भर्खरै :

“शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज भक्तपुरले शैक्षिक क्षेत्रमा फड्को मारेको हो”

“शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज भक्तपुरले शैक्षिक क्षेत्रमा फड्को मारेको हो”

भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित ब्रह्मायणी आधारभूत विद्यालयको ३३ औँ वार्षिकोत्सव, शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भयो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले समाजको निम्ति काम गर्ने भावना भएका विद्यार्थीहरूमा देशको लागि केही गर्छु भन्ने परोपकारी भावनाको विकास हुने बताउँदै विद्यार्थीहरूलाई किताबी ज्ञानसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि संलग्नता बढाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका सामुदायिक विद्यालयहरू समाजका अगुवाहरूको संयुक्त प्रयासबाट स्थापना भएका हुन् भन्दै उहाँले अग्रजले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज भक्तपुरले शैक्षिक क्षेत्रमा फड्को मारेको बताउनुभयो ।
संविधानमा बालबालिकाका लागि मा.वि. तह कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने उल्लेख भए तापनि सरकारले कार्यान्वयन नगरेको बताउँदै उहाँले शिक्षामा अगाडि बढेको देश सबै क्षेत्रमा अगाडि बढ्ने धारणा राख्नुभयो ।
शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण विषयको पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुर नपाले शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्ने नीति अवलम्बन गरी सामुदायिक र निजी विद्यालयलाई समान व्यवहार र सहयोग गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुरको लिबाली क्षेत्रमा अहिले सामुदायिक र निजी गरी करिब १३ वटा विद्यालयहरू सञ्चालनमा रहेको स्पष्ट गर्दै शैक्षिक केन्द्रको रूपमा विकास भएको यस क्षेत्रका विद्यार्थीहरूलाई दुव्र्यसन र कुलतबाट टाढा राखिनुपर्ने बताउनुभयो ।
ब्रह्मायणी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यालय भवन निर्माणले यहाँको शैक्षिक क्रियाकलापमा सकारात्मक प्रभाव परेको बताउँदै विद्यालयप्रति विश्वास गरी आफ्ना बालबालिकाहरूलाई भर्ना गर्ने अभिभावकप्रति आभार प्रकट गर्नुभयो । विद्यार्थी नभएर नेपालका करिब ५ सय कलेज बन्द हुने अवस्था पुगेको समयमा भक्तपुर नगरपालिकामा भने विद्यार्थी सङ्ख्या सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।
नगर शिक्षा शाखाका प्रमुख साधुराम फुँयालले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि नगरमा अनुगमन तथा प्राविधिक समिति क्रियाशील रहेको बताउनुभयो भने आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोंजुले विद्यार्थीहरू देशका कर्णधार भएकाले राज्यले उनीहरूका लागि लगानी गर्न कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यालयको प्रगतिको कामना गर्दै विद्यार्थीहरूलाई अरूसँग तुलना नगरी नियमित विद्यालय पठाउन, सरसफाइमा ध्यान दिन, पोषणयुक्त खाना खुवाउन अभिभावकलाई सुझाव दिनुभयो ।
विद्यालयका प्रअ तीर्थलक्ष्मी धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले विद्यार्थीकेन्द्रित शिक्षण विधिहरू प्रयोग गरी विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्ने र दैनिक पाठयोजनालाई लागु गर्ने प्रयास गर्दै आइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजू र विद्यार्थी प्रतिनिधिले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि प्रजापतिले विद्यालयमा लामो समय कार्यरत शिक्षकहरूलाई दीर्घ सेवा सम्मान र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको बिच बिचमा विद्यार्थीहरूले सांस्कृतिक नाचहरू प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवको उपलक्ष्यमा प्रा.वि. (कक्षा ५ सम्म) स्तरीय नगरव्यापी भएको चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरू सकिला स्याङताङ (गणेश मा.वि., भार्वाचो) प्रथम, समीर डाँगी (जनसेवा आ.वि., थुचो) द्वितीय, अनिल ठाकुर (ब्रह्मायणी आ.वि., लिबाली) तृतीय र अनुभव चक्रवर्ती (दत्तात्रय आ.वि., तचपाल) चतुर्थ भएकालाई पनि पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *