यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
दलितहरूप्रति गरिने अभद्र व्यवहारको साथै उनीहरूलाई जिस्काएर, होच्याएर बोल्ने नराम्रा चुट्किला सुनाउने हिम्मत सामान्यजनलाई किन आउँछ ? किनभने ‘दलित’ हरूको लागि नेताहरू बोल्दैनन् ।
नेपालमा ‘आफू भनेपछि डुमै राजा’, ‘राजाको काम छोडी कामीको देवाली’ जस्ता अनेक दलितहरूलाई अपमान गर्ने उखान टुक्का छन् । भारतमा पनि त्यसै गरिन्छ ।
भारतमा पहिलो दलित महिला मुख्यमन्त्री बनेकी मायावतीलाई निशाना बनाएर चुट्किलाहरू बनाइएका छन् । चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री भइसकेकी उनी राष्ट्रियस्तरको बहुजन समाज पार्टीकी अध्यक्ष पनि हुन् । तर, उनलाई अनेक तरिकाले अपमानित गर्न र त्यो अपमानमा हास्न ठुला जातकाहरू पछि पर्दैनन् ।
केही अघि भारतमा बलिउड अभिनेता रणदीप हुड्डाको एउटा भिडियो भाइरल भयो । भिडियोमा अभिनेताले अङ्ग्रेजीमा चुट्किला सुनाएका छन् । यसमा मायावतीको अनुहारको खिल्ली पनि उडाइएको छ ।
सन् २०१२ मा बनेको यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा रणदीपलाई पक्राउ गर्नुपर्छ भनेर कतिले आवाज पनि उठाए । रणदीप हुड्डा एक सफल कलाकार हुन् र संयुक्त राष्ट्रसँग जोडिएको एक संस्थाका उनी ब्रान्ड एम्बेसेडर थिए । तर, मायावतीलाई अपमान गरेको भाइरल भएपछि ‘ब्रान्ड एम्बेसडर’ हटाइयो ।
दलितप्रति आपत्तिजनक, महिलाविरोधी वा जातिवादी टिप्पणी गरेर यस्तो नराम्रो किसिमको चुट्किला बारम्बार सुनाइरहनेहरूमा राजनीतिक नेता, अभिनेतादेखि हास्य कलाकार र सर्वसाधारण व्यक्तिहरू पनि हुन्छन् ।
नेपालमा पनि दलित महिलाहरूको पहिरन, बोली र भाषालाई लिएर अनेक कटाक्ष हुन्छ । ‘दलित भएर पनि कति राम्री’, ‘दलित भएर पनि कति बुद्धिमान’, ‘दलित भएर पनि सुझबुझको कुरा गरेकी’ आदिजस्ता वाक्यहरू पढेलेखेर काम गर्ने, राजनीतिमा लागेका महिलाहरूले बारम्बार सुन्नुपर्छ । मानौँ, बुद्धि जति सबै ठुलाबडाको अधिकार हो । तर, यति हुँदा पनि समाज किन कसैले प्रश्न उठाउँदैन ? विरोध किन गरिन्नन् ? कुनै कानुनी कारबाही किन हुँदैन ? अझ कति जना त ‘यस्तै समाज छ’ भनेर उडाउँछन् ।
कानुनले यो मानसिकता बदल्न सक्दैन ।
यस्ता भनाइहरू वास्तवमा महिलाविरोधी तथा दलितविरोधी विचारका नतिजा हुन् । नेपाल र भारतको समाजमा कानुनले छुवाछुत छैन भने पनि जातपातको र महिलाविरोधी भावना यति बलियो छ कि महिला तथा दलितहरूप्रति यस्ता खालका टिप्पणी गर्नु कुनै ठुलो कुरा होइन भन्ने सोचिन्छ । यसमा खासै गलत त के भयो र ¤ यो सामान्य नै हो, सबैले गर्छन्, भन्ने गरिन्छ ।
यो जातको जरो यतिसम्म तल पुगेको छ, ‘दलित’ भित्र पनि ‘दलित’ हरू छन् । उनीहरूबिच भेदभाव हुन्छ पानी चल्दैन, बिहावारी चल्दैन ।
कति जना त दलित महिलाहरूलाई नराम्रो देखाउन केही पाएनन् भने उनका अनुहार र शरीरलाई व्यङ्ग्य गर्छन् ।
दलित महिलाहरूप्रति नराम्रो टिप्पणी गरेर उनीहरूलाई अपमान गर्ने कोसिस गर्नेहरू पुरुष मात्रै होइन, उच्च जातका महिलाहरू पनि हुन्छन् ।
तर, अहिले सामाजिक सञ्जालको समयमा महिला तथा दलितहरू आफ्नो अधिकार र पहिचानको लागि जागरुक भइरहेका छन् । उनीहरूले मात्रै यस्ता टिप्पणीहरूको विरोध गर्ने होइन, प्रश्न हामी प्रत्येकले गर्नुपर्छ, गरिँदैन ।
हाम्रो समाज शारीरिक र जातीयवादी छ । त्यसैले, हाम्रो विचारलाई विकसित गर्नुपर्छ । गलत कुरा, गलत उखान ‘गलत सिकाइ’ भन्नुपर्छ ।
दलित र महिलाविरोधी उखान दलितहरूको अधिकारको लागि काम गर्ने र लैङ्गिक संवेदनशीलताको बारेमा काम गर्ने सबैले हटाउनुपर्छ । यस्ता उखानहरूले नकारात्मक विचार फैलाउँछन् । कहिले–कहिले हामीले अनायास भनिदिन्छौँ, ‘धोबीको जस्तो बोली र अनुहार ।’ यो ठीक होइन, गल्ती महसुस गर्नुपर्छ । जसलाई भनिएको हो माफी माग्नुपर्छ । तर, समस्या के छ, नेपालको ‘जातिवादी राजनीति’ ले गर्दा यस्तो जाबो कुरामा पनि के बहस गर्नु भन्ने ठान्छन् । यो सानो कुरा हो ?
दलितप्रति अपमानजनक भनाइ राख्ने, नराम्रा किसिमका चुट्किला सुनाउनेहरू धेरैजसो उच्च वर्गका पुरुषहरू/महिलाहरू पनि छन् ।
यस्तो काम गर्ने मानिसहरूले जन्मसिद्ध पाएको विशेष अधिकार भनेर आफूले गरेको गल्तीलाई सामान्यरूपमा लिन्छन् । त्यसैले त ‘कमिनी भएर भएर पनि बाहुनको जस्तो पूजा गरेकी’, ‘कमिनी भएर पनि सफा चटक्क भएर हिँडेकी’ भन्ने मानिसहरू अझै छन् । मानौँ, पूजा गर्नु, सफा हुनु ठुलाबडाको बपौती हो ।
दलित तथा पिछडिएका महिलाप्रति भारत र नेपालजस्तो देशमा मानिसको दृष्टिकोण बुझाउन राजस्थान अदालतमा भएको एउटा घटनाको उदाहरण पर्याप्त छ ।
भारतको सन् १९९५ मा कथित दलित जातकी भावरी देवी ‘उच्च जातका’ व्यक्तिबाट बलात्कृत भइन् । अदालतमा मुद्दा चल्दा त्यो अदालतका न्यायाधीशले निर्णय सुनाए । ‘उच्च जातका पुरुषले तल्लो जातका महिलालाई बलात्कार गर्न सक्दैन । किनभने, उनीहरू तल्लो जातलाई ‘अशुद्ध’ मान्छन् ।’ यसको आधारमा अपराधीहरू छुटे ।
यस्ता कार्यलाई रोक्न भाषा, उखान, व्यवहार आदिबाट सबैलाई महिला तथा दलितहरूप्रति हुने हिंसा तथा भेदभावको बारेमा सचेत गराउनुपर्छ । शब्द प्रयोगको विरोध गर्नुपर्छ । अपमानजनक शब्द र टिप्पणी गर्दा विषयहरूमा खबरदारी गरिरहनुपर्छ । अनि बल्ल यस्तो विषय सामान्य कुरा होइन भन्ने ज्ञान हुँदै जान्छ ।
Leave a Reply