भर्खरै :

प्रगतिशील साहित्य सबै समाजवादी नहुने

प्रगतिशील साहित्य सबै समाजवादी नहुने

काभ्रे, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा साहित्य वाचन कार्यक्रम साँगामा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले प्रगतिशील साहित्य सबै समाजवादी साहित्य हुँदैन भन्नुभयो । उहाँले साहित्य जनताको चेतना उकास्ने माध्यम हो† रामायण, महाभारत धार्मिक ग्रन्थ होइन राजनीतिक साहित्य हो भन्नुभयो ।
सरल भाषामा जनतालाई बुझाउने र ब्युँझाउने साहित्य आजको आवश्यकता भएको उहाँले बताउनुभयो । राणाकालमा सर्वसाधारण जनतालाई पढ्न, लेख्नबाट बञ्चित गरिएजस्तै अहिलेसम्मकै शासकहरूले शिक्षा, स्वास्थ्य निःशुल्क नगरिकन गरिब जनतालाई शिक्षा, स्वास्थ्यबाट बञ्चित गरेको केन्द्रीय सदस्य कवांले चर्चा गर्नुभयो ।
सङ्घर्ष र क्रान्तिको बाटो सजिलो हुँदैन† नेमकिपाका अग्रजहरूले कर्णालीका विकट ठाउँमा अनेक कठिनाइ र दुःख सहेर जेलनेल भोगेर गरेका सङ्घर्षको इतिहासलाई नयाँ पुस्तालाई बताउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले २०२८ साल पुस १० गते पूर्व १ नं. साँगाको आयोजनामा प्रगतिशील साहित्य सम्मेलन भएको प्रसङ्ग उठाउँदै साहित्यले देश र बहुमत जनताको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालीन नेकपामा आएको वैचारिक स्खलनको कारण नेपाल कम्युनिस्ट आन्दोलनलाई जोगाउन २०३१ माघ १० गते नेमकिपाको स्थापना भएको हो ।”
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छेप्रधानले नक्कली कम्युनिस्ट एमाले, माओवादीले जनतालाई धोखा दिएको बताउँदै प्रतिकूल अवस्थामा बीउ जोगाएर अनुकूल भएपछि बाली लगाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, पुण्यशोभा श्रेष्ठ, पूर्णसिं तामाङ, एस.बी. वाइबा, सत्यनारायण श्रेष्ठ, ज्ञानेन्द्र डंगोल, हरिगोपाल प्रधान, आकाश मानन्धर, राजु तामाङलगायतले साहित्य वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *