के रास्वपाको सरकारले मुस्ताङको खानी संरा अमेरिका र अष्ट्रेलियालाई दिएको हो ?
- बैशाख ७, २०८३
भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ५६ औँ स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिकको ३२ औँ, ‘मजदुर’ दैनिकको २७ औँ र ‘अनलाइन मजदुर’ को नवौँ वार्षिकी कार्यक्रम बुधबार एक विशेष समारोहबिच सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकको दोस्रो प्रकाशनको सार्वजनिकीकरण गर्नुभयो ।
राजनीतिक कार्यकर्ताहरू जहाँ बसे पनि, जहाँ गए पनि देश र जनताको पक्षमा सङ्घर्ष गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले समाजलाई सभ्य र सुसंस्कृत बनाउने हो भने तद्नुसार शिक्षक, बुद्धिजीवी, पढेलेखका व्यक्तिहरूले जनतालाई प्रशिक्षित गरिरहनुपर्नेमा जोड दिनुभयो ।
देशमा हुने अनियमितता र भ्रष्टाचारको विरोध नगरे, भ्रष्टाचारीहरूलाई कारबाही नगरे सिङ्गो समाज भ्रष्टाचारीहरूको केन्द्र बन्नेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो, “देश र जनताको हितमा कुरा नगर्ने, जनतालाई देश विदेशबारे नबताउने मानिसहरू पशुसरहका हुन्छन् । जसरी हामी बाँच्नको लागि सास फेरिरहेका हुन्छौँ त्यसरी नै जनताको जीवन सुनिश्चितताको निम्ति सङ्घर्ष गरिरहनुपर्छ ।”
उहाँले भन्नुभयो, “परिवर्तन अवश्म्भावी छ तर समय लाग्छ । नेता तथा कार्यकर्ताले समाज परिवर्तन गर्न देश र जनतालाई प्राथमिकता दिनुपर्छ, व्यक्तिलाई होइन । कार्यकर्ताहरू शोषकसामु झुक्नुहुँदैन, शत्रुलाई खुसी पार्नुहुन्न र चाकडी गर्नुहुन्न ।”
जनताको लागि गर्नुपर्ने सबै व्यवस्था राज्यले गर्ने व्यवस्थाको लागि नेमकिपा लागिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश बदल्नको लागि भोलि के गर्नुपर्ला भन्नेतर्फ पनि चिन्तनमनन गर्नु आवश्यक छ ।”
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले राजनीतिक पार्टी दर्शन र वर्ग आधारमा स्थापना हुन्छ भन्दै नेमकिपा समाजवादी दर्शन र कामदारवर्गको भविष्य सुनिश्चितताको लागि स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो दर्शनअनुसार कामदारवर्गलाई सङ्गठित र सचेत पार्न ‘श्रमिक’, ‘मजदुर’, ‘अनलाइन मजदुर’लगायत प्रकाशन भइरहेको छ । हाम्रो प्रकाशनमा क्युवाको ग्रान्मा, चीनको पेकिङ रिभ्यू, बेलायतको न्यु वर्कर, मर्निङ स्टार, क्यानडाको नर्थ स्टार कम्पास, अमेरिकाको मन्थली रिभ्यूलगायत साम्राज्यवादविरोधी र कामदारवर्गका पक्षको पत्रपत्रिकाको लेख र समाचार प्रकाशित भइरहेको छ ।”
हाम्रो ‘श्रमिक’ प्रकाशनलाई विदेशमा पनि पठाइरहेका छौँ । बेलायतको न्यु वर्कर पत्रिकाको कार्यालय ‘श्रमिक’ पत्रिका कार्यालमा टाँसिराखेको हामीलाई थाहा छ । पार्टी र जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले हाम्रो प्रकाशनमा छापिएका लेखहरू गहिराइमा अध्ययन गर्नु जरूरी छ, उहाँले थप्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “हाम्रो प्रकाशनमा उत्तरी गोलाद्र्धका धनी देशहरूमा रहेका २० प्रतिशत जनसङ्ख्याको पक्षमा विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्गठनले काम गरेको प्रकाशित भइरहेको छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजुले ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकको समीक्षा गर्दै माक्र्सवाद पुरानो होइन अहिले पनि समय सान्दर्भिक छ, पुँजीवादी देशमा मात्रै प्रजातन्त्र र दलहरू हुन्छन् भन्ने भ्रम हो भन्नुभयो ।
प्राध्यापक विश्वमोहन जोशीले गरिखाने वर्गको हित गर्न माक्र्सवादी विचारको समाज आवश्यक छ भन्नुभयो ।
वैचारिक र भौतिक रूपमा सफल र सबल हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले गरिखाने जनता सचेत नहुँदा हुनेखानेले रजाइँ चलाइरहेको बताउनुभयो ।
पुस्तकका अध्येता एवं जनप्रतिनिधि योगेन्द्रमान बिजुक्छेँले सैद्धान्तिक, वैचारिक पत्रिका र नाफामुखी पत्रिकाको भेदबारे चर्चा गर्दै संसारलाई कसले ढाक्नेबारे विश्वको बहसको विषय बनिरहेको बताउनुभयो ।
निर्वाचनमा एउटा दलसँग गठबन्धन र सरकारमा जाँदा अर्को दलसँग गठबन्धन गर्ने ठुला दलका नेताहरूको अकर्मण्यताले पार्टीमा सैद्धान्तिक विचलन आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दल नयाँ होस् या पुरानो सैद्धान्तिक धरातल आवश्यक छ । नेमकिपा सिद्धान्तनिष्ठ भएर अघि बढिरहेको दल हो ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले श्रमिक र मजदुरमा छापिएका अन्तर्राष्ट्रिय लेखबारे समीक्षा गर्दै साम्राज्यवाद पतनोन्मुख अवस्थामा रहेको उल्लेख गर्नुभयो ।
वर्षभरिको ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका अध्ययन गरे विश्वको राजनीतिक अवस्था बुझ्न सकिने हुँदा पत्रिका नियमित अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले संसारमा देखापरेको फासीवादबारे विश्लेषण गर्दै फासीवाद उग्रराष्ट्रवादको एउटा स्वरूप हो भन्नुभयो ।
पुँजीवादको सङ्कट, बुर्जुवा प्रजातन्त्रको असफलता, साना बुर्जुवा र मध्यमवर्गको असन्तुष्टि, राष्ट्रियताको आक्रोश, हिंसाको सङ्गठित प्रयोग, श्रमिकवर्गको आन्दोलनको कमजोरी, समाजवाद र साम्यवादको खतराको कारण फासीवादको उदय भएको स्पष्ट पार्दै उहाँले फासीवादीहरूको चरित्रबारे विश्लेषण गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले फासीवादको विरोध गर्ने आँट र धैर्य सत्तासीन दलका नेताहरूसँग नभएको उल्लेख गर्दै उहाँले यो समय विचारको लडाइँ हो, गाउँ बस्तीमा सूचना प्रवाह गरिरहनुपर्छ भन्नुभयो ।
‘मजदुर’ दैनिकका प्रकाशक एवं सम्पादक उद्धव सुजखुको सभापतित्वमा भएको उक्त कार्यक्रममा ‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ‘श्रमिक’ र ‘मजदुर’ दैनिकका सहयोगी प्रकाश थुसाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
Leave a Reply