नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
गाजा अहिले युद्धविरामको पहिलो चरणमा छ । यही मौकामा इजरायलले पश्चिम किनारविरुद्ध युद्ध तीव्र पार्दै छ ।
ट्रम्प सरकारले हरियो झन्डा देखाएपछि इजरायलको सेनालगायत अन्य सुरक्षा निकायले पश्चिम किनारको जेनिनमा व्यापक कारबाही चलाउँदै छन् । इजरायली विदेशमन्त्री इस्राइल कात्जले पछिल्लो घटनाक्रम ‘जुडिया र सामारियामा इजरायली प्रतिरक्षा बलको सुरक्षा नीतिको काँचुली–फेराइ हुने’ उद्घोष गरे । (चरमपन्थी यहुदीवादीहरू पश्चिम किनारलाई पुरानो बाइबलमा लेखिए अनुसार ‘जुडिया र सामारिया’ भन्ने गर्छन् ।)
इजरायल सरकारको नियत स्पष्ट पार्दै फासिवादी वित्तमन्त्री बेजालेल स्मोत्रिचले भने, “गाजा र लेबननपछि आज हामीले ईश्वरको कृपाले जुडिया र सामारियाको सुरक्षा नीति फेर्न सुरु गरेका छौँ ।”
पश्चिम किनारमा ‘सुरक्षा’ कायम गर्नेलक्ष्यलाई इजरायल सरकारको आधिकारिक युद्ध नीति बनाउनेसर्तमा स्मोत्रिचले गाजाको युद्धविराम सम्झौतामा सहमति जनाएको विभिन्न रिपोर्टहरूबाट बुझिन्छ ।
अतिक्रमित प्यालेस्टिनी भूभागमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक फ्रान्सेस्का अलबानिजले कडा शब्दमा चेतावनी दिइन्, “गाजामा चीर प्रतिक्षित युद्धविराम भइराख्दा इजरायलको युद्धतन्त्रले पश्चिम किनारमा गोलीबारी चर्कायो ।… त्यसलाई रोक्न दबाब दिइएन भने प्यालेस्टिनी जनताविरुद्ध इजरायली जातिसंहार गाजामा मात्र सीमित रहनेछैन । हेर्दै जानुहोला ।”
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भनाइमा पनि यस्तै भय प्रतिध्वनित भयो । उनले युद्धविरामसँगै जागेको आधारहीन आशावादसँगै यस्तो आकलन राखे, “सैन्य सफलताले सुरिएर इजरायलले यही मौकामा पश्चिम किनार कब्जा गर्न र गाजालाई विचल्लीमा पार्न सक्छ ।”
जेनिनमा कम्तीमा १० प्यालेस्टिनी मारिएका छन् भने ४० जना घाइते भएका छन् । यकिन सङ्ख्या यो भन्दा बढी हुन सक्छ किनभने एम्बुलेन्सहरूलाई घाइते उठाउन दिइएको छैन । प्यालेस्टिनी रेड क्रिसेन्ट नामक संस्थाका प्रवक्ता नेबल फारसाखले भने, “इजरायली घेराबन्दी तोडेर कोही पनि शरणार्थी शिविर र त्यसको आसपासको इलाकामा पुग्न सक्दैन ।” संस्थाले जेनिनका बासिन्दाहरूको सकुशलतालाई लिएर ‘गहिरो चासो’ व्यक्त ग¥यो ।
इजरायली सेनाले गाजाको जातिसंहार र आपराधिक युद्धकै दाउपेच प्रयोग गर्दै खलिल सुलेमानी सरकारी अपस्ताललाई घेराउ गरेको छ । त्यहाँका प्रबन्धक वसिम बकरले भने, “अवस्था निकै टिठलाग्दो छ । इजरायली सेनाले अस्पताल अगाडिका सडकहरू ध्वस्त पारे । तिनीहरूले एम्बुलेन्स आउजाउ गर्ने अस्पतालवरपरका सबै गल्ली धुलोपिठो पारे ।”
इजरायली सेनाले मुख्य भवन जाने मूल सडकमा दुई नर्स र तीन डाक्टरलाई गोली ठोक्यो । अहिले ६ सय स्टाफ र बिरामीहरू जेनतेन अस्पतालभित्र बसिरहेको अवस्था छ ।
बकरको भनाइ आदेल बेशरको अनुभवसँग मिल्छ । बेशरले भने, “म अस्पतालको गल्लीमा सुतेँ । मेरो घर यहाँबाट २०० मिटर पर भए पनि म त्यहाँ जान सक्दिन । यहाँ धेरै मान्छे घाइते छन् । अल–अमाल अस्पतालका चारजना घाइते यही छन् । तीमध्ये कोही डाक्टर, नर्स त कोही बिरामी छन् । मेरो घरनजिकै पनि तीन–चारजना घाइते भएका छन् । तर, तिनलाई कसैले पनि उद्धार गर्न सकेन ।”
उनले भने, “इजरायली सैनिकहरू अगाडि जो प¥यो, त्यसैलाई गोली हान्छन् । घाइतेलाई उद्धार गर्न खोज्दा दुई व्यक्ति आफै घाइते भए ।”
वाफा समाचार संस्थाअनुसार जेनिनका धेरै बासिन्दालाई लाउडस्पीकर लगाएर तिनको घर र सहर छोडी भाग्न भनिएको छ । इजरायली कब्जाबिच वास्तविक सङ्ख्या पत्ता लगाउन गा¥हो छ । धेरै मानिसलाई धरपकड गरिएको छ । धेरैलाई थुनामा राखिएको छ ।
रोलान्ड फ्रेडरिख प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय उद्धार संस्था ‘उन्रा’ का निर्देशक हुन् । संस्थाको पश्चिम किनार शाखाको तर्फबाट बोल्दै उनले जेनिनस्थित शरणार्थी शिविरलाई ‘बसोबास गर्न नमिल्ने र मध्य डिसेम्बर यता त्यहाँबाट लगभग २ हजार परिवार विस्थापित भइसकेको’ बताए । उनले भने, “यति बेला उन्राले शरणार्थी शिविरमा पूर्ण सेवा दिन सकिरहेको छैन ।” इजरायली सेनाको कारबाहीबारे उनले भने, “उन्नत हतियार र हवाई बमबारी जस्तायुद्धकलाको प्रयोग गर्दै चलाइएको कारबाही अझै लम्बिँदै जाने देखिन्छ ।”
फ्रेडरिखले भने – इजरायली कारबाही “जेनिन शिविरमा (प्यालेस्टिनी प्राधिकरणले नेतृत्व गर्ने) प्यालेस्टिनको राजकीय सेना र प्यालेस्टिनी सशस्त्र लडाकुहरूबिच भिडन्त चलेको महिनादिनपछि सुरु गरिएको हो ।”
समाचार संस्था ‘मिडल इस्ट आइ’ ले जनाए अनुसार – “प्यालेस्टिनी प्राधिकरणका सुरक्षाकर्मीले जेनिनस्थित अल–राजी अस्पतालमा छापा मा¥यो र जेनिन बटालियनका सदस्य मानिएका र इजरायली सेनाले पक्राउ सूचीमा राखेका घाइतेहरूलाई पक्राउ गरे । पश्चिम किनारमा इजरायली सेनाले गरेको आक्रमणबिच खानतलासी लिएर पहिलोपल्ट प्यालेस्टिनी सुरक्षाकर्मी सहभागी भएको हो ।”
पश्चिम किनारका अन्य सहरमा पनि जेनिनमा जस्तै हुने भय सर्वत्र छ । इजरायली सैनिकहरूले भारी सङ्ख्यामा सैन्य चेकपोस्ट र तगाराहरू खडा गरिरहेको हुनाले यस्तो सम्भावना थप प्रबल बनेको हो । हाल पश्चिम किनारका झन्डै ९ सय स्थानमा यस्ता चेकपोस्ट र तगारा लगाइएको छ । बाक्लो जनसङ्ख्या भएका बस्तीका नाकाहरूलाई बन्द गरिएको छ । आइदा शरणार्थी शिविरका साथै तुलकारेम र रमल्लाह एवम् एल–बिरेहलगायत विभिन्न बस्तीमा छापा मारिएको छ ।
‘प्यालेस्टिनीहरूका लागि चिकित्सा सहयोग’ नामक संस्थाका सदस्य आसील बाइदून रमल्लाहका बासिन्दा हुन् । ‘गार्जियन’ पत्रिकालाई उनले भने, “दुई दिनदेखि हामीले कडा सैन्य लकडाउन महसुस गर्दै छौँ । इजरायली सेनाले सयौँ नयाँ चेकपोस्टहरू थपेर विभिन्न बस्ती र सहरबिचको आउजाउलाई असम्भव जस्तै बनाएको छ ।… यो खुला कारागार हो । कतै हलचल गर्न सकिन्न जस्तो लाग्छ । रमल्लाहबाट जेरिको जान चाहनुहुन्छ भने त्यो सम्भव छैन । आसपास कुनै गाउँ पुग्न पनि सकिन्न । आवागमनमा पाबन्दी मात्र छैन, (इजरायली) बसोबासीहरूको सनकी आक्रमण पनि जारी छ ।”
दर्जनौँ मुकुन्डोधारी आक्रमणकारीहरूले रातको समय पारी जेरुसेलमनिरजिसफुत र अल–फुन्दक गाउँमा आक्रमण गरे । उनीहरूप्यालेस्टिनी जनताका आवास तथा गाडीमा आगो लगाउने साधन सहित गाउँ पसेका थिए । उनीहरूले तीन वटा घर, एउटा बगान र एउटा फर्निचरमाथि आक्रमण गरे । उनीहरूले जथाभावी ढुङ्गा र गोली हाने । यसैखाले आक्रमण सिन्जिल, ऐन सिनिया, तुर्मस आया र खिर्बेत आक्विविस लगायत गाउँमा पनि गरिएको थियो । कम्तीमा २१ प्यालेस्टिनीहरू घाइते भए । तिनलाई अस्पताल लग्नुप¥यो । घाइते हुनेहरूमा बुढापाका र तीन बालबालिका पनि छन् ।
यसबिच गाजाका बासिन्दाहरू ५ करोड टन भग्नावशेषबिच रुमल्लिएका छन् । सहर धुलोपिठो भइसकेको छ । उत्तरी गाजाका ८० प्रतिशत भवन भत्किएका छन् । झन्डै ३ लाख मानिसहरू बेघर भएका छन् ।
नातागोता र प्रशासकहरू भग्नावशेषमुनि पुरिएका झन्डै १० हजार लास खोज्दै छन् । युद्धविराम भएको चार दिनभित्र २ सत्न्दा बढी लास भेटिएको छ । लासको नाममा कङ्काल मात्र भेटिएका छन् ।
कामको गति सुस्त छ । इजरायली प्रतिरक्षा बलले सार्वजनिक सुरक्षा निकायका करिब १०० कर्मचारीको हत्या गरेको र तिनका अधिकांश गाडीहरू नष्ट गरेको हुँदा पनि यो ढिलासुस्ती हुन गएको हो । गोलीबारीबिच पनि उद्धारको काम जारी छ । केही दिनअघि २८ वर्षीय अक्रम आतिफ जानून मारिए । रफाह सहरको शाबुरा शिविरका ध्वस्त घरहरूबाट भग्नावशेष हटाउँदै गर्दा इजरायली गोलीबारीबिच उनको हत्या भएको थियो । साथमा अन्य चार प्यालेस्टिनी घाइते भए ।
युद्धविरामको सर्त अनुसार गाजामा २४ सय राहत गाडीलाई प्रवेश दिनुपर्ने छ । एक वर्षदेखि इजरायलले यी अत्यावश्यक सामग्रीमाथि नियोजित रूपमै बन्देज लगाएर रोग र भोकलाई युद्धको हतियार बनाएको साबित हुन्छ ।
बेलायती डाक्टर जेम्स स्मीथले गाजाको अल–अक्सा अस्पतालमा स्वयंसेवक भएर काम गरिसकेका छन् । ‘अल जजिरा’ सँग उनले भने, “स्मरण गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा जातिसंहार युद्धविरामबाट टुङ्गिन । खासगरी यति कमजोर युद्धविरामबाट जातिसंहार रोकिनेवाला छैन ।”
गाजापट्टीको स्वास्थ्य व्यवस्था चौपट भइसकेको स्थितिमा उनले भने, “जातिसंहार अब अर्कै शैलीमा जारी रहनेछ ।”
पत्रकार हिन्द खुदारीले लेखे :
“गाजापट्टीको भौतिक पूर्वाधार कति लथालिङ्ग अवस्थामा छ भनी कल्पनासमेत गर्न सकिन्न । ढलको फोहरमैला सडकमा छताछुल्ल छ ।
केही स्थानमा खानेपानीको अभाव छ । पानी प्रशोधन केन्द्रले काम गरेका छैनन् । पूर्वाधारहरू पूर्णतः ध्वस्त अवस्थामा छन् ।”
इजरायलले ‘उन्रा’ माथि प्रतिबन्ध लगाउने म्याद सकिँदै गर्दा समग्र क्षेत्रमा सङ्कटको बादल मडारिँदै छ । २० लाख गाजाबासीका साथै पश्चिम किनारका लाखौँ प्यालेस्टिनीहरू ‘उन्रा’ माथि नै निर्भर छन् ।
शान्ति अनुसन्धान संस्थान ओस्लोको प्रतिवेदन प्रकाशित भयो । शीर्षक थियो – उन्रामाथि इजरायली प्रतिबन्धका परिणामहरू । प्रतिवेदनले ‘उन्रा’ माथिको इजरायली प्रतिबन्धले ल्याउने दुष्परिणामबारे चेतावनी दिएको छ । प्रतिवेदन भन्छ, “इजरायल नियन्त्रित क्षेत्रहरूमा यस संस्थाको विघटनले गाजामा सञ्चालित मानवीय सहायताका कार्यहरू एक हप्ताभित्रै छिन्नभिन्न हुनेछन् ।”
(स्रोत : एमआर अनलाइन ।सम्यक)
Leave a Reply