भर्खरै :

’ ९७ सालको एक प्रेम कथा

’ ९७ सालको एक प्रेम कथा

२०१६ को एक साँझ मलाई काकाले काठमाडौँको केन्द्र इन्द्र चोकको भिडमा एकजना अग्लो साँवला रङको एक ६० वर्ष नाघेको पातलो मानिसलाई टाढैबाट देखाउनुभयो, ‘हेर त बाबु, उहाँ ९७ सालको राजनीतिक पर्वमा पक्राउ पर्नुभएका एक राजनैतिक बन्दी हुनुहुन्थ्यो !’
काकाले भन्दै जानुभयो, “त्यसबेला काठमाडौँ उपत्यकाका मध्यम वर्गका धेरै युवाहरू पक्राउ परेका थिए, उहाँ पनि एकजना हुनुहुन्थ्यो तर उहाँको नाउँ अखबारमा कम छापेको हुँदा धेरैलाई थाहा छैन । उहाँको पक्राउपछि उहाँको परिवार र ससुरालीतर्फका परिवारले धेरै दुःख पाए, अन्य नातागोता पनि राणाशासनको क्रूर दमनचक्रबाट अछुटो रहेनन् । धेरै दुःखपछि उहाँको परिवार र ससुरालीका बुबाआमा दुवैतर्फबाट छोरीको जीवन जोगाउन एक दुर्गम पश्चिमाञ्चलका एक खातापिता परिवारमा गुप्त विवाह गराई भारतको बाटो भई धनगढीको दुर्गम गाउँमा पठाउने निर्णय गरे ।”
जेलमा आफ्ना सालामार्फत दुवै परिवारको त्यो निर्णय जेलका राजनीतिक बन्दीसम्म सूचना पु¥याइयो । राजबन्दीले आफ्नी पत्नीलाई सूचना पठाए – ‘मेरी प्राण प्रिय, तिमी गए पनि मेरो मन तिमीसँगै रहनेछ । तिमीले आफ्नो ज्यानलाई जोगाउँदै त्यहाँको परिस्थितिसँग हिम्मत नहारी कर्तव्य पूरा गर्दै जाऊ ।’
काकाले भन्नुभयो, “हेर बाबु ! उहाँले जेलको कठोर निगरानीलाई छलेर बरोबर अरू साथीभाइ र परिवारमार्फत श्रीमतीलाई सहयोग र चिट्ठी पठाइरहनुभयो । २००७ सालपछि एक–एक जना गरी सबै बन्दीहरू छुट्दै गए । उहाँ पनि छुट्नुभयो । उहाँले जेलबाट छुटेपछि पनि आफ्नी पूर्व पत्नीबाट समाचार पाइरहनुभयो र सकेको सहयोग पनि पठाइरहनुभयो । एवंरितले २०१२ सालतिर उहाँले एउटा पत्रमा लेख्नुभयो, “मेरी प्राण प्रिय, अहिले पनि म तिम्रै हुँ’ म विवाह गर्दिनँ† म सधैँ तिमीलाई सम्झिरहन्छु, खुसी रहनू । केही प¥यो भने पत्रमा लेख्नू, आवश्यक बन्दोबस्त म मिलाउने कोसिस गर्दै जानेछु । तिम्रो प्राण प्रिय ।”
एउटा अन्तिम पत्रको आशय यस्तो थियो, “मेरी प्राण प्रिय, तिमीलाई त्यहाँ बस्न अप्ठ्यारो भयो भने काठमाडौँ आई सरासर हाम्रै पुरानै घरमा आउनू । तिम्रो लागि मेरो घर र मनको ढोका सदा खुला रहनेछ । जहिले आए पनि जहाँबाट आए पनि म तिमीलाई आफ्नै सम्झनेछु, कुनै दुविधामा नपर्नू… । तिम्रो प्राण प्रिय ।”
‘बाबु हेर’, काकाले लामो सास तानेर भन्नुभयो, “हिजोसम्म पनि उहाँले आफ्नी पत्नीलाई सहयोग पठाइरहनुभयो । उहाँको मनमा कुनै क्लेश, दुविधा र पराइपन थिएन, आफ्ना साथीहरूसँग कुरा गर्दा कहिले पनि अरूसँग विवाह गरेकी पत्नीको रूपमा उहाँले हेर्नुभएन ।”
उहाँसँग पहिले विवाह हुँदाको एउटा दुवैजना सँगै बसेका तस्बिर थियो । उहाँले हरेक दिन त्यो फोटोलाई सानो नरम कपडाले धुलो पुछ्नुहुन्थ्यो र टेबलमा राख्नुहुन्थ्यो । त्यहाँ दुई पङ्क्तिको एउटा कविता पुरानै सानो कापीमा लेखिएको थियो,
“तिमी रातकी चन्द्रमा जस्तै चम्किरहनू
दिनमा तिमी सदा जहाँ गए पनि प्रकाश छरिरहनू ।”
काका पनि पहिले प्रज्ञा परिषद्को सदस्य हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “९७ सालका धेरै राजबन्दीहरूको बयान गरेर साध्य छैन । तर, धेरैले राणा शासनसँग झुक्ने नामै लिएनन् । तिनीहरू अत्याचारको विरोधमा देश र जनतालाई मुक्त गर्न चाहन्थे, तर त्यसबेला देशको राजनीतिले कुन बाटो लिन्छ भन्ने थाहा थिएन, प्रजातन्त्र भनेको पुँजीवादी र समाजवादी भन्ने थाहा थिएन । तर, नेताहरूलाई ती शब्दावली र सन् १९१७ को रुसी बोल्शेभिक क्रान्ति र समाजवादी क्रान्तिबारे पातलो जानकारी अवश्य थियो । तर, धेरै राजबन्दीहरू र नेताहरूसँग पद र पैसाको निम्ति सिद्धान्त छोड्ने, देश र जनतालाई विश्वासघात गर्ने, विदेशी पुँजीको पाउ मोल्ने भावना थिएन । बरु जेलबाट छुटेर धेरैले दुःख पाएरै जीवन बिताए ।”
काकाले मलाई इन्द्र चोकबाट वीर अस्पतालतिरको सडकमा पुग्ने गल्लीबाट लैजानुभयो । भिडको कारण हामी वीर अस्पताल पुग्दा साँझले छोपिसकेको थियो । यद्यपि, काकाबाट सुनको त्यो ९७ सालका एक राजबन्दीको प्रेम कथा मस्तिष्कमा घुमिरह्यो ।

१५/१६ मा २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *