भर्खरै :

शेरा दरबार माओवादी कार्यकर्ताको कसरी भयो ?

शेरा दरबार माओवादी कार्यकर्ताको कसरी भयो ?

संवत् २०२१ सालमा भएको भूमिसुधार आंशिक मात्र सफल भएको टिप्पणी भइरहेको धेरै भयो । सामन्तका नाममा भएका लाखौँ रोपनी जग्गा सरकारको नाममा ल्याउन सकेन । भूमिसुधार ऐन, २०२१ ले व्यक्तिका लागि हदबन्दी तोक्यो तर हदबन्दीभन्दा बढी भएको जग्गा राष्ट्रियकरण गरिएन ।
अहिले नुवाकोटको शेरा दरबार र यसले चर्चिएको जग्गाको विषय चर्चामा छ । साविक भैरवी गाविस वडा नं ७ हाल विदुर नगरपालिका वडा नं २, तादी नदीको किनारमा रहेको उक्त दरबार १८४ रोपनी ४ आना १ पैसा क्षेत्रफलको हो ।
२०२७ फागुन २८ गते गौरीशङ्कर फार्मिङ कम्पनी स्थापना गरियो । २०३५ फागुन १२ गते शेरा दरबार र यसले चर्चिएको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी जम्मा १३ कित्ताको १६४ रोपनी १३ आना २ पैसा १ दाम जग्गा कृषिसम्बन्धी प्रयोजनका लागि भनेर गौरीशङ्कर फार्मिङ कम्पनीको नाममा र बाँकी १२ रोपनी १३ आना १ पैसा ३ दाम हेलेन शाह तथा ६ रोपनी ९ आना १ पैसा २ दाम जयन्ती शाहको नाममा नापी गराइयो ।
गौरीशङ्कर फार्मिङ कम्पनीलाई सरकारी मिलिमतोमा २०३६ असार १ गते अन्नपूर्ण फार्मिङ कम्पनीमा परिणत गरियो । २०४४ असार ११ गते मालपोत कार्यालय, नुवाकोटको स्रेस्तामा गौरीशङ्कर फार्मिङ कम्पनीको नाम केरमेट गरेर अन्नपूर्ण फार्मिङ कम्पनी कसरी उल्लेख गरियो ? यो सामान्य नागरिकको हैसियतमा गर्न नहुने विषय हो ।
शेरा दरबारका उल्लिखित कित्ता जग्गाको जग्गाधनी स्रेस्तामा पोखरी, केरा, बगैँचा उल्लेख छ । भूमि ऐन, २०२१ ले पर्ती, पोखरी, केरा र बगैँचा भएका जग्गा स्वतः सरकारी हुने प्रावधान छ । गणतन्त्रसँगै सबै राजपरिवारको हदबन्दीभन्दा बढी र अनियमित ढङ्गले कुम्ल्याएको सम्पत्ति पनि जफत गरिनुपर्ने थियो तर गरिएन ।
भूमिसुधारपश्चात् हदबन्दीको कारण शेरा दरबार र यसले चर्चिएको जग्गा तत्कालीन राज परिवारका हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा पारियो र सो जग्गा व्यक्तिको नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरीशङ्कर फार्मिङ कम्पनीका नाममा नापी गराइनु नै कानुनको कब्जा हो भनी नेपाल प्रहरीको सीआईबीको रिपोर्टमा उल्लेख भए पनि किन हालसम्म कुनै कारबाही अघि बढाइएन ?
हदबन्दीमा परेको जग्गा सरकारी हुने भएको हुँदा नक्कली कम्पनी खडा गरेको स्पष्ट छैन र ? कम्पनी नै नक्कली बनाइएपछि शेयर करोबार पनि नक्कली नै हो । तत्कालीन राज परिवारको शेयर पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव विकेश श्रेष्ठको नाममा गएको अर्को रहस्यको विषय हो । शेरा दरबारको जग्गा विकेशले कृषि फर्म सञ्चालन गर्न कब्जा गरेको नभई प्लानिङ गरेर बेच्नलाई नै हो भन्दा फरक नपर्ला ।
तत्कालीन प्रम प्रचण्डको निर्देशनमा तत्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले विकेश श्रेष्ठको नाममा शेरा दरबारको जग्गा दिने निर्णय गरेको किन होइन ? प्रचण्डले शेरा दरबारको जग्गामा आँखा नगाडेको भए उनीकी पत्नी सीता दाहाल किन पटक पटक शेरा दरबार पुग्थिन् ?
माओवादीकै बलमा राजतन्त्र समाप्त भएको हल्ला पिट्नेहरू राजाको जग्गा किन कब्जा गर्दै छन् ? हदबन्दीभन्दा बढी भएको जग्गा सरकारको नाममा नल्याउने सबैलाई जेलमा नहालेसम्म शेरा दरबारको जस्ता घटना दोहोरिने छन् । समयमै नेपाली जनता सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *