिकारीहरूले बताएको लेखेका छन् । मुखिन भन्छन्, सन् १९५३ का केन्द्रीय सदस्यहरूमध्ये बाँचेका अन्तिम व्यक्ति बाइबाकोभले सेर्गोलाई सन् १९५३ जूनको केन्द्रीय समितिको बैठकसम्ममा बेरिया मरिसकेको बताएका थिए । तर, त्यसबेला केन्द्रीय सदस्यहरूलाई त्यो कुरा थाहा दिइएको थिएन । (सेर्गो बेरिया† मुखिन, उबिसत्व पेज ३७५) । एमी नाइटले आफ्नो पुस्तकको पेज २२० मा यसबारे रोचक घटनाको वर्णन गरेकी छिन् । बेरिया सन् १९५३ जून २६ मा मारिएको कुरा ख्रुश्चेभ आफैले दुईचोटि बोलिसकेका थिए । तर, पछि उनले कुरा फेरे । बेरियाको मुद्दासम्बन्धी दस्तावेजहरू अभिलेखालयबाट ‘चोरिएको’ बताइन्छ । त्यसैले ती दस्तावेज छन् भनी निर्धक्क भन्न सकिन्न । (खिन्स्तीन, सन् २००३) यद्यपि, आन्द्रेइ सुखोमलिनोभ (पेज ६१–२) जस्ता केही अध्येताले बेरियाको हत्या अविश्वसनीय भएको प्रमाण खोजिरहेका छन् ।)
३३. बेरियाले केही भनेका थिए । त्यसो सुनेर मिकोयान चनाखो भइहाले । यसैकारण, लालचोक जस्तो महत्वपूर्ण स्थानमा मन्तव्य दिँदै गर्दा बेरियाले संविधानको प्रसङ्ग उप्काए तर कही पनि कम्युनिस्ट पार्टीको नाम लिएनन् र केबल सोभियत सरकारबारे बोले । मालेन्कोभको मन्तव्यपछि बेरियाले बोलेका थिए । यो बेरिया सोभियत सङ्घमा दोस्रो वरियताका नेता हुन् भनी जनतालाई सङ्केत थियो । बेरियाले भने,
स्तालिन संविधानमा लेखिएबमोजिम आफ्नो हकहित सुनिश्चित गर्न सोभियत सरकार यत्नपूर्वक अथकरूपमा लागिरहनेछ भनेर हाम्रो देशका मजदुर, कोलखोजका किसान तथा बुद्धिजीवी शान्ति र आत्मविश्वासका साथ काम गर्न सक्छन् ।.. उपरान्त सोभियत सरकारको विदेश नीति शान्ति जोगाउने र सुदृढ पार्ने लेनिनवादी–स्तालिनवादी नीति हुनेछ । (बेरिया, मन्तव्य)
३४. मुखिन यस अनुच्छेदको अर्थपूर्ण बुझाइ यसरी राख्छन् :
बेरियाले जे भने त्यसको अर्थ साधारण मानिसले मुश्किलले बुझे हुनन् । तर, पार्टी नेतृत्वको लागि यो ठुलो झट्का थियो । बेरियाले पार्टीबिना अथवा ती नेताबिना नै देशलाई हाँक्न चाहे । उनले जनतालाई तिनको हकअधिकार दिलाउने वचन दिए । ती अधिकार पार्टीले नभई संविधान विशेषले दिलाएको थियो ! (मुखिन, पेज १७९)
Leave a Reply