(१)
ए, मेरा प्रिय साथी,
मलाई थाहा थियो तिमी
धेरै दिनदेखि बिरामी थियौ
जसरी म थला परेको छु ।
तर, तिमी दुःख नमान
खालि तिमी युवा हुँदा
आफ्ना साथीहरू बिरामी हुँदा
तिमी घरको क्यारेम लिएर
खेल्न जान्छौ, बिरामीलाई सहयोग गर्न
मलाई थाहा छ त्यसबेला सबैसँग
तातोपानीको थर्मस हुन्थेन घरघरमा
ज्वरो नाप्ने थर्मोमिटर थिएन
अनि तातोपानीले सेक्न रबरको थैली पनि ।
(२)
प्रिय साथी, आज कति साथीहरूमध्ये
कति नर्स बने होलान् कति डाक्टर
तर तिमी चित्त नदुखाऊ,
तिनीहरू पनि कुनै गाउँ
सहर र दुर्गममा तिमी हामीजस्तै
बिरामीको सेवामा तल्लीन होलान्,
यही सम्झेर तिमी आफ्ना
मनलाई सान्त्वना दिनु र मन थाम्नु !
(३)
प्रिय साथी, सहपाठीका छोराछोरीले
आज दुई–चार महिनामा ‘डलर’
पठाउँछन् रे बाबा अमेरिकाबाट,
एक डलरको हाम्रो १०० रुपैयाँ हुन्छ रे
हो बा ? भनी मेरा नाति र नातिनाहरू त्याँ त्याँ
गर्छन् आश्चर्य मानेर !
(४)
मेरा प्रिय साथी,
म उत्तर दिन्छु तिनीहरूलाई
हो, मेरा नाति र नातिनाहरूलाई
मेरो काखमा बस भनी
म अँगाल्दै भन्छु –
‘हो नानीबाबु त्यो एक डलरले
हाम्रो ९९ रुपैयाँ अमेरिका
लान्छ र धेरै युवाहरू पनि ।’
तर प्रिय साथी, तिमीलाई थाहा छ –
हाम्रा विश्वविद्यालयमा त्यही देशको
गीत गाउँछ – अर्थशास्त्र भन्दै
किनभने ती अमेरिकी नुन चाख्नेहरू
आफ्ना देशको खाजा रुचाउँदैनन् ।
प्रिय साथी, यी नानीहरूलाई के थाहा !
हाम्रा अर्थशास्त्री र अर्थमन्त्रीहरू
ती नै नुन चाखुवा पुस्तकका विद्यार्थी हुन्,
ती नै नेपालीको बुद्धि चाट्ने र
अमेरिकामा लगी धुने गल्लावाल हुन् ।
(५)
प्रिय साथी, कहिलेकाहीँ
तिमीलाई एक घुट्को पानी खुवाउने
सहयोगीको साथ पनि चाहिन्छ
तर त्यो पनि पाउँदैनौ घरमा
सबै आ–आफ्ना काममा लाग्छन् ।
हामीलाई ‘आदर निकेतन’ बनाउन दिएनौ
देश र जनताको सेवामा लाग्दा !
तर पिर नगर प्रिय साथी,
समाजमा डलर बोक्ने थोरै छन् भने
देश र जनताको सेवा गर्न तयार
नयाँ पुस्ता लाखौँ छन्
तिनीहरू सबै खालका शत्रुहरूसँग
लड्ने छन्, साथी धैर्य गर, जित जनताकै हुनेछ !
Leave a Reply