नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
चीनका लागि समाजवादी स्वरूपको सरकारलाई राम्ररी बुझ्न तथा स्वागत गर्न माओले आफ्नो राजनीतिक चिन्तन विकास गरिरहँदा सन यात सेन पनि त्यस्तै निष्कर्षमा पुग्नुभएको थियो । सन यात सेनले त्यसबेला सोभियत सङ्घ भन्न थालिएको रुसको समाजवादी सरकारसँग कुराकानी सुरु गर्नुभयो । बोल्सेभिकको राजनीतिक र सैनिक रणनीतिका बारेमा थप जानकारी हासिल गर्न उहाँले आफ्नो सबैभन्दा भरपर्दा एकजना जनरल च्याङ काइसेक (सियाङ काइसेक) लाई सोभियत सङ्घको राजधानी मस्को पठाउनुभयो ।
गणतन्त्र चीनको तत्कालको उद्देश्य राष्ट्रिय एकता र पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्नेमा सोभियत सङ्घ सहमत थियो । समाजवाद त्यसपछिका दिनमा आउन सक्छ । यो व्यावहारिक पक्ष थियो । सन् १९१७ मा सत्ता कब्जा गरेको माक्र्सवादी बोल्सेभिकहरूलाई पूर्ण समाजवाद चरणबद्धरूपमा प्राप्त गर्न सकिने ज्ञात भएको यसले देखाउँछ । रुसले सम्पूर्ण शक्ति सोभियतमा निहित रहेको घोषणा गरिनु पहिले सीमित राजतन्त्र तथा संवैधानिक बुर्जुवा सरकारको जमाना देखेको थियो । चीनमा समेत बिस्तारै समाजवादको सङ्क्रमण भइरहेको थियो ।
यो चरणबद्ध पहलमा सोभियत सङ्घका नयाँ नेता जोसेफ स्तालिनको मात्र दिशानिर्देश थिएन, विश्वमा अग्रगामी समाजवादका लागि स्थापित अन्तर्राष्ट्रिय सङ्गठन ‘कमिन्टर्न’ को पनि थियो । यसले कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) का युवा नेतालाई ठुलो झट्का लाग्यो । उनीहरू गरीब र हेपिएकाहरूका लागि विश्वव्यापी समानताको युगमा प्रवेश गर्न तथा श्रमिकवर्गको अगुवा बन्नका लागि त्यो पार्टीमा आबद्ध भएका थिए !
अहिले उनीहरूको आदर्शलाई नीलो आकाश जत्तिकै परको कुरा तथा समाजवाद भनेको टाढाको क्षितिजमा देखिने धमिलो मृगतृष्णा हो भनियो । तथापि सीपीसीले निर्देशिका अनुशरण ग¥यो । कम्युनिस्टहरूले सार्वजनिक प्रचार (खपत) का लागि पनि राष्ट्रवादीहरू (केएमटी) लाई समर्थन गर्दा पनि पुँजीवादी उत्पीडनका बारेमा किसानवर्गलाई शिक्षित गर्ने आफ्नो मूलभूत कार्य तथा सामूहिक श्रम र सम्पत्तिमा समानताका वाचा गर्न छाडेनन् । चरणबद्ध क्रान्तिका पछाडि लाग्नु उग्र सुधारवादी भइने सोचाइ राख्ने सीपीसीका सदस्यलाई खासमा सोभियत सङ्घ पठाइयो । भर्खर मस्कोमा स्थापना भएको सन यात सेन विश्वविद्यालयमा उनीहरूलाई विभिन्न अध्ययन कार्यक्रममा सहभागी गराइयो । राष्ट्रवादीहरूले शक्ति सञ्चय नगरुञ्जेल उनीहरूलाई त्यहाँ सुरक्षित बसाइएको थियो । तीमध्ये धेरैजसो चिनियाँ कम्युनिस्ट आन्दोलनका अग्रज थिए तर माओ त्सेतुङ हुनुहुन्थेन ।
किन उहाँ हुनुभएन ? किन ‘कमिन्टर्न’ ले कम्युनिस्ट पार्टीको एउटा प्रधान नेता तथा आफ्नो परिश्रममा साझेदारी अधिकार माग गर्न किसानलाई आन्दोलित पार्ने व्यक्तिलाई सम्भावित उपद्रवी मान्यो ? सायद, रुसमा बोल्सेभिक क्रान्ति हुँदा अग्रपङ्क्तिमा भूमिका निर्वाह गर्ने सहरी सर्वहारासँग असहमत रहेर माओ किसानवर्गमा केन्द्रित भएकाले होला यस्तो व्यवहार गरिएको ।
जस्तो कि हामीले पहिले नै जान्यौँ, माओ बारम्बार बहस गर्नुहुन्थ्यो, किसानलाई लिएर अगाडि बढिएन भने राष्ट्रवादी क्रान्ति सफल हुनेछैन ।
राष्ट्रवादीले कति सरदारहरूलाई हटाउँछन् र कति सेनालाई उनीहरूले ‘सोभियत बन्दुक’ दिन्छन् यसको कुनै अर्थ रहँदैन ।
उहाँले बहस गर्नुभयो, किसानको सहयोगबिना उनीहरूको क्रान्ति अधुरो हुनसक्छ ।
भूमिमा आधिपत्य राखेका वर्ग ‘देशका कुलीन’ लाई तह नलाउञ्जेलसम्म गणतन्त्रलाई किसानको सहयोग नमिल्ने माओको भनाइ थियो । व्यापकरूपमा भनिँदै आएको कुरा ‘बुर्जुवा क्रान्ति’ तबसम्म वास्तविक क्रान्ति हुँदैन जबसम्म उसले मुख्य समस्या ‘दुष्ट कुलीन’ को जरा उखेलेर फाल्दैन । यस दृष्टिकोणप्रति राष्ट्रवादीहरूलाई चिन्ता भएन । माओले मस्को र पेट्रोग्राडमा जस्तै चीनका केही औद्योगिक क्षेत्रका मात्रै श्रमिकहरूलाई आफ्नो आवाज बुलन्द पार्न आह्वान गरिरहनुभएको थिएन । उहाँले स्पष्टरूपमा भन्नुभयो, चीनमा महत्वपूर्ण जनभेला गर्ने भनेका ग्रामीण किसानहरू नै हुन् ।
यसैले मुख बन्द बनाउन माओलाई मस्को पठाइएन । आफ्ना उग्र सुधारवादी साथीहरूको अनुपस्थितिमा सीपीसीमा ओहदा बढेर उहाँ केन्द्रीय ब्युरोको सचिव हुनुभयो । यो ३० वर्षीय क्रान्तिकारीले पाएको उच्च ओहदाको पद थियो । उहाँलाई राष्ट्रवादी र कम्युनिस्टहरूबिच सहकार्यका लागि राम्रो सम्पर्क सूत्रका रूपमा हेरियो । यथार्थमा, त्यस्तो गम्भीर समयावधिमा माओ त्सेतुङ चीनमै रहनु दशकौँपछि एक महत्वपूर्ण पक्षका रूपमा रह्यो, जब उहाँले वैचारिक मतभिन्नताले गर्दा चिनियाँ कम्युनिस्टको प्रमुखका रूपमा सोभियत सङ्घसँगको साथ छाड्नुभयो । यस्तो हुँदा सोभियत सङ्घले सन् १९२० को दशकमा जसरी मध्यम र सहायक क्रान्तिकारीका रूपमा माओको मूल्याङ्कन गरेको थियो, त्यसप्रति सोभियतलाई ठुलो पश्चात्ताप भएको हुनुपर्छ । आफ्नो चिन्तन अनुसार उहाँलाई ढाल्ने अवसर गुमाएकोमा उनीहरू विस्मित परेका हुनसक्छन् ।
सन् १९२५ मार्चमा सन यात सेनको निधन भएपछि च्याङ काइसेकको काँधमा नेसनलिस्ट (राष्ट्रवादी) पार्टीको जिम्मेवारी आइपर्यो । त्यसपछि जनरल च्याङ काइसेक सेना प्रमुखका साथै राजनीतिक नेता पनि हुनुभयो । आफ्नो शक्तिको बलमा च्याङ काइसेकले आफूलाई ‘सेनाधिपति’ भन्न थाल्नुभयो । सत्ता शक्तिमा उहाँको उदयबाट कम्युनिस्ट र राष्ट्रवादीहरूबिचको अस्वाभाविक गठबन्धन वास्तविक परीक्षणको अवस्थामा आइपुग्यो ।
सैनिक र राजनीतिक नीति अध्ययन गर्न च्याङ काइसेकले तीन महिना सोभियत सङ्घमा बिताएको भए पनि उहाँ हृदयदेखि नै राष्ट्रवादी र त्यसमा रुढीवादी हुनुहुन्थ्यो । उहाँलाई युरोप वा अमेरिकामा बुर्जुवा कहलिने मध्यमवर्गीय नागरिक समाजमात्र यस्तो समूह हो जसले गणतान्त्रिक राज्यलाई सङ्गठन र सुरक्षा दिनसक्ने दृष्टिबोध भएको थियो ।
कुलीनहरूप्रति च्याङ काइसेकको विश्वास माओले पत्याउनुभएन । जनरल च्याङ काइसेक आफ्ना पूर्वाधिकारी सन यात सेनभन्दा बढी प्रतिक्रियावादी भएको माओले देख्नुभयो । अझै तात्कालिक प्राथमिकताले एउटा गठबन्धन निर्देशित थियो । माओ र च्याङ काइसेक क्रान्तिका दुई चम्किला तारा हुनुहुन्थ्यो तर उहाँहरूबिच मुठभेड आउने भयो । जब त्यस क्रान्तिलाई यसरी परिभाषित गरियो ः राष्ट्रवादी अर्थात् नेसनलिस्टको क्रान्तिले वर्ग विभाजन कायम राख्दै प्राचीन शासन प्रणालीलाई हटाउने वा पुँजीवादीवर्गलाई समाप्त पार्न कम्युनिस्ट क्रान्ति गर्ने । दुई वर्षभित्रै माओमा च्याङ काइसेकको डर प्रमाणित भयो । तथाकथित लाल जनरले आफ्ना कम्युनिस्ट साथीहरूमाथि नै कारबाही गर्दै साङ्घाईको अप्रिल १२ को ‘कू’ मा तीन दिनसम्म हिंसात्मक रक्तपातबाट धेरै कम्युनिस्ट नेताको हत्या र कैयौँलाई जेलमा हाल्नुभयो । अनि माओले गुपचुप हुनान पुगेर किसान विद्रोह सञ्चालन गर्नुभयो । ‘अटम हर्भेस्टिङ अपराइजिङ’ अर्थात् शरद् ऋतुको फसल विद्रोहका नामले परिचित यो कदम चाँडै साम्य भयो । सन् १९२७ मा याङ खाइहुई र आफ्नो छोराबाट हतार–हतार बिदा लिएर माओ चियाङसी प्रान्तमा फेरि गुमनाम हुनुभयो । उहाँले आफ्नी प्रिय श्रीमतीलाई पनि देख्नुभएन । च्याङ काइसेकको आदेशमा उहाँकै जेठा छोराको आँखा अगाडि सन् १९३० नोभेम्बरमा याङ खाईहुईको हत्या गरिएको थियो ।
त्यसबेला आफूद्वारा घोषित ‘चिनियाँ सोभियत गणतन्त्र’ का अध्यक्ष भएर चियाङसीको एउटा पहाडी कन्दरामा बस्दै आउनुभएका माओसम्म यो मर्मस्पर्शी समाचार पुग्न समय लाग्यो । दुष्कर सात वर्षको अथक मेहनतबाट माओले यो चियाङसी सोभियत बनाउँदै सहकारी र परिषद्हरू स्थापना गर्न किसानलाई शिक्षामात्र दिनुभएन, बढ्दै गएको प्रतिबद्ध कम्युनिस्टहरूको विद्रोही सेनामा उनीहरूलाई भर्ती पनि गर्नुभयो ।
आफ्ना छापामारको बलियो गढमा माओले एउटा बलियो मानिस बन्ने रणकौशल सिक्नुभयो, असहमति सहन नहुने र पार्टीको अनुशासन तोडे दण्ड बेहोर्नु पर्ने ¤ आफ्ना प्रतिद्वन्द्वी सेनाधीपति सरह माओले पनि बन्दुकको बलमा राजनीतिक शक्ति प्रयोग गर्ने विचार गर्न थाल्नुभयो । सन् १९३४ सम्म चियाङसीका १० क्षेत्रमा कम्युनिस्टको नियन्त्रण भयो । च्याङ काइसेकको गणतन्त्रको नयाँ राजधानी सहर नानचिङमा बडा शानका साथ कैयौँ स्वायत्त ‘सोभियत’ देखिए । जनरलको ढोकामै ठुलो समस्या आइसकेको थियो । कम्युनिस्टहरूको गढमा कैयौँपटक छापा हान्दा र आक्रमण गर्दा पनि माओका लडाकुको सङ्ख्या बढ्दै गयो । च्याङ काइसेकले माओका कम्युनिस्टहरूको प्रभाव निर्मूल पार्न ठुलो फौजले मात्र सकिने निर्णय लिनुभयो । उहाँले लाखौँ सरकारी सैनिक कम्युनिस्टहरूको गढमा पठाउनुभयो तर यो निर्णय लिन उहाँ ढिलो हुनुभयो । माओले पहिले नै आफ्ना लडाकुलाई पछाडि हट्ने आदेश दिइसक्नुभएको थियो । यसैले ‘लङ मार्च’ सुरु भयो । कुनै बेलाका सहयात्री तथा वर्गशत्रुको शपथ खाएका च्याङ काइसेक र माओ त्सेतुङबिचको प्रतिस्पर्धा सकिएन । यसलाई विश्राममात्र दिइएको थियो । वास्तविक सङ्घर्ष अझै आउन बाँकी नै थियो ।
– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट
Leave a Reply