भर्खरै :

‘प्रम भएको नेता विदेशी मन्त्री भेट्न होटेलमा जानु मर्यादाविपरीत’

भक्तपुर, २३ माघ । ख्वप माविको अठारौं, ख्वप कलेजको सो¥हौं र शारदा क्याम्पसको २७ औं वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी कार्यक्रम मंगलबार एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष रोहितले शिक्षण संस्थाको प्रगतिमा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने हुनाले शिक्षण संस्थालाई आफ्नै घर सम्झी कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नयाँ पुस्तालाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने उद्देश्यले शैक्षिक प्रर्दशनी हुनु राम्रो कदम भएको बताउनुभयो ।  भक्तपुरलाई शिक्षाको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सफा नगर बनाउने भक्तपुर नगरवासीको चाहनालाई अध्ययन पूरा गरेका विद्यार्थीले सहयोग गर्ने अपेक्षा राख्दै उहाँले देश र जनताको सेवा गर्ने भावनाका साथ विद्यार्थीहरूले अध्ययनमा जोड दिनुपर्छ भन्नुभयो ।
अध्ययन–अनुसन्धानमा जोड दिने उद्देश्यले ख्वप विश्वविद्यालय स्थापनाको लागि भक्तपुरका जनता निरन्तर लागिरहने छ, सचिव सुुवालले भन्नुभयो ।  नेपालको राजश्व आम्दानी रु. ७ अर्ब र कर्मचारी प्रशासन खर्च रु. ८ अर्बभन्दा बढी लाग्ने उल्लेख गर्दै उहाँले भन्सारको आम्दानीले कर्मचारी पाल्ने नीति ठीक नभएको बताउनुभयो ।  प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने, कर प्रशासन प्रभावकारी बनाउनुपर्ने, कर्मचारीको तलबभन्दा महँगी नियन्त्रण गर्नमा सरकारले जोड दिनुपर्ने सचिव सुवालले उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री भइसकेका व्यक्तिहरू भारतीय विदेशी मन्त्रीलाई भेट्न होटल जानु कूटनीतिक मर्यादाविपरीत हो, भारतको सामु आत्मसमर्पण गर्नु हो, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालय-कलेज सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भनपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले देशभरका जनताका छोराछोरीलाई सस्तोमा गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउनुभयो ।  गुणस्तरीय शिक्षासँगसँगै देशको सार्वभौमिकता रक्षाको निम्ति लड्ने देशभक्त नागरिक तयार गर्ने ख्वप कलेजहरूको उद्देश्य हो, उहाँले भन्नुभयो ।  सार्वजनिक विद्यालय, कलेज र विश्वविद्यालयलाई दिने अनुदान घटाएर, शिक्षक दरबन्दी नदिएर वा भौतिक पूर्वाधारको लागि आवश्यक बजेट नदिएर सरकारले शिक्षालाई निजीकरण गर्नेतर्फ प्रोत्साहित गरिरहेको छ, मेयर प्रजापतिले भन्नुभयो ।  विश्व बङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरूले देशको सार्वभौमिकतामाथि नै परोक्ष रुपमा हस्तक्षेप गरिरहेको उल्लेख गर्दै मेयर प्रजापतिले शिक्षा क्षेत्रका मुख्य मुख्य जिम्मेवार पदाधिकारीहरूलाई आर्थिक प्रभावमा पारेर शिक्षालाई व्यापारिक वस्तु बनाइएको हुँदा शिक्षाक्षेत्र उम्कनै नसक्ने जालोमा फस्नेतर्फ सचेत हुुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले ख्वप माध्यमिक विद्यालयको पढाइ राम्रो रहेको उल्लेख गर्दै शिक्षा विकासमा भक्तपुर नगरपालिकाको योगदानको सराहनीय रहेको बताउनुभयो ।
शिक्षाशास्त्र सड्ढायका पूर्व डीन प्रा. पृथुचरण वैद्यले शिक्षा गुणस्तरीय हुनुपर्ने र प्राविधिक शिक्षा व्यवहारिक हुनुपर्ने बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिक्षाको विकासको लागि भक्तपुर नगरपालिकाको योगदान उदाहरणीय रहेको र देशभरका स्थानीय निकायले भक्तपुरबाट सिक्नुपर्ने बताउनुभयो ।
भनपाका उपमेयर रजनी जोशीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धतालाई पूरा गर्न भनपाका जनप्रतिनिधिहरू सक्रियतापूर्वक लागिपरेको बताउनुभयो ।
सेवानिवृत्त सहायक रथी प्रेमसिंह बस्न्यातले भारत नेपालको मित्र होइन छिमेकीमात्र भएको बताउनुभयो ।
जलस्रोत अभियन्ता रतन भण्डारीले नयाँ पुस्तालाई नागरिकता, राष्ट्रियता, प्राकृतिक स्रोतबारे जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र कलेजका प्राचार्य रुपक जोशीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलेज तथा उच्च माविका दस वर्ष सेवा अवधि पुगेका शिक्षक तथा कर्मचारीहरूलाई कदरपत्र प्रदान गर्नुको साथै कलेज तथा विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण र वार्षिक उत्सवको अवसरमा भक्तपुर र काभ्रेव्यापी विद्यार्थीहरूबीच भएको विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *