भर्खरै :

बनवासाको हैरानी

बनवासाको हैरानी

जाडो मौसममा साँझ साढे ५ बजे पनि अँध्यारो भइसक्छ । त्यसमाथि शीतलहरको कारण चिसो र बाक्लो हुस्सुले गर्दा ५ मिटर पर केही पनि नदेखिने ।
नेपालको पश्चिमी सिमाना गड्डाचौकीबाट पश्चिमतिर भारतीय सीमा सुरक्षा पोष्टमा महाकाली नदीपारि बनवासा बजारबाट नेपाल फर्केकाहरू चेकजाँचका लागि लाइन लागिरहेका थिए । भित्र चेकजाँच निकै ढिलो भएकोले हो कि, बाहिर चिसोमा लाइन बसेकाहरू शङ्खेकिराको चालमा अगाडि बढिरहेका थिए ।
“कति दुःख दिएका भारतीय सेनाले हाम्लाई ? मर्न नसकेका मुर्दारहरू र” उमेरले साठी नाघेकी बायाँ हातले कम्मरमा एउटा प्रेसरकुकरको बाकस बोकेकी र दायाँ हातले सामानसहितको सानो बोरा घिसार्दै गरेकी बुढी आमा मधुरो स्वरमा कराउँदै थिइन् । भारतीय सेनाले सुन्ला भन्ने डर पनि होला । चेकजाँचका नाउँमा गरिएको दुव्र्यवहारले मुर्मुरिएकी पनि होलिन् ।
उनको पछाडि त्यस्तै उमेरका बुढो बा पनि बोरामा रहेको सामान बोक्न नसकेर भुइँमा घिसार्दै थिए । उनी भने लाइनमा मौन उभिरहेका थिए । बुढी आमा निरन्तर फट्फटाइरहेकी थिइन् ।
म उनीहरूको पछाडि लाइनमा थिएँ । मसँग सानो हातेब्याग मात्र थियो ।
“आमालाई गा¥हो भए म बोकिदिउँ त ?” पछाडि फर्केर मतिर हेर्दै बुढी आमाले भनिन्, “तमिले बोकेर क्या गर्चौ नानी ? यी मुर्दारले दुःख दिएर पो रिसाएकी । चिसामा बुढाबुढीलाई उभ्याएर कति दुःख दिएका यिनले । औताली होइजाओस् (मरिजाओस्) यिनीहरू ।” उनले धारे हात लगाउँदै भारतीय सेनालाई गाली गरिन् ।
“अघि अटोमा हाम्ले ल्याएका सबै सामान ओराल्न लगाए । अलि अलि अन्नपात ल्याएको, हामीले बोक्न सक्दैनौँ, बरू यही चेकजाँच गर्नु भनेको । मुर्दार रिसाएर सबै भारी बोक्न लगाए । अलिकति पनि माया नाइँ यिनीहरूमा ।” साँझको अँध्यारो भए पनि बुढी आमाको चाउरी परेको अनुहारमा रिस भने प्रस्टै देखिन्थ्यो ।
साँच्चै लाइन त एकदम धिमा गतिमा अघि बढिरहेको थियो । आधा घण्टापछि बल्ल चेकजाँच गर्ने कोठाको बाहिर पुगेँ । यसो चियाएँ । तीन जना भारतीय खाकी ड्रेस लगाएका भारतीय सेनाहरू उभिरहेका थिए । अगाडिको सेनाले सबैका जीउ छामछुम गरिरहेका थिए । पछाडि मेचमा बसेकाले झोला, बोरालगायतका सामानहरू विमानस्थलमा जस्तै टेबुलमाथि ट्रलीसहितको कालो बाकसमा गुडिरहेको स्क्यान गर्दै थियो । ऊ चिच्याइरहेको थियो । सँगै उभिरहेको अर्को सेनाले हाते झोलाहरू खोल्न लगाएर कसैको ल्यापटप त कसैको मनी ब्याग सर्च गरिरहेको थियो ।
हाम्रो पालो आयो । बुढी आमासँग प्रेसर कुकरको बील मागियो । “ह्या…, एउटा जाबो कुकरको पनि बील दिन्छ त ?” उनको साथमा रहेको बोरा स्क्यान गर्दा भारतीयलाई शङ्का लागेर हो कि बोरा खोल्न लगायो । आमा झन् रिसाइन् । ‘सानो कट्टा (बोरा) त हो नि । के सारो दुःख दिया ?’
भारतीय सेना के मान्थ्यो । उसले बोरा खोल्न लगायो । भित्र दालको पोका, मिठाइको पोका, एक थान साडी र एक थान कुर्ताको कपडा, अनि एक थान इन्डक्सन हिटर थियो ।
हिटरको पनि बील मागियो । बिचरी आमाले बील कहाँबाट ल्याउनु ? सेना र आमाको बिचमा भनाभन नै भयो । एउटाले हिन्दी भाषा मात्र बोल्ने, अर्कोले पश्चिमी गाउँले भाषामा बोल्ने । सायद दुवैले एक अर्काको कुरा बुझेका थिएनन्, तैपनि दुवै रिसाउँदै कराइरहेका थिए । अति भएपछि नजिकैको भारतीय साथीले इसारा गर्दै बुढीलाई छोड्न भनियो । बुढी आमा फट्फटाउँदै बोरा बाँध्न लागिन् र त्यहाँबाट गइन् ।
मेरो पनि ब्याग खोल्न लगाइयो, ल्यापटप र किताबहरू ओल्टाइपल्टाइ हेरियो । भारतीय सेनाले मेरो मुखमा हेर्दै नागरिकता माग्यो । मैले लाइसेन्स देखाएँ । लाइसेन्स हेर्दै मेरो नाम सोधियो । मैले भनेको र लाइसेन्समा उल्लेखित विवरण मिल्छ कि मिल्दैन भनी परीक्षण गरिएको हुन सक्छ ।
चेकजाँच कक्षबाट बाहिर निस्कँदा बुढी आमा मलाई कुरिरहेकी थिइन् । “मेरो हात दुख्यो बा । यो कट्टा अटोसम्म बोक्देओ न नानी ।”
‘हवस् आमा ।’ बोरा काँधमा बोकेर म उनीसँगै हिडेँ । करिब ५ मिनेटको दुरीमा हिँड्दै गर्दा उनले सोधिन्, “तमि पहिलो पटक आया हौ ?”
मैले टाउको हल्लाएपछि उनले आप्mनै धुनमा भन्दै गइन्, “तमिलाई थाहा नाइँ, पहिला महाकाली नदीमा बन्या शारदा ब्यारेजको बिचमा हाम्रो देश र भारतको झन्डा राखिएको मैले देख्या । पछि नदीको वारि नेपाली भूमिमा भारतीय चेकजाँच गर्ने पोस्ट राखिया । अहिले त आधा किलोमिटर वारि हाम्रो भूमिमा पक्की घर र गेट बनाएर हाम्रो भूमिमा भारतको झण्डा समेत राख्या छन् । विस्तारवादी मुर्दार भारत र !”
आमाको कुरा सुनेर म छक्क परेँ । बोल्ने क्रममा उनले ‘विस्तारवादी’ भन्ने राजनैतिक शब्द प्रयोग गरिन् । मैले सोधिहालेँ, “आमा विस्तारवादी भनेको के हो ?”
“ल, तमिलाई थाहा नाइँ ? विस्तारै हाम्रो जमिन खानेलाई विस्तारवादी भन्च नि । गाउँमा आमसभा हुँदा एउटा नेताले भाषण गरेको सुन्या हुँ नानी ।”
आमाको कुराले म हाँसेँ । “मैले गलत बोलेँ कि क्या हो ? बड्डाले त्यसै भन्या सुन्या हुँ ।” उनले भनिन् ।
अटो रिक्सा भएको ठाउँमा पुगेपछि उनको सामान राखिदिएँ । उनले मलाई पनि त्यही रिक्सामा चढ्न भनिन् । हामी सँगै एउटै रिक्सामा नेपाली चौकीनेर पुग्यौँ ।
नेपाली प्रहरीले पनि हाम्रा सबै सामानहरू खोल्न लगाएर चेकजाँच ग¥यो । अलि पर सशस्त्र प्रहरीको टोलीले हामीलाई फेरि रोक्यो । फेरि सामानको चेकजाँच भयो । सशस्त्रले पनि आमासँग प्रेसर कुकर र इन्डक्सन हिटरको बील माग्यो । आमा जङ्गिइन्, “अघि पनि भारतीयले यसरी नै दुःख दियो, अब तिमीहरूले पनि दुःख दिएको । किन चाहियो बील ? जाबो दुइटा सामानको पनि बील माग्ने ? उता भारतीय सेना नेपाल पस्दा केही भन्नु नाइँ ? हामीलाई मात्र दुःख दिने र !”
“नियममा त बस्नु प¥यो नि आमा ।” सशस्त्र जवानले सुस्तरी भन्यो ।
“केको नियम ? हाम्रो भूमि मिच्दा तिम्रा नियम कानुन कहाँ गया ? सारा नेपालीको करबाट तलब खाएका तमिहरू कानमा गुइँथा र आँखामा कालोपट्टि हालेर बस्याथ्यौ ?” आमाका कुरा खस्रा र वचन तीखा थिए । सही कुरा बोलेकी थिइन् उनले ।
सशस्त्र प्रहरीले केही जवाफ दिएन । म पनि चुपचाप कुरा सुनिरहेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *