भर्खरै :

अमेरिकी अर्थतन्त्रलाई झस्काएको चिनियाँ कृत्रिम बौद्धिकता : डीपसीक

अमेरिकी अर्थतन्त्रलाई झस्काएको चिनियाँ कृत्रिम बौद्धिकता : डीपसीक

आज साँच्चै नै मेरो मित्रको कुराको गहिरो अर्थ बुझेँ । चीनमा नेपाली कला प्रदर्शनीहरूको डिजाइन गर्ने मेरो साथी नरेन्द्र मूलसँग धेरै वर्षअघि चिनियाँ आविष्कारहरूबारे चिया गफ गर्दै थिएँ । त्यतिबेला उनले भनेका शब्दहरू अहिले मेरो दिमागमा गुन्जिरहेका छन्, “चीनले के अद्भूत कुरा बनाउँदै छ, त्यो त तबमात्र थाहा हुन्छ, जब तिनीहरू बाहिर आउँछन् । कसैलाई पनि थाहा हुँदैन, उनीहरूले के तयारी गर्दै छन् । तर, जब बाहिर आउँछ, संसार चकित हुन्छ ।” पछिल्लो समय DeepSeek (डीपसीक) नामक नयाँ चमत्कारी प्रविधिले संसारमा तहल्का मच्चाउँदा उनका यी शब्दहरू मेरो मनमा अहिले गुन्जिरहे ।
अमेरिकी ChatGPT (च्याटजीपीटी) भन्दा बढी प्रभावकारी एप्स डीपसीकले अहिले अमेरिकी अर्थतन्त्रलाई हल्लाएको छ । अमेरिकी स्टक बजार एकै दिनमा १० खर्ब डलरले खस्कियो – एक यस्तो भूकम्पीय परिवर्तन जसको कसैले कल्पना पनि गरेको थिएन । दस खर्ब डलर भनेको साउदी अरब, नेडरल्यान्ड र मेक्सिको झन्डै कुल गार्हस्थ उत्पादन बराबरको हो भने नेपालको कुल वार्षिक बजेटको झन्डै ८० गुणा हुन्छ । सयौँ मिसाइलले गर्न नसक्ने नोक्सान चिनियाँ एप्स डीपसीकको कारण एकै रात अमेरिकी अर्थतन्त्रलाई नोक्सान पारेको छ । यो एप्सले अमेरिकालाई यति आतङ्कित पा¥यो कि अमेरिकी राष्ट्रपति ट्रम्प आफै टेलिभिजनमा आएर भन्नुप¥यो, “यो अमेरिकाको लागि ‘Wake up call’ हो, हामीले प्रविधि क्षेत्रमा नयाँ ढङ्गबाट सोच्नुपर्छ ।”

डीपसीक कृत्रिम बौद्धिकता र बदलिँदो विश्वव्यापी प्राविधिक परिदृश्य
डीपसीक एआईले अमेरिकी प्रविधि उद्योगमा हलचल मच्चाएको छ, जसले कृत्रिम बुद्धिमत्ताको बारेमा मात्र नभई चीनको व्यापक प्राविधिक प्रगतिबाट पश्चिमेली मुलुकको मनमा ढ्याङ्ग्रो बजाएको छ । कृत्रिम बौद्धिकता छलफलको केन्द्रबिन्दु भए पनि यो धेरै ठुलो अचम्मको एउटा अंशमात्र हो । चीनले अर्धचालक र रोबोटिक्सदेखि क्वान्टम कम्प्युटिङ र अन्तरिक्ष अन्वेषणसम्म विभिन्न उद्योगहरूमा आक्रामकरूपमा आफ्नो प्राविधिक प्रभुत्व विस्तार गरिरहेको छ । चीनले धेरै प्रमुख क्षेत्रहरूमा अमेरिकालाई उछिनेको गतिले यो केवल प्रतिस्पर्धा होइन, यो एक रणनीतिक दौड हो जसले विश्वव्यापी शक्ति संरचनाहरूलाई पुनः परिभाषित गर्न सक्छ भन्ने देखाउँछ ।

चीनले कसरी यति छिटो अमेरिकालाई उछिन्न सक्यो ?
चीनको तीव्र प्राविधिक विकास रातारात भएको होइन । विगत दुई दशकमा चिनियाँ सरकारले अनुसन्धान र विकासमा ठुलो मात्रामा लगानी गरेको छ, जसले नवप्रवर्तन र आत्मनिर्भरतालाई बढावा दिने पारिस्थितिक प्रणाली सिर्जना गरेको छ । निजी कम्पनीहरूले प्रायः सीमित सरकारी हस्तक्षेपका साथ प्राविधिक प्रगतिको नेतृत्व गर्ने अमेरिकाको विपरीत चीनले राज्य–सञ्चालित दृष्टिकोण अपनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले राष्ट्रिय सुरक्षा र आर्थिक लक्ष्यहरूसँग प्राविधिक विकास मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्दै युद्धस्तरमा व्यवस्थितरूपमा काम गरिरहेको छ ।
यसको अतिरिक्त चीनको कृत्रिम बौद्धिक क्षेत्रले यसको ठुलो जनसङ्ख्या र थोरै गोपनीयता नियमहरूको कारणले गर्दा यसको विशाल डेटा भण्डारबाट लाभ उठाएको छ । अमेरिकी कम्पनीहरू कडा डेटा सुरक्षा कानुनद्वारा बाध्य छन् भने चिनियाँ फर्महरूसँग ठुलो मात्रामा जानकारी सङ्कलन र प्रशोधन गर्ने स्वतन्त्रता छ । यसले गर्दा DeepSeek AI जस्ता मेसिन लर्निङ मोडेलहरूको विकासलाई बढावा मिलेको छ । यो असीमित डेटा पहुँचले चीनलाई अभूतपूर्व स्तरमा एआई प्रणालीहरूलाई तालिम दिनमा फाइदा पु¥याएको छ ।

अमेरिका–चीन प्रविधि दौडको अर्थ के हो ?
कुनै समय प्रविधिमा निर्विवाद अगुवा अमेरिकाले अब अस्तित्वगत चुनौतीको सामना गरिरहेको छ । कृत्रिम बौद्धिकता सेमीकन्डक्टर उत्पादन, ५–जी र क्वान्टम कम्प्युटिङमा चीनको प्रगतिले आधुनिक प्रविधिमा अब अमेरिका पछाडि परिसकेको सङ्केत गर्छ । अमेरिकी कृत्रिम बौद्धिकता फर्महरूको लागि डीपसीक एक शक्तिशाली प्रतिस्पर्धी साबित हुँदै जाँदा कृत्रिम बौद्धिकता प्रभुत्वमा चीनले अमेरिकालाई उछिन्नेको छ । अमेरिकाले निर्णायकरूपमा यसको प्रतिक्रिया दिन असफल हुँदा आफ्नो आर्थिक र सैन्य शक्तिको आधारशीला रहेको आफ्नो प्राविधिक श्रेष्ठतामा समेत जोखिममा परेको छ ।
यद्यपि, अमेरिकासँग अझै पनि बलियो स्टार्टअप इकोसिस्टम, विश्वस्तरीय अनुसन्धानजस्ता प्रमुख शक्तिहरू छन् । चुनौती भनेको अमेरिकी सरकार र निजी क्षेत्रले चीनको गतिलाई सन्तुलनमा राख्न कति चाँडो प्रयासहरू समन्वय गर्न सक्छन् भन्ने हो । यदि निर्णायक कदम चालिएन भने अमेरिकाले आफूलाई चिनियाँ प्रविधिहरूमा बढ्दो रूपमा निर्भर पाउन सक्छ जुन परिदृश्यले गम्भीर भूराजनीतिक प्रभाव पार्न सक्छ ।

हाम्रो अर्को छिमेकी भारत कहाँ छ ?
चीन र अमेरिका प्राविधिक सर्वोच्चताको लागि लडिरहेका बेला अर्को छिमेकी भारत आफूले आफैलाई विश्व गुरु घोषणा गर्ने विशाल जनसङ्ख्याको बाबजुद प्रविधिमा चीनभन्दा धेरै पछि परेको छ । भारत सफ्टवेयर सेवा र सञ्चार प्रविधिमा ठीक ठीक्कै भए तापनि यो गहन–प्रविधि नवप्रवर्तन, सेमिकन्डक्टर निर्माण र कृत्रिम बौद्धिकता पूर्वाधारमा पछाडि परेको छ । धार्मिक द्वन्द्वमा जनतालाई अल्झाई राखेर चुनावमात्र जित्ने भारतीय शासकहरूको रणनीतिले आधारभूत अनुसन्धानमा ठुलो मात्रामा लगानीको अभावले भारतलाई प्रविधि क्षेत्रमा कमजोर अवस्थामा पु¥याएको छ ।

सर्वसाधारणलाई पर्ने असर
चिनियाँ अर्थतन्त्र विकास हुँदा चीनलाई मात्र फाइदा होइन सम्पूर्ण विश्वका मानिसलाई फाइदा भइरहेजस्तै पछिल्लो प्रविधि कृत्रिम बौद्धिकतामा चीनको सफलताले संसारभरिका सर्वसाधारण जनता पनि लाभान्वित हुने देखिन्छ । च्याटजीपीटीले प्रयोग र पहुँचको आधारमा च्याटजीपीटीको लागत निःशुल्कदेखि प्रतिमहिना २० डलरदेखि २०० डलरसम्मको शुल्क तिर्नुपर्ने फरक–फरक मोडेलहरू छन् । यसको विपरीत DeepSeek–R1 निःशुल्कलगायत DeepSeek–V2 उल्लेखनीयरूपमा सस्तो छ । प्रति ७ लाख ५० हजार शब्दको ०.१७ डलर अर्थात् २३ रूपैयाँ नेपाली तिर्नुपर्छ जसले यसलाई च्याटजीपीटीको निश्चित मासिक योजनाहरूभन्दा सस्तो बनाएको छ । यस हिसाबले डीपसीक अझ किफायती देखिन्छ ।
केही हप्ताअघि छैटौँ पुस्ताको लडाकु विमान प्रदर्शनले संसारलाई अचम्मित पारेको थियो भने केही दिनअघि १० खर्बको वैदेशिक व्यापार लाभ उठाए चीनले चिनियाँ उत्पादनबिना संसार नचल्नेजस्तो बनाइदिएको छ । अहिले आएर डीपसीक नामको एप्सको माध्यमबाट कृत्रिम बौद्धिक क्षेत्रमा विश्वलाई चकित पारे । चिनियाँ कम्युनिस्ट पार्टीको कुशल नेतृत्वमा यस्तो अचम्मित पार्ने चिनियाँ सफलता आगामी दिनमा अझै आई नै रहने अनुमान गर्न सकिन्छ । अझै ठुलठुला चकित पार्ने कुरा आउन बाँकी नै हुनुपर्छ जसबाट विश्वका सर्वसाधारण पनि लाभान्वित हुने छन् ।

(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *