हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
विश्वमा अहिले संरा अमेरिकी साम्राज्यवाद आक्रामक बनिरहेको अवस्था छ । समाजवादविरुद्ध प्रहार भइरहेको पछिल्लो विश्व परिस्थितिमा पुस्तक ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ सार्वजनिकीकरण हुनु सामयिकमात्र होइन सुखद पक्ष हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित) ले झण्डै २३ वर्ष अगाडि लेख्नुभएको यो पुस्तक पुनः प्रकाशन गरिएको हो । यसभित्र का.रोहितले ४० साल वरपर लेख्नुभएको ‘चार रचना’ (२०४४ मा प्रकाशित) पुस्तिका पनि छ । त्यतिबेला नियमित प्रकाशित हुने साप्ताहिकहरू ‘समता’, ‘जागृति’, ‘साकार’ को जानकारी यो पुस्तकले दिन्छ ।
माक्र्सवाद, कम्युनिस्ट आन्दोलन, समाजवाद र समाजवादी आचरणका कुरादेखि अवसरवाद, संसोधनवाद र पुँजीवादी व्यवस्थाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भमा अध्यक्ष रोहितको विश्लेषण व्याख्या छ । पुस्तक विश्व कम्युनिस्ट आन्दोलनको क्षितिजमा नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिलाई हेर्ने सैद्धान्तिक एवम् वैचारिक आँखा या आधार हो भन्नु समीचीन हुन्छ ।
समाजवादी आचारण के हो ? भन्ने प्रश्नको जवाफबाट पुस्तक सुरु हुन्छ । पाषाणयुगदेखि साम्यवादी समाजसम्मको विभिन्न चरणमा मानिसको आचरण र व्यवहारमा हुने परिवर्तनको गहिरो विश्लेषण यो अध्यायमा छ । समाज व्यवस्थाको भौतिक परिस्थिति, सांस्कृतिक रूप र समयान्तरमा विकसित विभिन्न प्रथाहरू मानिसको आचरणमा परावर्तन हुने गर्दछ । वर्ग, देश, कालमुताविक मानिसको आचरण बद्लिनु स्वाभाविक हो । जुनै शोषणको युग या व्यवस्थाविरुद्ध सङ्घर्ष, प्रतिरोध अनि विद्रोहको पाइला प्रगतिशील हुने गर्दछ । त्यो प्रगतिशीलता समाजवादी आचरण हो । समाजवादी आन्दोलन र क्रान्ति अघि बढाउन सघाउने मानवीय गुण समाजवादी आचरण हो भन्नुहुन्छ का.रोहित । उत्पादनका साधन या सम्बन्धमा आप्mनो अधिकारका लागि बहुसङ्ख्यक मानिसको सङ्घर्षका लागि सङ्गठन र पार्टीको अगुवाइ आवश्यक रहन्छ र त्यही क्रान्तिकारी पार्टीको विचार समाजवादी मानवको आचरण हुनुपर्छ । सारमा आफूभन्दा धेरैमाथि देश, समाज, सङ्घर्ष र कम्युनिस्ट आन्दोलनलाई राख्ने मानिस समाजवादी आचरणको कहलिन्छ ।
पुस्तकमा माक्र्सवाद पुरानो भयो भन्नेहरूलाई चोटिलो जवाफ छ । यो जवाफ ४२ वर्ष अघिको राजनीतिक परिवेशको हो तर वर्तमान परिप्रेक्षमा का. रोहितको यो विचार कत्तिपनि पुरानो भएको छैन । पुस्तकमा लेखिएको छ –“वर्गीय शोषणको रूप र राज्यसत्ताको थिच्ने प्रवृत्तिमा पूर्ण परिवर्तन नआएसम्म माक्र्सवाद पुरानो हुनेछैन ।” देशअनुसार माक्र्सवादको प्रयोग फरक हुनसक्ला तर माक्र्सवादको विकल्प छैन । संसारमा न्याय, वर्गमुक्ति, शान्ति, समताको बाटो माक्र्सवाद हो । साम्राज्यवादको उत्थान, विकास र पतनको नियम या विज्ञान हो, माक्र्सवाद । संसारका पुँजीवादी क्रान्तिदेखि पेरिस कम्युन, रुसी अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ क्रान्ति, कोरियाली क्रान्तिमा माक्र्सवादको प्रयोगको इतिहासले यही भन्छ ।
सर्वहारा वर्गका महान् गुरुहरू माक्र्स, एङ्गेल्सको मृत्युपछि वर्नस्टिन अनि नेता लेनिन, स्तालिनको मृत्युपछि खु्रस्चेभ, ब्रेझनेभ, गोर्भाचोभहरूले हुर्काएको संसोधनवाद अन्ततः आक्रामक पुँजीवाद र साम्राज्यवादमा पतन भएको इतिहास पनि छ । अध्यक्ष रोहितको अर्को पुस्तक “रुसी संसोधनवाद सामाजिक साम्राज्यवादमा पतन” ले त्यो इतिहासको सैद्धान्तिक सङ्घर्ष प्रस्ट पार्छ । क्रान्ति सङ्घर्षको बाटो भएरै आउँछ, अरू कुनै बाटो छैन भन्ने निष्कर्ष दिन्छ ।
वर्गीय आन्दोलन, समाजवाद हुँदै साम्यवादी समाजसम्मको मार्ग माक्र्सवाद हो । अध्यक्षज्यूले हालै एउटा समारोहमा बोल्नुभयो, “अब समाप्तिको पालो अमेरिकी साम्राज्यवादको हो ।” अबको समयमा माक्र्सवाद र समाजवादको निरन्तर विकास हुन्छ, साम्यवादी समाज निर्माणको आधार बन्दै जान्छ । विज्ञान प्रविधिको विकासले पनि समाजवादलाई बलियो बनाउनेछ भन्ने पुस्तकको तर्क वर्तमान विश्व स्थितिसँग मिल्दो छ ।
चीनको आर्थिक विकास, विश्वमा चीनको लोकप्रिय अमेरिकालाई असह्य भइरहेको बेला चीनले कृत्रिम बौद्धिकताको ज्यावल अर्थात् म्भभउकभभप को झट्का दिएको छ । म्भभउकभभप बाहिर ल्याइएको २ दिन मा चीनको यो एआई साधनले अमेरिकी प्रविधि क्षेत्रमा १ ट्रिलियन अमेरिकी डलर (१० खर्ब रुपैयाँ) बराबरको सेयर झरेको आँकडा छ । १ ट्रिलियन अमेरिकी डलर भनेको चीनको १ वर्षको व्यापार अधिकताभन्दा बढी हो । अमेरिकाको एनभिडिया अर्थात् एआई चिप उत्पादन गर्ने प्रमुख कम्पनीको शेयरमा १७ प्रतिशतको गिरावट भयो । त्यो भनेको ५ खर्ब ८९ अर्बको घाटा हो । माइक्रोसप्mट अल्फाबिटा, टेस्ला पनि क्षति व्यहोर्दै छ । ट्रम्पले पनि म्भभउकभभप लाई चेतावनीको रूपमा लिएको बताए । यो पछिल्लो दृष्टान्तमात्रै हो । चीनमा माक्र्सवादको प्रयोग सफल हुँदै छ । अबको युग समाजवादकै हो भन्ने परिदृश्य देखापर्दै छ ।
पुस्तकमा अहिले नेपाली राजनीतिमा ‘राजा आऊ देश बचाउ’ भन्नेहरूलाई पहिलेको परिस्थितिमा दिइएको जवाफ सान्दर्भिक महसुस हुन्छ । राजा नरहेपनि देश रहन्छ, प्रजातन्त्रमात्रले देश नजोगिन सक्छ भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भसहितको विवेचना छ । पुँजीवादी देशमा मात्र प्रजातन्त्र र दलहरू हुने होइन । समाजवादी देश चीनमा चिकपाबाहेक आठ राजनीतिक दलहरू अहिले पनि क्रियाशील छन् । पूर्वी यूरोपमा पनि तात्कालीन समयमा कम्युनिस्ट पार्टीबाहेक पाँच राजनीतिक दलहरू थिए भन्ने उदाहरण सहित कम्युनिस्ट व्यवस्था एकदलीय नहुने यथार्थ पुष्टि गरिएको छ ।
आजभन्दा ३० वर्षअघि नेपालमा काङ्ग्रेस र एमालेको अवस्था, तिनको वैचारिक विचलन र दरिद्रता उदाङ्गो पारेको छ पुस्तकले । जनआन्दोलन पछि देखापरेका राजनीतिक सङ्कटको फेहरिष्ट छ । ठूलो पार्टीको दम्भ र सानो पार्टीलाई दमन र थ्रेसहोल्डको पासो पुरानै रोग भएको बुझन पुस्तकले सघाउँछ । दल या पार्टी वर्ग आधार, राजनीतिक दर्शन र चिन्तनका आधारमा बन्ने तर्क छ ।
पुस्तकले विश्वमा कम्युनिस्टविरोधी प्रचारवाजीको सत्य बताउँछ । विश्वमा कम्युनिस्ट विचारविरुद्ध मिडिया÷सञ्चार माध्यम, साहित्यको प्रयोग इतिहास जत्तिकै पुरानो हो । एउटा उदाहरण लिऔँ ‘म्याकार्थिवाद’ को । सन् १९४० देखि ५० सम्म यो शब्दावलीको खुब चर्चा थियो । कम्युनिस्ट विचार, सिद्धान्त, आन्दोलनसँग डराउने मानसिक रोग भन्न मिल्छ ‘म्याकार्थिवाद’ लाई । कम्युनिस्टविरुद्ध अस्वाभाविक आरोप लगाउने र हमला गर्ने विचार, म्याकर्थिवाद हो । एक अमेरिकी सिनेटर एवम् सेना जोसेफ मेकार्टीले सुरु गरेको ज्यादती हो यो । त्यो समय रुसमा समाजवादी व्यवस्था हुर्किरहेको, चीन, कोरिया, पूर्वी युरोपमा समाजवादी आन्दोलन अगाडि बढिरहेको समय थियो । अमेरिकामा समाजवादी आन्दोलनको प्रभाव पर्ने डरले अमेरिकामा कम्युनिस्टविरोधी गतिविधि अगाडि बढ्यो । म्याकर्थीलाई अगाडि सारियो । कम्युनिस्टविरुद्ध पर्चा समेत निकाली देशभर सञ्चार गरियो । पर्चामा लेखिएको थियो — “हे अमेरिकीहरू, राता मान्छेहरूप्रति विनम्र नबन्नू, निर्मम बन्नु । हाम्रो टिभी, रेडियो, पत्रपत्रिका र हलिउडबाटै लखेट्नू । कम्युनिस्टहरूले तपाईँ हाम्रो बालबालिकाको मस्तिष्क विषाक्त पार्दै छ…।” विशेषगरी सञ्चार जगतबाट रुसी साहित्य, सिनेमा निषेध गर्यो । अमेरिकाको कम्युनिस्ट पार्टी सिध्याउन खोजियो । यस्ता झुठा प्रचारका कारण पूर्वी युरोपमा समाजवादी आन्दोलन तुहियो ।
६०—७० वर्षपछि पुनः केही वर्ष अघि चिनियाँ विद्यार्थी, विज्ञहरूलाई “राष्ट्रिय सुरक्षामा खतरा भनी अमेरिकाले लखेट्यो । “विज्ञान र गणितको विशेष तहका चिनियाँ विद्यार्थी संरा अमेरिकाको सुरक्षा मामिलामा प्रतिगुप्तचरी खतरा” भनी हल्ला पिट्यो । आज पनि पत्रिका, साहित्य, टिभी सबैसबै चीन विरोधी समाचार छाप्छन् । प्रजग कोरियाबारे भ्रम छाप्छन् । क्युवाको सही जानकारी प्राप्त गर्न मुस्किल छ । यो सिलसिला जारी छ । अमेरिकाले बजेटको अरबौं डलर हिस्सा कम्युनिस्ट विरोधी प्रचारवाजीमा लगाउँछ, गुप्तचर विभागको खटनपटनमा लगाउँछ भन्ने खबर छापिँदा आश्चर्य लाग्छ ।
नेपालको हकमा पनि कम्युनिस्ट आन्दोलन कमजोर बनाउन यहाँको मिडियामा अमेरिका, भारतको कब्जा छ । ‘भारतको पैसाले चल्छ यहाँको मिडिया’ भन्ने समाचार निकै पुरानो हो । अहिले USAid ९० दिनको लागि रोक्ने भएपछि नेपालमा राष्ट्रिय दैनिकहरूको रोइलो छ ।
सञ्चार माध्यममा निश्चित वर्ग र एकाधिकार पुँजीको कब्जा, एकतर्फी प्रचार पुँजीवादमा हुन्छ भन्ने विचार यस पुस्तकमा छ । “प्रतिक्रियावादी सञ्चारमाध्यमको विरोधमा प्रगतिशिल र क्रान्तिकारी सञ्चार माध्यम जरुरी हुन्छ ।” भन्ने विचार छ । नेपालको हकमा नेमकिपाका पार्टी प्रकाशनलगायत श्रमिक साप्ताहिक र मजदुर दैनिक त्यो माध्यम हो भन्ने आभाष मिल्छ । यी प्रकाशन विश्व साम्राज्यवादविरुद्ध जनतालाई सुसुचित गर्न निरन्तर अगाडि बढिरहेका छन् ।
विश्वमा समाजवादी आन्दोलन र साम्राज्यवादविरोधि आन्दोलनको सिङ्गो इतिहास बुझ्न पुस्तक निकै पठनीय छ । नेपाली राजनीतिक वृत्तमा देखापरेको वैचारिक दरिद्रता, अवसरवादी प्रवृत्ति र संशोधनवादी आचरणविरुद्ध का. रोहितको लामो सङ्घर्षको बोध यस पुस्तकले गराउँछ । यस मानेमा पनि पुस्तक सङ्ग्रहनीय छ ।
इतिहास, राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिक कार्यकर्ताले पाठ्यपुस्तकको रूपमा पढ्नुपर्र्ने यस महत्वपूर्ण पुस्तक पुनः प्रकाशनका लागि प्रकाशकप्रति साधुवाद छ । लेखकप्रति उच्च सम्मान ।
Leave a Reply