भर्खरै :

नेपाल पछि परेकै हो

नेपाल पछि परेकै हो

नेपाल आर्थिक, सामाजिक, शैक्षिक र विकासको हिसाबले धेरै पछि परेको छ । देशको आर्थिक स्थिति मजबुत छैन । समाज अझै अन्धविश्वासमा जकडिएको छ । शिक्षाको स्थिति झनै दयनीय छ । विकास चिप्लेकीराको गतिमा छ । विकासमा व्यापक चुहावट हुने हुँदा योजनाअनुसारको ५० प्रतिशत पनि काम पूरा हुँदैन । बाँकी सबै काम अनियमित भएको हुन्छ । तर, प्रम ओली अब नेपाल आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछि नपरेको खोक्छन् । आर्थिक, समाजिक र शैक्षिक क्षेत्रमा के उल्लेखनीय काम भएको छ र पछि परेको छैन भन्नलाई ? एमालेको नेतृत्वमा सम्मिलित नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि संविधानको प्रयोगमा आएका केही कठिनाइलाई संशोधन गर्न आवश्यक भएको विचार व्यक्त गर्छन् ।
नेपालको संविधान विश्वको उत्कृष्ट पनि होइन । विश्वको उत्कृष्ट संविधान भएको भए चाँडै संशोधन गर्नुपर्ने अवस्था पनि हुने थिएन । नयाँ संविधान बनेको एक दशक बितिसक्यो तर संविधान व्यवहारमा आएको छैन । संविधानमा माध्यमिक विद्यालयसम्म निःशुल्क शिक्षाको व्यवस्था छ । देशमा १२ कक्षासम्म निःशुल्क व्यवस्था व्यवहारमा लागु गरिएको छैन । के नेपालको संविधान देखाउनको लागि हो ? के संविधान व्यवहारमा लागु गर्नुपर्दैन ? व्यवहारमा लागु नहुने संविधान जतिसुकै उत्कृष्ट भए पनि के गर्ने ? यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पुँजीवादी बन्दोबस्त भएको देश हो । पुँजीपतिवर्ग, सामन्त, जालीफटाहाहरूको पृष्ठपोषण गर्ने, श्रमजीवीवर्गमाथि शोषण, दमन गर्ने देशको संविधान कसरी उत्कृष्ट हुन्छ ? व्यापक जनताको जीवन सुनिश्चित हुने व्यवस्था संविधानमा उल्लेख भएको भए उत्कृष्ट संविधानको रूपमा मान्न सकिन्छ ।
विकासको रकममा अनियमितता र भ्रष्टाचार भइरहेको खबर सञ्चारमाध्यममा आइरहेको छ । कति जनप्रतिनिधिहरू कारबाहीमा परेका छन् । विकासको रकममा पनि बाँडीचुँडी खान्छ । विकास गर्ने कामबाट राज्य पन्छिँदै छ । विकासको काम समयमा हुँदैन । विकास गुणस्तरीय हुँदैन । विकास भएको महिना दिन नहुँदै बिग्रिएको हुन्छ । दाइजो प्रथा, छाउपडी प्रथा हटेको छैन । छोराछोरीको बिहेको उमेर घटाउनुपर्ने सुझाव सरकारी निकायले नै दिएको छ । जातिभेद अन्त्य भएको छैन । अन्धपरम्परा, कुरीति, कुसंस्कार हटेको छैन । जालीफटाहाहरू छलछाम गर्छन्† जाली कागज बनाएर सर्वसाधारणलाई ठग्छन् । आखिर श्रमजीवी जनता अनेक श्रम र शोषणको मारमा पर्छन् । जीवनको जोहो गर्न विदेसिनुपर्ने बाध्यता छ । भोक, रोग र शोकले मानिसहरू जीवन छोड्छन् । देशको स्थिति जर्जर छ । तर, नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू अब नेपाल पछि पर्नुपर्ने कारण छैन, नेपालको संविधान विश्वकै उत्कृष्ट छ भनी गर्व गर्छन् ।
देशको एउटा कमजोरी भनेको शिक्षाको स्तर खस्किनु हो† स्वदेशमा खोलिएका कलेजहरू बन्द हुँदै जानु हो र विदेशीबाट सञ्चालित कलेजहरू नियमित चल्नु हो । नर्स र चिकित्सकहरू विदेश पुग्छन् । उद्योगी–व्यापारीहरू विदेशमा व्यापार– व्यवसाय गर्छन् । सरकारले सञ्चालन गरेका उद्योग, कलकारखानाहरू कौडीको मूल्यमा निजीकरण गर्छ, विदेशी उद्योगपतिको हातमा सुम्पन्छ र कति घाटाको निहुँमा बन्द गर्छ । देशमा सन्तुलित विकास भएको छैन । उद्योगधन्दा नखोल्ने, जनताले काम नपाउने यो देशमा नेपाल पछाडि पर्नुपर्ने कारण छैन भनेर प्रम किन हाँसोका पात्र बन्छन् ? नेपाल यो विज्ञान र प्रविधिको युगमा पनि साक्षर मुलुक बनेको छैन । सरकारी योजना समयमा पूरा हुँदैन । यस हिसाबले देशको आर्थिक, सामाजिक र शैक्षिक स्थिति लाजमर्दाे छ । अझ देशको राजनीतिक स्थिति पनि चित्तबुझ्दो छैन ।
देशमा दुईदलीय तानाशाही व्यवस्था सुरु भएको छ । राजनीतिक स्थिरताको नाउँमा दुई ठुला दलले शासन चलाउन भनेको दुईदलीय तानाशाहीको दृष्टान्त हो । यसमा विशेषतः एमाले र नेका दोषी छन् । दुई ठुला दलको नेतृत्वमा सरकार गठन भयो भनेर कुनै उल्लेखनीय काम भएको छैन । मिचिएको नेपाली भूमि फिर्ता लिन नसक्ने, ठुला शक्तिशाली देशसामु देशको विषयमा बोल्न डराउने प्रम र पूर्वप्रधानमन्त्रीहरूले नेपाल अगाडि छ भन्नु र नेपालको संविधान विश्वकै निम्ति उत्कृष्ट छ भन्नु झूटको खेती हो । सत्तासीन दलका नेताहरूले झूट कुरा बोल्नु बुद्धिमानी होइन । झूट कुरा फलाकेर नेता र सरकार प्रमुखहरू समाजमा किन उदाङ्गिने काम गर्छन् ? दुई ठुला दलको संयुक्त सरकारले बखान गर्ने होइन; काम गरेर देखाउने हो । काम हुँदैन भने दुई ठुला दलको नेतृत्वमा सरकार बन्नुको के तुक रह्यो र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *