भर्खरै :

सरकारको चाल न हाँसको न कुखुराको !

सरकारको चाल न हाँसको न कुखुराको !

नेताहरूको भाषण र दलको आकारले सिद्धान्त, नीति र व्यवहारलाई राम्रो प्रदर्शन गर्दैन । हिजोका नेका, एमाले, कम्युनिस्ट पार्टी, राप्रपा र मधेसवादी दलहरू हिजो आन्दोलनबाटै आएका दलहरू हुन् र निर्वाचनमा विजयी भएर बरोबर सत्तामा पुगेका पनि थिए । राजनीतिक दल र तिनीहरूको खोटो र छिपछिपे चिन्तनले न आफ्नो न देशको भलो हुन्छ भन्ने कुरा परिणामले देखायो ।
आज नसुल्झिएका समस्या र अप्ठ्याराहरू आजको सरकारको होइन बरु ती पुरानै सरकारहरूले पालेका समस्याहरू हुन् । ती समस्याहरूको डङ्गुर देखेरै आजको सरकारका मन्त्रीहरूको सातो–पुतलो हराइसकेका छन्, सम्हाल्ने र सुल्झाउन थप समय लाग्नेछ । केही उदाहरण तल छन् –
(क) हुलाकी सडक – ‘चार किमि सडक बनाउन चारै पटक ठेक्का’
(ख) मुगुको समाचार हो – ‘६० करोडको सडक योजना तीन वर्षमा दुई प्रतिशतमात्रै प्रगति’
(ग) ‘सरकार पुँजीगत बजेट खर्चिन असफल’, ‘पँुजीगत खर्च ४४.५२ प्रतिशत, ढुकुटी ३ खर्ब घाटामा’
(घ) ‘प्रदेशमा पेचिलो बन्दै सत्ता किचलो’
(ङ) राष्ट्रिय स्तरको गम्भीर विवाद पुनः बल्झिँदै छ ‘स्थानीय सरकार गैरदलीय’ (नागरिक, २९ असार २०८३)
नेपाल–भारत सम्बन्धबारे
‘नेपालले सुस्तामा बढायो सुरक्षा उपस्थिति, भारतले देखायो चासो ।’ (कान्तिपुर, २९ असार, २०८३) तर यो समस्या आजको होइन ।
२०१९ असार १५ गते भारतमा उपपरराष्ट्र मन्त्री दिनेश सिंहको भारतीय लोकसभामा भनेका थिए, “नेपाली पुलिसहरूले भारतीय सीमामा बाह्र पटक अतिक्रमण गरेर सात पटक भारतीय नागरिकलाई दुःख दिए ।”
यसप्रति तत्कालीन श्री ५ को सरकार परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाइ “नेपाली प्रहरीहरूलाई भारतीय सीमाभित्र अनाधिकार प्रवेश नगर्नु भन्ने स्पष्ट निर्देशन दिइएको छ र प्रहरीका जवानहरूले उक्त आदेशको पूर्णतया पालन गरेका छन्” भन्ने थियो । (नेपालको राजनीतिक दर्पण’ दोस्रो भाग, पृष्ठ ४०४) ग्रीष्मबहादुर देवकोटाको तेस्रो भाग पुस्तक विसं २०४० सन् १९८३ मा प्रकाशित भएको थियो ।
सुकुमवासीको घर छैन, राज्यको भर छैन – अन्नपूर्ण पोस्ट, २८ असार २०८३
तर, हिजोदेखि प्रश्न उठेको उठेकै छ – सुकुमवासीहरू कुन जिल्ला, गाउँ र वार्डका हुन् ? घर नहोला, तर जन्मेको ठाउँ, आमा–बाबुको घरको ठेगाना त पक्कै होला !
साथै ती सुकुमवासीहरूलाई काठमाडौँ उपत्यकाजस्तो जटिल ठाउँमा कुन दलको सरकारले ल्याएको हो – कुन अवसर र उद्देश्यको निम्ति निक्र्योल गर्नु आवश्यक थियो । यति प्रश्नको उत्तर आए पनि समस्या समाधानको आधा कुरा टुङ्गिन्छ ।
सत्य के हो भने घर र जग्गा नहुँदै मानिस गरिब हुँदैन । के काठमाडौँ उपत्यका आउने नेपालका धनाढ्यहरूको काठमाडौँमा घर होला र ! ठुलठुला र अग्ला अग्ला घरहरूका आजका सबै व्यक्तिहरू हिजो धनीमात्र थिए र आज एक तला वा एक–कोठा लिएर बसेका छन् ।
पुस्तौँदेखि काठमाडौँकै व्यक्तिहरूको घर थिएन र आज काम पाएपछि घर बनाउन थालेका छन् ।
२९ असार २०८३ को ‘अन्नपूर्ण पोस्ट’ ले लेख्यो – ‘मन्त्रिपिच्छे आश्वासनका पोका, सुकुमवासीलाई छैन भरोसा ।’ यसरी एक ठाउँबाट अर्को ठाउँमा सार्दैमा के समस्याको समाधान होला ?
२०/२५ वर्षअगाडि एक आना जग्गाको मूल्य रू. ६० हजार थियो भने अहिले ४५ लाख पुग्यो । यसरी उपत्यकाको कुनै पनि ठाउँको एकदेखि ४ आनासम्म जग्गा पाउने लोभ पलायो र पूरा भयो भने त्यो कल्पना र परिणाम दुर्भाग्यपूर्ण हुन्छ । यसकारण, सुकुमवासीहरूको पहिचान महत्वपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *