अदूरदर्शी शासकहरूको कारण देशमा अन्योल
- बैशाख ८, २०८२
भक्तपुर, १८ माघ । “देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उद्देश्यले नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो । पञ्चायत अन्त्य भएको ३५ वर्षमा पनि संसदवादी दलका प्रम र मन्त्रीहरूले आफ्नो निजी स्वार्थ हेरेकाले जनताको समस्या समाधान भएन । काम गरिखाने सर्वसाधारण जनता र मजदुरहरूलाई दुःख दिई केही व्यापारीहरूलाई मात्र पोस्ने काम आजसम्मका सरकारहरूले गर्दै आइरहेका छन् ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले स्थानीय पथप्रदर्शक भेला तथा प्रशिक्षण कार्यक्रममा शुक्रबार व्यक्त गर्नुभएको हो । उहाँले कसैको निगाहमा प्राप्त प्रजातन्त्रले देशको हित नहुने भएकोले आफ्नै बलबुत्तामा परिवर्तनको लागि सक्रिय हुनुपर्ने र त्यसको लागि जनतालाई सचेत पार्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । विदेशीको पैसाले निर्वाचन जितेका उम्मेदवारले देश र जनताको हित नगर्ने उल्लेख गर्दै उहाँले सार्वभौमिकता जोगाउन जनतालाई अभिप्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
पुँजीपतिवर्गको सहयोगबाट चुनाव जितेकाहरूले साधारण जनताको हित गर्ने ऐन कानुन नबनाउने उल्लेख गर्दै उहाँले निजीकरण गर्ने सरकारहरू दोषी हुन् भन्नुभयो ।
पथप्रदर्शकहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, कानुन र राजनैतिक परिस्थितिको अध्ययन गरी सबैसँग राम्रो व्यवहार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले अमेरिकी साम्राज्यवादले संसारका गरिब र कमजोर देशहरूलाई नाकाबन्दी गरी दुःख दिइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्य योगेन्द्रमान बिजुक्छेँले विश्वको विकासमा टेवा पु¥याउन चीनले अगाडि बढाइरहेको बीआरआइबारे अमेरिका र पश्चिमा देशहरूले गलत हल्ला फैलाइरहेको बताउनुभयो । उहाँले चीन विश्वमा आजको आर्थिकरूपले शक्तिशाली राष्ट्रको रूपमा उदाएको बताउनुभयो ।
उहाँले चीनले सबै देशको भलो चिताएर बीआरआईको अवधारणाअनुसार काम गरेको तर अमेरिकी साम्राज्यवादले आफूबाहेक अरु कसैको विकास नचाहेको पहिलो र दोस्रो विश्वयुद्धको इतिहासले पनि थाहा पाउन सकिन्छ भन्नुभयो ।
भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले सभापतिको मन्तव्य राख्दै पथप्रदर्शकहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयको निरन्तर अध्ययन गर्नुपर्ने, सानोसानो लोभमा फसेर काम गर्न नहुने र जाँड रक्सीलगायतको विकृतिपूर्ण कुनै पनि कार्यमा लाग्न नहुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय पथप्रदर्शक परिचालन समितिका सदस्य दामोदर सुवालले पथप्रदर्शकहरूको व्यवहार राम्रो हुनुपर्ने र आफ्नो व्यक्तित्व विकासमा क्रियाशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दिपेशराज शर्माले पथप्रदर्शकहरू अनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply