भर्खरै :

फुक्यो इजरायली बसोबासीमाथिको प्रतिबन्ध

संरा अमेरिकाको राष्ट्रपतिको आसनमा बसेको पहिलो दिन नै डोनाल्ड ट्रम्पले चरम दक्षिणपन्थी इजरायली बसोबासीमाथि बाइडेन सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । राष्ट्रपति बाइडेनले अतिक्रमित पश्चिम किनारमा प्यालेस्टिनी जनताविरुद्ध मारकाटमा उत्रिने व्यक्तिहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो । ट्रम्पले त्यो प्रतिबन्ध समेत हटाएका छन् ।
ह्वाइट हाउसको नयाँ वेबसाइट अनुसार ट्रम्पले सन् २०२४ फेब्रुअरी १ मा जारी गरिएको आदेश नम्बर १४११५ फिर्ता लिएका छन् । सो आदेशले ‘पश्चिम किनारको शान्ति, सुरक्षा एवम् स्थायित्व बिथोल्ने व्यक्तिहरूमाथि’ निश्चित प्रतिबन्ध लगाएको थियो ।
ट्रम्पको सो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेनको सरकारले चालेको एउटा मुख्य नीति उल्ट्याएको छ । बाइडेनले धेरै इजरायली बसोबासी तथा सङ्घसंस्थामाथि प्रतिबन्ध लगाएका थिए । साथमा उनले संरा अमेरिकामा राखिएका तिनको सम्पत्ति रोक्का गरेका थिए भने अमेरिकी नागरिकहरूसँगको तिनको वित्तीय लेनदेनमाथि रोक लगाएका थिए ।
गत वर्ष संरा अमेरिका तथा उसका पश्चिमा साझेदारहरूले थुप्रै हिंस्रक बसोबासीहरूलाई ‘अतिवादी’ भनेर प्रतिबन्ध लगाएका थिए ।
बाइडेन सरकारले इजरायलको कब्जाकारी सरकारलाई ‘इजरायली र प्यालेस्टिनीहरूबिच दुई राज्य समाधान’ मा खलल पु¥याउने बसोबासीहरूलाई आफ्नो क्रियाकलापप्रति जवाफदेही बनाउन लगातार अनुरोध गर्दै आएको थियो । इजरायलले नमानेपछि अमेरिकाले उक्त प्रतिबन्ध लगाएको थियो ।
इस्राइल गान्ज प्रमुख ‘यशा बसोबासी परिषद्’ का अध्यक्ष हुन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग उनको घनिष्ट सम्बन्ध छ । गत अक्टोबरमा रोयटर्स समाचार संस्थासँग गान्जले ट्रम्पको विजयपछि उनले बाइडेन सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने आफ्नो अपेक्षा व्यक्त गरेका थिए ।
उक्त बसोबासी आन्दोलनकै नेताहरूलाई ट्रम्पको राज्याभिषेकमा निमन्त्रणा गरिएको थियो । ट्रम्पले बाइडेनका धेरै नीति उल्ट्याउने आदेशहरूमा हस्ताक्षर गर्न आफू ह्वाइट हाउसमा फर्केको घोषणा गर्दै गर्दा गान्ज वासिङ्टनको क्यापिटल वान एरिनामा बसेर उनका कुरा सुनिरहेका थिए ।
उनको उपस्थितिले वासिङ्टनले कति चाँडो पश्चिम किनारका बसोबासीहरूका सम्बन्धमा अडान फेर्दै छ भन्ने उजागर ग¥यो । अघिल्लो सरकारले ‘अन्तर्राष्ट्रिय कानुनविपरीत’ भनेको नीति छिनभरमै उल्टियो ।
बसोबासीहरूको लुटपाट
पश्चिम किनारका गाउँहरूमा यहुदीवादी बसोबासीहरूले लुटपाट गरेको केही घन्टाभित्रै ट्रम्पले तिनीहरूमाथिको प्रतिबन्ध फुकुवा गर्ने आदेशमा हस्ताक्षर गरे ।
दर्जनौँ इजरायली बसोबासीहरूले पश्चिम किनारका विभिन्न स्थानमा प्यालेस्टिनीहरूका गाडी र धनसम्पत्तिमाथि आगजनी गरे । तीमध्ये केही बसोबासीले बन्दुक बोकेका थिए । तिनको आक्रमणमा परेर धेरै प्यालेस्टिनीहरू घाइते भए । यी घटना भइरहँदा इजरायली सेना भने नजिकै बसेर रमिता हेरिरहेको थियो ।
प्यालेस्टिनमा रहेको राष्ट्रसङ्घीय मानवअधिकार आयोगको कार्यालय (ओएचसिएचआर) समेत इजरायली बसोबासी तथा सशस्त्र बलले अतिक्रमित पश्चिम किनारमा चलाएको ‘हिंसाको नयाँ लहर’ बाट झस्केको छ ।
वक्तव्यमा उक्त कार्यालयले लेख्यो, “गाजामा युद्धविराम सम्झौता कार्यान्वयन हुँदै गर्दा अतिक्रमित पश्चिम किनारमा बसोबासी तथा इजरायली सुरक्षा बलहरूले चलाएको हिंसाको नयाँ लहरले राष्ट्रसङ्घीय मानवअधिकार कार्यालय भत्ीत बनेको छ ।”
उक्त कार्यालयले हिंसासँगै प्यालेस्टिनीहरूको चलफिरको अधिकारमाथि पनि जबर्जस्ती पाबन्दी लगाइएको बतायो । चेकपोस्टहरू बन्द गरेर र नयाँ तगाराहरू लगाएर समग्र प्यालेस्टिनी समुदायलाई बन्दाबन्दीमा राखिएको कार्यालयको वक्तव्यमा प्रस्ट लेखिएको छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *