भर्खरै :

अध्यादेशको सन्दर्भमा हात्ती र घोडालाई फलामको सिक्रीले बाँध्छ

मानिसलाई लाज र शरमले !
जति जति नेपालका शासकवर्ग आफ्नो शासनलाई प्रजातान्त्रिक, कानुनी राज्य र अपराध मुक्त वा भ्रष्टाचारप्रति असहिष्णु देखाउन खोज्दै गयो, उति उति शासक दलहरू आ–आफ्नो तथाकथित प्रजातन्त्र र गणतन्त्रको लाज छोप्न भएका पुराना इज्जत पनि ती दलहरूले गुमाउँदै गए । काठमाडौँको नयाँ सडकमा उनीहरू ‘नङ्गा नाच नाचे हजार दाउ’ को उखानलाई चरितार्थ गर्दै छन् ।
संसदीय व्यवस्थामा संसद् चालु रहँदासम्म सरकारले ‘अध्यादेश’ मार्फत कुनै ऐन कानुन घोषणा गर्न सक्दैन । संसद् चालु नरहेकै बेलामा यदि सरकारले ‘अध्यादेश’ घोषणा गरेको खण्डमा पनि संसद् बस्नासाथ त्यो ‘अध्यादेश’ निस्क्रिय हुनेछ वा त्यस अध्यादेशलाई संसद्ले पारित गरेर विधेयकको रूप दिनेछ ।
जसले प्रजातन्त्र र संसदीय व्यवस्थालाई मान्ने सपथ लिएका हुन्छन् ती प्रजातन्त्रवादीहरूले अध्यादेशको यो सिद्धान्त र परम्परा त्यागेमा तिनीहरू आफै फासीवादी साबित हुनेछन् र प्रजातन्त्रको तिनीहरूको लुगा ‘राजाको नयाँ लुगा’ साबित हुनेछ । कानुनी र सैद्धान्तिक सङ्घर्षमा नेपाली काङ्ग्रेस र एमालेभित्रका गणतन्त्रवादी वा प्रजातन्त्रवादीहरू छन् भने तिनीहरूले आफूलाई सक्कली प्रजातन्त्र दाबी गर्न घोषित ‘अध्यादेश’ लाई विरोध गर्नुपर्ने हुन्छ वा गणतन्त्रको नारा दिनेहरूले एमालेबाट राजीनामा दिएर आफूहरूलाई एक प्रजातान्त्रिक राजनैतिक प्राणीको रूपमा साबित गर्नुपर्नेछ । अन्यथा एमाले र नेकाको राजनैतिक इतिहासमा थप ठुला ठुला काला धब्बाहरू निधारमा लाएर हिँड्नुपर्ने हुन्छ । हतारिए वा देखाउनको लागि ‘काङ्ग्रेसका सांसदलाई अध्यादेशबारे विज्ञको ब्रिफिङ’ (अन्नपूर्ण पोष्ट–१४ माघ २०८१) एक लाज छोप्ने सानो अपवित्र धागो साबित हुनेछ ।
नेपाली भनाइ छ, “हात्ती र घोडालाई फलामको सिक्रीले बाँध्छ र मानिसलाई लाज शरमले बाँध्छ ।” लाज शरमहीन मानिस, नेता र राजनैतिक दल हात्ती र घोडासरह हुन्छ– शक्तिशाली प्राणी ! तर, संसद्का सदस्यहरू हात्ती र घोडाजस्तो भौतिक शक्तिका प्रतीक होइनन् बरु जनताको प्रतिष्ठित, बौद्धिक र इज्जतदार मानव हुन् । यस अर्थमा चराचुरुङ्गी र पशुपक्षीको भिन्नता झल्कन्छ ।

प्रजातन्त्र र गणतन्त्रको नङ्गा नाच संरा अमेरिकामा
संरा अमेरिकी इतिहासमा तत्कालीन पूर्वराष्ट्रपति ट्रम्प राष्ट्रपतिका उम्मेदवार थिए । मतगणनामा आफ्नो हार निश्चित प्रायः भएपछि डोनाल्ड ट्रम्पले अमेरिकी संसद् भवन क्यापिटल हिलमा हातहतियारसहित आक्रमण गराएका थिए । त्यस हुलदङ्गामा ट्रम्पका पन्ध्र सय समर्थक सामेल थिए र त्यस दिन २५० जनाले झन्डा, हक्कीको दन्डी, लाठी र स्टेन्गनजस्ता हातहतियार बोकेका थिए ।
ट्रम्प पुनः सत्तामा पुगेपछि ती हुल हुज्जत गर्नेहरूलाई आम माफी दिए । रिपब्लिकन वा बाइडेनको गणतान्त्रिक पार्टीका माथिल्लो सदनका सांसद
(सिनेटर) हरूले त्यस कदमको विरोध गरे, तर तिनीहरूमध्ये धेरैले आममाफीमा समर्थन गरे तथा केही मौन बसे । अथवा बाइडेनको रिपब्लिक पार्टीले मौन समर्थन ग¥यो । (नयाँ पत्रिका, १४ माघ २०८१)
‘शासनको सुरुमै देखिएको रापताप कायम राख्न सक्लान् ट्रम्पले’ शीर्षकका लेखक डेभिड स्थिम गार्जियनमा आबद्ध लेखक हुन् । तर, पुँजीवादी व्यवस्था वा गणतन्त्रमा जस्तोसुकै हुलहुज्जत र गुण्डागर्दी गर्ने अपराधीहरूलाई समेत अमेरिकी सत्ताधारीहरूले वा राष्ट्रपति ट्रम्पले आक्रमणमा संलग्न पन्ध्र सय दोषी रिहा गरे । अर्थात्, पुँजीवादी व्यवस्थामा आफ्ना दोषीहरू आममाफी दिई रिहा गर्ने गर्छन् । यसलाई राजतन्त्र र फासीवादीहरूलाई माफी दिनुमा के फरक देखियो ?
पुँजीवादी गणतन्त्रमा कसरी सत्तापक्ष र प्रतिपक्ष बाइडेनको पार्टी एक भए ? यसकारण, भनिन्छ, पुँजीवादी व्यवस्था बेलायतमा अनुदारवादी (कन्जरभेटिभ) र मजदुर पार्टी पनि एक सिक्काका दुई पाटा हुन् ।
सम्भवतः यस्तै सिको गरेर नेपालमा एमाले र नेपाली काङ्ग्रेसका सांसद उपसभापति, मन्त्री, केन्द्रीय उपसभापति आदि शासक दलका पदाधिकारीहरूले सुन काण्ड, नक्कली भुटानी नागरिक काण्ड, सहकारी ठगी, विदेसमा नागरिक पठाउने आदि काण्डमा अपराधीहरूलाई छुट दिनु वा कम सजायमा देशभरि अपराधी सङ्ख्या बढ्दै जानेछ । मुख्य विषय हो जनताको शासनका सरल नागरिक जीवनलाई प्राथमिकता दिने वा कानुनका अनेक छिद्रहरू हेरेर, अदालत गुहारेर, प्रशासनिक दबाबमार्फत अपराधीलाई माफी दिने र अपराधलाई चोख्याउँदै लानु नै प्रजातन्त्र हो र ? भन्ने छलफल आज जनस्तरमै हुनेछ । पैसा हुनेले ज्यान किन्ने बन्दोबस्त प्रजातन्त्र होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *