भर्खरै :

भक्तपुर साकोसको अर्ध–वार्षिक समीक्षा सम्पन्न

भक्तपुर साकोसको अर्ध–वार्षिक समीक्षा सम्पन्न

भक्तपुर, २६ माघ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष ०८१/८२ को अर्ध–वार्षिक समीक्षा शनिबार एक समारोहबिच सम्पन्न भयो ।
सहकारी संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले अर्ध वार्षिक समीक्षाको उद्घाटन गर्दै सहकारीकर्मीहरूलाई सहकारी अध्यादेशबारे जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यादेशले समुदायमा आधारित सहकारी संस्थामा हलचल ल्याएको उल्लेख गर्दै उहाँले आइपर्ने समस्या समाधान गर्न एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो ।
सहकारी संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी र सहकारीकर्मीहरू अनुशासित, जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले प्रविधिको विकाससँगै संस्था अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कुनै काम नियम सङ्गत हुनुपर्नेमा जोड दिँदै उहाँले कसैलाई धोका दिने र बदला लिने भावनाले काम गर्न नहुने बताउनुभयो ।
संस्थाका सचिव जगन्नाथ प्रजापतिले सहकारीको काम मूल्य, मान्यता, ऐन नियमविपरीत हुँदा सहकारीको रकम लिएर भाग्नेहरूलाई राजनीतिक संरक्षण हुँदा, सहकारीलाई पारिवारिक र गुटगत व्यवस्थाको रूपमा प्रयोग गर्दा, स्वायत्तता र स्वनियमको दुरुपयोग आदि सहकारीमा सङ्कट आउनुको कारण रहेको प्रकाश पार्नुभयो ।
सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ ले सहकारी संस्थालाई प्रभाव पार्नेबारे उल्लेख गर्दै उहाँले भन्नुभयो, “अध्यादेशले सहकारीको प्रस्तावनालाई तिलाञ्जली दियो । सहकारीको मूल सिद्धान्तलाई वित्तीय संस्थामा परिणत गर्ने काम ग¥यो ।”
संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आ.व. ०८१/८२ को वित्तीय विवरण प्रस्तुत गर्दै अध्यादेशले सहकारी क्षेत्रमा अन्योल ल्याएको बताउनुभयो ।
उहाँका अनुसार आ.व. ०८१ को पुस मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति ४ अर्ब २८ करोड ९० लाख ४७ हजार ३६२ रुपैयाँ ७६ पैसा रहेको छ । पुस मसान्तसम्ममा सदस्य सङ्ख्या ८२७०, बाल बचतकर्ता १४३४ र ऋणी १२७४ जना रहेका छन् ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले समुदायमा आधारित सहकारी संस्था शुद्ध आर्थिक कारोबार गर्ने र सामाजिक दायित्व पूरा गर्ने संस्था भएको उल्लेख गर्दै सहकारीको समस्या समाधानमा सरकार नलागेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले अध्यादेशले सहकारी क्षेत्रको वातावरण धमिलो बनाउने प्रयास गरेको बताउनुभयो ।
शिक्षा शिविर राखेर सहकारी सदस्यलाई अध्यादेशबारे जानकारी दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अध्यादेशले पार्ने समस्यालाई न्यूनीकरण गर्नेतर्फ सबैको सहयोग र सहकार्य उत्तिकै आवश्यक छ भन्नुभयो ।
सत्यराम साँयजुले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *