भर्खरै :

गाउँ–सहरको बस्ती बस्तीमा महाधिवेशनको चर्चा

गाउँ–सहरको बस्ती बस्तीमा महाधिवेशनको चर्चा

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन नजिकिएसँगै जिल्ला जिल्लाका नेता तथा कार्यकर्ताहरू गाउँ–बस्ती, सहर बजारमा पुग्दै तातिन थालेका छन् । देश र जनताको निःस्वार्थ रूपमा सेवा गरौँ, समाजवादी आचरणलाई व्यवहारमा लागु गरौँ, संसारका सबै क्रान्तिहरूबाट सिकौँ, नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पारौँ भन्ने उद्घोषका साथ हुन लागेको यो अधिवेशन देशका सम्पूर्ण न्यायप्रेमी, शोषित–पीडित तथा देशभक्त जनताको साथ र समर्थनमा सफल हुनेछ । अधिवेशनको प्रचारप्रसारको सिलसिलामा नेता तथा कार्यकर्ताहरूले देश र जनताको निम्ति नेमकिपा किन आवश्यक छ भन्नेबारे सूचित पार्दै आएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखापरेका खोटा विचारको खण्डन गर्दै नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक मानी कम्युनिस्ट सिद्धान्त र विचार जनतामाझ पु¥याइरहेको छ ।
महाधिवेशनको खबर गाउँबस्ती र सहर बजारको घर–घरमा पुगिरहेको छ । महाधिवेशनमा सरिक हुन आ–आफ्नो स्थानबाट व्यापक तयारी भइरहेको छ । विगतको अधिवेशनझैँ अहिले पनि अधिवेशनलाई भव्य, सभ्य बनाउन र सफल पार्न जनता कम्मर कस्न थालेका छन् । यो महाधिवेशन समाजवादी प्रचार अभियानको एउटा अर्को ठुलो भेला हो, जमघट हो । यो अधिवेशन जिल्ला–जिल्लाबाट आएका नेता तथा कार्यकर्तालाई सैद्धान्तिक, वैचारिक, राजनीतिक र सांस्कृतिक स्तर उठाउने विश्वविद्यालयको कक्षा पनि हो । महाधिवेशनमा सहभागी जिल्लाका नेता तथा कार्यकर्ताहरू महाधिवेशनबाट अझ दीक्षित भएर आ–आफ्नो जिल्ला, नगर र गाउँमा राजनीतिक कक्षा सञ्चालन गर्न, सङ्गठन विस्तार गर्न र सुसूचित गर्न थप टेवा पुग्नेमा शङ्का छैन । महाधिवेशनले नयाँ सन्देश बाँड्ने छ । महाधिवेशनमा सहभागी पार्टीका प्रतिनिधि, पर्यवेक्षक र समर्थकहरू जोश जाँगरका साथ आ–आफ्नो जिल्लामा काम गर्न हौसिने छन्; निःस्वार्थ र इमानदारीपूर्वक काम गर्ने प्रेरणा लिएर, उत्साहित भएर अघि बढ्ने छन् । सिद्धान्त र विचारमा अडिग रहेर स्थापनाकालदेखि सिङ्गो देश र जनताको सेवामा समर्पित नेमकिपा अनेकानेक चुनौती र सङ्कटको सामना गर्दै अघि बढिरहेको सङ्घर्षरत पार्टी हो । जनताको मनमनमा छाप परेको, जनताको बिचमा भिजेको र लोकप्रिय पार्टी हो नेमकिपा । नेमकिपा झूटको राजनीति गर्दैन; भागबन्डाको राजनीतिमा लाग्दैन, छलछामको राजनीति गर्दैन भन्ने कुरा वामपन्थी बुद्धिजीवी, राजनीतिक विश्लेषकहरू पनि बताउँछन् । उनीहरू नेमकिपालाई इमानदारीपूर्वक राजनीति गर्ने दलको रूपमा लिन्छन् या विश्लेषण गर्छन् ।
अहिले महाधिवेशनमा भाग लिनेबारे टोल–टोल र बस्ती बस्तीको घर आँगनमा चर्चा परिचर्चा भइरहेको छ । पार्टी, जनवर्गीय सङ्गठन, पेसागत सङ्गठन, कलाकार, कवि, कथाकार, इन्जिनियर, चिकित्सक, नर्स, वकिल, कर्मचारी, बुद्धिजीवी, व्यापारी, व्यवसायी, समर्थक, शुभचिन्तकहरू महाधिवेशनमा सरिक भएर महाधिवेशनको गरिमा बढाउनुपर्ने विचार व्यक्त गर्दै छन् । उद्घाटनको दिन हुने कुनै काम छ भने अहिलेदेखि नै मिलाएर महाधिवेशन सफल पार्नुपर्नेतर्फ लाग्नु आवश्यक छ । पार्टीको महाधिवेशन नेमकिपाप्रति आस्थावान व्यापक जनताको भेटघाट हो, यो पार्टीको महोत्सव हो । व्यापक जनतामाझ पार्टीको सिद्धान्त, विचार र दृष्टिकोण पु¥याउने राजनीतिक कक्षा हो । यस्तो महाधिवेशन ५ वर्षको एकचोटिमात्र हुन्छ । यसकारणले पनि महाधिवेशन सफल पार्न व्यापक जनताको सहभागिता आवश्यक छ ।
यो महाधिवेशनले साँच्चै देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नुपर्छ भन्ने सन्देश नेता, कार्यकर्ता तथा जनतालाई बाँड्ने छ । समाजवादी सिद्धान्त प्रचार गर्नेमात्र होइन समाजवादी आचरणलाई व्यवहारमा लागु गर्नुपर्छ भन्ने सन्देश पनि यो महाधिवेशनले बाँड्ने छ । क्रान्तिबाट सिकेर क्रान्तिकारी बाटो तयार गर्ने र क्रान्तिकारी बनाउने काम नेमकिपाले गरिरहेको छ । यस्तो काम आफूलाई कम्युनिस्ट पार्टी भन्ने सबै दलले गर्नुपर्ने हो । तर, देशका अरु कम्युनिस्ट पार्टीले यो आचरणलाई व्यवहारमा लागु गरिरहेको छैन । कुनै कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार अघि बढ्दैन भने त्यस्तो पार्टीलाई नक्कली पार्टी नभनी अरू के भन्ने ? के माक्र्सवाद–लेनिनवाद भनेको देखाउने दाँत हो ? माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक मान्ने कम्युनिस्ट पार्टीले समाजवादी आचरणमा रहेर राजनीति गर्नुपर्दैन ? समाजवादी आचरणमा रहेर राजनीति गर्नुपर्ने कम्युनिस्ट पार्टीका नेताहरू पुँजीवादी संसदीय व्यवस्थालाई अन्तिम गन्तव्य ठान्छन् । पुँजीवादी व्यवस्थाभित्र रहेरै देशमा समाजवाद स्थापना गर्ने या जनताका आधारभूत आवश्यकता पूर्ति गर्ने विश्वास दिलाउँछन् । यो कुरा सही हो भने कम्युनिस्ट पार्टी भन्ने ठुला दलको नेतृत्वमा पटक पटक सरकार गठन भयो । तर, कम्युनिस्ट आचरणअनुसार काम भएको देखिँदैन । यसले स्पष्ट गर्छ, पुँजीवादी व्यवस्थाभित्र पसेर स–साना सुधारात्मक काम गरे पनि न आमूल परिवर्तनको अनुभूति दिलाउँछ न त समाजवाद नै स्थापना गर्नसक्छ । अतः कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम गर्न अघि सर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *