भर्खरै :

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रतिनिधिमण्डल भक्तपुर अध्ययन भ्रमणमा

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रतिनिधिमण्डल भक्तपुर अध्ययन भ्रमणमा

भक्तपुर, २ फागुन । भक्तपुर नगरपालिका र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाबिच आफूले गरेका असल अभ्यास तथा अनुभवहरू आदानप्रदान गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापासहित शुक्रबार अवलोकन भ्रमणको क्रममा भक्तपुर पुगेको प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खादा ओढाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले दुवै नगरपालिकाले गरेका राम्रा कामहरू एक अर्काका लागि सिकाइ हुन सक्ने बताउँदै नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, विकास निर्माण, खेलकुद विकास आदि बारे जानकारी दिनुभएको थियो ।
संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गरी त्यसको कार्यान्वयन गर्ने र व्यापक जनताको हितमा शिक्षा र स्वास्थ्यजस्ता विषयहरू न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख काम गर्दै आएको उहाँले बताउनुभयो ।
सङ्घ र प्रदेशले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान बढाउनुपर्नेमा त्यसको विपरीत कार्य भइरहेको बताउँदै स्थानीय तहलाई जनताको आवश्यकता र प्राथमिकता थाहा हुने हुँदा योजना छनोटको अधिकार स्थानीय तहलाई नै दिइनुपर्ने उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने, २१ औँ शताब्दीको लागि योग्य, देशभक्त नागरिक तयार गर्ने र समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले आत्मनिर्भरतालाई जोड दिएर अगाडि बढ्नु नै विकासको लागि उचित विकल्प भएको बताउनुभयो ।
साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले भक्तपुर नगरपालिकाको असल अभ्यासहरू साँगाचोकगढीले अनुसरण गर्ने बताउँदै भक्तपुरले गरेका राम्रा कुराहरूका बारेमा सिक्न र अनुसरण गर्न भक्तपुर अवलोकन भ्रमणमा आएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिद्वारा प्रस्तुत गरिएको प्रस्तुतीकरणबाट भक्तपुर नगरलाई नजिकबाट जान्ने र बुझ्ने अवसर मिलेको बताउँदै उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) देशकै रोडमोडल भएको र उहाँको मार्गनिर्देशनमा भक्तपुरले गरेको विकास अनुकरणीय र उदाहरणीय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, चौतारा साँगाचोकगढी नपा वडा नं. १३ का वडाध्यक्ष रामप्रसाद गौतम, वडा नं. ४ का वडाध्यक्ष कुमार शर्मा, कार्यपालिका सदस्य सीता पौडेल र साँगाचोकगढी नपा नगर बाल सञ्जालका प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रमुख प्रजापतिले उपप्रमुख थापालाई मयुरको झ्याल, नपाका प्रकाशनहरू तथा सहभागी सबैलाई नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
नगरपालिकामा भएको भेटघाट कार्यक्रमपश्चात् चौतारा साँगाचोकगढी नपाका प्रतिनिधिमण्डलले नपाले सञ्चालन गरेको शिशुस्याहार केन्द्र, जनज्योति पुस्तकालय, शैक्षिक संस्था र अस्पतालमा समेत स्थलगत अवलोकन गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *